० पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका जिल्ला सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या किन भयो, त्यस्तो अपराधिक घटना कसरी भयो ?
— त्यस्तो अपराधिक घटना नहुनुपर्ने थियो । किनकि सो घटनामा हत्या भएका पर्सा जिल्ला सदस्य तथा विन्दवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसिया सर्वसम्मत नै हुनुहुन्थ्यो । उहाँ निर्विवादित मान्छे नै हुनुहुन्थ्यो । शपथ ग्रहण कार्यक्रम भइरहँदा केही अपराधिक मानसिकता बोकेका मान्छेहरुले कार्यक्रमलाई विथोल्न खोजे । त्यसपछि मुकेश चौरसियाले रोक्न खोज्दा उनीहरुले चारैतिरबाट सांघातिक आक्रमण गरेका थिए । त्यसपछि मुकेश घाइते हुनुभयो । उहाँलाई उपचारका लागि अस्पताल लगियो र त्यसपछि मृत्यु भयो । आक्रमण गर्नेहरु नेकपाका कार्यकर्ता समेत छैनन् । उनीहरु आपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन ।
० मुकेश हत्यामा संलग्नहरु नेकपाका कार्यकर्ता होइनन् ?
— उनीहरु नेकपाका कार्यकर्ता होइनन् । उनीहरु आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु हुन ।
० मुकेश हत्या प्रकरणमा प्रहरीले किन जाहेरी दर्ता गरेन ?
— कुनै पनि घटनाका पीडितले प्रहरीमा जाहेरी दिँदा दर्ता गर्नुपर्दथ्यो । तर, दर्ता गरिएन । यसको जवाफ जिल्ला प्रहरी प्रमुखले दिनुपर्छ । किनभने कुनै पनि जघन्य अपराध वा हत्या हिंसाको घटना भएको छ भने पीडित पक्षले जाहेरी दिँदा प्रहरीले दर्ता गर्नुपर्दथ्यो । जाहेरी किन नलिने भन्ने कारण पनि प्रहरीले भन्दैन । पीडितले दिएको जाहेरी प्रहरीले तुरुन्त लिनुपर्दथ्यो । आज बिहीबार मात्रै सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भएको छ । शवको पनि पोष्टमार्टम भएर दाहसंस्कार गरिनेछ ।
० पीडित परिवारले न्याय पाउँछन् त ?
— प्रदेश २ भित्र पर्ने अधिकांश स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु मिलेर दबाब सिर्जना गरेपछि सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी प्रमुखले जुन किसिमको व्यवहार ग¥यो र जुन पक्षपात एक हप्तासम्म ग¥यो यसले थप शंका उब्जाएको छ । यति दिनसम्म किन जाहेरी लिएको थिएन, शवलाई किन यत्रो दिनसम्म राख्यो यसको जवाफ यहाँका न्यायप्रेमी जनतालाई पर्सा प्रहरी प्रमुखले दिनुपर्छ । मुकेश चौरसियाका परिवारले न्याय पाउनुपर्छ । हामीले पार्टीको तर्फबाट र जनसमुदायको तर्फबाट पनि दबाब सिर्जना गर्दैछौं । चौरसियाका परिवारलाई नेपाल सरकारले उचित क्षतिपूर्तिसमेत दिनुपर्छ । यो एउटा जघन्य अपराध हो, यसमा जोसुकै संलग्न भएपनि कडाभन्दा कडा कारबाही हुनुपर्छ । अपराधीलाई कानूनको दायरामा ल्याएर अविलम्ब कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ । अनि मात्रै चौरसियाका परिवारले न्याय पाउँछन् र जनताले न्यायको अनुभूति गर्न सक्छन् ।
० पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराउन जाँदा कसको नाम हटाउन भनेको थियो ?
— मुकेश चौरसियाको हत्यामा संलग्न व्यक्तिहरु पूर्वसभासद राजकुमार गुप्ताको घरबाट पक्राउ परेका थिए । त्यसपछि गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लियो । घटनामा संलग्नहरुलाई कारबाही हुन्छ भनेर सबैलाई विश्वास दिलाइएको थियो । तर पछि गएर गुप्तालाई छाडियो । त्यसकारणले यो घटनामा गुप्ता पनि संलग्न छन् कि भनेर उजुरी पीडित परिवार पक्षले दिन पुगेका थिए । गुप्ताको नाम नहटाए उजुरी नलिने अडान प्रहरीको थियो । पीडित पक्षले दिएको उजुरी अन्ततः दर्ता भएको छ ।
० नेकपाका स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका नेताहरु लगायत ३७ जनाले संयुक्त रुपमा यो घटनाको छानबिन हुनुपर्छ, उजुरी दर्ता हुनुपर्छ भनेर माग गरेका छन् तर नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहको संलग्नता देखिएन । किन ?
— यो जुन दुःखद् घटना भएको छ, यसप्रति हामीलाई पनि दुःख लागेको छ । यस घटनाबारे प्रदेश २ का अध्यक्ष प्रभु साहको तर्फबाट तुरुन्त एउटा वक्तव्य आउनुपर्दथ्यो तर उहाँले त्यसो गर्नुभएको छैन । अहिलेसम्म पनि उहाँको मौनता छ । हामीलाई पनि आश्चर्य लागेको छ कि उहाँले यस विषयमा किन जोडदाररुपले आवाज उठाउनु भएन । हामीले पनि उहाँसँग कुराकानी गर्दा आफ्नो व्यस्तता देखाउनु भयो । उहाँ प्रदेश २ अध्यक्षको नाताले पीडित परिवार समक्ष पुगेर सान्तवना दिनुपर्ने, शव यत्रो दिनसम्म रहँदा चासो देखाउनुपर्ने थियो । त्यो दायित्व पनि उहाँले निर्वाह गर्नुभएन । उहाँको गैरजिम्मेवारीपन देखिएको छ । उहाँको मौनताले पीडित परिवार र आम न्यायप्रेमी जनतामा पनि प्रश्न उब्जाएको छ । हामीले अहिले पनि भनिरहेका छौं कि यसको ओनरसिप लिनुपर्छ । तर उहाँ हाम्रो बैठकमा समेत आउन चाहनु भएको छैन ।
० आफ्नो पार्टीका नेता कार्यकर्ता मारिँदा केन्द्रीयस्तरबाट पनि चासो देखिएन नि ?
— हाम्रो पार्टीका कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले तत्कालै एउटा अभिव्यक्ति जारी गर्नुभएको थियो । उहाँले घटनाको छानबिनको मागसमेत गर्नुभयो । तर प्रदेश २ अध्यक्षको तर्फबाट जुन किसिमको अग्रसरता देखिनुपर्ने थियो त्यो देखिएन । यसप्रति आशंका उत्पन्न भएको छ । प्रदेश २ का सचिव सुमन प्याकुरेलले पनि हामीले बैठकमा बोलाउँदा आउनुभएको थियो । तर प्रदेश अध्यक्षको भूमिका अलिकति पनि संवेदनशील देखिएन । यसले गर्दा कतै न कतै उहाँको पनि संलग्नता छ कि भन्ने आम जनमानसमा प्रश्न उठेको छ ।
० मुकेश चौरसियाको परिवारलाई कस्तो किसिमको क्षतिपूर्ति दिनुपर्ने हो ?
— हामीले पीडित परिवारजनले न्याय पाउनुपर्छ भनिरहेका छौं । जघन्य अपराध गर्ने अपराधीलाई कारबाही हुनुपर्छ, कानूनी दायरामा ल्याउनुपर्छ र यथाशीघ्र कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने कुरा पीडित पक्षको छ ।
० घटनामा संलग्नहरु नेकपाको कार्यकर्ता छैनन् भने तिनीहरु कसरी परिचालित भए होलान् ?
— घटनामा संलग्नहरु नेकपाका कार्यकर्ता नै होइनन् । तिनीहरुले योजनाबद्ध ढंगले कसैको निर्देशनमा घटना घटाएका होलान् ।
० कसको निर्देशनमा यस्ता घटना भयो ?
— राजकुमार गुप्ताकै घरबाट घटनामा संलग्नहरु समातिएका थिए, यसैबाट बुझ्न सकिन्छ कि कहाँबाट परिचालित थिए भनेर ।
० राजकुमार गुप्ता त पार्टीकै नेता हुन् नि ?
— उहाँ अहिले पार्टीमा आबद्ध हुनुहुन्छ ।
० राजकुमार गुप्तालाई पार्टीले कारबाही गर्छ त ?
— यदि घटनामा दोषी देखिए भने राजकुमार गुप्तालाई पनि कारबाही हुनुपर्छ । हाम्रो कार्यकारी अध्यक्ष प्रचण्डले पनि छानबिनको माग गर्नुभएको छ । यो घटनामा जोसुकै मान्छे संलग्न भएपनि उसले कारबाही भोग्नुपर्छ ।
० यो घटनाको छानबिन कसले गर्ने ?
— हामीले त पार्टीबाट र सरकारको संयन्त्रले पनि छानबिन गर्नुपर्छ भनिरहेका छौं ।
तपाईको प्रतिक्रिया