० तपाइँको निर्वाचन क्षेत्र सर्लाही–४ मा भएको घटना के हो ?
— विगतमा माओवादीको जुन उच्छृङ्खल गतिविधि थियो, त्यो अहिले पनि गएकै छैन । सत्तामा आएपछि उनीहरू झन उग्र भएका छन् । मान्छेलाई कुटि हाल्ने, खुकुरी हान्ने, गोली हान्ने गर्दै आएका छन् । यहाँ कांँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कार्यालय गइरहँदा बाटोमै रोकेर तत्कालीन माओवादी र अहिलेका नेकपाका कार्यकर्ताहरूले खुट्टा भाँचिदिए र टाउको पनि फुटाइदिएका छन् । सत्तापक्षका कार्यकर्ताले यस्तो घटना गराएको हुनाले प्रहरीले अहिलेसम्म कुनै पनि किसिमको कारबाही पनि गरेको छैन । वडाअध्यक्षमाथि आक्रमण भएको भोलीपल्ट फेरि उनकै घरमा नेकपा कार्यकर्ताले आक्रमण गर्दा गोली लागेर सात जना घाइते भएको र वडाअध्यक्षका आफ्नै काका रामविलास महतोको घटनास्थलमै निधन भएको छ । गोली चलाउने व्यक्तिको पहिचान हुँदाहुँदै पनि प्रहरीले समात्न सकेको छैन । यो घटना रातिको समयमा पनि भएको होइन, बिहान ७÷८ बजे भएको हो । यो घटनालाई नेपाली कांँग्रेसले गम्भीरतापूर्वक लिएको छ । यस विषयमा हाम्रा पार्टी सभापति शेरबहादुर देउवासँग सम्वादमा छौं । यो घटनालाई काँंग्रेसको केन्द्रीय समितिले पनि गम्भीरतापूर्वक नै लिएको हो । हामीले चारबुँदे माग पनि राखेका छौं । मृतकलाई शहीद घोषणा, तत्काल राहत उपलब्ध गराउनु पर्ने। घाइतेहरूको सरकारद्वारा निःशुल्क उपचारे र दोषीलाई कारबाही हुनुपर्ने हाम्रो माग हो । त्यति नभएसम्म हामीले पनि शव बुझ्दैनौं । यो घटनाप्रति सरकार गम्भीर भएन भने हामी क्रमबद्ध रूपले जिल्ला बन्द गराउने, प्रदेश २ बन्द गराउने र त्यसपछि सम्पूर्ण नेपाल बन्द गराउने लगायतका कार्यक्रमहरू आन्तरिक रूपमा तयारी गरेका छौं । बल सरकारको कोर्टमा छ, सरकार कसरी प्रस्तुत हुन्छ काँग्रेसले त्यहीअनुसार आफ्नो कार्यक्रम अगाडि बढाउँछ । किनकि हाम्रो पार्टीका कार्यकर्ता मारिएका छन् । जसरी निर्मला पन्त हत्या प्रकरणमा स्थानीय प्रशासनको लापरबाहीले घटना बढ्दै गयो, त्यस्तै यहाँ पनि स्थानीय प्रशासनको लापरबाहीले त्यस्तो घटना नबढोस् भनेर गृह प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।
० यस्तो घटना हुनुको कारण के थियो ?
— सर्लाहीको यो इलाका संवेदनशील हो । किनभने यहाँ जहिले पनि जबर्जस्ती पार्टी प्रवेश गराउने काम हुँदै आएको छ । तर, यसपटक यहाँका अधिकांश तहमा काँंग्रेस नै विजयी भएको छ । जहाँ कांँग्रेसको बलियो उपस्थिति छ, त्यहाँ कसरी आफ्नो दबदबा बढाउने, भयत्रास देखाउने र आफ्नो पार्टी मिलाउने कम्युनिष्ट पार्टीको रणनीति हो । यो घटना पनि त्यही कारणले नै भएको हो । यस्तै प्रवृत्ति गोडैता नगरपालिकामा पनि कम्युनिष्टहरूले गरिरहेका छन् । त्यहाँ राजपाका प्रतिनिधिहरूलाई पूर्वमाओवादीहरूले दिनका दिन पिट्ने गरेका थिए । कुनै पनि पार्टीका मान्छेलाई पिटेर आफ्नो पार्टीमा मिलाउनु यो प्रवृत्ति राम्रो होइन । दुई तिहाईको सरकार विकासको लागि हो, शान्ति र सुरक्षाको लागि हो । तर, नेकपाका नेता कार्यकर्ताहरू गाउँ–गाउँमा दुई तिहाईको दम्भमा अर्को पार्टीका नेता कार्यकर्ताहरूलाई कुट्ने, धम्क्याउने लगायतका काम गरिरहेका छन् । पिटेर, गोली चलाएर आफ्नो वर्चस्व बढाउने, पार्टीको संगठन सुदृढ गर्ने जुन सोच छ त्यो आफैमा एउटा गलत प्रवृति हो ।
० मृतक परिवारका लागि काँंग्रेसले के गर्दैछ ?
— मृतक परिवारका लागि हामी पार्टीमा छलफल गर्दैछौं ।
० नेपाली काँग्रेसको महासमिति बैठकको तयारी कस्तो हुँदैछ ?
— महासमिति बैठकका लागि राजनीतिक प्रतिवेदन तथा दस्तावेजहरू तयार हुँदैछ । अहिले मुलुक संघीय व्यवस्थामा गइसकेको अवस्थामा पार्टीको संरचना, ढाँचा पनि संघीय संरचनाअनुसार हुनुपर्छ । ती सबै कुराहरूको मस्यौदा तयार हुँदैछ । त्यो मस्यौदा प्रस्तुत गर्दा पास हुने ठाउँ महासमिति हो । महासमिति कांँग्रेसको सबभन्दा ठूलो र बलियो निकाय हो । आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने, प्रदेशहरूमा पार्टीको संगठन कसरी बनाउने लगायतका विषयमा महासमिति बैठकमा छलफल गर्ने गृहकार्य भइरहेको छ ।
० काँंग्रेसभित्र रहेका गुट–उपगुट र आन्तरिक विवाद समाधान गर्ने अचुक उपाय के देख्नुहुन्छ ?
— आगामी दिनमा कांँग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने कुरामा ढुक्क हुनुस् । काँंग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक पार्टीमा गुट–उपगुट, विभिन्न विचारहरू हुन्छन् । पार्टीमा सबैको आ–आफ्नो धारणा हुन्छ, त्यसलाई एक ठाउँमा छलफल गरेर पार्टीको जुन निर्णय हुन्छ । त्यसअनुसार सबै एकढिक्का भएर अगाडि बढ्छन् । हिजोको दिनमा पार्टीभित्र जुन प्रकारका विवाद देखिएको थियो, आगामी दिनमा त्यो सबै मिल्छ । आउने दिनमा कांँग्रेस बलियो रूपमा जनताको बीचमा जान्छ ।
० वर्तमान सरकारको क्रियाकलापलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
— वर्तमान सरकार हेर्दा शक्तिशाली देखिन्छ तर कार्यान्वयनको दृष्टिकोणले एकदम कमजोर छ । गणितीय हिसावले बलियो भएर हुँदैन, त्यसको अनुभूति जनताले पनि गर्नुप¥यो । बलियो भनेको के हो ? जनताको पक्षमा काम गर्ने हिसावले देखिनुप¥यो । भन्नका लागि बलियो सरकार हो तर, मुलुकको विकास, शान्ति, सुरक्षा लगायतका विषयमा कमजोर देखिएको छ । म राज्य व्यवस्था तथा सुशासन समितिको एउटा सदस्य हुँ । त्यहाँ अहिलेका गृहमन्त्रीले विगत छ महिनामै १० प्रतिशतभन्दा बढी हत्या, हिंसा, बलात्कार लगायतका घटना बढेको तथ्याङक प्रस्तुत गरेका छन् । के यही उपलब्धि हो दुई तिहाई बहुमत सरकारको ? अहिलेसम्म ७÷८ प्रतिशत पनि विकास बजेट खर्च हुन सकेको छैन । यही उपलब्धि हो ? दुई तिहाईको बहुमतको सरकार हुँदा पनि सरकारभित्र आन्तरिक विवाद छ, मन्त्री र प्रधानमन्त्रीको कुरा मिलिरहेको छैन । एमाले र माओवादी प्राविधिक रूपमा एकीकृत भए पनि अन्तर्घुलन हुन सकेको छैन । त्यसकारणले अहिलेको दुई तिहाईको बहुमतको सरकारभित्र र ती पार्टीभित्र पनि समस्या छन् । त्यसको सिधा असर जनताको समृद्धि, सुशासन र विकासमा परिरहेको छ ।
० प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनप्रति खासगरी नेकपा र संघीय सरकारले आपत्ति जनाउँदै आएका छन्, यस विषयमा तपाईंको धारणा के छ ?
— यो केन्द्रीय सरकारको केन्द्रित मानसिकता हो । संघीय व्यवस्थामा प्रदेशलाई आफ्नो प्रहरी, प्रशासन, कर्मचारी राख्ने अधिकार त छ नि । हाम्रै छिमेकी भारतमा विभिन्न राज्यहरूको आ–आफ्नो प्रहरी प्रशासन र कर्मचारी छ कि छैन ? सबै प्रहरी प्रशासन र गृह प्रशासन केन्द्रकै मातहत रहन्छ भने प्रदेश सरकार किन चाहियो ? प्रदेश सरकारलाई उसको आफ्नो सुरक्षा आफ्नै हातमा छैन, जनताको सुरक्षाको कुरा परै जाओस् । उसलाई विकासको पैसा खर्च गर्ने आफ्नो अधिकार छैन । प्रदेश २ मा, जहाँ पाँच हजार कर्मचारी चाहिन्छ, त्यहाँ अहिलेसम्म जम्मा साढे दुई सय मात्र कर्मचारी छन् । त्यस्तै, स्थानीय निकाय प्रदेशको मातहत हुनुपर्ने हो तर अहिलेसम्म स्थानीय तहलाई केन्द्रकै मातहतमा राखिएको छ । प्रदेश र संघको अधिकार एक अर्कामाथि हस्तक्षेप हुनु हुँदैन । प्रदेशलाई अधिकार दिनु भनेको छुट्टिनु होइन । यहाँ मानसिकता कस्तो छ भने, प्रदेशलाई अधिकार दियो भने छुट्टिन्छ कि ।
० तर, संघीय प्रहरी ऐन आएसम्म प्रदेश प्रहरी ऐन कसरी कार्यान्वयन हुन्छ ?
— संघीय प्रहरी ऐन १० वर्षमा ल्याउँछ भने तबसम्म प्रदेश त्यसै बसिरहने ? संघीय सरकारले आफूले गर्ने काम नगर्ने तर प्रदेशले आफ्नो काम कारबाही अगाडि बढाइरहँदा ‘ओभरटेक’ नगर्न भन्नु केन्द्रिकृत मानसिकता हो ।
० तर, अन्य प्रदेशहरू त चुपचाप बसेका छन् । प्रदेश २ लाई मात्र किन हतार ?
— अन्य प्रदेशहरूमा त नेकपाकै सरकारहरू छन् नि । प्रदेश सरकार मात्रै होइन, त्यही पार्टीको भ्रातृ संगठनहरू छन् । कम्युनिष्ट पार्टीकै अध्यक्षको नेतृत्वमा संघीय सरकार छ र त्यही पार्टीका कार्यकर्ताको नेतृत्वमा प्रदेश सरकारहरू छन् ।
० जसरी संविधान संशोधनको माग राजपा र फोरमले गर्दै आएका थिए र अहिले पनि भन्दैछन् । संशोधन गराउने भनेर फोरम सहमति गरेर सरकारमा गयो भने राजपा आन्दोलन गर्ने धम्की दिँदै आएको छ । संविधान संशोधन मधेशकेन्द्रित दलहरूका लागि राजनीतिक ‘प्रोपोगण्डा’ मात्र हो ?
— संविधान संशोधनको माग मधेशकेन्द्रित दलहरूका लागि एउटा राजनीतिक ‘प्रोपोगण्डा’ मात्र हो । यदि साँचै नै संशोधन उनीहरूको माग भइदिएको भए सांसद रेशम चौधरीलाई किन शपथ ग्रहण गराउन सकेनन् ? रेशम चौधरीलाई शपथ ग्रहण नगराइकन केपी ओलीको सरकारलाई अहिलेसम्म समर्थन गर्दै आइरहेका छन् । मधेशकेन्द्रित दलको नैतिक धरातल यहिँ खसेको देखिन्छ । जसरी मधेशकेन्द्रित दलहरूले संविधान संशोधन गर्नुस् हामी समर्थन गर्छु भन्ने हिसाबमा चल्दै आएको छ, यो त एउटा राजनीतिक ‘प्रोपोगण्डा’ मात्र हो । यो सरकारलाई राजपाले समर्थन गरेको छ, फोरम सरकारमै छ तर खोई त संशोधन भएको ? यो सरकार संशोधन गरेन भने एक दिन पनि संसद अवरोध गरेको छैन, जनतामा गएको छैन । आफ्नो ‘फेससेभिङ्ग’का लागि राजपा र फोरमले जनतालाई झुक्याउन संविधान संशोधनलाई राजनीतिक एजेन्डा मात्र बनाएका छन् ।
० यो सरकारले संविधान संशोधन गर्छ त ?
— मलाई लाग्दैन कि यो सरकार संविधान संशोधन गर्छ । सरकारको गतिविधिले प्रष्ट देखिएको छ कि यो सरकारले संशोधन गर्न चाहेको छैन । फोरमसँग सहमति त ग¥यो तर त्यो कागजी दस्तावेजको रूपमा मात्र हो । जनतालाई संशोधनका लागि सहमति गरेको भनेर देखाएको मात्र हो । फोरमका नेताहरू आफ्नो व्यक्तिगत स्वार्थ मात्र पूरा गरेका छन् । फोरमले सहमति ग¥यो तर जनताले के पायो ? त्यती धेरै मधेशी जनता शहीद भए, उनका परिवारले के पाए ? पहिला उपेन्द्र यादवजी संविधान पुनर्लेखन गर्नुपर्छ भन्नुहुन्थ्यो, संशोधन पनि होइन । तर, संविधानको एउटा कमा र फुलस्टप पनि परिवर्तन नभइकन यही संविधान भित्र रहेर उपप्रधानमन्त्रीको शपथ खानुभयो । त्यसैले सरकारको भनाइ र गराईमा तारतम्य छैन । जनताले पनि नियालिरहेका छन् । भनिन्छ नि, ‘ये पब्लिक है सब जान्ति है’, त्यसैले जनताले सबै कुरा बुझिरहेका छन् ।
० संविधान संशोधनप्रति काँंग्रेस विगतमा पनि सकारात्मक थियो र अहिले पनि संशोधनका लागि सहयोग गर्छौं भनिरहेको छ । तर, संसदमा कांँग्रेसका सांसदहरूले आवाज उठाएको देखिएन नि ?
— हामीले किन उठाउने ? यो त सरकार र मधेशी दलबीचको सहमति हो नि । हामी संशोधनको पक्षमा उभिन जहिले पनि तयार छौं तर, त्यो प्रस्ताव त सरकारले ल्याउनुप¥यो नि । प्रस्ताव ल्याउनका लागि त मधेशी दलले केपी ओलीलाई मत दिएका छन्, हामीलाई त मत दिएको छैन नि । त्यसकारण, संशोधनको प्रस्ताव पहिला सरकारले ल्याउनुप¥यो । त्यसपछि हामी त्यसमा सहयोग गर्न त तयार नै छौं ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया