० नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग जोडतोडका साथ उठिरहेको छ । यसका लागि हिन्दू परिषद् नेपाल के गर्दैछ ?
— अहिले पनि नेपाल हिन्दू राष्ट्र नै हो । विश्वमा नेपालको पहिचान पनि हिन्दू राष्ट्रकै रुपमा थियो । नेपाल हिन्दू राष्ट्र भएको बेलामा पनि सबै नेपाली मिलेरै बसेका थिए । प्रायोजितरुपमा विदेशीको इशारामा केही नेताहरुलाई किनमेल गरेर हामी नेपालमाथि जबरजस्ती धर्मनिरपेक्षता थोपिएको हो । जबदेखि धर्मनिरपेक्ष लादियो तबदेखि मात्र हिन्दू समाजलाई तोड्ने, फोड्ने, दमन गर्ने र गुण्डागर्दी गर्ने काम भइरहेको छ । यो धर्मनिरपेक्षको नाममा हामी नेपालीबीच कसरी फुट ल्याउने षड्यन्त्र हुँदैछ । हिजोसम्म एकअर्काको पर्व हुँदा सबै मिलेर हर्षोल्लासका साथ मनाइन्थ्यो । तर धर्म निरपेक्षको नाममा विदेशी एनजीओहरु केही राजनीतिक दलमार्फत् चलखेल गरियो । धर्मनिरपेक्षको नाममा धर्मान्तर धेरै हुन थाल्यो । विदेशी हस्तक्षेप बढ्यो । त्यसैले अहिले जनता र नेताहरुमा पनि अनुभूति हुन थालेको छ कि हिन्दू राष्ट्रबिना नेपाललाई बचाउन सकिँदैन । सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु हो हिन्दू राष्ट्र नेपाल । हिन्दू राष्ट्रको मतलब अर्को धर्मलाई धपाउनु होइन । नेताहरुमा सद्बुद्धि पलाएको छ । केही दिनमा नै नेपाल हिन्दू राष्ट्र घोषणा हुन्छ ।
० नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्ने दलहरुले किन हिन्दू राष्ट्रलाई हटाएका होलान् ?
— नेपाल धर्मनिरपेक्ष हुनुपर्छ भनेर कसैले पनि आन्दोलन गरेका थिएनन । ठूला दलका केही मुठ्ठिभर नेताहरु काठमाडौंमा बसेर धर्मनिरपेक्ष ल्याए । नेपाललाई धर्मनिरपेक्ष गर्ने सबै नेताहरु हिन्दूकै छोराछोरी थिए । उनीहरु पैसाका लागि आफ्नो धर्म बेचे, धर्म परिवर्तन गरे । इस्लामिक र इसाई राष्ट्रहरु जसरी पनि नेपाललाई धर्मनिरपेक्ष गर्नुपर्छ भनेर लागेका थिए । विश्वभरिको हिन्दूहरुको आस्थाको केन्द्र भनेको नेपाल हो । हिन्दूहरुको आस्थाको केन्द्र मेटाउन खोजियो । हिजो केही नेताहरु पैसा खाएर जबरजस्ती धर्मनिरपेक्ष लेखे । तर अहिले आफ्नै कार्यकर्ताहरु विद्रोह गर्छ भन्ने नेताहरुमा डर पलाएको छ । अहिले नेताहरुमा सद्बुद्धि आएको छ । नेताहरु सुध्रिने पाटोमा हिन्दू राष्ट्रको पक्षमा माहोल बनाइरहेका छन् ।
० नेपाली जनताको एजेन्डा धर्मनिरपेक्ष थिएन त ?
— नेपाली जनताको माग धर्मनिरपेक्ष हुँदै होइन । विदेशीलाई खुस पार्नका लागि जबरजस्ती नेपालीमाथि धर्मनिरपेक्ष लादिएको हो । ९४ प्रतिशत ओमकार परिवार भएको देशमा जनमत संग्रह गराउनुपर्ने हो नि । १०–१५ जना नेताहरु एउटा कोठामा बसेर विदेशीलाई खुशी पार्न जबरजस्ती नेपालीमाथि लादिएको हो । उनीहरुले पैसाका लागि धर्म बेचे । जसले पैसाका लागि धर्म बेच्न सक्छ, उसले मुलुक पनि बेच्न सक्छन् नि । त्यसैले आज हिन्दू राष्ट्र घोषणाका लागि जनताको दबाब सिर्जना भइरहेको छ । नेपाललाई जोगाउन हिन्दू राष्ट्र बनाउने बाहेक अर्को विकल्प छैन ।
० चुनाव पनि आउँदैछ, नेताहरुले चुनावी एजेण्डाको रुपमा हिन्दू राष्ट्रको मुद्दा उठाएका त होइनन् ?
— होइन, नेताहरुमा सद्बुद्धि नै पलाएको हो । हिन्दू राष्ट्रलाई चुनावी एजेण्डा बनायो भने त्यसले फेरि पनि नेपाली जनतालाई ठग्ने काम गर्छ । किनभने हिजोको दिनमा राप्रपाले पनि चुनावी एजेण्डा बनायो र ठग्ने काम पनि ग¥यो । त्यसैले कुनै पनि दलले यसलाई चुनावी एजेण्डा बनाउँछ भने फेरि हामी नेपालीहरुसँग धोका हुन्छ । चुनाव अगावै नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्दछ । किनभने ९५ प्रतिशत सनातन भएको देश हो र कुनै पनि गैरहिन्दू धर्मावलम्बीले कहिल्यै पनि आन्दोलन गरेन । यो जबरजस्ती ल्याइएको हो । विदेशबाट आयातितहरुले मात्रै खुरपाती गरिरहेका छन् । त्यसैले चुनावी एजेण्डामा नेपाली जनता फस्नेवाला छैन । नेताहरुको चुनावी एजेण्डा विकास, सुशासन, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई बनाइनुपर्छ । हिन्दू राष्ट्रलाई चुनावी एजेण्डा बनाइयो भने जनताको त्यो भ्रममा पर्नेवाला छैन । तसर्थ, चुनावभन्दा पहिला नै नेपाललाई हिन्दू राष्ट्र गर्नुपर्छ ।
० नेपाल कहिलेसम्म हिन्दू राष्ट्र घोषणा भइसक्छ त ?
— हाम्रो देशमा अहिले हिन्द्र राष्ट्र घोषणाका लागि धेरै राम्रो माहोल बनेको छ । म सम्पूर्ण नेपालीहरुमा आग्रह गर्न चाहन्छु कि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जो जुन पार्टी वा संगठन भएपनि कमसेकम एक पटक जनदबाब सिर्जना गर्नुपर्छ । जनदबाबबाट १०–१५ जना नेताहरु ट्रयाकमा आए भने जुनसुकै बेला नेपाल हिन्दू राष्ट्र हुने सम्भव छ । किनभने कुनै पनि राजनीतिक दलका तल्लो तहका नेताहरु हिन्दू राष्ट्रको विरोधमा छैनन् । माहोल बनिसकेको छ, नेताहरुले चाहेर होस् वा नचाहेर होस् नेपाल अब हिन्दू राष्ट्र हुन्छ । अबको केही महिनाभित्रै नेपाल हिन्दू राष्ट्र घोषणा हुन्छ ।
० नेपाल हिन्दू राष्ट्र हुनुपर्नेमा छिमेकी राष्ट्रहरुको कस्तो दृष्टिकोण देखिरहनुभएको छ ?
— विश्वभरिका हिन्दूहरुको आस्थाको केन्द्र भनेको नेपाल हो । गौतम बुद्ध जन्मेको भूमि, अराध्यदेव पशुपतिनाथ भएको ठाउँ, माँ जानकी जन्मेको देश, शालिग्राम पाउने ठाउँ र विश्वमा सबभन्दा बढी बली प्रदान गरिने ठाउँ भनेको महागढीमाई मन्दिर लगायत थुप्रै हामीसँग विश्वप्रख्यात आस्थाका केन्द्रहरु छन् । नेपाल भनेको देवभूमि, तपोभूमि लगायत हामीजस्तो सुन्दर, शान्त मुलुक अन्य छैन । त्यसैले अहिले राम्रो माहोल पनि छ, यसमा सबैले आआफ्नो ठाउँबाट अभिभावकीय भूमिका हुनुपर्दछ । खासगरी हाम्रा दुवै छिमेकी भारत र चीनको पनि चाहना छ कि नेपाल हिन्दूराष्ट्र होस् । त्यसैले हामीसँग छिमेकीको पनि सद्भाव छ ।
० तपाइँहरुको माग हिन्दू राष्ट्र मात्र हो कि राजसंस्था पनि ?
— लाखौं नेपालीहरुको परिवारको रुपमा हिन्दू परिषद् नेपाल हो । हिन्दूत्व र राजा भनेको फरक–फरक विषय हो । यसलाई सँगै जोडेर हेर्न मिल्दैन । हिन्दू राष्ट्रको माग गर्नु भनेको राज संस्था पनि हुनुपर्छ भन्ने होइन । हिन्दू राष्ट्र नेपाल भइसकेपछि नेपाली जनतालाई राजाको आवश्यकता महसुस गरे भने त्यो निर्णय जनताले नै गर्ने हो । हामीले राजसंस्था वा राजा नै हुनुपर्छ भन्ने सरोकारको विषय होइन । हाम्रो एउटा मात्र चाहना र माग भनेको नेपाल हिन्दू राष्ट्र हुनुपर्छ ।
० नेपालमा राजसंस्था हुँदासम्म नेपाल हिन्द्र राष्ट्र थियो, तर राजसंस्था हट्ने बित्तिकै धर्मनिरपेक्ष भयो । भनेपछि हिन्दू राष्ट्रका लागि राजसंस्था नै चाहिन्छ भन्ने पनि कतिपयको तर्क छ नि ?
— हिजोसम्म नेपाल हिन्दू राष्ट्र थियो र राजालाई एउटा अभिभावकको रुपमा पूरा विश्वले मानेकै हो । तर त्यो दुई फरक विषय थियो । कहीं न कहीं नेपाल धर्म निरपेक्ष हुनुको एउटा कारण राजसंस्था पनि हो । राजाले त्यो बेला दीर्घकालीन रुपमा हेरिदिएको भए, आज त्यो अवस्था आउने थिएन । राजाकै पालामा हिन्दुमाथि शोषण भएको धेरै घटनाहरु छन् । क्रिष्चियानिटीदेखि लिएर इसाईकरणले त्यो बेलादेखि नै काम गरिरहेको छ । राजाको पालामा मुस्लिमहरुलाई मक्कामदिना जानका लागि लाखौं सहयोग गरिन्थ्यो । तर हिन्दू राष्ट्र भएको बेलामा चारधाम जानका लागि कुनै सुविधा पनि थिएन । त्यसैले राजसंस्था र हिन्दूराष्ट्रलाई सँगै जोड्न मिल्दैन । अहिले धेरै नेपालीहरु हिन्दू राष्ट्रप्रति प्रतिबद्ध छन् । केही नेपालीहरुको राजासहितको हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पनि धारणा छ । त्यसैले हिन्दू परिषद् नेपाल स्पष्ट छ कि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ । नेपाली जनताले जसरी राजालाई फाले त्यसरी नै नेताहरुलाई फालेर राजा ल्याउन सक्छ । त्यो कुरा नेपाली जनतामा निहित छ ।
० भनेपछि राजसंस्था तपाइँहरुको माग होइन ?
— राजसंस्था हाम्रो सरोकारको विषय होइन । राजा त अन्य मुलुकहरुमा पनि छ नि । तर त्यहाँ हिन्दू राष्ट्र त छैन । व्यवस्था जेसुकै होस्, नेपाल सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने हाम्रो स्पष्ट एजेण्डा छ ।
तपाईको प्रतिक्रिया