‘जसले हाम्रो माग सम्बोधन गर्छ उसैलाई हामीले विश्वास गर्ने हो’

अन्तर्वार्ता

3/24/2021

० नेपाल–भारत सीमा बन्द भएको झण्डै एक वर्षभन्दा बढी समय भइसक्यो, अहिलेसम्म खुल्ने अवस्था देखिँदैन । कसरी हेर्दै हुनुहुन्छ ?

— नेपाल र भारतबीचको खुल्ला सीमा बन्द भएको एक वर्ष पूरा भइसक्यो । जुन हामीले विगतमा निर्वाधरुपमा प्रयोग गर्दै आइरहेका थियौं । हामीलाई पहिला नेपाल र भारतबीचमा सिमाना पनि छ भन्ने कुरा थाहा हुँदैनथ्यो । राजनीतिक आस्थाको आधारमा दुई देशबीच एउटा रेखा मात्र कोरिएको छ । दुवै देशका नागरिक भाईचारा जस्तो बसिरहेका छन् । आफ्नै दाजुभाईहरु वनबासको जस्तो थुनामा राखेको जस्तो सीमा बन्द गरिदिएको छ । यो एकदम अमानवीय, निन्दनीय हो ।

० सीमा बन्दका कारण कस्ता समस्याहरु सीमावर्ती क्षेत्रका जनताले भोग्नुपरेका छन् ?

— दुई देशबीच जुन बेटीरोटीको सम्बन्ध छ, सौहार्दपूर्ण सम्बन्ध छ, त्यो सम्बन्धलाई समाप्त गर्ने कुकृत्य हुँदैछ । यसलाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन । नेपाल खुल्ला सीमा सम्वाद समूहले सीमा खोलाउनका लागि महिनौंसम्म धरणा दिएको हो । अविलम्ब नेपाल र भारतबीचको सीमा खुला हुनुपर्छ । यो हाम्रो मात्र माग होइन, समग्र नेपाली जनताको माग हो । यो सीमा बन्दका कारण खासगरी सीमावर्ती क्षेत्रका जनता अत्यन्त पीडामा छन् ।

० अहिले पनि कोरोना भाइरस बढ्ने देखिन्छ नि ?

— कोरोना महामारीको प्रकोप कम हुँदै गइरहेको अवस्थामा पर्यटन व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायीहरु धेरै नै पीडामा छन् । सामाजिक, आर्थिक, पर्यटकीय र सांस्कृतिकरुपमा दयनीय अवस्था हुँदै गइरहेको छ । कतिपय व्यवसायीहरु आत्महत्या गर्नसमेत बाध्य भएका छन् भने कतिपय व्यवसायीहरु पलायन भइसकेका छन् । यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने अवस्थामा एक वर्षदेखि व्यवसायीहरुलाई दुःख दिएको छ । सीमा बन्दका कारण समस्यामा परेका व्यवसायी तथा जनताहरुलाई नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्छ ।

० सीमा खुलाउन नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले चरणबद्धरुपमा आन्दोलन ग¥यो तर सरकारले सुनेन नि ?

— कोरोना भाइरसको प्रकोप कम हुँदै गएपछि नेपाल भारत खुल्ला सीमा सम्वाद समूहले चरणबद्ध रुपमा आन्दोलन ग¥यो । हामीले विभिन्न माध्यमबाट प्रधानमन्त्रीलाई दबाब दिने र ज्ञापनपत्रसमेत बुझाउने लगायतका कार्यहरु ग¥यौं । तर हाम्रो प्रधानमन्त्री केपी ओलीको कदमका कारण नेपालको राजनीतिक अवस्थामा परिवर्तन भएपछि हामी आफ्नो आन्दोलनको स्वरुपलाई रुपान्तरण ग¥यौं । हाम्रो आन्दोलन अहिले पनि जारी नै छ । जबसम्म पूर्ववत् रुपमा सीमा पूर्णरुपमा खुल्ला हुँदैन तबसम्म नेपाल भारत खुल्ला सीमा सम्वाद समूह आवाज उठाउँदै रहन्छ ।

० भनेपछि पूर्ववत् अवस्थामै सीमा खोलिनुपर्ने हो ?

— सीमा व्यवस्थापनको नाममा दुई देशका नागरिकलाई दुःख दिनु हुँदैन । सीमा बन्दका हजारौं लाखौं नागरिकहरु पीडामा छन् । भारतमा काम गर्ने नेपालीहरुलाई आवतजावतमा असुविधा भइरहेका छन् । सीमा क्षेत्रमा बस्ने नागरिकहरुले स्वास्थोपचारका लागि आउन जान अप्ठ्यारो भइरहेका छन् । बिहेबारीको सम्बन्धमा पनि धेरै असर परिरहेको छ । ती व्यवधानहरुलाई अन्त्य गर्नुपर्छ र पूर्ववत् अवस्थामै खोल्नुपर्छ ।

० सीमा बन्दका कारण यो एक वर्षमा कस्ता समस्याहरु देखिए त ?

— सीमा बन्दका कारण नेपाल र भारतबीच सदियौं हुँदै आएको बिहेबारी अवरुद्ध भएको छ । त्यस्तै, धार्मिक पर्यटकको रुपमा नेपालमा भित्रिने हजारौं श्रद्धालुहरु नेपाल आउन सकेका छैनन् । नेपालका श्रद्धालुहरु भारतको तीर्थस्थलहरुमा जान पाएका छैनन् । नेपालका धार्मिकस्थलहरुमा हजारौं भारतीय पर्यटकहरु नेपाल आउने गरेका थिए तर त्यो हुन सकेको छैन । यो सीमा बन्दका कारण सीमा क्षेत्रको जनजीवनमा हरेक किसिमले असर पारेको छ ।

० अहिले फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ नि ?

— कोरोनाको महामारी बढिरहेको छ भनेर सीमालाई बन्द गरिराख्दा जनता झन् पीडामा बाँच्न बाध्य भइरहेका छन् । विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्ड अपनाउँदै सीमामा लागेको बन्देज हटाउनुपर्छ । कोरोनासँग डराएर हुँदैन, त्यसबाट कसरी बच्ने त्यसबारे सचेतना फैलाउने काम पनि सरकारको नै हो । कोरोनाको नाममा सीमा बन्द गरी दुई देशबीचको विविध सम्बन्धमा दरार ल्याउनु हुँदैन ।

० चीनले पनि अहिलेसम्म सीमा बन्द नै राखेको छ नि ?

— हाम्रो असल छिमेकी को हो त्यो हेर्नुपर्छ । भारत र चीन दुवै हाम्रो छिमेकी हो तर चीनको व्यवहार नेपालप्रति त्यति मित्रवत् छैन । भारतले जसरी नेपालसँग मित्रता देखाउँछ, त्यसरी चीनले देखाउँदैन । त्यसैले चीनले एकतर्फीरुपमा नाका बन्द गरेर नेपालका नागरिकलाई दुःख दिनु हुँदैन भन्ने हाम्रो माग हो । नेपालमा मालसामानहरु आयात–निर्यातका लागि सीमामा सहज हुनुपर्छ ।

० जसपाभित्र अहिले दुईवटा धार स्पष्टरुपमा देखिएको छ । किन ?

— जसपामा एउटा मात्र धार हो, हाम्रो मागहरु सम्बोधन हुनुपर्छ । जसपा परिवर्तनकारी शक्ति हो । जसपाले पूरै देशभरिका शोषित, पीडित, उपेक्षित, अपहेलित, अपमानित समुदायको अधिकार र सवालका विषयहरु उठाउँदै आएको छ । जसपामा कुनै किसिमको मतभिन्नता वा दुई धार छैन । अहिले जसपा निर्णायक शक्तिको रुपमा देखिएको छ । त्यसैले यसलाई कमजोर बनाउन केही भ्रामक कुराहरु प्रायोजितरुपमा बाहिर आइरहेका छन् । कांग्रेस र कम्युनिष्टको विकल्पमा नयाँ शक्ति वैकल्पिक शक्ति बन्ने क्रममा जसपा रहेको छ । हाम्रो माग जसले पहिला पूरा गर्छ, जसपाले उसलाई नै साथ दिन्छ । ती ठूला भनाउँदा दलहरुले आफ्नो लागि मात्र संविधान बनाए । यसमा सबै समुदायको हकअधिकार समेटिएन । जसले गर्दा आज संविधान कार्यान्वयन भइरहँदा विभिन्न बाधा र अड्चनहरु देखा परिरहेका छन् । हामीले यिनै मागहरु उठाउँदै आएका छौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतना आएको छ । उहाँले हाम्रा मागहरु सम्बोधन गर्ने आश्वासन दिइरहनुभएको छ । उहाँ सांसद रेमशलाल चौधरीको रिहाइ, मधेश–थरुहट आन्दोलनका बेला लगाइएका झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतमा सकारात्मक हुनुहुन्छ ।

० तर पूर्वसमाजवादीका नेताहरुले त केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन सक्दैन भनिरहेका छन् नि ?

— त्यो उहाँहरुको व्यक्तिगत कुरा होला । पार्टीको आधिकाािरक धारणा अहिलेसम्म बनिसकेको छैन । हाम्रा लागि त कांग्रेस, एमाले र माओवादी केन्द्र तीतवटै दल प्रतिगमनकारी हुन् । अन्तरिम संविधान निर्माण भइरहँदा माओवादी अध्यक्ष प्रचण्डले पनि संघीयता र समानुपातिक समावेशितालाई बेवास्ता गर्नुभएको थियो ।

० तर उपेन्द्र यादव र बाबुराम भट्टराईहरुले केपी ओलीलाई मात्रै प्रतिगमनकारी देखिरहनुभएको छ नि ?

— उहाँहरु हाम्रा आदरणीय नेताहरु हुनुहुन्छ, उहाँहरुले किन केपी ओलीलार्इृ मात्रै प्रतिगमनकारी देख्नुभएको छ, त्यो हामीले बुझ्न सकिरहेका छैनौं । उहाँ त आफै एक वर्षभन्दा बढी समयसम्म केपी ओलीको सरकारमा बसेर फर्किनुभएको छ । त्यसैले हाम्रा लागि केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा एउटै हुन् । शोषित–पीडितहरुको सवालमा उहाँहरु सबै प्रतिगमनकारी नै हुन् । हाम्रो लागि कोही छुत वा अछुत छैनन् । जसले हाम्रो मुद्दाप्रति अपनत्व देखाउँछ, जसले हाम्रो मागलाई सम्बोधन गर्छ उसैलाई हामीले विश्वास गर्ने हो ।

० तर यही दुई किसिमको धारका कारण जसपा फुट्ने त होइन ?

— यस्ता किसिमका मत–मतान्तरहरु जुनसुकै पार्टीमा हुन्छ, यसले गर्दा फुट्ने होइन । फुट्नका लागि जसपा बनेको पनि होइन ।

० जसपाको संसदीय दलको नेतामा पनि अहिले कुरा मिलिरहेको छैन । जसपा निर्माणका बेला संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाउने इन्टेलिजेन्ट एग्रीमेन्ट भएको भन्ने सुनिन्छ नि ?

— यदि यसप्रकारको इन्टेलिजेन्ट एग्रीमेन्ट भएको छ भने त्यसलाई पालना गर्नुपर्छ । सहमति गर्ने पाँचै जना इन्टेलिजेन्ट नै हुनुहुन्छ । यस्ता सहमतिहरु कार्यान्वयन हुँदै गयो भने आउने पुस्ता लागि पनि एउटा राम्रो सन्देश जानेछ । यसले पार्टीभित्र इमान्दारिताको अभ्यास हुन्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ