भारतसँग वार्ताको द्वार खुल्दैछ : राज्यमन्त्री दुगड

अन्तर्वार्ता

11/5/2020

० भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको भ्रमण कति फलदायी हुने विश्वास गर्नु भएको छ ?

— भारतका सेनाध्यक्षको यो नियमित भ्रमण हो । भारतका सेनाध्यक्ष लगायत अन्य पदाधिकारीहरु नेपाल भ्रमणमा आउने, नेपालका सेनापतिदेखि लिएर अन्य पदाधिकारी भारत भ्रमण गरिरहने र सोही क्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरी सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यस्तै हाम्रा सेनापतिलाई पनि भारतका राष्ट्रपतिले सम्मान गर्ने चलन रहेको छ । त्यसैले यो एउटा नियमित प्रक्रिया हो ।

० यसअघि पनि भारतको गुप्तचर संस्था रअका प्रमुखले नेपाल भ्रमण गरेका थिए, अहिले सेनाध्यक्षको भ्रमण भएको छ । यी भ्रमणहरुले नेपाल–भारत सम्बन्धमा रहेको चिसोपनलाई हटाउँछ त ?

— रअका प्रमुख सामन्त कुमार गोयलको भ्रमण पनि एउटा नियमित प्रक्रियाअन्तर्गत नै थियो । उनलाई विशेष आग्रहमा बोलाइएको थिएन । भारत र नेपालबीच अभिन्न सम्बन्ध छ । नेपाल र भारतको जस्तो विश्वका अन्य कुनै पनि दुई देशबीच यस्तो विशेष सम्बन्ध छैन । विगतमा दुई देशबीच केही भ्रम सिर्जना भएको हो । छिमेकी राष्ट्रहरुबीच सीमाको विषयमा विवादहरु आइरहनु स्वाभाविक नै हो । लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा नेपालको अडान जायज छ । यो विषयलाई दुवै देशको सहमतिमा समाधान गर्ने कुरा भइरहेको छ । यसमा भारतले पनि सहयोग गर्ने आश्वासन दिएको छ । रअका प्रमुख गोयलसँग पनि यो विषयमा कुरा हुँदा वार्ताबाट यो विषयलाई समाधान गर्ने प्रधानमन्त्रीसँग कुराकानी भएको हामीले बुझेका छौं । विगत एक वर्षदेखि वार्ताको जुन क्रम टुटेको थियो, त्यो पुनः सुचारु हुनु खुशीको कुरा हो । भारतसँग दुई पक्षीय वार्ताबाट यो कुराहरु टुंगिन्छन् ।

० रअका प्रमुख भारतका प्रधानमन्त्रीको विशेष दूतको रुपमा नेपाल आएका थिए ?

— रअ प्रमुख गोयलको भ्रमणलाई विशेष दूतको रुपमा लिन सकिँदैन । किनभने यस्ता भ्रमणहरु भइरहने एउटा नियमित प्रक्रिया नै हो । भारतका कुनै उच्च पदस्थ अधिकारी नेपाल आइसकेपछि प्रधानमन्त्रीसँग भेट गर्नु ठूलो कुरा होइन । त्यहीं क्रममा रअ प्रमुख र प्रधानमन्त्रीबीच भेटघाट भएको हो । दुई देशबीचको सम्बन्ध अझ सुमधुर कसरी बनाउने भन्ने विषयमा नै कुराकानी भएको हामीले जानकारी पाएका छौं । नेपाल र भारतका जनताले पनि चाहन्छन् कि दुई देशबीचको सम्बन्ध सुमधुर र मजबुत रहिरहोस् ।

० विवादहरु अब टुंगिन्छ ?

— विवादहरु टुंगिन्छन् भन्ने आशा गरौं । विगतदेखि सम्वादहीनताको अवस्था नै ठूलो समस्या थियो । अब सम्वादहरुको थालनी भएको छ भने अवश्य नै समस्याहरु समाधानतर्फ जान्छ । वार्ता कहिलेदेखि सुरु हुन्छ वा कुन तहबाट हुन्छ भन्ने कुराको टुंगो परराष्ट्र मन्त्रालयले तय गर्छ । तर वार्ता अवश्य हुन्छ र वार्ताबाट नै मतभेदहरुको अन्त्य हुन्छ । यी भ्रमणहरुलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।

० भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणले वार्ताको बाटो खोल्छ ?

— वार्ता भनेको जहिले पनि राजनीतिक क्षेत्रबाट सुरु हुन्छ । दुवै देशको परराष्ट्रमन्त्रीस्तरको वार्ता, सचिवस्तरको वार्ता वा सरकार प्रमुखहरुको वार्ता भनेको कुटनीतिक तवरमा हुन्छ । सेना प्रमुखहरुले राजनीतिमा हस्तक्षेप गर्दैनन् । त्यसैले यो भ्रमण वार्ताकै लागि भएको हो वा त्यसको पहल हो भन्न सकिँदैन । तर पनि यस्ता भ्रमणहरुले वार्ताका आयामहरुलाई खुला गरेकै हुन्छ । सेना प्रमुखहरुको भ्रमण भनेको दुवै देशबीचको सैन्य सम्बन्ध वा गतिविधि बढाउने पक्षमा हुन्छ ।

० भनेपछि सेनाध्यक्षको भ्रमण संवादहीनता अन्त्य गर्ने एउटा राम्रो संकेत पनि हो ?

— यो भ्रमण दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने संकेत राम्रो हो । यो भ्रमणले अब दुई देशबीचको सम्वादलाई पुनः निरन्तरता दिन्छ । यसअघि रअका प्रमुख गोयल आउँदा पनि यस विषयमा केही कुराहरु भएको थियो । यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत हुन्छ र हुनु पनि पर्छ । किनभने दुवै देशलाई एक अर्काको आवश्यकता पनि छ । भारतसँग हाम्रो हरेक कुरा मिल्छ । हरेक क्षेत्रमा भारतसँग हाम्रो अभिन्न र अटुट सम्बन्ध छ । हरेक किसिमले नेपाल र भारतबीचको जुन सम्बन्ध छ, त्यो सम्बन्धमा कुनै पनि किसिमले चिसोपन आउनु हुँदैन ।

० रअका प्रमुखको भ्रमणपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी फुटको दिशामा नै गएको देखिन्छ नि ?

— रअका प्रमुखको भ्रमणपछि नेकपाभित्रको विवाद फेरि बढ्यो भन्ने होइन । पार्टीभित्र वादविवाद हुनु पनि एउटा नियमित प्रक्रिया नै हो । कुनै पनि राजनीतिक दलमा दुई किसिमका पक्षहरु हुन्छन्, तिनीहरुबीच कुनै न कुनै विषयमा विवाद उठिरहनु स्वाभाविक हो । रअ प्रमुखको भ्रमणले गर्दा नै नेकपामा यो समस्या उत्पन्न भएको होइन ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ