० तपाइँ मन्त्री भएपछि मन्त्रालयमा रहेको मधेश आन्दोलनका शहीदका तस्वीरहरु हटाउनुभयो भन्ने आरोप छ । मधेश आन्दोलनका शहीदहरुको तस्वीर किन हटाउनुभयो ?
— कसैले भन्छ कि तपाइँको कान कागले लग्यो भने कागको पछि दौडिने कि आफ्नो कान हेर्ने ? हामी पहिला आफ्नो कान छाम्नुपर्छ । यहाँका मान्छेहरु अति नै नकारात्मक सोच राख्छन् । कुरा नबुझेर जे मन लाग्छ त्यहीं सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा लेख्ने गरेका छन् । मेरो कार्यकक्ष अहिलेसम्म मधेश आन्दोलनका शहीदहरुको तस्वीर छँदैछ । अर्कोतिर हाम्रा पार्टीका नेताहरुको पनि तस्वीर राखेको छु । लोकतन्त्रका लागि लडेका नेताहरुको तस्वीर मेरो पछाडि राखेको छु भने शहीदहरुको तस्वीर मेरो अगाडि राखेको छु । मान्छेहरु नहेरिकन, नबुझिकन जे मन लाग्छ त्यहीं लेख्छन्, त्यसको जवाफ म के दिने ?
० तर तपाइँले शहीदहरुको तस्वीर राखेको ठाउँमा कांग्रेसका नेताहरुको तस्वीर किन राख्नुभयो त ?
— शहीद भनेको मात्र मधेश आन्दोलनका शहीदहरु हुन् कि अहिलेसम्म लोकतन्त्रका लागि लडेका सबै शहीदहरु हुन् ? अधिकार र लोकतन्त्रका लागि जीवन उत्सर्ग गरेका सम्पूर्ण शहीदहरु हाम्रो लागि बराबर हो । तर मधेशका दलहरुका लागि अन्य शहीद केही होइन, मधेश आन्दोलनका मात्रै शहीद हो भन्नु अनुचित सोचाइ हो । मधेशी दलकै अन्य मन्त्रालयहरुमा कसैले पनि शहीदको तस्वीर राखेका छैनन् । मेरो कार्यकक्षमा मात्र शहीदका तस्वीर थियो, त्यसलाई हटाएको छैन । म कुनै पनि शहीदको अपमान गरेको छैन । सबैलाई म सम्मान गर्छु । त्यतिकै आदरणीय हाम्रा नेताहरु पनि छन् ।
० तर शहीदको अपमान भयो भनेर व्यापक आलोचना भयो नि ?
— यो एउटा अफवाह मात्रै फैलाइएको हो । म करिब ५० वर्षदेखि राजनीति गर्दैछु, शहीदको सम्मान र अपमान भन्ने कुरा म राम्ररी बुझ्छु । शहीदको अबमूल्यन कहिल्यै पनि म गर्न सक्दिँन । मधेशी दलका लागि मात्रै मधेशी शहीद होला, मेरो लागि सम्पूर्ण शहीदहरु समान हुन् । अरुले जे जति आलोचना गरे पनि म त्यसको पछि लाग्ने होइन ।
० तर मधेश आन्दोलनका शहीदको स्थान किन परिवर्तन गर्नुभयो त ?
— नबुझ्नेलाई जबरजस्ती बुझाउन सकिँदैन । कुन व्यक्तित्व वा शहीदको स्थान कहाँ हुन्छ, त्यो कुरा मलाई राम्ररी थाहा छ । हिजो–अस्तिदेखि राजनीति सुरु गरेका मान्छेहरुले अलि बढी नै अफवाह फैलाएका छन् । म त आफ्नो जीवन नै राजनीतिमा लगाएको मान्छे हुँ ।
० जनता आवास योजनालाई परिवर्तन गरी महेन्द्रनारायण निधि आवास योजना किन गर्नुभयो ?
— गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंहको नाममा कुनै योजना वा परियोजना राख्न हुने तर महेन्द्रनारायण निधिजस्तो राष्ट्रिय व्यक्तित्वको नाममा राख्दा कसैलाई किन गुनासो ? उहाँहरुभन्दा निधिको राजनीतिक व्यक्तित्व कम छैन नि । आफूले गर्दा राम्रो, मैले गर्दा चित्त दुख्ने किन ? यो त केटाकेटीको बुद्धि जस्तो भयो नि त ।
० तपाइँ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि के–के गर्नुभयो ?
— म यो मन्त्रालयमा आउँदा बजेट निर्माण भइरहेको थियो, त्यसका लागि विभिन्न शीर्षकहरुमा बजेट बाँडफाँड गरेको छु । अरु मन्त्रालयभन्दा आफ्नो मन्त्रालयमा मैले राम्रै बजेट बनाएको छु । हरेक विषयमा बजेट विनियोजन गरेर पठाएको छु । अन्य मन्त्रालयहरुले अबण्डा बजेट बनाएका छन् तर मैले शीर्षकतहत बजेट बाँडफाँड गरेको छु । म मन्त्रीमा नियुक्त हुने बित्तिकै बजेट निर्माणमा जुटेको थिएँ । अब १५ को काम मैले दुई÷तीन दिनमा गर्नुपर्नेछ जुन कठिन पनि छ । तर अन्य मन्त्रालयभन्दा मेरो बजेट सन्तुलित छ । खासगरी उत्पादनमूलक क्षेत्रमा बजेट बाँडफाँड गरेको छु ।
० भौतिक पूर्वाधार विकास मन्त्रालयसँग जनताको प्रत्यक्ष सरोकार हुन्छ । यो मन्त्रालय सम्हाल्दा कतिका चुनौतीहरु छन् त ?
— विगतका मन्त्रीहरुलाई म सम्मान नै गर्छु । उहाँले आफ्नो किसिमले आफ्नो बुद्धिविवेक लगाएर जे गर्नुभएछ त्यो कुरा जनतालाई थाहा नै छ । तर यो मन्त्रालय मेरो लागि चुनौती र अवसर दुवै हो । यसमा चुनौती ठूलो छ । म यो मन्त्रालय सम्हालेदेखि हजारभन्दा बढी मान्छेहरु मसँग भेटेका छन् । सबैको यसबाट अपेक्षा पनि छ । किनभने अहिलेसम्म कांग्रेसीहरुले यसभित्र खुट्टा हालेकै थिएन । यहाँ बजेट कम छ तर अपेक्षा बहुत ठूलो छ । हाम्रो सिलिङ्ग चार अर्बको छ तर ५० अर्ब दिँदा पनि पुग्दैन । तैपनि मैले प्राथमिकता निर्धारण गरेर बजेट कहाँ खर्च गर्दा त्यसको प्रतिफल आउँछ त्यो कुरा बोध गरेर मैले बजेट बाँडफाँड गरेको छु ।
० तपाइँ यो आर्थिक मसान्तको अन्त्यतिर यो मन्त्रालय सम्हाल्नुभएको छ । यो मन्त्रालयको कतिसम्म बजेट अहिलेसम्म खर्च हुन सकेको छ त ?
— पूरै प्रदेश सरकारकै बजेट हेर्ने हो भने ५० प्रतिशत बजेट पनि खर्च गर्न सकिएको छैन । म त अहिले भर्खर यो मन्त्रालय सम्हाल्दै छु । अहिले चालु आर्थिक वर्षमा कतिसम्म बजेट खर्च भयो, के कति काम भयो भन्ने कुराको जानकारी लिँदैछु । यस मन्त्रालयमा भएका त्रुटिहरुलाई सकेसम्म सुधार्ने पक्षमा छु ।
० प्रदेश २ को सरकारले आर्थिक मसान्तको अन्त्यतिर आइसक्दा ५० प्रतिशत पनि बजेट खर्च गर्न नसक्नुको कारण के देख्नुहुन्छ ?
— यसका कारणहरु धेरै छन् । पहिलो कारण त प्रदेश सरकारसँग कर्मचारीको अभाव छ । यस प्रदेशमा कमसेकम पाँच÷छ हजार कर्मचारीको आवश्यकता छ तर एक हजार पनि छैन । त्यसपछि यहाँका सचिव र प्रमुख सचिवहरु केन्द्रका कर्मचारीहरु हुन्छन् । प्रदेशको आफ्नै कर्मचारी पनि छैन । हुन त हामीले निजामती कर्मचारी ऐन पनि पास गरिसकेका छौं तर नियमावली बनेको छैन । नियमावली बनिसकेपछि सम्पूर्ण कर्मचारी प्रदेश सरकारको मातहतमा हुन्छ । मन्त्रालय र कर्मचारीको समन्वयमा कहीं न कहीं कमजोरी हुन्छ । तर प्रत्येक मन्त्रालयमा मन्त्रीको दक्षता, विवेक, राजनीतिक सुझबुझको पनि कमी हुन्छ । यी कारणहरुले गर्दा प्रदेश सरकारले बजेट बढीभन्दा बढी सदुपयोग गर्न सकिरहेको छैन । अर्को कुरो कोभिडका कारणले पनि प्रभावित भयो ।
० तपाइँ बजेट निर्माण गर्दा के–के नयाँ कुराहरु समावेश गर्नुभयो त ?
— यो मन्त्रालयको तीनवटा विषय छन्, सडक, सिंचाइ र शहरी विकास । सबैमा मैले विनियोजन गरेको छु । मैले कनिका छरेजस्तो बजेट विनियोजन गरेको छैन । मैले पाँच/१० लाखका योजनाहरु राखेको छैन । मैले प्राथमिकता निर्धारण गरेर नै विभिन्न शीर्षकहरुमा बजेट विनियोजन गरेको छु । मुख्यतः मैले आवश्यकता र औचित्यलाई मध्यनजर प्राथमिकता निर्धारण गरेको हुँ ।
० विगतमा तपाइँले यो प्रदेश सरकारको धेरै नै आलोचना गर्नुभएको थियो, कमी कमजोरीहरु निकाल्नुभएको थियो । तर अहिले तपाइँ आफै पनि एउटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहँदा कतिको सुधार हुन्छ त ?
— म प्रतिपक्षको हिसावले कमीकमजोरीहरु हेर्दा बिल्कुल सही थियो र त्यो कुरा म अहिले अनुभूति गर्दैछु । सबै मन्त्रालयको कुरा त म गर्न सक्दिँन तर आफ्नो मन्त्रालयमा विगतमा भएका कमीकमजोरीहरु सुधार गर्न सक्छु भन्ने मलाई लाग्छ ।
० तपाइँभन्दा पहिलाका मन्त्री जितेन्द्र सोनललाई जुन कारणले हटाइयो कि कार्य सम्पादन सन्तोषजनक भएन भन्ने कुरा सही हो ?
— यसभन्दा अघिका मन्त्री जितेन्द्र सोनलले सन्तोषक कार्य सम्पादन गर्न सक्नुभएन भन्ने कुरा होइन । कमी कमजोरी हुन सक्छ, हरेक मन्त्रालयमा हुन्छन् । तर उहाँलाई राजनीतिक कारणले निकालिएको हो । जसपाभित्रको विवादका कारण केन्द्रमा पनि एकअर्कालाई कारबाही गर्ने जुन प्रक्रिया चलिरहेको छ त्यसको सिधा प्रभाव प्रदेश २ मा परेको छ । त्यो राजनीतिक कारण मात्र हो ।
तपाईको प्रतिक्रिया