० जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी संयुक्त प्रेस वक्तव्यले आन्तरिक विवाद समाधान भयो त ?
— जनता समाजवादी पार्टीभित्र त्यस्तो सैद्धान्तिक अन्तद्र्वन्द्व छैन । तर नेपालको कुनै विकसित राजनीतिक घटनाक्रमलाई बुझ्ने फरक–फरक दृष्टिकोण बीचको एउटा अन्तर मात्र हो । अन्य पार्टीहरुमा जुन विशाल अन्तद्र्वन्द्व छ, त्यो खालको जसपाभित्र होइन । त्यो अन्तद्र्वन्द्वलाई समाधान गर्ने प्रक्रियामा अहिले प्रवेश भएको छ ।
० समाजवादी र राजपाबीच एकीकरण भएको एक वर्षमा नै किन त्यत्रो अन्तरद्वन्द्व चर्कियो त ?
— प्रधानमन्त्रीले संसदको विश्वासको मत लिने सन्दर्भमा जसपाभित्र एउटा सहमति भएको थियो कि यो कुरामा सांसदहरुलाई स्वविवेकीय अधिकार दिने । त्यसमा जसपाभित्र एक मत रहेको थियो कि जो तटस्थ बस्न चाहन्छन् तटस्थ रहने, जसले विश्वासको विरुद्धमा मत हाल्न चाहन्छन् उसले विरुद्धमा मत हाल्न पाउने । यसमा कुनै विमति थिएन । सरकार गठनको सन्दर्भमा कुन नेतृत्वलाई समर्थन दिने भन्नेबारे थोरै हाम्रो बीचमा फरक अन्तरविचार र अन्तरदृष्टिकोणहरु थियो । त्यसमा एउटा पक्षले अहिले सत्ता पक्ष केपी ओली पनि भएको र केपी ओलीले कमसेकम हाम्रा मुद्दाहरु सम्बोधन गर्छु भन्ने एक प्रकारको प्रक्रिया थालनी गरेको हुनाले अहिले केपी ओलीको विरुद्धमा नजाऔं र समर्थन पनि गरौं भन्नेमा पनि नजाऔं एकथरिका साथीहरुको भनाई थियो ।
० जसपाका नेता कार्यकर्ताहरु गुट–उपगुटमा विभाजित देखिएका छन्, यो लोकतान्त्रिक पार्टीमा हुने सामान्य कुरा हो त ?
— प्रतिगमनकारी ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरे, केपी ओलीले जतिसुकै माग सम्बोधन गरे पनि त्यसको मतियार हामी बन्दैनौं भन्ने अर्को धार थियो । ती दुई धारबीचको सम्वादविहीनताका कारण समस्या थोरै जटिल भएको थियो । त्यसमा अन्य शक्तिहरुले जसपा फुटोस्, टुटोस् भन्नेहरु अलिकति खेल्ने ठाउँ पनि पाए । त्यो बीचमा हाम्रा पार्टीका एक–दुईजना साथीहरुले व्यक्तिगत स्वार्थका निम्ति कुन नेताको धपौरे भएको खण्डमा भोली आफू कहाँ पुग्न सकिन्छ भन्ने हिसाबले आफ्ना नेतालाई खुसी पार्नका लागि अर्को पक्षका नेताप्रति गालीगलौज गर्ने काम गरे, त्यो पनि ठिक गरेनन् । त्यसकारण हाम्रा सम्पूर्ण नेतागण र कार्यकर्तालाई के भन्न चाहन्छौं भने उत्पीडित जनसमुदायको मुक्तिका लागि यो पार्टी एकताबद्ध भएको हो । त्यसकारणले हाम्रो बीचमा एउटा साना–तिना वैचारिक अन्तर आउने बित्तिकै हामीले यस्तो प्रकारको गुटबन्दी व्यवहार, नेताहरुको आलोचना गर्ने, गालीगलौज गर्ने काम राम्रो होइन । त्यस्तो नगर्नका लागि पनि आज हाम्रा नेताद्वय महन्थजी र उपेन्द्रजीको संयुक्त प्रेस विज्ञप्तिमा पनि उल्लेख भएको छ ।
० एकअर्काप्रति आरोप–प्रत्योप र गालीगलौज गर्नेहरुलाई पार्टीले अनुशासनको कारबाही किन गर्दैन त ?
— कुनै पनि स्वविवेक प्रयोग गर्ने अधिकार कार्यकर्ता र नेतालाई दिनुको मतलब नेता कार्यकर्ताहरु गुट–उपगुटमा बाँझ्ने, विभाजित भएको एकअर्काप्रति आरोप–प्रत्योप र गालीगलौज गर्नु पार्टी पद्धतिसम्म होइन भन्ने कुरामा सजग पनि बनाएको छ । त्यसकारणले हाम्रो लागि त्यो शुभ संकेत र खुशीको खबर पनि हो ।
० जसपा अध्यक्षद्वयको विज्ञप्तिअनुसार कसैको नेतृत्वमा जसपा सरकार जाँदैन त ?
— अहिले देखिएका सम्पूर्ण समस्याहरुलाई सुक्ष्म ढंगले विश्लेषण गरेर जसपा अगाडि बढ्नुपर्छ । तत्काललाई पार्टीका अध्यक्षद्वयले जारी गर्नुभएको विज्ञप्तिलाई हेर्दा के भनिएको छ भने तत्काल हामी कसैको सरकारमा जाँदैनौं । यदि हाम्रै नेतृत्वमा सहकार्य गठन हुने सम्भावना देखियो भने त्यसका लागि पहल दुबै अध्यक्षले गर्ने भन्ने कुरामा सहमति देखियो । अहिले हामी न केपी ओलीको सरकारमा जान्छौं न त देउवाको सरकारमा जान्छौं । पार्टीभित्र देखिएका अन्य विवादहरु समाधानका लागि हाम्रो केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । अहिलेको वर्तमान राजनीतिक सन्दर्भ र विभिन्न राजनीतिक दृष्टिकोणबारे एउटा ठोस निर्णयका जेठ ८ र ९ गते बैठक बोलाइएको हो । त्यो बैठकको निर्णय उपेन्द्रजीले पनि मान्नुहुन्छ र महन्थजीले पनि मान्नुहुन्छ ।
० प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था छ, जसपाले साथ दिँदैन ?
— अहिले माधव कुमार नेपाल र केपी ओली समूहबीच एकीकरण भइसकेको अवस्थामा एउटा सानो टुक्रा मात्रले पनि समर्थन गर्ने बित्तिकै यही सरकारको निरन्तरता हुने अवस्था छ । त्यो अवस्थाले जसपाभित्र एक प्रकारको समस्या उत्पन्न गर्ने भएकोले नेताहरुले असाध्यै दूरदर्शीपूर्ण तरिकाले तत्काल जसपा कुनै सरकारलाई समर्थन पनि नगर्ने र सहभागी पनि हुने निर्णय गरेको छ । जसपाकै नेतृत्वमा सरकार गठन हुन्छ भने त्यसका लागि पहल गर्ने दुवै अध्यक्षले निर्णय गर्नुभएको छ ।
० जसपाको नेतृत्वमा सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?
— प्रधानमन्त्रीले आफू अनुकूल भयो भने ३० दिनभित्र जहिले पनि विश्वासको मत लिन सक्छन् । यदि हाम्रो जसपा एक ढिक्का रहयो भने केपी ओलीले विश्वासको मत प्राप्त गर्ने सम्भावना कम हुन्छ । एउटा सम्भावना के छ भने ओलीले यदि प्रचण्डलाई सहमतिमा ल्याएर यदि पूरानै कम्युनिष्ट पार्टीहरुलाई एकीकृत रुपमा लाने हो भने केपी ओलीको सरकार टिक्यो, होइन भने ओलीको सरकार टिक्न सक्ने अवस्था छैन । प्रतिपक्षी कांग्रेसले ओलीको सरकारलाई समर्थन गर्दैन । यदि त्यस्तो हुँदैन भने कांग्रेस, माओवादी केन्द्र र जसपाले एउटा प्रस्ताव गरेर वैकल्पिक सरकारको दाबी गर्न सक्छ । त्यो पनि हुन सकेन भने सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री ओलीले मध्यावधि चुनावको घोषणा गर्न सक्छन् । अहिलेको अवस्थामा हाम्रो पार्टीका लागि मध्यावधि चुनाव उपयुक्त होइन । किनभने हाम्रो समायोजन प्रक्रिया टुंगिसकेको छैन ।
० जसपाको संसदीय दलको नेता राजेन्द्र महतो चुनिएका छन्, तर त्यसको पनि विरोध भइरहेको छ । किन ?
— अवैधानिक तरिकाबाट गरिएका निर्णयहरुलाई दुवै अध्यक्षको संयुक्त विज्ञप्तिले इन्कार गरेको अवस्था छ । किनकि लुम्बिनी प्रदेशका चार जना सांसदहरुलाई कारबाही गरेको पनि अवैधानिक भएको महन्थजीले दावी गरिरहनुभएको छ भने उपेन्द्रजीले पनि राजेन्द्र महतोलाई जसरी दलको नेतामा चयन गरियो त्यो अवैधानिक हो भनिरहनु भएको छ ।
० तर, दुई अध्यक्षको संयुक्त वक्तव्यपश्चात् राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएको पत्र संघीय संसद सचिवालयलाई जानकारी गराइएको भन्ने सार्वजनिक भयो नि ?
— यसको पछाडि थोरै षड्यन्त्र भएको हामी देख्दैछौं । यथार्थ कुरो अहिलेसम्म पनि बाहिर आएको छैन । विधि विधानको प्रक्रियाविपरीत हुने कुनै कार्य मान्य हुँदैन । चाहे त्यो लुम्बिनी प्रदेशका सांसदहरुलाई कारबाही गरिएको होस् अथवा संसदीय दलको नेता टुंगो लगाइएको होस् । पार्टीको विधान र प्रक्रियाबाट नै निर्णय गर्नुपर्छ । घर–घरमा बैठक बोलाएर वा हस्ताक्षर गराएर गरेका निर्णयहरु वैधानिक दिनु भनेको पार्टीलाई विभाजनको संघार पु¥याउनु हो । महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गुटबाट मात्रै भएको हो, पार्टीको आधिकारिक समितिले गरेको होइन ।
० संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाउने भनेर जेन्टलम्यान एग्रीमेन्ट भएको थियो नि ?
— राजपा र समाजवादी पार्टीबीच एकीकरण हुँदा शीर्ष तहमा संघीय परिषद्को अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थजी र उपेन्द्रजीलाई बनाउने सहमति भयो । अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाउने सहमति भयो र राजेन्द्र श्रेष्ठलाई पनि छैटौं तहको नेता मान्नुपर्छ भनेर तत्काल उहाँलाई आमन्त्रित पदाधिकारीको रुपमा मान्यता दिइएको छ । त्यसकारणले हाम्रा नेताहरुले दोहोरो जिम्मेवारीको मापदण्ड अन्त्य गरेर एक व्यक्ति एक पद सिद्धान्तको आधारमा अगाडि बढिसकेको अवस्थामा पार्टीले व्यवस्थापन गर्ने कुरा हो । हाम्रा समायोजन प्रक्रिया अझै पनि टुंगिसकेको छैन । समायोजन हुँदा यी कुराहरु समेटिनेछ । ८ र ९ गते बस्ने बैठक हाम्रो लागि अति महत्वपूर्ण हुनेछ ।
तपाईको प्रतिक्रिया