० संघीय समाजवादी फोरम नेपालले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमहरू गर्दैछ, यसको उद्देश्य के हो ?
—तीनै तहको निर्वाचनमा भाग लिइसकेपछि पार्टीको समीक्षा र संगठन सुदृढीकरणका लागि हामीले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरिरहेका छौं । जसमा आधारभूत र सक्रिय सदस्यतासहित प्रशिक्षण लगायत संगठनात्मक स्वरूप दिनका लागि हाम्रो काम अगाडि बढेको छ ।
० त्यस कार्यक्रममा के कस्ता विषयमा प्रशिक्षण दिँदै हुनुहुन्छ ?
— निर्वाचनपश्चात पार्टीमा धेरै नयाँ सदस्यहरू प्रवेश गरेका छन् । उनीहरूलाई विधान, नियामवली, नीतिलगायत सम्पूर्ण विषयहरूमा प्रशिक्षण दिइरहेका छौं । त्यस्तै, संगठनलाई कसरी अगाडि बढाउने, हरेक निकायहरूको अधिकार के–के छन्, नयाँ संरचनाअनुसार पार्टीले कस्तो भूमिका निर्वाह गर्ने र अगाडि बढाउने लगायतका विषयमा प्रशिक्षण प्रस्तुत गर्दैछौं । आफ्ना नेता तथा कार्यकर्ताहरूलाई सक्षम र सुदृढ बनाएर अगाडि बढाउने हाम्रो नीति हो ।
० मुलुक संघीय संरचनामा गइसकेपछि, पार्टीको प्रादेशिक संरचनाहरू कसरी निर्माण हुँदैछ ?
— फोरमले वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र जिल्लाहरूमा संरचना बनाउँदैछ । संगठन सुदृढीकरणका साथै विकास र समृद्धिका लागि कुन–कुन योजना कसरी बनाउने, ती योजनाअनुसार बजेटभित्र के कस्ता कमजोरीहरू छन् र कसरी अगाडि बढ्न सकिन्छ भनेर प्रदेश सरकारसँग पनि समन्वय गरेर कार्यको थालनी गर्ने हाम्रो उद्देश्य हो । त्यहीअनुरूप हामी आफ्ना संरचनाहरू पनि गठन गर्दैछौं ।
० प्रदेश २ मा मधेश प्रदेश समिति छ, त्यस्तै अन्य प्रदेशहरूमा पनि समितिहरू छन् ?
— अन्य प्रदेशहरूमा पनि हाम्रो समितिहरू छन् । सबै प्रदेशहरूमा करिब–करिब हाम्रा समितिहरू बनिसकेको छ । भर्खरै प्रदेश १, ३, ५ मा हाम्रो तसर्थ समितिहरू गठन भएको छ । जुन प्रदेशहरूमा हाम्रो समिति छैन, त्यस प्रदेशमा बनाउने तर्खरमा छौं ।
० तपाइँहरूले विगतमा मधेशका २० वटै जिल्लालाई मधेश प्रदेश बनाउने भन्नुभएको थियो, तर अहिले आएर मधेशका आठ वटा जिल्ला मात्र रहेको प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्नुभएको छ, किन ?
— हामीले आठ जिल्लालाई मात्रै होइन, मधेशका सबै जिल्लालाई नै मधेश प्रदेश बनाउने भनेका थियौं । मधेश स्वायत्त प्रदेश हुनुपर्छ भनेका थियौं । तर, ती मधेशभित्र थारूहरू आउन चाहेनन्, उहाँहरूले अर्कै प्रदेश मागिरहनुभएको छ । राज्यले पनि हाम्रो मागलाई स्वीकार गरेन । मधेशका जिल्लालाई टुक्रा–टुक्रा पारियो । तर, हामीले अहिले पनि आफ्ना मागहरूप्रति अडिग नै छौं । हामी आफ्ना माग पूरा गराउनका लागि नै सरकारसँग सहमति पनि गरेका छौं । तत्कालका लागि अहिले विशुद्ध मधेशका जिल्लाहरू रहेको प्रदेश २ लाई मधेश प्रदेश नामाकरण गरेका छौं ।
० प्रदेश २ मा जसरी फोरमले मधेश प्रदेश समिति गठन गरेको छ, त्यस्तै, अन्य प्रदेशहरूमा फोरमका समितिहरूको नामाकरण के–के हुनसक्छ ?
— प्रदेश २ बाहेक अन्य प्रदेशमा हाम्रो बलियो उपस्थिति छैन । त्यहाँ वामपन्थीहरूकै बलियो पकड छ र उनीहरूले नै बहुमतका साथ सरकार चलाइरहेका छन् । त्यसैले अन्य प्रदेशहरूको नामाकरण के गर्ने भन्ने अधिकार उनीहरूकै हो । तर, प्रदेश २ एउटा विशुद्ध मधेशीहरूको बाक्लो उपस्थिति भएकोले त्यसको नामाकरण पनि मधेश प्रदेश नै राख्न चाहिरहेका छौं ।
० फोरम नेपाल जुन उद्देश्यका साथ सरकारमा सहभागिता जनायो, त्यसअनुसार अगाडि बढिरहेको पाउनुभएको छ ?
— हाम्रो पार्टीले सत्तारूढ दलसँग संविधान संशोधन गर्ने सर्तमा सहमति गरेर सरकारमा गएको हो । अहिलेसम्म संसदबाट १९ वटा ऐन पास भएको छ । हामीले भनेअनुसार संविधान संशोधन हुन्छ भन्ने पनि बहस चल्छ तर अहिलेसम्म संशोधनबारे बहस चलेको छैन । हामीलाई आशा छ कि संविधान संशोधन हुन्छ । नेकपा नेतृत्वको सरकार बहुमतको भए पनि हाम्रो सहभागिता पछि सरकार झन बलियो भएको छ । हाम्रो धारणा के हो भने अहिलेसम्म हामीले जति उपलब्धि पाएका छौं, त्यसलाई संरक्षण गर्ने र बाँकीका लागि संघर्ष गर्ने । त्यहींअनुरूप हामी सरकारमा पनि गएका हौं ।
० फोरम सरकारमा गएपछि पार्टी कति सन्तुष्ट भएको पाउनु भएको छ ?
— अहिले सरकारमा फोरमबाट जम्मा तीन जनाको उपस्थिति छ । हामी सरकारमा नरहँदा पनि सरकारलाई कुनै असर गर्दैन । हामीले संविधानमा संशोधन गर्न सहज होस् भनेर नै सरकारमा गएका छौं । तर, सरकारमा गइसकेपछि, मन्त्री भइसकेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा मन्त्रीले जसरी प्रभावकारी रूपमा काम गर्नु पर्ने हो, त्यो भइरहेको छैन । फोरमका नेताहरू मन्त्री भएपछि उहाँहरूको कामबाट जनता सन्तुष्ट छैनन् । यद्यपि, जनता बढी आकांक्षावादी भएकाले पनि हुनसक्छ, सबै काम एकैच पटक हुँदैन तर, जुन गतिमा हाम्रा पार्टीका मन्त्रीहरूले काम गर्नुपर्ने हो त्यो नभएको हामीले महसुस गरिरहेका छौं ।
० भनेपछि, फोरमले पाएको मन्त्रालयबाट हुने कामहरूबाट तपाइँहरू सन्तुष्ट हुनुहुन्न ?
— हाम्रो पार्टीले पाएको शहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो । जसअन्तर्गत केही कामहरू अगाडि बढेको त छ तर जनताले किसिमले जसरी सेवा सुविधा पाउनुपर्ने हो त्यो भइरहेको छैन । खासगरी, तराई मधेशमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्य चौकीहरू र अस्पतालहरूमा सुधार हुने क्रममा छन् । तर, आम जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने खालको काम त्यति प्रभावकारी हुन सकेको छैन । मन्त्री बन्ने बित्तिकै सरूवा बढुवालाई नै बढी प्राथमिकता दिने काममा अल्झिँदा अन्य कामहरू प्रभावित भएको हो । जनताबाट यस्ता असन्तुष्टिहरू आउनु स्वाभाविक पनि हो । किनकि आफ्ना नेता मन्त्री बन्दा धेरै आशा र अपेक्षा राखेका हुन्छन् । एउटा अर्को पनि कारण के छ भने मन्त्रीहरूको आफ्नो मन्त्रालय व्यवस्थित नभएकोले पनि जनअपेक्षाअनुसार काम नभएको हो ।
० संविधान दिवसको सन्दर्भमा फोरमको मधेश प्रदेश र केन्द्रबीच मत मिलेन । तपाइँहरूले कालो दिवस मनाउँछौं, ब्ल्याक आउट गर्छौं घोषणा गर्नुभयो तर केन्द्रले संविधान दिवसको विरूद्धमा कुनै कार्यक्रम नगर्न आदेश दियो । किन दोधारे नीति ?
— यो विषयलाई अन्यथा लिनुहुँदैन । संघीयता आएपछि प्रदेश समिति बनेपछि त्यसको पनि केही अधिकार हुन्छ र छ । विभिन्न प्रदेशका विभिन्न किसिमका समस्याहरू छन् । मधेशीसँग भएको विभेद र पहाडका आदिवासी जनजातिमाथि भएको विभेदमा पनि भिन्नता छ । त्यसैकारण, मधेश प्रदेश समितिले विगतमा पनि संविधान जारी भएको दिनलाई नै कालो दिवस मनाएको थियो । किनभने यो संविधानमा हाम्रा धेरै कुराहरू लेखिएको छैन । यो संविधान अधुरो र अपुरो छ, त्यसैले संविधान जारी भएको दिन हाम्रा लागि कालो दिवस नै हो । संविधान जारी हुँदा देशका आधा जनसंख्याले कालो दिवस मनाए भने आधा जनसंख्याले दिपावली मनाए । यो संविधानमा केही कुरा राम्रा छन्, जस्तै ः गणतन्त्र, संघीयता लगायतका कुराहरू राम्रा पक्ष छन् । त्यसै कारणले प्राप्त उपलब्धीलाई रक्षा गर्दै बाँकी कुरा प्राप्त गर्न संघर्षरत् रहने भन्ने हाम्रो नीति हो । यही अनुरूप हामी चुनावमा भाग लियौं । संविधान संशोधन नभएसम्म हामीले संविधान दिवसलाई कालो दिवसकै रूपमा मनाउने भनेर घोषणा गरेका थियौं र मनायौं पनि । हामीले कालो दिवस मनाएर यो सरकारलाई स्मरण गराउँछौं कि त्यो संविधान संशोधन नभएसम्म स्वीकार्य हुँदैन ।
० तर, तपाइँकै पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो संविधानलाई रक्षा गर्ने शपथ खाएकोले यसको विरोधमा कालो दिवस नमनाउने भन्नुभएको थियो नि ?
— उपेन्द्रजीले संविधानलाई रक्षा गर्छु वा के गर्छु भन्नुभयो त्यो विषयमा मलाई थाहा भएन । उहाँले यस्तो नभन्नु पर्ने हो । उहाँले सार्वजनिक ठाउँमा अभिव्यक्ति दिँदा भन्नुहुन्छ कि यो संविधान विभेदकारी हो, अपुरो र अधुरो हो, संशोधन गर्नुपर्छ । हामीले यो संविधान संशोधन हुनुपर्छ भन्ने मान्यता राख्दा राख्दै पनि संविधानको सपथ खानुको अर्थ पूर्ण भइसक्यो भन्ने होइन । संविधानका राम्रा कुराहरूमाथि समस्या नपरोस् तर त्रुटिहरूलाई सच्याउनुपर्छ । यदि ओली सरकारले संशोधन गरेन भने के गर्ने ? यसलाई स्वीकारिहाल्ने ? विभेदकारी हो भनेर नभन्ने ? या त हाम्रो अध्यक्षले भन्नुप¥यो कि यो संविधान पूर्ण छ । यो पूर्ण पनि छैन र रक्षा गर्ने सपथ पनि खाएका छौं यो त हुँदैन । संविधानभित्रका राम्रा पक्षलाई सुरक्षा गर्नका लागि हामी चुनावमा भाग लिएका छौं । संविधान संशोधन हुनुपर्छ भनेर हामीले कालो दिवस मनाएका हौं । यो संविधान खारेज गर भनेर हामीले कालो दिवस मनाएका होइनौं । सरकारलाई सचेत गराउनका लागि यो संविधान संशोधन गर्न दबाब दिएका हौं । तेरो र मेरो संविधान होइन कि हाम्रो संविधानको भावना सबैमा आओस् भन्ने हामी चाहन्छौं ।
० तपाइँहरूले संविधान संशोधनका लागि सहमति गरेर सरकारमा जानुभयो, तर अहिलेसम्म संशोधनको प्रक्रिया पनि सुरू भएको छैन । किन मौन भएर बस्नुभएको छ ?
— हामीले सदन र सडक दुवै ठाउँमा संशोधन हुनुपर्छ भनेर भनिरहेका छौं । अस्ति पनि हाम्रा पार्टीका सांसदले संसदमा संविधान संशोधन कहिले हुन्छ भनेर प्रश्न उठाएका थिए । हामीले पार्टीभित्र पनि बहस गरेका छौं । तुरून्तका तुरून्त त संविधान संशोधन हुँदैन । हामीले पनि कुनै टाइमबोन्ड बनाएका छैनौं । तर, हामीले संशोधनका लागि दबाब दिँदै आएका छौं । सरकारमा हुने बित्तिकै दिनहुँ गर त गर, अहिले गर, तुरून्त गर भनेर हुँदैन । हाम्रा पार्टीका अध्यक्षजीले पनि भन्नुभएको छ कि संविधान संशोधन हुन्छ । त्यसमा हामीलाई आपत्ति छैन ।
० प्रधानमन्त्रीले सार्वजनिक रूपमै अभिव्यक्ति दिँदा भन्नुहुन्छ कि आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ । भनेपछि अहिलेसम्म आवश्यक्ता र औचित्य छैन ?
— उनीहरूले पटक–पटक हामीसँग सम्झौता गरेकै हुन् । अन्तरिम संविधानमा लेखिएका कुराहरू पनि दिन नमान्ने उनीहरू नै हुन् । यो त्रुटिपूर्ण संविधानलाई जबर्जस्ती उत्कृष्ट संविधान भन्ने उनीहरू नै हुन् । फेरि संशोधन गर्नुपर्छ भन्ने पनि उनीहरू नै हुन् । भनेपछि दुई–दुई मिनेटमा थरि–थरिका दिमाग परिवर्तन हुने गर्दछ भने यसले के देखाएको छ भने अहिले पनि उनीहरूको नियत मधेशप्रति सफा छैन ।
० संविधान संशोधनका लागि सहमति भएपनि संशोधन हुनेमा तपाइँहरू सशंकित हुनुहुन्छ ?
— हामी सशंकित भन्दा पनि आशावादी छौं । विगतका सम्झौताहरूमा जसरी आलटाल गरियो त्यसकारण सशंकित त पक्कै छौं ।
० अध्यक्ष उपेन्द्र यादव सहभागी भएको एक कार्यक्रमबाट बाँकेका एक युवा राम मनोहर यादव समातियो, हिरासतमा मृत्यु भयो । यसको मुख्य दोषी तपाइँकै पार्टी अध्यक्षमाथि लगाइएको छ । अहिले पनि राम मनोहरको शव अस्पतालभित्रै छ । किन यस विषयमा तपाइँका पार्टी अध्यक्षले केही नबोलेको होला ?
— सर्वप्रथम त नेपालगन्जका युवा राम मनोहरको मृत्युको इमान्दारीका साथ छानबिन हुनुपर्छ । जुन घटनामा हाम्रो पार्टीका अध्यक्षलाई दोषीको रूपमा विभिन्न ठाउँमा प्रचार गर्दैछ यो सरासर गलत हो । त्यो कार्यक्रममा हाम्रा अध्यक्ष नपुग्दै राम मनोहरलाई समातिएको थियो । हाम्रो पनि मान्यता के हो भने हिरासतभित्र कोही कसरी म¥यो त, विरामी थियो कि के कारण थियो, यसबारे राज्यपक्षले तुरून्त छानबिन गर्नुपर्छ । राम मनोहरको शवको पोष्टमार्टममा ढिलाई हुँदा हामी पनि सशंकित छौं कि केही षड्यन्त्र छ । प्रहरी प्रशासनले नै यो मुलुकलाई फेरि संघर्षतर्फ धकेल्ने षड्यन्त्र गरिरहेको छ भन्ने हामीलाई शंका छ । अर्को कुरा देशमा अहिले जसरी जहाँतहीं हत्या, हिंसा, बलात्कारलगायतका घटनाहरू हुँदैछ त्यसको जडो पत्ता लगाउन सुरक्षा निकाय असफल देखिएको छ । दिनका दिन बलात्कार, महिला हिंसाका घटनाहरू हुने गरेका छन् । सरकारको ढुकुटीबाट तलब खाएर बसिरहेका खुफिया एजेन्सीहरूले के गरिरहेका छन्, किन उनीहरूले पत्ता लगाउन सकिरहेका छैनन्, किन अपराध दिनप्रति दिन बढ्दै गइरहेको छ ?
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया