० नेकपाले दुई तिहाई नेतृत्वको सरकार चलाइरहेको छ । अहिलेको राजनीतिक अवस्था कस्तो देख्नुहुन्छ ?
— देशमा राजनीतिक स्थिरता छ, शान्ति फैलिएको छ । जनतालाई प्रत्यक्ष असर गर्ने कुनै किसिमका घटना भएका छैनन्, उद्योगधन्दाहरू खुल्ने क्रम बढेको छ । देशमा विभिन्न किसिमका राजनीतिक परिवर्तनहरू भए, तीन तहको निर्वाचन सम्पन्न भयो । केही समय लाग्न सक्छ तर समुचित्त हिसाबले काम भइरहेकै छ ।
० जनचाहना अनुसार काम भइरहेको छैन भनेर व्यापक जनगुनासो पनि छ नि ?
— कहिँ कतै कमजोरी भएको हुनसक्छ । दुई तिहाई मतको स्थायी सरकार निर्माण भएको छ । त्यस अनुरूप जनताको आकांक्षा हुनु स्वभाविक हो । उच्च आकांक्षा छ भन्दैमा त्यही अनुरूप काम भइहाल्छ भन्ने छैन । त्यसका लागि केही समय लाग्छ । काम गर्न सक्ने सरकार निर्माण भएको छ, प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर जनताको पक्षमा काम गर्ने वचन दिनुभएको छ । भूपरिवेष्टित राष्ट्र हो, हाम्रो समुद्रसँग सम्पर्क छैन । परनिर्भर हनुपर्ने अवस्था छ, बैंकहरूमा तरलताको अभाव छ, बेरोजगारीको समस्या व्याप्त छ, युवा जनशक्ति विदेश पलायन भएका छन्, उद्योगभन्दाहरू कम छन् । यस्ता धेरै समस्याहरू अहिले पनि विद्यमान् छन् । यस्ता समस्याहरूको बीचमा २ वर्षभित्रैमा देशमा कायापलट हुन्छ भन्ने छैन । क्रमशः सुधार हुँदै गएको छ । रेमिट्यासमा बृद्धि भएको छ, वैदेशिक लगानी भित्रिने क्रम बढ्दो छ, पर्यटन उद्योग फस्टाएको छ । यस्तै युवाहरूमा देशमै केही गर्नुपर्छ भन्ने भावना विकास हुन थालेको छ । यसरी हेर्दा सुधारका संकेतहरू देखिँदै गएको पाइन्छ ।
० तर, यो सरकारले काम भन्दापनि आश्वासन मात्र बढि बाँडिहेको छ नि ?
— हामीले चुनावको समयमा झुटो आश्वासन दिएका थिएनौ । रेल, पानीजहाज, मेट्रोको सम्भावना छ भन्नु त्यो झुटो आश्वासन होइन । जलयात्राको सम्भाव्यता विभिन्न ठाउँमा अध्ययन भइरहेको छ । हाम्रो भारत र चीनसँग कन्नेटिभिटी बढिरहेको छ । भारतबाट रेल नेपाल भित्रिसकेको छ । चीनको राष्ट्रपति नेपाल भ्रमणमा आएर फर्कनुभयो । उहाँले पनि रेलको सम्भावनालाई महत्व दिनुभएको छ । यसरी हेर्दा सरकारले आश्वासन मात्र दिएको छैन, काम पनि गरिरहेको छ भनेर बुझ्नुपर्छ । विरोधै मात्र गर्नेहरूका लागि त यो सरकार छिट्टै समाप्त होस्, यो सरकारले जनतालाई देखाएको सपना पूरा नहोस् भन्ने सोच राख्नेहरूले हरेक काम गराईमा विरोध गरिरहेकै हुन्छन् । हाम्रो केही बाध्यताहरू पनि छन् । हामीसँग पूँजीको अभाव छ, दक्ष जनशक्तिको अभाव छ, बाटोघाटोको समस्या छ, निर्माण साम्रागीहरू बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । त्यसैले भन्ने बित्तिकै परिवर्तन सम्भव छैन, कमजोरीहरू सुधार गर्दै अगाडि बढ्नुपर्छ । आउने ५ वर्षमा यो देशको स्वरूप परिवर्तन हुन्छ ।
० प्रतिपक्ष दलले लगाउँदै आएको आरोपको सरकारले खण्डन मात्र गर्ने गरेको छ, सरकारले त्यसरी खण्डन गर्नुपर्ने आवश्यकता छ ?
— सरकारले खण्डन गर्ने होइन जनतालाई काम गरेर देखाउने हो । सरकारले काम गर्नुपर्छ, जनतालाई सन्तुष्टि दिनु पर्छ । शिक्षा, स्वास्थ्यको स्थितिमा सुधार गर्नु पर्छ, बाटोघाटो, पुल निर्माण, रोजगारी सिर्जना गर्नुपर्ने छ । यस्ता सबै काममा सरकार लागिरहेको छ । निम्न आय भएका गरिब जनतालाई समाजिक सुरक्षा भत्ता दिने विषयमा पनि सरकारले काम सुरू गरिसकेको छ । हामीले कम समयमा धेरै राम्रा कामहरूको सुरूवात गरेका छौं । जनताको आशालाई हामी निराशामा परिवर्तन हुन दिँदैनौं ।
० सरकारको नेतृत्व परिवर्तनको विषयमा पनि पार्टी भित्र विवाद छ । ५ वर्षसम्म नै केपी ओली नै प्रधानमन्त्री रहनुहुन्छ कि प्रचण्ड आउने सम्भावना छ ?
— केपी ओली पनि एक सक्षम प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्डज्यूपनि पहिले नेतृत्व गरिसक्नुभएको व्यक्ति हुनुहुन्छ । पार्टीको एउटा सिद्धान्त छ, एउटा दृष्टिकोण छ, त्यसमा नेतृत्व जसले गर्दापनि केही फरक पर्दैन । पार्टी एक होस्, देशमा स्थायित्व होस्, शान्ति होस् भन्ने सबैको धारणा छ र ओली र प्रचण्डज्यूको धारणा पनि त्यही हो । उहाँहरूको बीचमा कुनै किसिमको मतभेद छैन । सरकार परिवर्तन हुने वा नेतृत्व परिवर्तन हुने अहिले कुनै सम्भावना छैन ।
० उच्चपदस्थ व्यक्तिहरूको विषयमा विभिन्न काण्डहरू बाहिरिएका छन् । यसरी हेर्दा संसदीय व्यवस्थालाई नै असफल बनाउने षड्यन्त्र भईरहेको हो कि ?
— पूर्वसभामुख कृष्णबहादुर महरा र कांग्रेसका सांसद अफताब आलमको बिषयमा अहिले बहस भइरहेको छ । उहाँहरू दोषी प्रमाणित भइ सक्नुभएको छैन । यदि उहाँहरू दोषी देखिनुभयो भने पनि उहाँ आबद्ध हुनुभएको पार्टी वा संसदीय व्यवस्था नै गलत हो भन्न मिल्दैन । व्यक्तिगत रूपमा विश्वमा नै ठूला–ठूला नेताहरू दोषी ठहर भएका छन् । गलत गर्ने व्यक्तिले सजाय पाउनैपर्छ । यसबाट देशमा अहिले भएको व्यवस्थामाथि नै दोष दिनु गलत हो । सबै व्यक्तिको व्यक्तिगत जिन्दगी हुन्छ । उाीहरू सबैको जिम्मेवारी सरकारले लिन सक्दैन ।
० छिमेकी मित्रराष्ट्र भारत र चीनबाट उच्चस्तरीय भ्रमणहरू हुँदै आएको छ । भर्खरै चिनियाँ राष्ट्रपतिको भ्रमण पनि भयो । यसबाट नेपालको परराष्ट्र नीति कस्तो रहेको पाउनुभएको छ ?
— हरेक देशसँग नेपालले राम्रो सम्बन्ध राखेको छ । नेपालको परराष्ट्र नीतिमा कहिँकतै समस्या छैन । जुनसुकै पार्टीको सरकार बने पनि परराष्ट्र नीतिमा समस्या भएको छैन ।
० अहिले कम्युनिष्ट नेतृत्वको सरकार चीनतिर बढी ढल्किएको भन्ने गरिन्छ ?
— चिनियाँ राष्ट्र प्रमुखको भ्रमण हुँदा चीनतिर ढल्किएको जस्तो लाग्छ र भारतका राष्ट्र प्रमुखको भ्रमण हुँदा भारततिर ढल्किएको जस्तो लाग्छ । यो एकथरी मानिसहरूको समस्यै रहेको छ । नेपाल एउटा सानो देश हो । हामीले दुवै छिमेकीसँग फाईदा लिएर देश विकसित गर्नुछ । त्यसैले हामीले कतैतिर ढल्किएर भन्दा पनि विदेश नीतिलाई सन्तुलित राखेर अगाडि बढ्नुपर्छ । भारत र चीनसँग राम्रो सम्बन्ध बनाउने हो भने हाम्रो आर्थिक स्थितिमा सुधार आउँछ ।
० नेपाल कम्युनिष्ट पार्टी ‘सी पथ’मा अगाडि बढेको छ पनि भनिन्छ ?
— यो नामको मात्र कम्युनिष्ट पार्टी हो हामी उदारवादी हौं । उद्योगी व्यवसायीले राहत पाएका छन्, लगानीको वातावरण बन्दै गएको छ । कतै पनि कम्युनिज्म देखिंदैन । चीनले हाम्रो देशमा बाटोघाटो निर्माण गरिदिन्छ, रेल ल्याइदिन्छ, बोर्डर खोलिदिन्छ भने हामी चीनतिर ढकिल्न मिल्दैन । अहिले युद्ध गर्ने समय होइन । व्यापार गर्ने समय हो । चीनतिर ढल्किएको भन्नु भ्रम मात्र हो ।
० नेकपाले त चिनियाँ कम्युनिष्ट पार्टीसँग सहमति पत्रमा हस्ताक्षर नै गरेको छ नि ?
— त्यो कुनै कम्युनिष्ट सम्बन्धी सहमति पत्र होइन । सहमति त भारतसँग पनि धेरै विषयमा भएका छन् । सरकार, पार्टी र देश चलाउन जे–जस्ता विषयमा सहमति हुनुपर्ने हो त्यही विषयमा सहमति भएको छ ।
० तपाई उद्योगी व्यवसायी पनि हुनुहुन्छ अहिलेको समयमा नेपालको आर्थिक अवस्था कस्तो देख्नुहुन्छ ?
— नेपालको आर्थिक अवस्था धेरै राम्रो छैन । हामीसँग पूर्वाधारको कमी छ, जनशक्तिको अभाव छ, निर्माण सामाग्रीको अभाव छ । त्यसैले समस्याहरू धेरै छ । गर्नुपर्ने काम धेरै बाँकी छ । बिस्तारै हामी अगाडि बढिरहेका छौं । निकट भविष्यमा यसमा सुधार ल्याउन सकिन्छ भन्ने आशा छ ।
० प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार बनाउन यो सरकार कत्तिको लागेको देख्नुहुन्छ ?
— यो नारा साकार बनाउन सरकार एकदम लागिपरेको छ । देशको सम्प्रभुता र सम्पन्नताको दिशामा अगाडि बढ्न सरकारले काम गरिरहेको छ ।
० विश्वमा उदयीमान दुई छिमेकी राष्ट्र चीन र भारतसँग नेपालले लिनुपर्ने जत्ति सहयोग लिन सकिरहेको छ त ?
— अझै पनि लिनुपर्छ । दुई देशको बोर्डरसँग हाम्रो कन्नेक्टिभिटी भइसकेपछि अझ बढी सहयोग लिन सक्छौं । अहिले हाम्रो दुवै देशसँग व्यापार घाटा उच्च छ । दुवै देशसँग हाम्रो सहमति भइरहेको छ । व्यापार घाटा कम गर्नका लागि अब हामी त्यहीँ दिशामा अगाडि बढ्छौं ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया