० छठपछि राजपा नेपाल आन्दोलनमा जाने भनेको थियो, तयारी कस्तो छ ?
— राजपा नेपालले यो सरकारलाई मुख्यतः संविधान संशोधन गर्छ भनेर समर्थन दिएको हो । शोषित, पीडित आदिवासी जनजाति लगायत मधेशका मुद्दाहरू जुन संविधानमा छुटेको छ त्यो सबैलाई समेट्ने गरी संविधान संशोधन हुन्छ भनेर नै यो सरकारभन्दा बाहिर बसेर नै सरकारको समर्थन गर्दै आएका छौं । केपी ओली नेतृत्वको सरकारले पनि हामीलाई संविधान संशोधन गर्छौं भन्ने विश्वास दिलाएको थियो । समय—समयमा राजपा नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब पनि दिँदै आएको छ तर सरकारले खासै वास्ता गरिरहेको छैन । त्यसैले अब आन्दोलनमा जानुको विकल्प छैन । हाम्रो मुद्दालाई संविधानमा सुनिश्चितता दिलाउनका लागि भएपनि हामी बाध्य भएर आन्दोलनमा जानैपर्छ । अब हामीले पार्टी भित्र बैठक बसेर कसरी अगाडि बढ्ने भनेर चरणबद्ध आन्दोलनको घोषणा गर्छौं ।
० सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्नेमा तपाईहरू निष्कर्षमा पुगिसक्नुभएको छ ?
— यो सरकारको व्यवहार हेर्दा हाम्रो सम्बोधन हुने अवस्था देखिँदैन । त्यसैले अब हामीसँग आन्दोलनबाहेक अर्को विकल्प पनि छैन ।
० प्रदेश २ को सरकारबाट पनि बाहिरिनुहुन्छ कि ?
— प्रदेश २ मा जनताको म्यान्डेटअनुसार हाम्रो सरकार बनेको हो । प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालको जुन सरकार बनेको छ त्यो त प्रदेशअन्तर्गत भयो । प्रदेश सरकारले देशको संविधान निर्माण गरेको होइन, यो सरकार मधेशी जनताको अधिकार स्थापना गर्नकै लागि निर्माण भएको हो । संविधानसभाबाट बनेको संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो मागमा प्रदेश सरकारलाई जोड्न मिल्दैन जस्तो लाग्छ । यी दुई फरक विषय हुन् ।
० एकातिर यही सरकार भित्र रहेर सुखसुविधा पनि लिने, तलबभत्ता पनि खाने अर्कोतिर सरकारकै विरूद्ध आन्दोलन पनि गर्ने ?
— यो त विश्वकै इतिहास छ । हामीले सरकारलाई समर्थन गर्दाखेरी सरकारले जुन वाचा गरेको थियो त्यो त पुरा गर्नुप¥यो नि । आफू सुखसुविधामा बसेर जनताको अधिकारको मागलाई बेवास्ता गर्न सकिन्छ र ? हामीले आफ्नो माग पुरा गराउन सरकारलाई दबाब दिनु हाम्रो अधिकारको कुरा हो ।
० भनेपछि राजपा प्रदेश २ को सरकारबाट बाहिरिँदैन ?
— हामी संघीय सरकारमा सहभागी छैनौं । संघ, प्रदेश र स्थानीय फरक फरक सरकार हुन् । त्यसैले संघीय सरकारको विरूद्धमा आन्दोलनमा जाँदा प्रदेश सरकारबाट बाहिरिनुपर्छ भन्ने बाध्यात्मक अवस्था हुँदैन । हामीले संविधान संशोधनको माग सम्बोधन गराउनका लागि आन्दोलनमा जान लागेका हौं ।
० त्यसोभए संघीय सरकारलाई दिएको समर्थन के गर्ने ?
— जुन माग पुरा गराउनका लागि हामीले संघीय सरकारलाई समर्थन दिएका थियौं त्यो माग पुरा गर्न यो सरकारले सक्दैन भने हामी बाध्य भएर आन्दोलनमा जानैपर्छ र हामीले समर्थन फिर्ता लिन्छौं ।
० समर्थन फिर्ता लिने भन्ने विषयमा पनि राजपाभित्र विवाद छ नि ?
— ६ वटा पार्टी मिलेर राजपा पार्टी निर्माण भएको छ । पार्टीभित्र सबै किसिमका नेता कार्यकर्ताहरू छन् हरेक विषयमा छलफल, वादविवाद हुन्छ, यो ठूलो कुरा होईन । राजपा पार्टीलाई बदनाम गराउन गलत प्रचार भएको हुनसक्छ । तर पार्टी भित्र कुनै विवाद छैन एकबद्धता छ । जुन भावना लिएर यो पार्टी अगाडि बढेको छ त्यसमा एक कदम पनि पछाडि हट्नेवाला छैन । त्यसमा अलिकति पनि मतभेद छैन ।
० संविधान संशोधन गराउनका लागि आन्दोलनमा जाने भन्दै आउनुभएको छ, तर तपाईहरूको उद्देश्य अन्य छ कि ?
— मधेशमा यो भन्दा पहिले ६ महिनासम्म तेस्रो मधेश आन्दोलन भयो जुन विश्वमा नै चर्चित छ । नेपाल राष्ट्रभित्र पनि उपनिवेश छ जुन उपनिवेशन भित्र आम मधेशी बाँचिरहेका छन् । स्वतन्त्रताको अधिकार आदिवासी, जनजाति र मधेशीलाई दिइएको छैन । यस्ता विभिन्न अधिकारहरू संविधानमा छुटेको छ त्यसलाई थपघट गर्र्नुपर्छ भन्ने हाम्रो माग हो । राजपा नेपालको प्रत्यक्षबाट निर्वाचित सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ लिन पाउनुभएको छैन । हाम्रो पार्टीका घाइते र अपांग साथीहरूले उपचार पाइराख्नुभएको छैन । यस्ता विभिन्न मागहरू पुरा गराउँछौं भन्ने सरकारको प्रतिबद्धता अनुरूप हामीले सरकारलाई समर्थन दिएका थियौं तर सरकारले यो विषयमा खासै ध्यान दिएको पाइदैन । त्यसैले हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं ।
० यस्ता मागहरू सम्बोधन गराउन आन्दोलनमै जानुपर्ने बाध्यता छ ?
— यो देशमा आन्तरिक उपनिवेश भित्र हामी बाँचिरहेका छौं । हामीले हरेक साना ठूला उपलब्धि प्राप्त गर्न आन्दोलन नै गर्नुपर्छ । यो बहिरो सरकारले हामीलाई जसरी दुःख दिइरहेको छ हाम्रो कुरा सुनिरहेको छैन । अन्य कुनैपनि देशमा यस्तो भएको छैन । हाम्रो देशको मधेशीहरूसँग जसरी अन्याय भइराखेको छ यिनीहरूलाई हर अधिकारबाट बञ्चित गरिएको छ । राज्यको हरेक निकायमा जानबाट बञ्चित गरेर राखिएको छ यो त बिडम्वना हो राज्यले आफ्नो नागरिकप्रति पुरा गर्नुपर्ने दायित्व पुरा गर्न नसकेर भागिरहेको हामीले महसुस गरेका छौं । दुई तिहाईको बहुमतमा यो सरकार निरकुंशताको बाटोमा अगाडि बढिरहेको छ । तर संसारको इतिहासलाई हेर्दा नि थाहा हुन्छ कि एकपटक दुई तिहाईको सरकार संचालन गर्दैमा देशमा सधैं उसकै सरकार मात्र रहन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । मधेशी जनता आन्दोलनमा जान तयारी अवस्थामा छन् ।
० विगतमा भएको ६ महिनासम्मको आन्दोलन नाकाबन्दीसम्म पुगेर पनि बिना निष्कर्ष टुंगियो, अब गरिने आन्दोलनले पनि तपाईहरूको माग पुरा हुन्छ भन्नेमा कसरी विश्वास गर्ने ?
— राणाकाल, पंचायतकाल र राजा सहितको प्रजातन्त्रकालमा जुन खसवादीहरूले शासन गरिरहे आजसम्म पनि उनीहरूकोे सोच परिवर्तन हुन सकेको छैन । विगतका आन्दोलनहरूबाट विश्वमा मधेशीको एउटा पहिचान बनेको छ । नेपाल देशभित्र पनि पनि आधा जनसंख्या अधिकारबाट बञ्चित छ भनेर संसारले बुझेको छ जुन मधेश आन्दोलनको देन हो । त्यसैले विगतका मधेश आन्दोलनहरू बिना निष्कर्ष टुगिंयो भन्नु गलत धारणा हो ।
० राजपाको आन्दोलनका सहयात्री दल फोरम नेपाल अहिले संघीय सरकारमा छ, यस्तो अवस्थामा राजपा अलि कमजोर भएको छैन आन्दोलनमा जान ?
— एजेण्डा हाम्रो समान छ । संघीय समाजवादी फोरमलाई पनि हामीले आग्रह गरिरहेका छौं । राजपा नेपालले फोरम नेपालसँग पार्टी एकीकरणको विषयमा पनि कुरा गरिरहेको छ । एजेण्डा, माग र मुद्दा समान हुने पार्टीहरू एक ठाउँमा हुँदा सरकारलाई दबाब दिन पनि सजिलो हुन्थ्यो । उपेन्द्र यादवजी पनि आफ्नो मुद्दामा सधैं अडिग भएर लागिरहने नेता हुनुहुन्छ । त्यसैले उहाँ सरकारबाट फिर्ता भएर मधेशी जनताको मुद्दा सम्बोधन गराउनका लागि सडकमा आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।
० तपाईहरूले आन्दोलनको घोषणा गर्दा फोरम सरकारबाट बाहिरिएर तपाईहरूको साथ देला ?
— हामीले आग्रह गरिरहेका छौं । राजपा नेपालले विश्वास गरेको छ कि फोरम नेपाल पनि विगतका आन्दोलनमा जस्तै हामीसँग सहयात्रा गरेर मधेशको मुद्दा सम्बोधनका निमित्त अगाडि बढ्नेछ । आन्दोलनमा जाने हाम्रो रहर हैन बाध्यता हो । हामीले सरकारलाई समय—समयमा माग सम्बोधनको लागि आह्वान गरिरहेका छौं सुनुवाई नभएसी आन्दोलन अन्तिम विकल्प हो ।
० सडक आन्दोलनबाट पनि सरकारले माग सम्बोधन गरेन भने त्यसपछिको रणनीति के हुनेछ ?
— सुन्छ र सुनैपर्छ । कुनैपनि देशमा सरकार सार्वभौमसत्ता हुन्छ । जनताको माग नसुनेर सरकार टिक्न सक्दैन । यो राणाकाल होइन संघीय गणतन्त्रात्मक देशमा जनताको आवाज सुनिदैन भने त्यो सरकार निरकुंश हुन्छ र आउने निर्वाचनमा जनताले मतबाट त्यसको जवाफ दिनेछन् ।
० प्रदेश २ को सरकारको कामलाई कसरी हेर्दै हुनुहुन्छ ? सन्तोषजनक छ सरकारको काम गराई ?
— प्रदेश २ को मात्र विषय होइन यो । कर्मचारीको अभावका कारण कुनैपनि प्रदेशले राम्रोसँग काम गर्न सकेको छैन । नयाँ—नयाँ अभ्यास भइरहेको छ विस्तारै काम अगाडि बढिरहेको छ । कर्मचारी व्यवस्थापन भएपछि काम अगाडि बढ्छ । प्रदेशहरूको आफ्नो अधिकार जति छ त्यसकै आधारमा काम गर्दा पनि संघीय सरकारले जसरी जनतामा भ्रम फैलाइरहेको छ यो दुर्भाग्यको कुरा हो । प्रदेशको विकासको लागि प्रदेशले आफ्नो ‘भिजन’ अनुसार काम गर्न पाउँदैन भने यो त संघीयता अनुरूपको राज्य व्यवस्था भएन नि । अहिले पनि ठूला दलहरूलाई संघीयता मन नपरेर कतै संघीयतामाथि नै प्रहार गर्न खोजेका हुन् कि जस्तो लागेको छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया