राज्य कोषबाट उखु किसानको बक्यौता भुक्तानी गरियोस् : हरिश्याम राय

सचिव, उखु किसान संघर्ष समिति, सर्लाही

अन्तर्वार्ता

12/18/2020

० तपाइँहरुले गर्दै आउनुभएको काठमाडौंकेन्द्रित आन्दोलनको प्रभाव सरकारलाई कति परेको छ ?

— हाम्रो आन्दोलनमा दिनहुँ समर्थन र ऐक्यबद्धता बढ्दै गएको छ । काठमाडौंका नागरिक समाज, युवा विद्यार्थी, राजनीतिक दल तथा सञ्चार जगतले पनि हाम्रो आन्दोलनमा सहयोग गरिरहेका छन् । त्यसकारणले हाम्रो आन्दोलनको प्रभाव सरकारलाई निश्चितरुपमा परिरहेको छ । यो सरकारले किसान मजदूरको आवाज सुन्न चाहिरहेको छैन । मजदूर, किसान र उत्पीडित वर्गको वकालत गर्ने कम्युनिष्ट नेतृत्वको सरकारले चाहेको भए हामीले यसत लामो समयसम्म आन्दोलन नै गर्नुपर्ने थिएन । यदि सरकारले चाहेको भए एक दिनमै हाम्रो बाँकी बक्यौता रकम दिएर पठाइदिन्थ्यो । सरकारले नै हामीसँग एक वर्ष पहिला हाम्रो बक्यौता रकम दिलाउने सहमति गरेको थियो । तर अहिलेसम्म पनि किसानको भुक्तानी पूर्णरुपमा भएको छैन । अहिले पनि उखु किसानको ९० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । तर सरकारले दिनुपर्ने अनुदान रकम दिइसकेको छ ।

० तपाइँहरुले पाउनुपर्ने बक्यौता क–कसले दिएको छैन ?

— सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण मिल, रौतहटको श्रीराम सुगर मिल, नवलपरासीको लुम्बिनी सुगर मिल र इन्दिरा सुगर मिल लगायतका मिलबाट भुक्तानी लिनुपर्ने छ ।

० बक्यौता नतिरेका मिल सञ्चालकहरुलाई सरकारले पक्राउ गर्न निर्देशन पनि दिएको छ, अब त तपाइँहरुले भुक्तानी पाउनुहुनेछ ?

— जब हाम्रो खातामा पैसा आउँदैन तबसम्म भुक्तानी हुने हामीलाई विश्वास छैन । सरकारमाथि विश्वास गर्ने आधार नै छैन । किनकि सरकारले गत वर्षको माघ ७ गतेसम्म नै सबै रकम भुक्तानी गराउने लिखित सहमति नै गरेको थियो । त्यो सहमति भएको पनि एक वर्ष पूरा भयो । तैपनि हामीले सरकारलाई बारम्बार ताकेता गर्दा पनि भुक्तानी भएन । अहिले फेरि हामी आन्दोलन गर्न काठमाडौं आउनुपरेको छ ।

० तर सरकारले वार्ताका लागि त तपाइँहरु पत्र पठाएको छ नि ?

— जबसम्म सरकारले यसअघि गत पुस १८ गते गरेको सहमति पूरा गर्दैन तबसम्म केको लागि वार्ता गर्ने हामी ? पहिला गरेको सहमति पूरा भएकै छैन भने केको आधारमा पुनः वार्तामा जाने त । सरकारले हामीलाई वार्ता गर्न पत्राचार त गरेको छ तर हामी कुनै पनि हालतमा अब वार्ताको टेबुलमा बस्दैनौं । हामीसँग गत वर्षको भएको पाँच बुँदे सम्झौता पूरा हुनुपर्‍यो, त्यो पूरा भएपछि पुनः आन्दोलन गर्ने आवश्यकतै हुँदैन । हामीले सरकारलाई वार्ताका लागि शर्तसहितको जवाफी पत्र पठाएका छौं ।

० तपाइँहरुको शर्त के छ त ?

— जबसम्म भुक्तानीको विश्वसनीयता पूर्ण रुपमा सुनिश्चित हुँदैन तबसम्म यो आन्दोलन जारी रहने जानकारी हामीले सरकारलाई गराइसकेका छौं । भुक्तानीका लागि दुईटा बाटो (शर्त) हामीले सरकारलाई सुझाएका छौं । पहिलो शर्त, उद्योग मन्त्रालयले उद्योगीहरुबाट कुन मितिसम्म भुक्तानी गराउने, त्यो मिति अवधिसम्म हामी पीडित किसान साथीहरु सडकमै रही शान्तिपूर्ण ढंगले आन्दोलन गर्नेछौं । र दोस्रो शर्त, प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने त्यस कोषबाट किसानहरुलाई बाँकी बक्यौता रकम भुक्तानी गरियोस् र त्यो सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले ब्याजसहित असुल उपर गरी भुक्तानी गरियोस् भन्ने छ । उपरोक्त दुईटा शर्तमध्ये सरकार कुनै एउटा बाटो रोज्ने वातावरण बनाई ठोस आधारका साथ वार्ता गर्न आउँदैन भने वार्ता हुने अर्थ रहने छैन ।

० अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.ले तपाइँलाई बिचौलिया भनेर आरोप लगाएको छ नि ?

— बिचौलियो नजरमा त बिचौलिया नै हो । अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिजका सञ्चालक राकेश अग्रवाल आफै पनि एउटा माफिया जस्तो हुन् । दुई वर्ष पहिला जब मातृका यादव उद्योगमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा राकेश अग्रवालले मन्त्रीलाई भन्थे कि केको मन्त्री सन्त्री ? के गर्छ मलाई ? त्यो रेकर्डिङ्ग एकजनाको मोबाइलमा थियो । त्यो रेकर्डिङ्ग हामीले मन्त्रालयमा पनि सुनायौं । हामीले मन्त्रीजीसँग पनि भेट्यौं र आफ्ना समस्या सुनायौं । मन्त्रीजीले हामीलाई भन्नुभयो कि तपाइँहरु जिल्लामा जानुस्, काठमाडौं आउनु पर्दैन, जिल्लामै आवाज उठाउनुस्, तपाइँहरुले आफ्नो पैसा पाउनुहुन्छ । त्यसपछि हामी जिल्लामै आवाज उठायौं, त्यो बेला राकेश अग्रवाललाई पक्राउ पनि गरिएको थियो । त्यो बेला हाम्रो केही भुक्तानी पनि भएको थियो ।

० तर, तपाइँले सो इण्डष्ट्रिजबाट पटक–पटक गरी करोडौं रुपैयाँ लिएको भनेर विज्ञप्तिमा नै जारी भएको छ ?

— मैले लिएको पैसा मेरो मात्रै थिएन, किसानहरुको थियो । मेरो आफ्नै तीन बिघा जग्गा छ, १२ बिघा हुण्डा बटैयामा खेती गर्छु । म पनि आफ्नो गाउँको एउटा राम्रो उखु किसान हुँ । म एक कठ्ठामा ५० क्वीन्टल उखु उब्जाउने किसान हुँ । इण्डष्ट्रिजका सञ्चालक अग्रवालले ममाथि विभिन्न झुठा आरोपहरु लगाउनुभएको छ । यदि उहाँले लगाएको आरोप सही हो भने मेरो अगाडि आएर भन्नुपर्‍यो। एउटा निरीह किसानमाथि यस्ता किसिमका आरोपहरु किन ? हामीले आफ्नो मिहेनतको पैसा मागिरहेका छौं । जतिबेला उहाँले उखु पाइरहनुभएको थिएन, त्यतिबेला अन्य किसानहरुसँग भनेर उखु दिलाइदिनुस् भनेर आग्रह गर्नुभयो । तर, जब त्यो उखुको भुक्तानी माग्दा विचौलिया, करोडौं रुपैयाँ लिएको, मोलमोलाइ गरेको लगायतका आरोपहरु लगाउनुहुन्छ । अहिले पनि उहाँसँग हामी किसानले भुक्तानी लिन बाँकी नै छ । म उहाँलाई आग्रह गर्न चाहन्छु कि आमने–सामने हुनुस्, मैले तपाइँको कति पैसा लिएको छु र हामीले कति पाउनुपर्ने हो । त्यसैले ममाथि लगाइएको आरोप पूर्णरुपमा निराधार हो ।

० तपाइँहरुको आन्दोलन धर्नामा मात्रै सीमित रहन्छ ?

— हामीले गर्दै आएको आन्दोलनको अब स्वरुप परिवर्तन हुन्छ । हाम्रो धर्ना प्रदर्शनबाट नै सरकारलाई दबाब बढ्दै गएको छ, विभिन्न पक्षबाट हाम्रो आन्दोलनमा समर्थन र ऐक्यबद्धता बढ्दै गएको छ । हामीलाई आशा छ कि अब सरकारले हाम्रो पीडाप्रति छिट्टै नै ध्यानाकर्षण गर्छ । हाम्रो यो आन्दोलनबाट पनि सरकारले सुनेन भने रिले अनशनलगायतका कार्यक्रमहरु पनि गर्छौं । यो हाम्रो आन्दोलन देशका सम्पूर्ण किसानको पक्षमा रहेको छ । किसानहरुले भोग्दै आएका पीडा सदाका लागि समाप्त होस् भनेर हामी यसपटक निर्णायक आन्दोलन गरिरहेका छौं ।

० भनेपछि अब उधारो सम्झौता हुँदैन ?

— निश्चितरुपमा अब उधारोमा सम्झौता हुँदैन । यो हाम्रो आन्दोलन वार पारको हो । यो हाम्रो अन्तिम आन्दोलन हो, निर्णायक आन्दोलन हो र वार वा पारको आन्दोलन हो । हामी आफ्नो भुक्तानी नपाएसम्म काठमाडौंबाट खाली हात फर्कनेवाला छैनौं । हामीसँग गत वर्ष नै सरकारले सम्झौता गर्‍यो कि सम्पूर्ण भुक्तानी हुन्छ तर किन भएन ? सरकारले किन मिल मालिकहरुसँग उठाउन सकेन ? अब हामी त्यतिकै खाली हामी फर्कनेवाला छैनौं । यो कठ्याङग्रिदो चिसोमा आफ्नो ज्यानको कुनै परवाह नै नगरी आन्दोलन गरिरहेका छौं । हामी अनुदान वा भिख मागिरहेका छैनौं, आफ्नो मिहेनतको हक मागिरहेका छौं ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ?

— म यहाँका आम जनसमुदाय, नागरिक समाज र मिडियाकर्मीहरुलाई आग्रह गर्न चाहन्छु कि हाम्रो यो आन्दोलनमा यसैगरी सहयोग र सद्भाव देखाइरहनुस् । हामीले आफ्नो परिश्रमको फल मागिरहेका छौं । अहिले नेपालका सम्पूर्ण जनसमुदाय हाम्रो आन्दोलनको समर्थनमा छन् । यसका लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा पनि किसानका लागि यसरी नै सद्भाव र सहयोग रहोस् भन्ने आशा पनि राखेका छौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ