‘महन्थ ठाकुर र उपेन्द्र यादव एक स्टेप पछाडि हटेर एकता जारी राख्नुपर्छ’

अन्तर्वार्ता

6/18/2021

० प्रदेश २ सरकारको बजेटप्रति तपाइँको धारणा के छ ?

— बजेट भनेको समयसापेक्ष हुनुपर्छ । अहिलेको समयमा प्रदेशको अवस्था के छ, जनताको माग के छ लगायत विषयवस्तुलाई दृष्टिगत गरेर बजेट ल्याउनुपर्नेमा विपरीत खालको बजेट ल्याइएको छ । कोरोना महामारी त्यतिकै छ, तेस्रो लहर आउने निश्चित छ । त्यो हुँदाहुँदै अहिले अनावश्यक विषयहरुमा बजेट केन्द्रित गरिएको छ । जस्तै, पोखरी सौन्दर्यीकरण, साइकल वितरण, पार्क निर्माण, नेताहरुको शालिक निर्माण गर्ने लगायतका विषयहरु देखियो, जुन अहिलेको आवश्यकता थिएन । अवस्था सामान्य हुँदा यी कुराहरु गर्ने हो । अहिलेको समयमा सम्पूर्ण बजेट जनताको स्वास्थ्य, शिक्षा, कृषि र रोजगारमा केन्द्रित गर्नुपर्ने थियो । अनुत्पादक शीर्षकहरुमा बजेट विनियोजन गरी प्रदेशलाई झन्–झन् पछाडि धकेल्ने काम भइरहेको छ । प्रदेश सरकारको नेतृत्वमा दूरदर्शिताको अभाव देखिएको छ । यो बजेटले कुनै पनि हिसाबले संघीयतालाई बलियो बनाउने काम भएको देखिँदैन ।

० तर प्रदेश सरकारले यसपटकको बजेटलाई स्वास्थ्य, शिक्षा र कृषिमा बढी प्राथमिकता दिएको दाबी गरिएको छ नि ?

— भन्नु र गर्नुमा धेरै फरक छ । भन्नका लागि जे पनि भनिदिने तर केही पनि नगर्ने परिपाटी रहिआएको छ । स्वास्थ्यलाई प्राथमिकता दिएको भनिएको छ तर व्यवहारमा छैन । अब कोरोनाको तेस्रो लहर आउने स्वास्थ्य विज्ञहरुले बताइरहेका छन्, जसमा बालबालिकाहरु बढी प्रभावित हुनेछन् । त्यसको पूर्वतयारी स्वरुप पहिलेदेखि नै हामी बालमैत्री अस्पतालहरु बनाउने, उपचारको व्यवस्थापन गर्ने, हामीसँग उपलब्ध भएका चिकित्सकहरुलाई ट्रेनिङ्ग दिएर दक्ष बनाउने लगायतका कुनै पनि काम देखिएन । त्यसैले, स्वास्थ्यको नाममा झाराटार्ने काम मात्रै भएको छ । कोरोनाको पहिला लहर नेपालमा आउँदा बरु त्यो बेला प्रदेश सरकार अलि केही गरेको थियो । जस्तै, किसानहरुको ऋण प्रदेश सरकारले तिरेको थियो, अति विपन्न वर्गलाई राहत वितरण गरेको थियो । तर दोस्रो लहरमा केही पनि गरिएन । स्वास्थ्य सामग्रीहरु किन्ने नाममा भ्रष्टाचारहरु भयो । प्रदेश सरकारले ‘प्रदेश परिवहन’ भनेर बसहरु किनेर राखेको छ तर त्यसको कुनै उपयोगिता भइरहेको छैन ।

० तपाइँले जसरी आलोचना गरिरहनुभएको छ, यो त प्रतिपक्षीको काम हो नि । तपाइँ सत्तापक्षकै सांसद भएर आफ्नै सरकारको यत्रो आलोचना किन ?

— हामी कसैको गुलाम होइनौं, जनताको प्रतिनिधि हौं । सत्ता पक्षको सांसदको नाताले जुन बेला सरकारको बहुमत सिद्ध गर्नुपर्ने हुन्छ त्यो बेला मतदान गर्ने हो, बजेट पास गरिदिने हो, नीति तथा कार्यक्रम पास गर्ने हो । तर हरेक गलत काममा पनि सरकारलाई साथ दिन सकिँदैन । अहिले प्रदेश निर्माणको क्रममा छ । आजको दिनमा एउटा पनि ऐन, कानून वा नियम गलत बन्यो भने त्यसले दीर्घकालसम्म असर गर्छ । त्यसैले, गलत कामको आलोचना हामीले गर्नुपर्छ । नीति कार्यक्रम तथा बजेट निर्माण गर्दा कमसेकम सत्तापक्षका सांसदहरुसँग सल्लाह गर्नुपर्ने हो । तर यहाँ त सबै विज्ञहरु छन्, त्यसमा पनि मुख्यमन्त्री आफू नै हरेक विषयको विज्ञ ठान्नुहुन्छ ।

० भनेपछि प्रदेशको बजेट तथा नीति तथा कार्यक्रम कसरी निर्माण हुन्छ त ?

— प्रदेश २ सरकारमा भाँडभैलो छ । कुनै मन्त्रीसँग मुख्यमन्त्रीको समन्वय छैन । प्रदेश सरकारको मन्त्रीहरुमा अराजक प्रवृत्ति देखिएको छ । मुख्यमन्त्रीले सुशासन हेर्ने हो कि बजेट चलाउने हो ? प्रदेश २ का मुख्यमन्त्रीले सबै मन्त्रालयको समानान्तर बजेट आफ्नो मातहतमा राख्नुभएको छ । त्यसले काम गर्ने तरिका प्रदेश सरकारको ठिक भएन ।

० चालु आर्थिक वर्षको अन्त्यतिर छ, प्रदेश सरकारको कति बजेट अहिलेसम्म खर्च भएको छ त ?

— नेपालमा काम गर्ने तरिकाले परिवर्तन गर्नुपर्छ । समग्र देशकै कुरा गर्ने हो पूरा बजेट को आधा बजेट यो असारमा मात्रै खर्च गर्ने परिपाटी नै छ । खासमा अन्तिम चौमासिकमा आगामी वर्षको योजना बनाउनुपर्ने हो । काम गर्ने भनेको पहिलो र दोस्रो चौमासिक हो, अन्तिममा अर्को वर्षका लागि योजना निर्माण गर्नुपर्ने हो । प्रदेश २ को सरकारसँग केन्द्र सरकारले भेदभाव गरेकै हो, यसमा दुईमत छैन । तर हामीलाई दिइएको पैसा पनि त खर्च गर्न सक्नुपर्ने हो नि । आफूलाई दिएको पैसा खर्च गर्न नसक्ने अनि अझै पैसा देऊ भन्नु तर्कपूर्ण होइन । तसर्थ, चालू आर्थिक वर्ष २०७७÷७८ को बजेटलाई हेर्दा अन्त्यसम्म ५०–६० प्रतिशतभन्दा बढी खर्च हुने अवस्था छैन ।

० पूर्वराजपाका मन्त्रीहरुलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि तपाइँहरु विरोधमा उत्रिनुभएको भन्ने आरोप नि ?

— प्रदेश सरकारको पुनर्गठन गर्ने अधिकार मुख्यमन्त्रीलाई हुन्छ । सबभन्दा हास्यास्पद कुरा के हो भने आफ्नो पार्टीको बहुमत हुँदाहुँदै कांग्रेसलाई सरकारमा ल्याउनु हो । भनेपछि मुख्यमन्त्रीको नियत ठिक छैन । जसपाभित्रका सांसदहरुलाई त यति ठगे र अब कांग्रेसका सांसदहरुलाई पनि डेढ वर्ष ठग्ने रणनीति मात्र हो । अर्को कुरा, हाम्रो संसदीय दलको नेता चयन गर्दा पनि हामीलाई बोलाइएन ।

० पूर्वराजपा र पूर्वसमाजवादी पार्टी छुट्टिने भएपछि पूर्वराजपाका मन्त्रीहरुलाई हटाइएको हो कि ?

— निर्वाचनको बेला प्रदेश २ मा पूर्वराजपा र पूर्वफोरम मिलेर सरकारको नेतृत्व हामीलाई देऊ भनेर जनतासँग मत मागेका थियौं । त्यहीं आधारमा जनताले हामीलाई सरकार बनाउने हैसियतसम्मको मत दिएका थिए र त्यहीं हिसाबले सरकार पनि बनेको थियो । अहिले बाहिर कतिपयले भनिरहेका छन् कि पूर्वराजपा केन्द्रको सरकारमा गयो, त्यसैले प्रदेशबाट उसको मन्त्रीहरुलाई हटाइयो । तर योभन्दा पहिला यही केपी शर्मा ओलीको सरकारमा उपेन्द्र यादव जानुभएको थियो, त्यो बेला त हामीले फोरमलाई हटाएनौं । किनभने केन्द्रमा जेसुकै होस्, प्रदेशमा जनताले हामीलाई सरकार चलाउन म्यान्डेट दिएको हो । दुई वर्षसम्म उपेन्द्रजी सरकारमा हुँदा पनि हामीले कहींकतै अप्ठ्यारो गरेनौं । तर अहिले उहाँहरुले प्रदेशमा जुन काम गरिरहनुभएको छ, त्यो जनताको म्यान्डेट विपरीत हो । जनताले हेरिरहेका छन् । केन्द्रको रणनीतिले प्रदेशमा प्रभावित हुनुहुँदैनथ्यो । तर आवेशमा आएर मुख्यमन्त्रीले कसैबाट प्रभावित भएर जुन काम गर्नुभएको छ, यसको मूल्यांकन जनताले गर्छन् ।

० तर यसमा त अध्यक्ष उपेन्द्र यादवको प्रत्यक्ष भूमिका देखिएको छ नि ?

— उपेन्द्र यादवको राजनीतिक गतिविधिलाई जनताले राम्ररी हेरेका छन् र अब मूल्यांकन पनि गर्दैछन् । कुन बेलामा उहाँले कस्तो कदम चाल्नुभएको छ, कसैले बिर्सेका छैनन् । २०६३ देखि अहिलेसम्म कुन बेला कसको के भूमिका रह्यो, जनताले एक–एक गरी हेरिरहेका छन् । कांग्रेस, एमाले र माओवादीको मधेश हेर्ने दृष्टिकोण एउटै हो । किनभने हामी सडकमा कराउँदा–कराउँदै यी तीन दलले अधुरो संविधान बनाए । सहज परिस्थितिमा यिनीहरुले मधेशीलाई केही दिँदैन । तर आज यिनीहरुलाई अप्ठ्यारो भएको भने हाम्रा मागहरु पूरा गर्न तयार छन् । असहज परिस्थितिमा भएपनि हाम्रा मागहरु पूरा गर्न तयार हुन्छन् भने हामीले लिन सक्नुपर्छ । विगतमा उपेन्द्र यादवजी ओलीको सरकारमा बस्दा के–के माग पूरा गराउनुभयो, त्यसको हिसाब त दिनुप¥यो नि ।

० जसपाभित्रको दुई स्पष्ट दुई धारले अब प्राविधिकरुपमा मात्रै पार्टी एक हो ?

— हाम्रा दुवै नेता महन्थ ठाकुर र उपेन्द्र यादवलाई आग्रह छ कि दुवै जना एक–एक स्टेप पछाडि हट्नुस् । हुन त निर्वाचन आयोगले एकले अर्कालाई गरेको कारबाही त्यसै पनि खारेज ग¥यो । दुवै अध्यक्षले एक स्टेप ब्याक गर्नुभयो भने फेरि एकता हुन्छ । किनभने जसपासँग उपेन्द्र यादव वा महन्थ ठाकुरको मात्रै भविष्य जोडिएको छैन नि । यसमा धेरै नेता कार्यकर्ताहरुको योगदान छ । राजपा र समाजवादीबीच एकीकरण हुँदा मधेशमा उत्साह छाएको थियो । तर अहिलेको गतिविधिले गर्दा जनतामा निराशा र आक्रोश देखिन थालेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ