० सर्वोच्च अदालतको पछिल्लो दुई फैसलापछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिबारे जसपाको औपचारिक धारणा के छ ?
— अदालतले जुन फैसला गर्छ, अदालतको फैसला कानून र संविधानबमोजिम हुन्छ । सर्वोच्च अदालतले गरेको फैसला अन्तिम हुन्छ । त्यसउपर अपिल लाग्दैन, त्यसउपर लाग्ने भने पुनरावलोकन मुद्दा हो । संविधानको व्याख्या गर्ने अधिकार हामीले सर्वोच्च अदालतलाई दिएका छौं । त्यसैले सर्वोच्चको फैसलालाई पार्टीले स्वीकार गरेको छ, त्यसमाथि हाम्रो कुनै कमेन्ट छैन ।
० ती फैसलाले राजनीतिक माहोल परिवर्तन भएको छ, यसपछि अब जसपाले के गर्ने भन्ने स्पष्ट भएको छैन नि ?
— समय त फेरिन्छ नि । राजनीति २४सै घन्टा एउटै हुँदैन । राजनीतिको परिवेश बदलिन्छ, संविधानको परिवेश बदलिन्छ । हामीले अहिले निर्णय गर्नुपर्ने विषय नै केही छैन । हामीले के निर्णय गर्ने ? निर्णय त हाम्रो हातमा छैन । न त हामी सरकारमा छौं । हामी विपक्षमा छौं, संसद राम्रोसँग चलोस् भन्ने हाम्रो धारणा हो । संसदले विजनेस पाओस् र चलिराखोस् भन्ने हाम्रो धारणा हो ।
० तर अहिले संसदमा सरकार नै नभएको जस्तो देखिएको छ, सरकारले विजनेश पनि दिन सकिरहेको छैन । कसरी देश अगाडि बढ्छ ?
— संसदमा सरकार छ, सरकारकै नभएको भए यो देश कसरी चलिरहेको छ । अहिले दुई पार्टीको सरकार छ । एमालेको सरकार हो र माओवादी केन्द्रले समर्थन गरेको छ । एमाले र माओवादी दुवै पक्षका मन्त्रीहरू त्यो मन्त्रिपरिषद्मा छन् । त्यसकारण अहिले सरकारै छैन कसरी भन्ने ? यो सरकारले संसदमा बिजनेस दिनुपर्छ, काम चलाउनुपर्छ र बिजनेसलाई समापन गर्नका लागि धेरै महत्वपूर्ण बिलहरू राखिएका छन् । त्यसका लागि अपर हाउस पनि चाँडै बोलाउनुपर्छ । हाम्रो दुई सदनात्मक व्यवस्था भएकोले त्यो सदन पनि छिट्टै बोलाउनुपर्छ ।
० अहिले यो सरकारलाई हटाएर अर्को सरकार बनाउने वा यही सरकारलाई निरन्तरता दिने विषयमा पनि विभिन्न कसरतहरू भइरहेका छन्, यस विषयमा जसपा किन स्पष्ट छैन ?
— यो सरकारलाई हटाउने, अर्को ल्याउने भन्ने खेलमा जसपा लागेको छैन । यो काममा जसपा लागेकै छैन भने हाम्रो के धारणा हुने ? हामीले यो सरकार भाग भन्या पनि होइन, हटाउ भन्या पनि होइन । यो सरकारमा हामी सहभागी पनि छैनौं । यो सरकारलाई हटाउनका लागि सहभागी दलले नै गर्नुपर्छ । नयाँ सरकार बनाउनका लागि कहींबाट पनि समीकरण मिलेको देखिएको छैन ।
० जसपाका एक पक्षले यो प्रतिगमनकारी सरकार हो, यसलाई हटाएर अर्को सरकार बनाउनुपर्छ भनिरहेको छ भने अर्को पक्षले यो सरकारसँग निरन्तर वार्ता गरिरहेको छ । यसबाट नै प्रष्ट देखिएको छ कि जसपाको दोधारे नीति हो भनेर ?
— यो गलत कुरा हो । विचार सबैको आ–आफ्ना हुन्छन् । हामीले सबै दलसँग कुरा गर्छौं र हाम्रो मागलाई जसले पूरा गर्छ उसलाई साथ दिन्छौं भनेर संसदीयको बैठक बसेर निर्णय गरेका हौं । त्यहीं अनुरूप हामीले तीनटै पार्टीसँग कुरा गरेका हौं । अहिले सरकारले कुरा गरिरहेको छ भने सरकारसँग पनि कुरा गरिरहेका छौं । दुई धारको त प्रश्नै भएन । कसैलाई लाग्ला कि यो काम ठिक छैन, अरू नै धार बनाउनुपर्ने, अरूको साथ जानुपर्ने । त्यसपछि हामी पार्टीमा बसेर एउटै विचार बनाएर काम गर्छौं ।
० उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले ओलीको बहिर्गमन नै अहिले आवश्यकता हो भनिरहनु भएका छन् नि ?
— नेताहरूले कुनै कुरा गर्छन् भने पार्टीको निर्णय गराउनुपर्छ, यो पनि नेताकै काम हो । यो सरकारको विकल्पमा अर्को सरकार कसरी बन्छ त्यसबारे त व्याख्या गर्नुप¥यो नि । जसले अर्को सरकार बनाउने हो, उसले एमालेलाई अहिले पनि छोडेकै छैन, एमालेलाई समर्थन दिइरहेकै छ, उसका मन्त्रीहरू पनि त्यहीं छन् । अर्को कांग्रेस पार्टीले हाम्रो अगुवाईमा सरकार बनाउ भनेको पनि छैन । कांग्रेस प्रतिपक्षमै बस्ने भनेको छ । अनि हामीले मात्रै यो सरकारलाई हटाउ कसरी भन्ने त ? जो मूल पात्र हुन् कांग्रेस र माओवादी अग्रसर छैन भने हामीले के गर्ने ? त्यसकारण सम्पूर्ण राजनीतिक अवस्था परिपक्क नभइकन नेताहरूको अभिव्यक्तिलाई हेरेर दुई धार भो भन्ने छैन । पार्टीले निर्णय गर्छ, दुई धार छैन ।
० त्यसो भए जसपाको एउटै धार के हो त ?
— त्यो निर्णय पछि थाहा हुन्छ । अहिले राजनीतिक परिस्थिति नै स्पष्ट छैन भने पार्टीले धार किन बनाउनुप¥यो ।
० प्रधानमन्त्रीसँग तपाइँहरू लगातार वार्ता र सम्वाद गरिरहनुभएको छ, के–कस्ता कुराहरू भइरहेका छन् ?
— हाम्रो एक मात्र भनाइ हो कि काम गरेर देखाउनुस् । हाम्रा जति पनि मागहरू छन् मधेश आन्दोलनका बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता यो प्रश्नमा उहाँहरूले अस्वीकार गर्नुभएको छैन । त्यसकारणले हामी यसलाई सकारात्मक मानेका छौं । तर हामीले परिणाम खोजेका छौं । कुराहरू त सकारात्मक भएका छन्, सौहार्दपूर्ण वातावरणमा भएको छ । तर काम भएको छैन ।
० भनेपछि तपाइँहरूको सबै माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन छ ?
— बिल्कुल ।
० यस विषयमा प्रक्रिया पनि सुरू भएको हो ?
— उहाँहरूले आन्तरिकरूपमा प्रक्रिया सुरू गर्नुभएको होला । काम गर्नुछ भने प्रक्रिया अपनाउनै पर्छ । किनभने हाम्रो माग त संविधान र कानूनबमोजिम नै पूरा हुन्छ । यो काम सरकारको हो, सरकारले आफ्नो गृहकार्य गरिरहेको छ ।
० सांसद रेशमलाल चौधरीलाई अदालतले दोषी ठहर गरेर फैसला पनि सुनाइसकेको छ, उहाँलाई रिहा गर्न कति अप्ठ्याराहरू छन् ?
— त्यो मुद्दा त अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । सर्वोच्च अदालतले जे निर्णय, त्यसपछि नै बाटो हुन्छ । सर्वोच्च अदालतले सफाइ दियो भने मुक्ति नै हुन्छ, कैदलाई सदर ग¥यो भने अर्को प्रक्रियामा जान्छ । अदालतको विचारधिन मुद्दामा अहिले नै प्रतिक्रिया दिनु हुँदैन ।
० यो सरकारले तपाइँहरूको माग पूरा ग¥यो भने सत्ता सहकार्य गर्न सकिन्छ ?
— माग पूरा ग¥यो भने सहकार्य गर्न सकिन्छ । एक हातले मात्रै ताली बज्दैन । एकथरिले काम गर्छ भने अर्कोथरिले केही पनि गर्दिन भन्न पाउँछ ? त्यसकारणले माग पूरा भएको खण्डमा सहकार्य गर्ने अवस्था हुन्छ । पार्टीभित्र यसबारे छलफल हुन्छ र पार्टीले निर्णय गरेर सहकार्य हुन्छ ।
० सरकारसँग भइरहेको छलफलमा सत्ता सहकार्यबारे पनि छलफल हुन्छ कि ?
— अहिले हामीले सत्ता सहकार्यको बारेमा कुरै गरेका छैनौं । हाम्रो माग पूरा भएपछि नै सत्ता सहकार्यबारे सोच्छौं । तर सरकारको तर्फबाट हामीलाई प्रस्ताव आउँछ कि सहकार्य गर्नुस्, काम गर्छौं, तपाइँहरू पनि हामीलाई सहयोग गर्नुस् । तर हामीले पहिले काम होस् त्यसपछि सहकार्य हुन्छ भनिरहेका छौं ।
० जसपाले तीनवटै दलसँग वार्ता र सम्वाद जारी राखेको छ, कोसँग बढी नजिक देखिएको छ ?
— हामी कोहीसँग टाढा वा नजिक छैनौं । तीनवटै दलले मधेश आन्दोलनका बेला हामीमाथि गोली चलाएका छन् । सुरूमा नै कांग्रेसको सुशील कोइरालाको सरकारले ३५ जनालाई मारे, त्यसपछि ओलीको सरकार आयो, उसले पनि गोली चलाएर मारे, प्रचण्डको सरकार आयो उसले पनि मारे । कसलाई नजिक र कसलाई टाढा भन्ने हो । हामीले ती सबै पीडालाई छातिभित्र राखेर हाम्रा मागहरू पूरा गराउनका लागि कुरा गरिरहेका छौं । हाम्रो विषयवस्तु त त्यहीं नै हो । त्यसकारणले जसले हाम्रो माग पूरा गर्न अगाडि आउँछ र गर्छ त्यो हाम्रो नजिक हुन्छ । हामीले तीनवटै दलसँग वार्ता र सम्वाद गर्दा आश्वासन दिन्छ तर काम छैन ।
० तीनवटै दलमध्ये कसले तपाइँहरूको माग पूरा गर्न सक्ने अवस्थामा देख्नुहुन्छ ?
— सरकारमा जो हुन्छ उसले नै हाम्रा सम्पूर्ण मागहरू पूरा गर्न सक्छ र उसैको दायित्व पनि हो । त्यो दायित्व पूरा गरोस् हाम्रो भनाइ हो । त्यसपछि अर्को सरकार यदि बन्छ, काम उसले देखाउँछ, उसले एउटा रोडम्याप तयार गर्छ अनि हामीले विश्वास गर्न सक्छौं ।
० अहिलेको राजनीतिक घटनाक्रमले जसपा कहीं फुट्ने त होइन ?
— कतिपय मान्छेहरूले दिनरात भगवानसँग प्रार्थना गरिरहेका छन् कि जसपा फुटोस् । तर भगवानले सबैको प्रार्थना सुन्दैन । यो पार्टी एउटै हुन्छ, जे निर्णय हुन्छ सर्वसम्मतले हुन्छ र एकै धारमा यो पार्टी जान्छ । फुट्दैन ।
० जसपाको संसदीय दलका नेताका लागि भद्र सहमति भएको पनि सुनिन्छ नि ?
— निर्वाचनमा जुन सहमति भयो, विधान छ त्यो कुरा थाहा छ । त्यसपछि भद्र÷अभद्र के–के सहमति भएको छ, मलाई थाहा छैन । संसदीय दलको नेता कसलाई बनाउने वा नबनाउने कुरामा सहमति भएको हो वा होइन हामीलाई जानकारी छैन । म त्यसमा समावेश भएको छैन, मेरो उपस्थितिमा पनि भएको छैन ।
० जसपा समायोजन कहाँसम्म पुग्यो ?
— समायोजनहरू भइरहेका छन् । भ्रातृ संगठनहरूको पनि समायोजन भएको छ, जिल्लाहरूमा पनि भएको छ । बाँकी रहेका समायोजन प्रक्रियालाई पूरा गर्ने बाटोमा छौं । विस्तारै सबै समायोजन हुँदै जानेछ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया