० तपाइँ राष्ट्रिय जनता पार्टी नेपालमा प्रमुख सचेतकको रूपमा नयाँ जिम्मेवारी पाउनुभएको छ, यो जिम्मेवारी कसरी निर्वाह गर्नुहुन्छ ?
— वास्तवमा अहिले संघीय संसदमा राष्ट्रिय जनता पार्टी नेपाल तेस्रो पार्टीको भूमिकामा छ । यसले गर्दा अहिले संघीय संसदमा राजपा नेपालको धेरै महत्वपूर्ण भूमिका छ । हामीले ढिलो गरी संसदीय दलका नेता र प्रमुख सचेतक चयन गरेका छौं । संसदको प्रभावकारिता बढाउने कुरामा यो दुईटा महत्वपूर्ण कुरा हो । संसदको दैनिक कार्यव्यवहार हेर्ने, सांसदहरूलाई प्रशिक्षित गर्ने, सांसदहरूलाई संसदभित्र उपस्थित गराई काम गर्ने÷गराउने लगायतका भूमिका हुन्छ । अहिले हाम्रो संसदीय दलका नेता तथा पार्टीका संयोजक महन्थ ठाकुरजी काठमाडौं बाहिर हुनुहुन्छ । उहाँ आएपछि उहाँसँग कुरा गर्छु । संसदीय दलको बैठक बसाएर अब संसदीय दल कसरी अगाडि बढाउने, संसदीय दलका सदस्यहरूलाई उपस्थित गराई आगामी भूमिकाबारे बैठकमा छलफल गर्छु । संसद र विभिन्न समितिहरूमा पनि हामी कसरी प्रभावकारी भूमिका निर्वाह गर्न गर्छौं त्यसमा हामी चिन्तन गर्छौं ।
० राजपाको हरेक निर्णय ढिलो हुनेगर्छ, किन ?
— ढिलो अवश्य भएको हो तर, राम्रो भएको छ । ६ पार्टी मिलेर राजपा नेपाल बनेको छ । हामी अहिले प्रारम्भिक चरणमा छौं । पार्टी एकीकणपछि हामी निर्वाचनमा गयौं, निर्वाचनको उपलब्धि प्राप्त भयो । यो पार्टीलाई एउटा एकीकृत पार्टीको रूपमा लग्ने र एउटै ढाँचामा गर्ने विषयमा हामी महाधिवेशन गरेर संगठनहरूलाई सुदृढ गर्ने, नेता कार्यकर्ताहरूलाई समावेश गर्ने लगायतमा केन्द्रित भएका छौं । समसामयिक विषयहरूमा अध्यक्षमण्डलको बैठक बस्दै आएको छ र आइतबार पनि बैठक बस्नेछ । यो परिस्थितिमा केही ढिलो चाँडो हुनु स्वाभाविक हो । केही ढिलो भएपनि हामीले ठोस निर्णय गरेका छौं । हाम्रो एकीकरण लामो समयसम्म रहोस्, पार्टी एकीकृत भएर बसोस् यसका लागि हामी प्रयासरत् छौं ।
० तपाइँहरूले संविधान संशोधन लगायतका मुद्दाहरू बाहिर जोडतोडका साथ उठाउनुहुन्छ, तर संघीय संसदमा आवाज उठाएको देखिँदैन नि ?
— यसको दुईटा कारण छ । हामीले यो सरकारलाई समर्थन दियौं र सरकारले संविधान संशोधन र आन्दोलनका राजबन्दीहरूको रिहाई, झुठा मुद्दा फिर्ता लगायतका कुरा गर्छौं भनेको छ । त्यसका लागि पटक–पटक अध्यक्षमण्डलका नेताहरूले प्रधानमन्त्रीसँग भेटघाट गरिरहनु भएको छ । यी मागहरू पूरा हुन्छ कि हुँदैन भन्ने निष्कर्षमा हामी पुगिसकेका छैनौं । यो सरकारले हाम्रा यी मागहरू पूरा गर्दैन भन्ने निष्कर्षमा हामी पुगिसकेपछि मात्र हाम्रो लडाई संसदबाट सुरू हुन्छ । संसदको लडाईबाट हाम्रो माग पूरा नभएपछि फेरी सडक आन्दोलनतिर पनि लाग्छौं । तर, अहिले हामी आश्वासनलाई कार्यान्वयन गराउनेतर्फ दबाब दिइरहेका छौं । त्यसकारणले हाम्रा मुद्दा संसदमा नउठेको त होइन, तर जुन किसिमले गम्भीर तरिकाले उठ्नुपर्ने हो त्यसरी उठेको छैन । त्यसको निष्कर्ष हामीले दशैंपछि एउटा बैठकबाट निकाल्छौं । अहिले हामी प्रतिक्षा गरिरहेका छौं । हाम्रो प्रतिक्षाबाट पनि हाम्रा मागहरू पूरा भएन भने गम्भीर तरिकाले विचार गछौं ।
० दशैंपछि कस्ता निर्णय हुनसक्छन् त ?
— दशैंपछि हामी बैठक बसेर सरकारको व्यवहारलाई समीक्षा गर्छौं । त्यसपछि कस्तो निर्णय गर्नुपर्ने हो त्यसबखत नै गर्छौं । अहिले नै यो गर्छौं वा त्यो गर्छौं भन्नुको कुनै औचित्य नै हुँदैन ।
० सरकारको अहिलेसम्मको व्यवहार हेर्दा संविधान संशोधनप्रति उसको गम्भीरता वा तयारी कस्तो पाउनु भएको छ ?
— संविधान संशोधनप्रति सरकारको गम्भीरता त देखिन्छ तर गम्भीरताले मात्रै हुँदैन । जसरी प्रधानमन्त्री भन्नुहुन्छ कि आवश्यक्ता र औचित्यको आधारमा संशोधन गर्छौं, तर बोलेर हुँदैन । त्यसका लागि दुवै पक्षको एउटा टीम बन्नुप¥यो, टीमले काम गर्छ । टीमले आवश्यक्ता र औचित्य महसुस गराउँछ । यो तयारी अहिलेसम्म देखिएको छैन । यो तयारी सुरू नभइकन कहिलेसम्म संशोधन हुन्छ भन्ने कुरा भन्न अहिले गाह्रो छ । तर, आश्वासनको कारण हामीले अहिले प्रतिक्षा गरिरहेका छौं ।
० भनेपछि अहिलेसम्म तपाइँहरू आश्वासनकै भरमा हुनुहुन्छ ?
— त्यो बाहेक अहिले केही पनि त देखिएको छैन । हामीले जुन आशा र विश्वासका साथ समर्थन गरेका छौं, त्यसका लागि तुरून्तै आत्तिनुपर्ने अवस्था छैन । केही दिन पर्खनै पर्ने हुन्छ ।
० विगतमा तपाइँहरू वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेश विरोधी भन्दै आउनुभएको थियो, अहिले उहाँ तपाइँहरूको मागप्रति कसरी सकारात्मक हुनुभयो त ?
— हेर्नुस्, व्यक्तिको भूमिका अलग–अलग हुन्छ । राजनीतिक पार्टीहरूको बीचमा कहिल्यै पनि मुख बराबार गर्नु हुँदैन । सम्वाद र छलफलको ढोका कहिल्यै पनि बन्द गर्नु हुँदैन । जति बेला हामी आन्दोलन गरिरहेका थियौं, हाम्रा मान्छेलाई सरकारले मारिरहेको थियो, त्यसबखत पनि हामीले वार्ताको टेबुल छोडेनौं । त्यसबखत पनि वार्ताका लागि सरकार तयार भयो भने हामी त्यो वार्तामा लाग्यौं । किनभने दुई देशबीच युद्ध हुँदा पनि वार्ताको ढोका खुला हुन्छ, युद्धविराम हुन्छ । यो सम्पूर्ण अवस्था र स्थिति हुँदाखेरि अब ओलीजीसँग हामी कुरै नगर्ने त्यो कुरा हुँदैन । जुन परिस्थिति त्यतिबेला ओलीजीको थियो त्यतिबेला त हामीले बहिष्कार गरेका थियौं । बहिष्कारकै कारण सप्तरीको घटना भयो । त्यसकारण, त्यसबखतको अवस्था र आजको अवस्थामा परिवर्तन भएको छ । आज उहाँ देशको प्रधानमन्त्री फेरि हुनुहुन्छ र त्यो बखत संविधान संशोधन हुँदैन भनिराख्नुभएको थियो । तर, आज उहाँमा परिवर्तन आएको छ । आवश्यक्ता र औचित्य भने पनि संशोधन गर्छु भनिरहनुभएको छ । त्यसकारण, उहाँमा परिवर्तन आएको रहेछ भने त्यो परिवर्तनलाई कार्यरूपमा लग्नुहुन्छ कि लग्नुहुन्न भन्ने कारणले गर्दा केही समय अझ पर्खिरहेका छौं । पटक–पटक हाम्रो पार्टीका नेताहरू भेटेर दबाब पनि दिइरहनु भएको छ । त्यसैले, हामी चुप लागेर बसेका छैनौं । अब हामी चाँडै निष्कर्षमा पुग्छौं ।
० तपाइँहरूको आन्दोलनका सहयात्री संघीय समाजवादी फोरम नेपाल संशोधनकै मुद्दा लिएर सरकारमा छ, फोरमको भूमिकालाई कसरी हेरिरहनु भएको छ ?
— फोरमको भूमिका अहिले प्रष्टै देखिएको छ । जुन औचित्यका लागि हामी अहिले सरकार बाहिर छौं, हामीलाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनका लागि पटक–पटक भनिरहनुभएको छ । तर, हाम्रो प्राथमिकता सरकारभन्दा पनि माग हो । मधेशी जनताले जुन विषयका लागि हामीलाई समर्थन दिएर प्रदेश र संघीय संसदमा पठायो, मधेशको अपेक्षा, इच्छा, मनोभावना, उत्पीडन समाप्त नगरिकन हामी सरकारमा जाँदैनौं । प्रदेश र संघीय संसदको निर्वाचनका बेला हामीले फोरमसँग चुनावी सहकार्य गरेका थियौं । पार्टी एकता गर्ने कुरा हामीबीच भएको थिएन । हामीले चुनाव पनि सँगसँगै लड्यौं, त्यसको परिणाम पनि राम्रै आयो । फोरम नेपाल एउटा स्वतन्त्र पार्टी हो, हामीसँग भएको चुनावी गठबन्धन समाप्त भएको छ । यदि फोरमलाई लाग्छ कि सरकारमै गएर संविधान संशोधन हुन्छ भने त्यसमा हामीले केही भन्न मिल्दैन । तर, हामीले हाम्रा मागहरू पूरा नभइकन सरकारमा जानु हुँदैन भन्ने मान्यताका साथ सरकार बाहिर छौं ।
० चुनावका बेला राजपा र फोरमबीच एकीकरण हुने कुरा उठेको थियो, अहिले त्यो सम्भावना छ ?
— यो कुरा जहिले पनि उठेकै हो, यो जनताको अपेक्षा हो । मधेशका जनताले यी दुई पार्टी मिलोस्, नमिले पनि कम से कम चुनावमा एक भएर जाओस् भन्ने भावना थियो । त्यसै कारणले विगतमा हामी ६ वटा पार्टी भएका थियौं । तर, फोरम एकीकरणमा आएन । फोरमसँग एकीकरण नभए पनि चुनावसँगै लड्ने निर्णय ग¥यौं र परिणाम राम्रै आयो । त्यसबखत पनि पार्टी एकीकरणका लागि जनताको दबाब थियौं र आज पनि दबाब छ । तर एकीकरणबारे हामीबीच कहिले पनि चर्चा भएको छैन ।
० ६ पार्टीबीच एकीकरण भयो तर, फोरम किन अटाएन ?
— यदि धानको बोरा वा चिनीको बोरा भइदिएको भए अटाउन सकिन्थ्यो । त्यो एउटा पार्टी छ, उसको आफ्नै स्वतन्त्रता छ । उसको इच्छा नभइकन हामीले जबर्जस्ती बोकेर ल्याउने अवस्था नै आउँदैन ।
० भनेपछि फोरम तपाइँहरूसँग आउन चाहेन ?
— त्यस्तो वातावरण नै हामीबीच बन्न सकेन ।
० निर्वाचनका बेला पार्टीबाट असन्तुष्ट भएका नेता कार्यकर्ताहरूलाई ल्याउन कस्ता पहलहरू हुँदैछ ?
— जुनसुकै पार्टीमा केही व्यक्तिहरू असन्तुष्ट भएर जाने, कोही पार्टीमा आउने कुरा चलिरहन्छ । एउटा जिवन्त पार्टीको जीवनमा यो कुरा जहिले पनि चलिरहन्छ । हाम्रो राजनीतिक समितिको बैठकले असन्तुष्टहरूलाई फिर्ता बोलाउनका लागि आह्वान पनि गरिसकेको छ । जो नेताहरू असन्तुष्ट भएर अन्य पार्टीको चुनाव चिन्ह लिएर चुनाव लगेका थिए उनीहरूको सन्दर्भमा छलफल गर्दैछौं । जसले चुनाव लडे उनीहरूलाई दुई वर्षका लागि निलम्बन पनि गरेका छौं । त्यो निर्णयलाई फेरि हटाउन पार्टीले निर्णय गर्नुपर्छ ।
० तपाइँहरूले महाधिवेशन गर्ने भन्नुभएको छ, त्यसको तयारी कसरी हुँदैछ त ?
— महाधिवेशन कसरी गर्ने भन्ने सन्दर्भमा हाम्रो पार्टीको एउटा साझा विधान चाहियो, त्यो विधान अनुसार नै हामीले गाउँदेखि केन्द्रसम्म अधिवेशन गर्छौं । त्यो विधान करिब–करिब तयार भएको छ, त्यसमा छलफल भइरहेको छ । त्यसलाई अन्तिम रूप दिने काममा अध्यक्षमण्डल लागेको छ । विधान आइसकेपछि हामीले अधिवेशन तालिका बनाउँछौं । हामीले आगामी बैशाख ७ गते महाधिवेशन गर्ने लक्ष्य राखेका छौं । त्यस समय भित्र हामीले एउटा क्यालेन्डर बनाएर अगाडि बढ्ने योजना बनाएका छौं ।
० तोकिएकै समयमा महाधिवेशन हुन्छ ?
— पार्टीलाई व्यवस्थित गर्नका लागि महाधिवेशन अपरिहार्य हो । किनभने जिल्लाहरूमा पनि ६ वटा पार्टीका अध्यक्षमण्डल नै छन् । त्यसकारणले पार्टीको स्वरूप अब एक गर्ने हाम्रो अहिलेको प्राथमिकता हो । यो बीचमा हामी विभिन्न चुनावहरूमा लाग्यौं, कहिले चुनावको बहिष्कारमा लाग्यौं, आन्दोलनै आन्दोलनमा थियौं । अब अलि फुर्सद भएको छ । महाधिवेशनको तिथि पनि तोकिसकेका छौं । यस बीचमा सबै कुरा मिलाएर महाधिवेशनमा जान्छौं । त्यो मितिभित्र महाधिवेशनका लागि चाहिने विभिन्न कार्यक्रमहरू तयार गरी अगाडि बढ्छौं । तोकिएको समयमा महाधिवेशन अवश्य नै हुन्छ । यसले पार्टी एकीकृत हुन्छ, दूरगामी सोच हुन्छ र एक भएर अगाडि बढ््छौं ।
० तपाइँहरूले यो संविधानलाई मानेका छैनौं भनिरहनुभएको छ, संविधान पनि जलाउनु भएको छ । यहि संविधान अन्तर्गत बनेको संघीय संसदको सांसद हुनुहुन्छ, प्रदेश २ मा सरकार बनाउनु भएको छ । आगामी संविधान दिवस बनाउनु हुन्छ होला नि ?
— उपेन्द्र यादवजीले संविधानको पुनर्लेखन गर्नुपर्छ भनिरहनु भएको थियो भने हामीले संशोधनकै कुरा गरिरहका थियौं । संविधान बन्यो तर, त्यसमा मधेशी, आदिवासी जनजाति, महिला, दलित, मुस्लिमको अधिकार जुन अन्तरिम संविधानले स्थापित गरेको थियो त्यो हदसम्म पनि नपाएको कारणले हामी एउटा लामो लडाई लड्यौं । अब यो संविधान जलाउने कुरा कस्तो हुन्छ भने धारा–धारा, लाइन–लाइन च्यातेर त जल्दैन । त्यसको एउटा धारा जलायो भने पूरा किताब जलाउनुपर्छ । त्यसकारण हामीले संविधान जलाएका हौं । त्यसबखत पनि हामीले संशोधन होइन, पुनर्लेखनकै पक्षमा थियौं । त्यसैले संविधान संशोधनका लागि हामी आज पनि तयार छौं । यो संविधान संशोधन भएन भने संविधान दिवसको दिन असोज ३ के गर्ने भन्ने विषयमा पार्टीगत निर्णय गर्छौं । त्यो निर्णय एकछिनमै गर्न सकिने भएकोले त्यो ठूलो कुरा होइन ।
० भनेपछि, संशोधन भएन भने संविधान दिवसलाई कालो दिवसकै रूपमा मनाउनुहुन्छ ?
— हामी त अहिलेसम्म त्यहीअनुरूप अगाडि बढ्ने सोचेका छौं ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७५ साल भदौ २२ गते शुक्रबार ।
तपाईको प्रतिक्रिया