सरकार नै सीके राउतको मतियार हो : डा.सुरेन्द्र भण्डारी ( अन्तर्वार्ता)

वरिष्ठ अधिवक्ता

अन्तर्वार्ता

12/7/2018

० स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको पक्षमा तपाइँले बहस गरिरहनु भएको छ । राउतले उठाउँदै आएको मागलाई कसरी लिनुभएको छ ?

— डा.सीके राउतमाथि राज्य विप्लवको मुद्दा लागेको छ । त्यसमा मैले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतमा बहस गरेको हुँ । म डा.सीके राउतको पक्षमा उभिनुको केही कारणहरू छन् । सीके राउतले उठाएका मुद्दा मधेशमा रहेको विभेदसँग जोडिएको छ । मधेशमा राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विभिन्न किसिमका विभेदहरू छन् । ती विभेदलाई अन्त्य गर्नुप¥यो भन्ने बारेमा सीके राउतले जुन कुरा उठाउनुभएको छ उहाँबाहेक अरू कोहीले उठाउँदा मेरो समर्थन रहन्छ । सीके राउत आफैले आफ्नो बयानमा भन्नुभएको छ कि म यो संविधानभित्र बसेको छु, अदालतको क्षेत्राधिकारलाई स्वीकार गरेको छु र यो लोकतान्त्रिक प्रक्रियाभित्र बसेर नै आफ्ना मागहरूलाई सम्बोधन गराउँछु । भनेपछि यो संविधानभित्र बस्ने व्यक्ति विखण्डनकारी हुन सक्दैनन् । त्यसैले, उहाँमाथि जुन चार्ज लगाइयो त्यसमा म सहमत छैन । सीके राउत भन्ने मान्छे एकदम जिनियस हुन । उहाँ जस्तो मान्छे लोकतान्त्रिक राजनीतिका लागि अति नै महत्वपूर्ण हो । उहाँलाई राज्यले लोकतान्त्रिक राजनीतिको मुख्य धारमा ल्याएर राष्ट्रिय नेताको रूपमा स्थापित गर्नुपर्छ । राज्यले उहाँलाई गिरफ्तार गर्ने, सताउने र दुःख दिने काम ग¥यो भने उहाँ विखण्डनकारी नै हो भन्ने कुरामा प्रोत्साहन गर्छ । त्यसैले राज्यको कार्यको विरोधमा म उभिएको हुँ ।

० तर, डा.सीके राउतले त खुला रूपमै मधेशलाई अलग देश बनाउने अभियान चलाउनुभएको छ नि ?

— डा. राउतको यो अभियानको विरूद्धमा यसभन्दा अगाडि नै राष्ट्रद्रोहको मुद्दा लागेको थियो र स्वयम् सर्वोच्च अदालतले नै फैसला गरिसकेको छ । कुनै पनि व्यक्तिले कुनै पनि कुरा उठाउन सक्छ भनेर सर्वोच्च अदालतले भनेको थियो । जबसम्म त्यो व्यक्तिले हतियार बोक्दैन, कुनै ध्वंसात्मक कार्य गर्दैन, तबसम्म विचारलाई व्यक्त गर्न दिइनुपर्छ भनेर सर्वोच्चले भनेको छ । त्यसैले डा.राउतले भनेका कुराहरू यदि गलत हो भने उनलाई थुनेर समस्याको समाधान हुन सक्दैन । डा.राउतको कुरा यस कारणले गलत हो, राज्य टुक्र्याएर समस्या समाधान हुँदैन भनेर कन्भिन्स गर्नुपर्छ । सीके राउत भनेको कुनै एउटा व्यक्ति मात्रै होइन, उहाँका पछाडि थुप्रै मान्छेहरूको समर्थन छ, विचार छ । ती मान्छेहरू त्यतिकै समर्थन गरेका होइनन् । राज्यले दमन गरेर, थुनेर समस्याको समाधान हुँदैन । यो समस्याको समाधान भनेको शान्तिपूर्वक छलफल गरेर, विचारहरू आदानप्रदान गरेर गलत विचार छ भने प्रमाणित गरेर मात्र समस्याको समाधान हुन्छ । डा.राउतले विखण्डनको मुद्दा उठाएर मुलुकलाई विखण्डन गर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ ।

० डा.राउतले स्वतन्त्र मधेश अभियानलाई छोड्नुहुन्छ ? 

— स्वतन्त्र मधेश अभियानले मधेशमा भएका विभेदका समस्याहरूलाई उठाउनुपर्छ । त्यसको समाधानका लागि लड्नुपर्छ । राज्य टुक्र्याउने तर्फ लाग्नुहुँदैन । मधेशी पनि नेपाली नागरिक हुन् । हो,मधेशहरूमाथि विभेद भएको हो र त्यसबाट उनीहरूलाई पीडा भएको छ । त्यसैले यस्ता अभियान आएको हो । त्यसैले, चाहे मधेशी होस्, पहाडी होस् वा हिमाली होस् सबै यो मुलुकको समान नागरिक हौं भन्ने अनुभूति गराउनुपर्छ । यदि हामी लोकतान्त्रिक तरिकाले जान चाहयौं भने यो समस्याको समाधान हुनसक्छ । तर, सीके राउतलाई थुनेर, समातेर, उनका समर्थकहरूलाई त्रास देखाएर यो समस्या समाधान हुँदैन । किनभने विखण्डनका थुप्रै उदाहरणहरू हामीले देखेका छौं । दमन गरेर कहिल्यै पनि समस्या समाधान भएको छैन । त्यसैले, अन्ततः डा.राउत सहमत हुनुहुन्छ भन्ने मलाई विश्वास छ । उहाँले आफै भन्नुभएको छ कि म वार्ता गर्न तयार छु । उहाँ यो राष्ट्रलाई बर्बादै गर्नुपर्छ भन्ने विचार राखेको व्यक्ति हो जस्तो मलाई लाग्दैन । उहाँ एउटा जिनियस र वैज्ञानिक हो । उहाँजस्तो व्यक्तिलाई राज्यले कन्भिन्स गर्नुपर्छ ।

० अहिले जसरी राज्यले पटक–पटक समात्ने, एउटै मुद्दा लगाउने, बिना कुनै प्रमाण महिनौंसम्म थुनिराख्ने जस्ता कार्यले कहीँ राज्यले नै समाधान नचाहेको कि ?

— राज्यको यस्तो व्यवहारले त झन् समस्या बल्झाउने काम गर्छ । दुनियाँको छुटिन पाउने अभियानलाई हेर्ने हो भने दमन गरेर कहिल्यै पनि समाधान भएको छैन । दमनले झनै चर्को र उग्ररूप लिएको छ । दमन गरिरह्यो भने त्यसको प्रतिरोध गर्ने क्षमताको विकास हुँदै जान्छ र झन्–झन् बढी मान्छे सीके राउतको समर्थन गर्छन् । त्यसले गर्दा भोली भयावह स्थिति आउन सक्छ । त्यो स्थिति नआओस् भनेर आजै सम्बोधन गर्नुपर्छ ।

० सीके राउतलाई राज्यले नै प्रोमोट गरिरहेको अहिलेसम्मको व्यवहारले देखाएको छ त ?

— सीके राउतप्रति राज्यको व्यवहार हेरेर म पनि अचम्मित छु । मैले पटक–पटक भन्दै आएको छु कि यसरी समस्याको समाधान हुँदैन । उहाँमाथि जुन मुद्दा चलाइयो त्यसमा पनि यस्ता कुराहरू उठिसकेको छ र अदालतले वाक स्वतन्त्रता भनेर भनिसकेको छ । फेरि तिनै विषयलाई उठाएर मुद्दा चलाउन मिल्दैन । एउटै मुद्दामा सफाइ पाइसकेपछि फेरि त्यही विषय उठाएर मुद्दा लगाउन पाइँदैन ।

० भनेपछि राज्य सीकेको मुद्दालाई गम्भीरतापूर्वक लिएको छैन, समाधान कसरी हुन्छ त ?

— हिजो सीके राउतलाई थोरै मान्छेले चिन्थे भने आज धेरै चिन्न थालेका छन् । पहिलोपटक उहाँ पक्राउ गर्दा ५० हजार धरौ टी माग गरिएको थियो र त्यो पैसा पनि तिर्न नभएपछि मधेशका ८७ हजार मान्छेले एक÷एक रूपैयाँ दिएका थिए । त्यतिबेला एक÷एक रूपैयाँ किन दियो भने सीके राउतप्रति उनीहरूको सहानुभूति थियो । यसरी सीके राउतविरूद्ध पटक पटक मुद्दा लगाउने हो भने यति प्रख्यात हुन्छ कि उनको प्रचार राज्यले गरिदिएको छ । यो राज्यको गलत रवैया हो । आज सीके राउतको जुन पहिचान छ, त्यो राज्यले बनाइदिएको हो । त्यसैले, राज्यले सीके राउतलाई सहयोग नै पु¥याइरहेको छ । सीके राउतको अभियान गलत छन् भनेर समाजमा छलफल गर्ने, उहाँलाई कन्भिन्स गर्ने र उहाँलाई राजनीतिक मूलधारमा ल्याउने कामले मात्रै विखण्डनको मुद्दालाई विस्थापित गर्न सकिन्छ । तर, राज्य अहिले वास्तवमा सीके राउतको मतियार बनिरहेको छ । यसले मुलुकलाई हित गर्दैन ।

० सीके र विप्लवको मुद्दामा के भिन्नता छ त ? 

— नेकपाका नेता विप्लवको विषयमा त यसभन्दा पनि बलियो खालको मुद्दा थियो । विस्फोट गराएर मान्छे मार्ने प्रयाससम्मको आरोप थियो । सीके र विप्लवमा धेरै फरक छ । विप्लवहरू संगठित छन्, हतियार उठाउन पनि तयार छन् । सीके राउतको यो आन्दोलन संगठित होइन, खाली एउटा अभियानमात्रै हो । सीके राउत गान्धिवादको सिद्धान्तमा अगाडि बढ्नुभएको छ । म राज्यलई आग्रह गर्न चाहन्छु कि एउटै मुद्दामा पटक–पटक समातेर दुःख दिने काम नहोस् ।

० तर, नेकपाका प्रकाण्डलाई समाउँदा अदालतले गैरकानूनी रूपमा समातिएको भनेर रिहा ग¥यो, जबकि उनीमाथि लगाएका मुद्दा बलियो थियो । तर, सीकेको विरूद्धमा अहिलेसम्म कुनै ठोस प्रमाण पनि फेला परेको छैन नि । यो दोहोरो नीति भएन ?
— प्रकाण्डलाई समातिएको जुन आधारहरू थिए र सीके राउतको पक्षमा बलियो थियो । तर, सीके राउतको पक्षमा निर्णय हुन सकेन । उहाँको पक्षमा निर्णय हुन सकेन भनेर अदालतलाई गाली गर्न पाइँदैन । सीके राउतको विषय एउटा पेँचिदो बनाउने काम सरकार आफैले गर्दै आएको छ र सरकारले सीके राउतलाई सहयोग गरिरहेको छ । सरकार यदि राष्ट्रवादी हो भने सीके राउतलाई एउटै मुद्दामा पटक–पटक समाउने काम नगरिकन उहाँसँग पब्लिकली डायलग गरोस् । उहाँको विचार गलत छ भनेर स्थापित गर्नुपर्छ, त्यसमा हामी सरकारलाई सहयोग गर्छौं ।  

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ