० रामजानकी विवाह महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आउने चर्चा छ, प्रदेश सरकारको तयारी कस्तो छ ?
— त्रेतायुगदेखि जनकपुरधाममा रामजानकी विवाह महोत्सव हुँदै आएको ऐतिहासिक तथ्य छ । यस अवसरमा भारतका विभिन्न राज्यबाट जन्ती आउने गरेको परम्परा पनि छ । खासगरी अयोध्याबाट जन्ती आउने गर्छ । ं जनकपुरधामवासीले सधै जन्तीलाई भव्य र सभ्य तरिकाले स्वागत गर्दै आएका छन् । यहाँ अतिथिलाई देउतासरह नै पुज्ने गरिएको छ । मिथिला संस्कृति र सभ्यता अनुसार नै हामीले जन्तीलाई स्वागत गर्ने तयारी गर्दैछौं । हामीले पनि सुनेका छौं कि जन्तीको रूपमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीजी आउनु हुनेछ । उहाँ आउनु भयो भने हामीले उहाँलाई पनि त्यही हिसाबमा स्वागत गर्न तयारी अवस्थामा छौं । उहाँकोे जनकपुरधाममा भव्य र सभ्य स्वागत हुनेछ ।
० त्यसो भए योगीको आगमनबारे प्रदेश सरकारलाई अहिलेसम्म आधिकारिक जानकारी छैन ?
— अहिलेसम्म हामीलाई आधिकारिक जानकारी आएको छैन । तर, जसरी हरेक निकायले उहाँको स्वागतका लागि तयारी गरिरहेको छ, भारतीय राजदूतावासको पनि सक्रियता देखिएको छ । त्यस हिसाबले उहाँ आउने कुरा हुँदैछ । उहाँ आउने सम्भावना बढी छ । तर, आधिकारिक जानकारी अहिलेसम्म आएको छैन । अन्तिम समयमा आधिकारिक जानकारी आउँछ जस्तो लागेको छ । त्यसकारणले सम्पूर्ण आगन्तुक र आम जनताको सुरक्षा दिने काम प्रदेश सरकारको भएको हुनाले हामीले पनि तयारी गरिरहेका छौं । हाम्रो तयारीमा कुनै किसिमको कमी रहँदैन । यस अवसरमा जनकपुरधाममा लाखौं जन्ती आउने कुरा निश्चित नै छ, त्यसकारणले शान्ति सुरक्षाको व्यवस्था हामी मिलाउँदैछौं । मुख्यमन्त्री योगीजी आउनुहुन्छ भन्ने हिसावले नै हाम्रो तयारी रहेको छ ।
० योगीजीको आगमनको आधिकारिक जानकारी प्रदेशलाई मात्रै आउँछ कि केन्द्रलाई पनि ?
— योगीजीको आगमनको विषयमा केन्द्र सरकारलाई नै पहिला आधिकारिक जानकारी आउनेछ । परराष्ट्र मन्त्रालयद्वारा स्वीकृत हुन्छ र हामीलाई पनि जानकारी हुन्छ । उहाँको भ्रमण निश्चित जस्तै भएकाले केन्द्रीय सरकारका अंगहरू पनि त्यहीअनुसार काम गरिरहेको छ । शायद केन्द्र सरकारलाई पनि उहाँको आगमनको जानकारी आइसकेको स्थिति छ । तर, केन्द्रलाई आधिकारिक जानकारी अहिलेसम्म आएको छ वा छैन हामीलाई थाहा छैन । यदि केन्द्रीय सरकारलाई जानकारी नभएको भए किन यस्तो तयारीमा जुटेको होला भन्ने कुरा त छँदैछ । त्यसकारणले आधिकारिक कुरा अन्तिम समयमा आउँछ होला । केन्द्रलाई औपचारिक जानकारी भएको हुनसक्छ भन्ने कुराको अड्कल छ । त्यसैले, हामी पनि त्यही हिसाबमा तयारीमा लागेका छौं ।
० यदि योगीजी आउनुभयो भने के कस्ता कार्यक्रमहरू हुनेछ ?
— उहाँ आउनुभयो भने जनकपुरधाम विमानस्थलमा ओर्लिनुहुनेछ । त्यहाँबाट सिधै जानकी मन्दिरमा आउनुहुनेछ र पूजापाठ गर्नुहुनेछ । जानकी मन्दिरमा पूजापाठ गरिसकेपछि योगी मधेश भवन (प्रदेशसभा)मा प्रदेश सरकार सांसदहरूद्वारा स्वागत हुनेछ । त्यसपछि प्रदेश सरकारले दिवाभोजको आयोजना गर्नेछ । मिथिला र मधेशमा जुन किसिमको हामी अतिथिको स्वागत र सत्कार गर्छौं त्यसरी नै हुनेछ । मधेश भवनमा यी सबै कार्यक्रम भइसकेपछि बाह्रबिघा मैदानमा विवाह महोत्सवको कार्यक्रम आयोजना हुन्छ । सो कार्यक्रममा लगभग साढे एक घन्टासम्म बस्नुहुन्छ । त्यसपछि, उहाँ स्वदेश फिर्ता हुनुहुन्छ ।
० मधेश भवनमा प्रदेशसभालाई सम्बोधन पनि गर्नुहुन्छ कि ?
— सम्बोधन गर्ने कार्यक्रम छैन । हामीले उहाँलाई यहाँको कला संस्कृतिबारे केही कार्यक्रमहरू देखाउने छौं । मिथिलामा जसरी अतिथिको स्वागत गरिन्छ त्यसरीअनुसार हुनेछ । प्रदेशसभामा भाषण गर्ने वा सम्बोधन गर्ने लगायतका कुनै पनि कार्यक्रम छैन । यो नितान्त धार्मिक भ्रमण हो । उहाँको सम्बोधनभन्दा पनि शुभकामना र धन्यवाद दिने कार्यक्रम छ ।
० योगीजीले जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कार्यक्रम पनि छ भन्ने सुनिन्छ नि ?
— यो कुरा प्रदेश सरकारको अधिकारभित्र पर्दैन । यसमा प्रदेश सरकारले पनि टिकाटिप्पणी गरिरहनु आवश्यक पनि छैन । रेल्वे संघीय सरकारको कार्य क्षेत्रभित्र पर्छ । त्यसैले, रेल्वे उद्घाटन गर्ने÷गराउने विषयमा हाम्रो सरोकारको विषय छैन । यसबारे संघीय सरकारलाई नै थाहा होला । हामीलाई त्यस्तो आधिकारिक जानकारी आएको छैन ।
० भनेपछि, रेल्वे उद्घाटनको विषय केन्द्रले तय गर्ने हो ?
— निश्चितरूपमा ।
० तर यस विषयमा जुन किसिमका समाचारहरू आउँदैछन् त्यो के हो त ?
— मैले बुझेअनुसार अहिले रेल्वेको उद्घाटन गर्ने स्थिति छैन । रेल्वेका पूर्ण तयारी पनि छैन । उद्घाटन गर्ने कार्यक्रम यदि भएको भए त्यसबारेमा सचेतना कार्यक्रमहरू सञ्चालन हुन्थ्यो । रामजानकी विवाह महोत्सवमा भारतका विभिन्न प्रान्त र नेपालकै धेरै जिल्लाहरूबाट श्रद्धालुहरू आउने गर्छन् । त्यसैले, त्यो बेला ट्राफिक वा जनचेतनासम्बन्धी कार्यक्रम नै नगरिकन उद्घाटन गर्न सकिने स्थिति छैन । त्यसैले, उद्घाटनसम्बन्धी संघीय सरकारले कुनै किसिमको तयारी नदेखिएकोले अहिले नै उद्घाटन हुने सम्भावना म देख्दिन । रेल उद्घाटनको सम्बन्धमा संघीय सरकारले प्रदेश सरकारलाई केही जानकारी नदिएकोले मैले धेरै कुरा भन्न सकिने स्थिति पनि आउँदैन । कुनै कुरामा टिप्पणी गर्नुभन्दा अगाडि सत्य तथ्य र यथार्थ कुराहरू बुझेर टिप्पणी गर्दा राम्रो हुन्छ ।
० रामजानकी विवाह महोत्सवमा जसरी छिमेकी मित्रराष्ट्रबाट जन्ती आउँछन्, विभिन्न कार्यक्रमहरू हुन्छन्, यसले नेपाल–भारतको सम्बन्धमा कस्तो भूमिका निर्वाह गर्छ ?
— यो संस्कृतिले नेपाल–भारतको सम्बन्धलाई एकदम मजबुत अवस्थामा ल्याएको छ । नेपाल र भारतबीच यस्तो छ सम्बन्ध छ, जसलाई कसैले तोड्न सक्दैनन् । यसले नेपाल र भारतबीचको रगतको जुन सम्बन्ध छ त्यसले गर्दा दुई देशीय सहयोग आदान प्रदान गरिँदै आएको छ । यसले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुँदै गइरहेको छ । यसले गर्दा नेपाल र भारतबीचको सम्बन्ध विश्वमै उदाहरणीय रहेको पनि प्रमाणित गर्छ । यो सम्बन्धले नेपाल र भारत दुवै देशलाई फाइदा नै पुगेको स्थिति छ । मनोवैज्ञानिक हिसावमा हेर्ने हो भने पनि सम्बन्ध थप उचाईमा नै पुगेको छ । विवाहमहोत्सव नेपाल र भारतको सांस्कृतिक सेतु हो । यसले विशाल संस्कृति भएको दुई देशलाई जोडेको छ ।
प्रदेश प्रहरी
० प्रदेश २ मा अहिले प्रहरी ऐन ल्याउनु भएको छ र भर्ना प्रक्रिया पनि सुरू भइसकेको छ । प्रदेश २ मा कति प्रहरी आवश्यक छ त ?
— हामीले प्रहरी ऐन पारित गरेका छौं तर, प्रहरी भर्ना प्रक्रिया सुरू गरेका छैनौं । अहिले प्रहरी भर्ना भइरहेको भन्ने जुन कुरा छ त्यो संघीय सरकारले नै गरिरहेको छ । तर, संघीय सरकारले जसरी प्रदेश २ मा प्रहरी भर्ना गरिरहेको छ त्यो संविधान र संघीयताको मर्म विपरीत छ । यस विषयमा हाम्रो असन्तुष्टि छ र विरोध गर्छौं । किनभने संविधानको धारा ३०२ मा प्रहरी वा कर्मचारी संयोजन गर्नुपर्ने हो । त्यो कुन अवस्थामा कि संविधान निर्माणबखत जुन भर्ना भइसकेको छ उनीहरूलाई संयोजन गर्ने हो । त्यसपछि प्रदेशले आवश्यक्ताअनुसार प्रहरी भर्ना गर्छ । तर, संघीय सरकारले नै यो गरेको हुनाले यो संविधान र संघीयता विपरीत हो । यो गैरकानूनी हो । यस्ता कर्मचारीहरूको संयोजन प्रदेश २ को सरकारले स्वीकार गर्दैन ।
० भनेपछि प्रदेश २ मा संघीय सरकार आफैले प्रहरी भर्ना गर्दैछ ?
— हो । यो भर्ना प्रदेश सरकारले खोलेको होइन । यस विषयमा प्रदेश सरकारसँग समन्वय पनि भएको छैन ।
० प्रदेश २ मा संघीय सरकारले किन प्रहरी भर्ना गरिरहेको होला त ?
— यो गैरकानूनी हो । संविधान विपरीत यो भर्ना हुँदैछ । केन्द्रीय सत्ताको पहिलाको जुन एकात्मक सोच छ, त्यसकै नतिजा हो । त्यसरी गर्नु हुँदैन । यसरी भर्ना गरिसकेपछि यहाँका जनतालाई आफ्ना शासन, प्रशासनबाट टाढा राख्नका लागि यो एउटा ठूलो षड्यन्त्र नै हो । यस्तो गैरकानूनी कार्य नगर्न प्रदेश २ को सरकारले संघीय सरकारलाई बारम्बार अनुरोध गर्दै आएको छ । यदि यो कार्य संघीय सरकारले रोकेन भने भोली हामीले यसको ग्रहण गर्न सक्ने स्थितिमा हुँदैनौं ।
० प्रदेश २ ले पनि प्रहरी ऐन पास गरेको छ र भर्ना प्रक्रियामा छ । यता, संघीय सरकारले पनि प्रदेश २ मा भर्ना सुरू गरेको छ । अर्थात प्रदेश २ मा कति प्रहरी चाहिन्छ ?
— खासगरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रदेशमा चार सयदेखि छ सयसम्म प्रहरी चाहिन्छ । तर, यहाँ १४ सयदेखि १६ सयसम्म प्रहरी रहेको छ । यसरी हेर्दा प्रदेश २ मा दुई हजार प्रहरी तत्काल चाहिन्छ भन्ने कुरा तथ्यांकले देखाउँछ । त्यसकारण, अहिले तत्कालै हामीले एक हजार प्रहरी भर्ना गर्छौं । पछि यहाँको अवस्थालाई अध्ययन गर्दै अरू थपघट गर्ने कुरा गर्दै जान्छ ।
० अहिले संघले पनि भर्ना गर्दैछ, प्रदेशले पनि भर्ना गर्ने भन्नुहुन्छ, भनेपछि प्रदेश २ मा त्यति प्रहरी कहाँ राख्ने त ?
— अहिले प्रदेशमा संघीय सरकारले प्रहरी भर्ना गर्ने कुरै होइन । यो गैरकानूनी हो । किन संघीय सरकारले त्यसरी गरिरहेको छ हामी बुझ्न सकिरहेका छैनांै । उहाँहरू एकात्मक सोचलाई त्याग सक्नुभएको छैन । हामी चाहन्छौं कि विभेदरहित समाजको निर्माण होस् । सबै जाति, भाषाभाषीले अपनत्वको महसुस गर्न सकोस् । हरेक नेपाली जनताले बराबरीको अधिकार पाउनुपर्छ । तर, संघीय सरकारले एकात्मक र नश्लवादी सोचलाई नसकेको हुनाले अहिले प्रदेश २ मा प्रहरी भर्ना हुँदैछ ।
० प्रदेश सरकारले आफ्नो प्रहरी भर्नाको प्रक्रिया कहिलेसम्म सुरू गर्छ त ?
— हामी अहिले प्रक्रियामा छौं । विभिन्न प्रक्रियाहरू पूरा गर्न हामीलाई एक÷दुई महिनासम्म लाग्न सक्छ । तर, दुई महिनापछि हामी भर्ना प्रक्रिया सुरू गर्छौं ।
० संघीय प्रहरी ऐन नआएसम्म तपाइँहरू कसरी भर्ना प्रक्रिया सुरू गर्न सक्नुहुन्छ ?
— हो, संघीय सरकारले त पहिला संघीय प्रहरी ऐन ल्याउनुप¥यो नि । संघीय प्रहरी ऐन नल्याएर संघीयतालाई नै कार्यान्वयन गर्न नदिने मनसाय छ भने नेपाली जनता र प्रदेश सरकार सहेर बस्दैन नि । यदि त्यस्तै भयो भने प्रदेश सरकारले आफ्नो प्रहरी ऐनअनुसार प्रहरी भर्ना गरेर अगाडि बढ्छ । संघीय सरकारले संविधानलाई कार्यान्वयन गराउन खोज्दैन भने प्रदेश सरकार चुप लागेर बस्दैन ।
० भनेपछि, संघीय प्रहरी ऐन नआएपनि प्रदेश सरकारले प्रहरी भर्ना सुरू गर्छ ?
— निश्चितरूपमा सुरू गर्छौं ।
० तपाइँहरूले करार कर्मचारी भर्नाका लागि ऐन पनि पारित गर्नुभएको छ, कर्मचारी भर्ना कहिलेदेखि हुन्छ ?
— संघीय सरकारले हामीलाई पर्याप्त कर्मचारी उपलब्ध नगराइरहेको अवस्थामा करार कर्मचारी भर्नाका लागि विधेयक पारित गरेका छौं । अबको १५ दिनभित्र हामीले करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरू गर्छौं । जनतालाई विकासको अनुभूति दिलाउन हामी प्रतिबद्ध छौं ।
मलेठ घटनाको प्रतिवेदन
० प्रदेश सरकारले मलेठ घटनाको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाइसक्यो, कहिले सार्वजनिक हुन्छ ?
— मलेठ घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक हुन अलि समय लाग्छ । अहिले विवाह पञ्चमी महोत्सव आएको छ, त्यसले गर्दा प्रदेश सरकार अहिले त्यसको तयारी गरिरहेको छ । अहिले विभिन्न कानूनहरू निर्माण गर्नुपर्ने स्थिति भएकोले पनि अलि समय लाग्छ । अहिले प्रदेशसभामा महत्वपूर्ण कानूनहरू पारित गर्नुपर्ने भएकोले समय लाग्छ तर छिट्टै सार्वजनिक गर्छौं । प्रदेश सरकारद्वारा गठित समितिले प्रतिवेदन बुझाइसकेको छ र तयारी अवस्थामा छ ।
० प्रतिवेदनअनुसार देखिएका दोषीहरूमाथि कारबाही गर्न सक्नुहुन्छ ?
— लोकतान्त्रिक मुलुकमा दोषीलाई कारबाही हुनु नै पर्छ । दोषीलाई कारबाही गरेनौं भने दण्डहीनता बढ्दैजान्छ । त्यसैले दण्डहीनता बढ्न नदिन र अन्यायमा परेका जनतालाई न्याय दिलाउन जो दोषी हुन्छ उसलाई कारबाही हुन्छ ।
० समग्र मधेशमा भएको आन्दोलनका घटनाहरूको छानबिनका लागि नेपाल सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । तपाइँहरूलाई पनि मलेठ घटनाको प्रतिवेदन सार्वजनिक नगर्न दबाब आयो भने ?
— सबै दबाबलाई चिरेर अगाडि बढ्दै गइरहेको प्रदेश २ को नै हो । संघीयता नचाहनेहरू पनि अहिले मान्न बाध्य भए । अहिलेको अवस्थामा संघीयतालाई संस्थागत गर्न नदिने खालका व्यक्तिहरू पनि छन्, उनीहरूले दबाब दिएकै हो । तर, ती सबै समस्याहरू झेलेरै हामी अगाडि बढेका छौं । त्यसैले, मलेठ घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न दबाब आएपनि त्यसको सामना गर्न तयार छौं । कसैले दबाब दिँदैमा प्रतिवेदनलाई हामीले तुहिन दिँदैनौं । त्यो प्रतिवेदन जनताको बीचमा ल्याउँछौं भन्ने हाम्रो प्रतिबद्धता हो ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया