प्रदेश २ लाई ‘जानकी’ नामाकरण गरौं : जुली महतो (महासेठ)

प्रतिनिधि सभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी

अन्तर्वार्ता

8/23/2019

० दुई तिहाई सरकारप्रति जनताको अविश्वास बढ्दै जानुको कारण के देख्नुहुन्छ ?

— विगतमा बिग्रिएका र सुरू नभएका कार्यहरू यो सरकारले प्रारम्भ गरेको छ । यो वर्षलाई आधार वर्ष मानेर आगामी समयमा भने तीव्र विकासको गति लिई ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारले लक्ष्य राखेको छ । नयाँ कानुन र संरचना अनुरूप तीन तहमा जसरी कानुन, विधेयक तथा नियम ल्याई कार्यान्वयन गर्नुपर्ने थियो यसका लागि सरकारले धेरै समय खर्च गरेको छ । दुई सयभन्दा बढी कानुनहरू संशोधन भएको छ । तत्कालीन सरकारले हिजो गर्न नसकेका र नभएका कार्यहरू यो सरकारले दु्रत गतिमा गरिरहेको छ । हरेक क्षेत्रका विकासका कार्यहरू सञ्चालन तथा सुधार गरेको छ । यसले गर्दा सरकार कहिँ पनि विक्षुप्त भएको छैन । सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यमा रहेर सरकार अगाडी बढिरहेको छ । 

० तर, जनतामा त असन्तुष्टि नै देखिन्छ नि ? सरकारले जनतालाई किन यसको महसुस गराउन सकेन त ? 

— कतिपय कानुनी कठिनाई र पुरानो सरकारले बिगारेका कार्यहरूलाई सच्याउँदै कार्य अगाडि बढाउनु पर्दा कार्यगतिमा केही सुस्तता देखिएको हो । तर पनि विकासका कार्यहरू तीव्र गतिमा नै भइरहेका छन् । यो वर्ष आर्थिक वृद्धिदर पनि ७ प्रतिशतभन्दा माथि रहेको छ । सरकारले गरेका काम प्रतिपक्षले नदेख्नु भनेको स्वाभाविक हो । तर जनताले महसुस गरिरहेका छन् । जनताले सरकारलाई विश्वास गरेर नै आफ्नो अमूल्य मत दिएका छन् । सरकारलाई आफ्ना काम कर्तव्यहरू थाहा छ र त्यसैअनुरूप लागिरहेको छ । सरकार आलोचित हुने ठाउँ कतै रहेको छैन । प्रतिपक्षसँग एजेन्डा छैन, प्र्रतिपक्षको भूमिका निर्वाह गर्न मात्र विरोध गरिएको हो । सरकारले गरेका तत्कालीन कार्यहरू जनताले देखेका छन्, जसबाट सन्तुष्टि पनि छ । आगामी वर्षमा सरकार अझ राम्रा कामहरू गरेर देखाउने छ । 

० के कस्ता आधारहरू तयार भएको छ त ? 

— दुई सयभन्दा बढी कानूनहरू बनेका छन्, मन्त्रालयका विभिन्न विधेयकहरूमा संशोधन भएको छ, तत्काल गुठी सम्बन्धी आठौं संशोधन भएको छ, आर्थिक विधेयक बनाइएका छन् । मनमोहन अधिकारीको समयमा उठाइएका कुराहरू, आज सुकुम्वासीलाई कसरी व्यवस्थापन गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने, सार्वजनिक जग्गाहरू कसरी उपयोग गर्ने जस्ता विभिन्न विद्येयककहरू पास गरिएको छ । बिग्रेका कुराहरूलाई सुधारेर अगाडि बढाइएको छ । हिजाको सरकारले ऋणमा डुबाएर गएको थियो, केही गर्नका लागि सरकारसँग बजेट थिएन । यी र यस्ता धेरै कुराहरू मिलाउँदै सरकार अगाडि बढिरहेको छ । यसलाई नै आधार वर्ष मान्न सकिन्छ । 

० ‘केपी ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्ष दुईमा एक पद छोड्नु पर्छ’ लगायतका यावत कुराहरूमा पार्टी भित्र पनि असन्तुष्टि तथा विमतिहरू देखिन्छन् नि ? 

— यति ठूला दुई पार्टीबीच एकता हुनु भनेको यो सानो कुरा होइन । भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पार्टीहरूले पनि बुझनु जरूरी हुन्छ कि हाम्रा अग्रजहरूले देश बनाउनका लागि कति बलिदान दिए भनेर । लोकतन्त्र छ, सबैले आफ्नो आफ्नो कुराहरू राख्न पाउँछन् र राख्छन् । यसलाई पार्टीभित्र खिचलो तथा असन्तुष्टि भएको मान्न मिल्दैन । 

० नेतृत्व पंक्तिले काम गर्न नदिएको आरोप लगाउँदै प्रदेश २ का पार्टी अध्यक्ष प्रभु साहले राजीनामा दिएको विषयलाई तपाईले कसरी लिनुभएको छ ?  

— उहाँ अत्तालिएर राजीनामा दिएकोे होला वा अरू नै कुनै कारण थाहा भएन । उहाँले यो राजीनामा फिर्ता लिनुहुन्छ र लिनुपर्दछ । किनभने हामीले देश बनाउनु पर्नेछ । धेरै नेता कमरेडहरूले देश बनाउनका लागि पदबाट पनि पछि हटेर देश बनाउन लागिरहनु भएको छ । उहाँले आफ्नो असन्तुष्टि पोखेको मात्रै हो । उहाँले राजीनामा फिर्ता लिएर काम गर्नुहुने छ । 

० तर, नेतृत्व पंक्तिले प्रदेश कमिटि सदस्य तथा जिल्ला सदस्यहरू चयन लगायतका कार्यमा उहाँसँग छलफल नै नगरिको आरोप छ नि ? 

— यस्तो भएको जस्तो मलाई लाग्दैन । किनभने तलबाट सिफारिस भएर आएपछि माथिबाट लागू गरिएको हो । हिजोको दिनमा पूर्व माओवादी, एमाले र केही भने बाहिरबाट आएकालाई स्थान दिएको छ । कतिपय छुट्नु भएको छ । उहाँहरूलाई पनि कहि न कहि ठाउँ दिनुपर्छ भन्नेतर्फ नेतृत्व पंक्ति लागिरहेको छ ।
यति ठूलो समायोजनमा कहि न कहिँ केही गल्तीहरू हुनु अस्वाभाविक भने होइन । जसले गर्दा कहिँ कतै असन्तुष्टि पनि छ तर पनि सबै कुरालाई थाति राखेर पार्टीले विकासका कार्यहरू अगाडि बढाइरहेको छ । उहाँलाई नसोधिएको विषय भने त्यस्तो होइन ।

० प्रदेश २ सरकारकोे काम कारवाहिलाई तपाइँ कसरी हेर्दै हुनुहुन्छ ?  

— हामी संघीयतामा गएर नयाँ व्यवस्थाअनुसार सबै नयाँ संरचनाहरूलाई कार्यान्वयन गरिरहेका छौ । यसैक्रममा प्रदेश सरकारका सबै कार्यहरू राम्रा वा नराम्रा छन् भन्न सकिदैन । किनभने कतिपय कार्यहरू राम्रोसँग सञ्चालन र सम्पन्न भएका छन् भने कतिपय कामहरूमा म आफै पनि असन्तुष्ट छु । यसका लागि मैले व्यतिगत रूपमा सल्लाह पनि दिइरहेकी छु । प्रदेश वा स्थानीय सरकार दुवैले आफ्ना गुरूयोजनाहरू आफै बनाउनु पर्दछ । हाम्रो ठाउँ हामी आफैले बनाउँनु पर्दछ । प्रदेश २ यसै पनि विकास, शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रमा धेरै पछाडि नै देखिन्छ । कतै कतै प्रदेश २ मा भ्रष्टाचार बढी भयो भन्ने सुनिन्छ तर नयाँ व्यवस्था तथा सबै प्रक्रिया स्पष्ट नभएका कारणले पनि काम गर्न केही असहज भएको जस्तो लाग्छ । उहाँहरूले काम गरिरहनु भएको छ, तर शैलीमा कतै कमी देखिएको मात्र हो । उहाँहरूले कार्यलाई प्राथमिकताको साथ अगाडी बढ्नुभयो भने अझ राम्रो हुनेछ । हिजो प्रदेश २ मा आएको बाढी र क्षतिको उद्धार तथा राहतमा कतै सरकार चुकेको तथा विभेद भएको भन्ने सुनिएको छ तर विकासको कार्यलाई राजनीतिकरण नगरियोस् र गर्नु हुदैन । 

० नेकपाको नेतृत्वपंक्तिले ‘प्रदेश २ मा नेकपाको सरकार बन्छ, प्रदेश २ मा बढि भ्रष्टाचार भयो’ लगायतका आक्षेप लगाउँदै आएको छ । यसलाई तपाई कसरी लिनुहुन्छ ?  

— यो सबै कुरालाई नकारात्मक रूपले हेर्नुहुँदैन । यसबाट हामीले पनि खुशी महशुस गर्नुपर्दछ, किनकि यसबाट हामीलाई सचेत हुने अवसर प्रदान हुन्छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्यूले पनि बारम्बार भन्नुहुन्छ प्रदेश २ विकासमा पछाडी छ र यसलाई विशेष प्राथमिकतामा राख्नुपर्दछ । तर यसरी नकारात्मक रूपमा प्रदेश २ लाई निगरानी गरिएको छ जस्तो मलाई लाग्दैन । भ्रष्टाचार नै छैन भन्न मिल्ने अवस्था भने छैन तर प्रदेश २ ले मात्र भ्रष्टाचार ग¥यो भनेर किटानी गर्न पनि हुँदैन । सरकारले भौतिक, आपूर्ति र शिक्षामन्त्री जस्ता महत्वपूर्ण मन्त्रालय मधेशको जनतालाई नै दिएको छ । यसबाट पनि पुष्टि हुन जान्छ कि सरकारले मधेशको विकासलाई प्राथमिकतामा नै राखेर काम गरिरहेको छ । प्रदेश २ माथि हुने हरेक क्रियाकलापलाई आलोचना नभई चिन्तन हो भनेर लिनुपर्दछ ।

० प्रदेश २ मा नेकपा ठूलो प्रतिपक्ष दल हो, यसले आफ्नो प्रतिपक्षको भूमिका कसरी खेल्दै छ ?

— सातओटा प्रदेश मध्ये छ ओटा प्रदेशमा नेकपाको सरकार छ भने प्रदे्रश २ मा मधेशी दलको सरकार रहेको छ । जहाँ प्रतिपक्षमा नेकपा रहेको छ । प्रतिपक्षको भूमिका र सरकारलाई ठकठकाउने दुवै भूमिका नेकपाद्धारा भईरहेको छ । प्रतिपक्षले प्रदेश २ लाई जति सहयोग गर्नुपर्ने थियो त्यो भने गरेको छैन । प्रदेश २ मा नेकपाको सरकार बन्ने सन्र्दभमा, सरकार कहाँ कस्को बन्ने र नबने भन्ने कुरा यकिन गर्न सकिदैन किनभने यो जनताको हातमा रहेको कुरा हो । जनताले जसलाई चाहन्छन् उसकै सरकार बन्छ । आज नेकपासँग समाजवादी पार्टी पनि आएर सरकार बनाएको छ । त्यसैगरी प्रदेशमा पनि बन्न सक्छ तर सरकारमा गएर मात्रै काम गर्न सकिन्छ भन्ने पनि छैन । प्रतिपक्षको पनि भूमिका राम्रो भयो भने प्रदेशमा राम्रो हुन्छ । र उनीहरूले राम्रो भूमिका गरिरहेका छन् ।

० प्रदेश २ को नामाकरणका लागि प्रक्रिया सुरू भएको छ, तपाइँको धारणा के छ ? 

— प्रदेश २ को नामाकरण गर्नै ढिलो भइसक्यो । त्यसै पनि हामीलाई दुई नम्बरी भनेर सुन्नु परेको र अपहेलित हुनु परेको छ । त्यसैले, प्रदेशलाई नामाकरण छिटोभन्दा छिटो टुंग्याओस् भन्न चाहन्छु । नाममा धेरै विवाद गर्नु हुँदैन । सबैलाई समेट्ने, अटाउने र अलिकति अन्तर्राष्ट्रियस्तरमा उठ्ने गरी नामाकरण गर्नुपर्छ । जानकी मन्दिरका कारण आज जनकपुरको अन्तर्राष्ट्रियस्तरमा पहिचान छ । सीता माताको जन्मस्थान भएकोले जानकी प्रदेश नामाकरण गर्नुपर्छ ।

० मधेश प्रदेश किन नराख्ने त ? 

— प्रदेश २ मा मधेशका जम्मा आठ वटा जिल्ला मात्र छन् । हामी २२ जिल्लामा छौं भने किन आठ वटा जिल्लालाई मात्रै मधेश प्रदेश भन्ने ? यसमा मेरो चित्त बुझेको छैन । यदि २२ वटा जिल्ला तराई–मधेश हो भने प्रदेश २ लाई मधेश प्रदेश राखियो भने हामी आठ जिल्लामा मात्रै खुम्चिन्छौं । अन्य जिल्लाहरूलाई हामी समेट्न सक्दैनौं । त्यसैले, नामको लागि धेरै विवाद गर्नु हुँदैन । प्रदेश २ को नाम यदि जानकी प्रदेश राखियो भने यसले अन्तर्राष्ट्रियस्तरमा पनि ठूलो महत्व पाउँछ । 

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ