‘जसपाभित्र थुप्रै पावरहाउसहरू निर्माण गर्नु हुँदैन’

अन्तर्वार्ता

11/26/2020

० जनता समाजवादी पार्टी नेपालको समायोजन प्रक्रिया कहाँसम्म पुग्यो ?

— हामी अलिकति विषम् परिस्थितिमा पार्टी एकीकरण ग¥यौं । कोभिड–१९ ले विश्व आक्रान्त भएकै अवस्थामा हाम्रो पार्टी एकीकरण भएको छ । त्यसैले बैठकहरु गर्न र नेता कार्यकर्ताहरुलाई परिचालन गर्न असहज परिस्थिति हुँदा हुँदै पनि हामीले केही काम गर्न सफल भएका छौं । हामीले केन्द्रीय कार्यकारिणी समिति गठन गरेर नै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका छौं । केन्द्रीय समिति पनि गठन भइसकेको छ । अहिले विभिन्न विभागहरु गठन गरिसकेर नेतृत्व टुंगोमा पु¥याएका छौं । यो मंसिर मसान्तसम्ममा समायोजनको एक चरणको काम पूरा गर्ने निर्देशिका बनाएका छौं । त्यसमा प्रादेशिक कमिटीहरु, जिल्लास्तरीय समायोजन लगायत सबै काम मंसिरमा पूरा गर्ने उद्देश्य छ । त्यसअनुसार हामीले नेता कार्यकर्ताहरुलाई समायोजन निर्देशिका दिइसकेको अवस्था हो । सँगसँगै हरेक प्रदेशहरुमा केन्द्रीय नेतृत्वहरुलाई प्रभारीको रुपमा जिम्मा दिइएको छ ।

० जसपाको समायोजन कहिलेसम्म पूरा हुन्छ त ?

— हामीले मूलरुपमा हेर्दा राजपा र समाजवादी पार्टीबीच समायोजन जस्तो देखिन्छ । तर त्यहाँभित्र लगभग ११÷१२ वटा पार्टी एक ठाउँमा आएका छन् । सबै कुराहरुलाई मिलाएर लैजानुपर्ने हुन्छ । भागवण्डाको आधारमा हामीले धेरै अगाडिसम्म लिएर गयौं भने पार्टी व्यवस्थित हुन सक्दैन । त्यसैले नेपालमा लोकतान्त्रिक वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टीलाई उभ्याउने हामीले जुन लक्ष्य लिएका छौं । त्यो लक्ष्यलाई परिपूर्ति गर्नका लागि समायोजन प्रक्रियामा दक्षता, क्षमता, संघर्ष, सक्रियता यी सबै कुरालाई केन्द्रविन्दूमा राखेर हामी जानुपर्छ । पार्टीमा आवद्ध साधारण सदस्यदेखि लिएर केन्द्रीय अध्यक्षसम्म सबैको उत्तिकै भूमिका र महत्व छ । त्यसैले कसैले पनि आफूलाई बहिष्कृतको रुपमा नठानोस्, जसले गर्दा हामी अलिकति विस्तारै समायोजन प्रक्रियालाई अगाडि बढाएका छौं ताकि कुनै प्रकारका असन्तुष्टिहरु नदेखियोस् । यसको परिणाम सकारात्मक आउँछ ।

० जसपामा पूर्वराजपाका नेताहरुले सक्षम र योग्यभन्दा पनि आफ्ना मान्छेहरुलाई बढी स्थान दिइयो भन्ने छ नि?

— आफ्ना मान्छेहरुलाई बढी स्थान दिइयो भन्ने कुरा आंशिकरुपमा सत्य पनि हो । तर पूर्वराजपामा मात्रै होइन, समाजवादी पार्टीमा पनि तीनवटा धार छन् र हामीकहाँ ६ वटा धार थियो । धेरै पार्टीहरु मिलेर जनता समाजवादी पार्टी निर्माण गरेका छौं । यो यतिमै सीमित रहँदैन । संघीयतावादी र आमूल परिवर्तन खोज्न सक्ने सबै शक्तिहरुसँग सहकार्य हुन्छ । जनता समाजवादी पार्टी बनाउने हाम्रो जुन लक्ष्य छ, त्यो पूरा भइसक्यो । अब हामीले एकता महाधिवेशन तत्काल गर्नुपर्छ । पूरानै गुटउपगुटको ढंगले अगाडि बढ्दा पार्टीको लक्ष्यलाई ओझेलमा पार्छ र पार्टीले शक्ति पनि आर्जन गर्दैन । त्यसैले त्यसलाई निरुत्साहित नै गर्नुपर्छ । दुर्भाग्यवश आंशिकरुपमा भागवण्डाकै आधारमा कतै–कतै नातावाद, कृपावाद जस्ता कुराहरुले सक्षम, क्षमतावान धेरै साथीहरु प्रमुख अभिभारामा आइनसकेको अवस्था हो । यसलाई मिलाउँदै हामी अगाडि बढ्छौं ।

० विगतमा दुईटै पार्टीले आफ्नो महाधिवेशन गर्न सकेन, जसपाले कहिलेसम्म महाधिवेशन गर्ने उद्देश्य लिएको छ ?

— जनता समाजवादी पार्टीभित्र मूलरुपमा तीनवटा शक्तिहरु समाजवादी पार्टी, नयाँ शक्ति र राष्ट्रिय जनता पार्टी नेपाल रहेका छन् । यी तीनवटै पार्टीले विगतमा जुन ढंगले क्रियाकलापहरु अगाडि बढाए त्यसबाट पाठ सिकेर एक तहको असफलता भइसकेपश्चात् नै हामी एकीकरणको प्रक्रियामा अगाडि बढेका छौं । त्यसैले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्छौं भनेर नै यो एकीकरण गरिएको हो । विगतमा जे कुरा भयो त्यहीं पुनः दोहोरिन्छ भन्ने कुरा होइन । यो दोहोरिन दिँदैनौं हामी । हाम्रो पार्टीको एकता महाधिवेशन छिट्टै गर्छौं । संवैधानिक हिसावले कानूनतः हामीले जुन समयसीमा पाएका छौं त्यसको धेरै नै समय बाँकी छ । तर हाम्रो उद्देश्य समायोजन प्रक्रिया सकिने बित्तिकै पार्टीलाई महाधिवेशनतर्फ अग्रसर गर्छौं । यी कामहरु हामी यदि समयमा सम्पन्न गर्न सक्यौं भने राष्ट्रिय राजनीतिमा राम्रो सन्देश पनि जान्छ । जनताको विश्वास हामीले जित्न सक्छौं । किनभने सत्तारुढ नेकपाले महाधिवेशनको मिति तोकिसकेर पनि गर्न सक्ने अवस्था छैन, कांग्रेसमा पनि लथालिङ्गको अवस्था छ ।

० संघीय संसदको संसदीय दलका नेता राजेन्द्र महतोलाई दिने सहमति भएको हो भन्ने चर्चा छ, के हो वास्तविकता ?

— संसदीय दलको नेता राजेन्द्र महतोलाई दिने त्यस्तो सहमति भएको कुरा हामीसँग आइपुगेको छैन । शीर्षस्थ नेतृत्वहरुको बीचमा यदि त्यस्तो सहमति भएको हो भने उहाँहरुलाई नै थाहा होला । नेता कार्यकर्तामाझमा यो कुरो छैन । हाम्रा पार्टीका संघीय संसदभित्र रहेका सबै माननीयज्यू त्यो पदका लागि योग्य हुनुहुन्छ । जसको नाममा सहमति हुन्छ, उहाँलाई संसदीय दलको नेता बनाइन्छ । अर्को कुरा पार्टीलाई दीर्घकालीनरुपमा अगाडि बढाउने हो भने पार्टीभित्र थुप्रै पावरहाउसहरु निर्माण गर्नु हुँदैन । थुप्रै पावरहाउसहरु बनाइयो भने पार्टीले निर्णय पनि गर्न सक्दैन, द्वन्द्व पनि हुन्छ । दुई अध्यक्षीय प्रणालीमा पार्टी अगाडि बढिसकेको खण्डमा अध्यक्षहरुलाई मजबुती दिने संगठनहरु निर्माण गर्नुपर्छ । मेरो विचारमा दुवै अध्यक्षमध्येबाटै संसदीय दलको नेताको जिम्मेवारी दिँदा अझ राम्रो हुने हो ।

० तर भएको भद्र सहमति कार्यान्वयन भएन भने पार्टीभित्र फेरि समस्या उत्पन्न हुँदैन ?

— त्यस्तो सहमति भएको हामीलाई थाहा छैन । यदि सहमति भएको छ भने कुरा सकिगो नि । त्यसो भए माननीय राजेन्द्र महतोजी संसदीय दलको नेता बन्नुहुन्छ, उहाँ हाम्रो नेता पनि हो । यो समस्याको कुरै होइन ।

० प्रदेश २ को सरकारप्रति आफ्नै पार्टीका सांसदहरु असन्तुष्ट हुनुहुन्छ, सबै परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ । पार्टीभित्र यसबारे के भइरहेको छ ?

— हाम्रो पार्टीमा विमती छैन, लोकतान्त्रिक पार्टीमा विचारको प्रष्ट ढंगले आदान प्रदान हुन्छ । हाम्रा पार्टीका प्रादेशिक सांसदहरुले प्रदेश सरकारले आफ्नो काम अझै प्रभावकारी ढंगले गर्न सकिन्छ भन्ने ढंगले सुझाव, सल्लाह र दबाब दिनुभएको हो । त्यो सहज प्रक्रिया हो । यसलाई असन्तुष्टि वा विरोधाभाष भनेर बुझ्नु हुँदैन । जो साथीहरुले यी कुराहरु उठान गर्नुभएको छ, उहाँहरुले पार्टीको हितका लागि आफ्नो सहकर्मी साथीहरुको काम अझ राम्रो होस् भनेर सकारात्मक आलोचना गर्नुभएको छ । हामी छापामार शैलीको पार्टी होइन, हामी कम्युनिष्ट पार्टी जस्तो पनि होइन । आलोचना हुने बित्तिकै नेतृत्वमाथि धावा बोल्ने, सफाया गर्नुपर्छ भन्ने जनता समाजवादी पार्टी होइन । यो लोकतान्त्रिक पार्टी हो, यसलाई सामान्यरुपले हामी बुझेका छौं । जहाँसम्म नेतृत्व परिवर्तनको कुरा छ, प्रदेश २ को मन्त्रिपरिषद् पुनर्गठन गर्नैपर्छ । किनभने अहिले प्रदेश २ मा हाम्रो दुईटा संसदीय दल छ, त्यसलाई एउटा बनाउनुपर्ने छ । अहिलेकै मुख्यमन्त्रीमा यदि सहमति भयो भने कुरै सकियो । सहमति भएन भने लोकतान्त्रिक पद्दतिबाट नेता चुनिन्छ र उहाँको नेतृत्वमा सरकार पुनर्गठन हुने हो ।

० प्रदेश २ मा केही समयदेखि श्रृंखलाबद्धरुपमा दलितहरुको हत्या हुँदै आएको छ । प्रदेशको शान्तिसुरक्षा खलबलिएको छ । यस विषयमा प्रदेश सरकारको भूमिका प्रभावकारी किन देखिएको छैन ?

— प्रदेश २ मा दुर्भाग्यपूर्ण अवस्था छ । प्रदेश २ मा दलितको जनसंख्या निर्णायक छ । दलित तथा अलग–थलग पारिएका समुदायलाई नै मूल प्रवाहमा ल्याउन हामीले संघर्ष गरेका हौं । लकडाउनको अवधिमा १० जनाभन्दा बढी दलितहरुको हत्या प्रहरी हिरासतमा भएको छ, बलात्कारका घटनाहरु पनि धेरै भएका छन् । यो अत्यन्तै दुःखद र निन्दनीय घटना हो । खासगरी प्रदेश २ को प्रहरी प्रदेश सरकार मातहत छैन । प्रादेशिक सरकारका निर्णयहरु मान्न प्रहरीको मानसिकता पनि देखिँदैन । त्यसैले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले चाहेर पनि धेरै कुराहरु गर्न सकिरहनुभएको छैन । मधेशमा जुनसुकै स–सानो प्रदर्शन भयो भने सुरक्षाकर्मी बढी बल प्रयोग गर्छन् । बर्दिवासकै ताजा घटनालाई हेरौं, प्रहरीले टाउको र छातीमा गोली ठोकेको छ । एउटा बलात्कारीलाई कारबाही गर भनेर आन्दोलन गर्दा एउटा निर्दोष नागरिकलाई टाउको र छातीमा गोली ठोकेर हत्या नै गरिएको छ । बारा जिल्लामा एउटा सामान्य घटनामा प्रदर्शन हुँदा टाउको र छातीमा गोली ठोकिने गरेको छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ