० जनता समाजवादी पार्टी नेपाल संसद पुनस्र्थापना किन चाहन्छ ?
— हामी मात्रै होइन, देशका हरेक नागरिकले संसद पुनस्र्थापना चाहिरहेका छन् । केपी ओली र उनका केही मुर्ख समर्थकहरुले संसद विघटनको पक्षमा छन् । केपी ओलीसँगै रहनुभएका विद्वान अधिवक्ता र संविधान निर्माताहरु यो कदमको विपक्षमा छन् । लामो बलिदानीपश्चात् संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था संस्थागत हुँदै गर्दा संविधानमा हुँदै नभएका कुरो संविधान धारा ७६ र ८५ लाई अपव्याख्या गरी आफ्ना संघतिया राष्ट्रपतिज्यूलाई दुरुपयोग गरी आफू लामो समयसम्म प्रधानमन्त्री भइराखौं भन्ने जस्ता दम्भका साथ नेकपाको घर झगडाका कारण सिंगो देश र व्यवस्था बर्खिलाप गरी मुलुकलाई खाडलमा पु¥याउने दुष्प्रयास गर्नुभएको छ । तसर्थ, प्रधानमन्त्रीको यो कदमको घोर विरोध गर्दै जसपा कार्यक्रमहरु गर्दै आइरहेको छ ।
० प्रधानमन्त्रीले संसद विघटनका साथै निर्वाचनको मिति पनि तोकिसक्नुभएको छ नि ?
— निर्वाचनको मिति त कल्पना मात्र हो । अहिले कोरोनाको खोप सुरु हुन सकेको छैन, निर्वाचनको लागि कमसेकम १२० दिन चाहिन्छ, यो समय पनि अपुग जस्तो भयो । त्यस्तै, खर्बौ खर्ब रुपैयाँ यो निर्वाचनमा खर्च हुन्छ । यी र यस्ता प्राविधिक कारणहरुका निर्वाचन सम्भव छैन । यतिकै पनि राजनीतिक परिस्थिति हेर्दा जुन निर्वाचनको विपक्षमा सबै पार्टीहरु छन्, जुन निर्वाचन गराउने मनसाय नै छैन भने यस्तो परिप्रेक्ष्यमा निर्वाचन हुन्छ भन्ने परिकल्पना कसरी गर्ने ? सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्म निर्वाचनको परिकल्पना गर्नु हतार हुन्छ ।
० तर निर्वाचन आयोगले चुनावको तयारी थालिसकेको छ नि ?
— निर्वाचनका कार्यहरु सधैं गरिरहने आयोगले दायित्व बोकेको छ, उसले सधैं नै सामान्य कार्यहरु गरिरहन्छ । अहिले त कुनै काम भएको छ जस्तो लाग्दैन ।
० तर निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरुसँग छलफल पनि गरेको छ, त्यसमा तपाइँका पार्टीका प्रतिनिधिहरु पनि सहभागी हुनुभएको थियो ?
— आयोगले निर्वाचनकै लागि मात्र होइन, अन्य विषयका पनि गरेको थियो । आयोगले सामान्य सर्वदलीय छलफल गर्दैमा बैशाख १७ र २७ गते निर्वाचन हुँदैछ भनेर कल्पना गर्नु हतार हो ।
० राजनीतिक दलहरु पनि निर्वाचनमा जुटिसकेको देखिन्छ त ?
— राजनीतिक कार्यकर्ता जहिले पनि आफ्नो राजनीतिक गतिविधि गरिरहेकै हुन्छ । हाी सधैं जनताका बीचमा हुन्छौं । तसर्थ, हाम्रा गतिविधिहरुको एउटै मात्र आशय हुन्छ कि पाँच वर्षमा निर्वाचन हुन्छ, सो निर्वाचनमा जनताले हामीलाई मत दिई विजयी बनाउँछ भन्ने इच्छाका साथ हामीले यस्ता कामहरु गरिरहेका छौं । नेपाली कांग्रेसकै संस्थागत निर्णय हेर्दा प्रधानमन्त्रीको यो कदमको विरोध र बैशाखको निवार्चनलाई स्वप्नको रुपमा मात्रै देखेको छ । माधव–प्रचण्डकै खेमालाई हेर्ने हो भने निर्वाचनलाई स्वीकारै गर्न नसक्ने देखिएको छ । हाम्रो जसपाले पनि यो निर्वाचनको कल्पनै गरेका छैनौं । आवधिक निर्वाचनका लागि हामी तयार छौं । मध्यावधिक निर्वाचन भनेको लोकतन्त्रको कुरुपता हो । तसर्थ, हामीले सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं, त्यसपछिका निर्णय अर्कै थरिको हुन सक्छ ।
० प्रधानन्यायाधीशले त बहुमतको प्रधानमन्त्रीले संसद विघटन किन गर्न सक्दैन भन्ने प्रश्न गरिरहनुभएको छ नि ?
— प्रधानन्यायाधीशले यस्तो प्रश्न गर्नुभएको भन्ने कुराहरु बाहिर आएको छ । हामीलाई शंका त भइरहेकै छ । तर शंकाकै भरमा निर्वाचन भइहाल्छ भन्नेमा लाग्नु हुँदैन । बहुमतको प्रधानमन्त्री होस् वा महाबहुमतको प्रधानमन्त्री होस्, नेपालको संविधानअनुसार संसद विघटन गर्ने अधिकार कुनै धारामा छैन । यो कुरा प्रधानन्यायाधीशले पनि बुझ्नु भएको छ ।
० तपाइँहरु यो संविधानलाई स्वीकार गरिसक्नुभएको छैन तर आज त्यहीं संविधानको रक्षाका लागि संघर्ष किन ?
— हामी यो संविधानको संशोधन चाहन्छौं । हामीले यो संविधानमा सबैको भाषिक अधिकार, नागरिकको मौलिक अधिकार, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, राष्ट्रियसभा प्रतिनिधित्व लगायतका विषयमा हामी कुरा उठाउँदैछौं । नेपालका संविधानमा संशोधनका मुद्दाहरु लिएर आन्दोलनरत् छौं । पुनर्गठित प्रतिनिधिसभाबाट संविधान संशोधन उन्मुख हुन्छौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।
० अहिले जसपाको एक सूत्रीय माग संसद पुनस्र्थापना छ, संसद पुनस्र्थापना भयो भने तपाइँहरुको माग पूरा हुन्छ त ?
— संसद पुनस्र्थापनाबाटै हाम्रो सबै माग पूरा हुँदैन । यो त अल्पकालीन माग हो । संघीय लोकतान्त्रिक गण्तन्त्रको रक्षा गर्नु अहिलेको हाम्रो उद्देश्य हो । गणतन्त्र र प्रतिनिधिसभा रहे संविधान संशोधन पनि हुन्छ, आम नेपाली जनताको संविधानप्रति स्वामित्व बढ्छ भन्ने उद्देश्यका साथ हामी आन्दोलनरत् छौं । प्रतिनिधिसभा पुनस्र्थापना हुनुप¥यो, त्यसपश्चात् पहिलो काम भनेको अहिले प्रधानमन्त्री जो सनकी छन्, पागल छन् भन्दा पनि हुन्छ, यस्ता प्रधानमन्त्रीबाट देशलाई उन्मुक्ति दिलाउनुप¥यो । तिनका सखा विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर विराम दिनुप¥यो । ती सबै अल्पकालीन काम सम्पन्न गरेर पहिलो प्राथमिकताको काम भनेको संविधानलाई संशोधन गरेर आमनेपाली जनतालाई संविधानप्रति स्वामित्व बढाउनुप¥यो ।
० संसद पुनस्र्थापना भएपनि तपाइँहरुसँग संविधान संशोधन गर्ने हैसियत त हुँदैन नि ?
— परिस्थितिले बहुमतको अवस्था सिर्जना गराउँछ । बहुमतको धङ्धङ्गी गर्नेहरु पार्टी फुटाइसके, औपचारिकता मात्रै बाँकी छ ।
० तर, माधव–प्रचण्ड समूह वा कांग्रेसले नै संशोधन गर्न तपाइँलाई साथ दिन्छ कसरी मान्ने ?
— पुनस्र्थापित संसदमा जसपाको महत्व झन् बढेर जान्छ । पहिला एउटा पार्टीलाई बहुमत हुँदा अन्य पार्टीहरु भूमिकाविहीन थिए । अहिले नेकपा जसरी फुटेको छ, यो अवस्था जसपाको महत्व बढेर गएको छ । यस्तो महत्वपूर्ण पार्टीको प्रस्ताव भोलीको संसदले नमान्ला भनेर अब कसैले नसोचे हुन्छ । भोलीको दिनमा सरकार वा संसद सञ्चालनमा जसपाको महत्व रहन्छ ।
० यदि संसद पुनस्र्थापना भयो भने जसपा अन्य दलको सरकार बनाउनका लागि सहयोगी भूमिकामा वा मन्त्री बन्ने मात्रै हुन्छ, सरकारकै नेतृत्व गर्ने अवस्था पाउनुहुन्न नि ?
— सरकारमा जाने नजाने भोलीको कुरा हो । अब संसदमा हाम्रो दुरुपयोग कसैले गर्न सक्दैन । मधेशका सबै जनता एकजुट भइसके, सिंगो मधेशका एक मात्र पार्टी जसपा संसदमा झन् बलियो भएर आउँदैछ । अब कुनै सरकार निर्माण गर्न हाम्रो आवश्यकता पर्छ नै । भोलीको दिनमा पुनस्र्थापित संसदमा जसपा ठूलो पार्टी भएर आउँछ । तसर्थ जसपाबिना संसद चल्दैन, सरकार चल्दैन भन्ने किसिमको ल्याकत हामीले ल्याइसकेपछि हाम्रो ध्येय भनेको संविधान संशोधनसम्बन्धी विधेयक पारित गराउनु हुनेछ ।
० ठूलो पार्टीको रुपमा आउनका लागि चुनावमा जानुप¥यो नि ?
— चुनाव अहिले भइरहेको छैन । धारा ८५ को (१)ले यो प्रतिनिधिसभाको अवधि पाँच वर्षका लागि हुनेछ भनेर किटान गरेको छ । तसर्थ, आवधिक निर्वाचनको पक्षमा हामी छौं ।
० सर्वोच्चबाट यदि निर्वाचनमै जाने निर्णय भयो भने ?
— हामी यस्ता कल्पना गर्दैनौं । सम्मानित सर्वोच्च अदालतले संविधानविपरीत निर्णय गर्ला भनेर कल्पना गरेका छैनौं ।
० तपाइँका पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चले जे निर्णय गर्छ त्यो मान्छौं भन्नुभएको छ, भनेपछि यो निर्वाचनमा जाने संकेत पनि हो नि ?
— सम्मानित अदालतलाई हामी मान्दैनौं भनेका छैनौं । अदालतप्रति हाम्रो आस्था र विश्वास छ । अदालतको निर्णयलाई हामीले पहिला पनि मानेकै छौं । सबैको आस्थाको केन्द्र भनेको नै अदालत हो । यही कुरो हाम्रा अध्यक्ष महन्थ ठाकुरजीले भन्नुभएको हो ।
० अब जसपाको आन्तरिक कुरो गरौं, जसपाले यत्रो आन्दोलन गरिरहँदा पूर्वराजपाका अध्यक्षमण्डलका नेता राजकिशोर यादव कहीं पनि देखिनु भएको छ, उहाँ किन असन्तुष्ट हुनुहुन्छ ?
— जसपाका सबै नेता कार्यकर्ता पार्टीद्वारा घोषणा भएको आन्दोलनमा परिचालित छन् । ७७ वटै जिल्लामा माघ ७ गते जनप्रदर्शन भएको छ । ओलीको कदमको दोस्रो चरणको विरोधका कार्यक्रम सम्पन्न गरेका छौं । अब तेस्रो चरणको कार्यक्रम घोषणा हुन्छ । त्यसैले सबै नेता कार्यकर्ता परिचालित भएका छन् । जहाँसम्म सिरहामा कार्यक्रम हुँदा राजकिशोर यादवजी कार्य व्यस्तताका कारण आउन नसकेको जानकारी दिनुभएको हो । बाहिर आएका कुराहरु फगत हुन् । कोही साथीहरु फोन रेकर्ड गर्ने, दुष्प्रचार फैलाउने अनुशासनहीन काम हो । हामी सबै एक छौं ।
० जसपाको कुनै पनि कार्यक्रम राजकिशोर यादवको उपस्थिति हुँदैन, किन ?
— सिरहामा कार्यक्रम हुँदा उहाँलाई प्रमुख वक्ताको रुपमा दिइएको थियो तर कार्य व्यस्तताका कारण जान सक्नुभएन । आगामी कार्यक्रमहरु उहाँ पनि देखिनुहुन्छ । उहाँ पार्टीका जिम्मेवार नेता हुनुहुन्छ ।
० तर पार्टीले उहाँलाई अवहेलना ग¥यो भन्ने आरोप उहाँनिकट कार्यकर्ताहरुको छ नि ?
— उहाँ आफै नेता हो । उहाँले नेता कार्यकर्ताको मूल्यांकन गर्ने ठाउँमा हुनुहुन्छ । उहाँनिकटका कार्यकर्ताहरुको आरोपलाई आधार नमानौं । उहाँले कार्यक्रममा जान्न, बहिष्कार गरे भनेर कहीं भन्नुभएको छैन ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया