० तपाइँले राष्ट्रिय जनता पार्टी नेपाल नामक राजनीतिक दल गठन गराउनुको उद्देश्य के छ ?
— हाम्रा अग्रज नेताहरुका कारण मधेशमा अहिले राजनीतिक रुपमा नैराश्यता छाएको छ । हाम्रा नेताहरुले विगतदेखि गर्दै आएको गल्तीका कारण जनता खिन्नता देखिएको छ । उनीहरु एक ठाउँमा बस्न पनि नसक्ने भएकाले अब युवाले राजनीतिको बागडोर सम्हाल्नुपर्छ भनेर ‘राष्ट्रिय जनता पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता गराएका छौं । हामीले म अध्यक्षसहित २१ जनाको केन्द्रीय समिति गठन गरी दल दर्ता गराएका छौं । जसमा एक जना अध्यक्ष र २० जना केन्द्रीय सदस्य छन् । अहिले हामीले केन्द्रीय पदाधिकारीहरु नियुक्त गरेका छैनौं । हाम्रो केन्द्रीय कार्यालय काठमाडौंमै छ । अब हामी प्रदेशदेखि पालिकास्तरसम्म समिति विस्तार गर्नेछौं ।
० अहिले राजपा नेपालका लागि महन्थ ठाकुर र उपेन्द्र यादवले आआफ्ना मान्छे लगाएर दल दर्ता गराएको भन्ने चर्चा छ नि ?
— मिडियामार्फत् मैले पनि सुनेको छु । तर आधिकारिकरुपमा हामीलाई थाहा छैन । हामीले राजपा नेपाल नामक राजनीतिक दल दर्ता गराएका छौं र चुनावचिन्ह जोडा बयल रहेको छ । महन्थ ठाकुर र उपेन्द्र यादवजी हाम्रा आदरणीय नेता हुनुहुन्छ । विगतमा म पनि जसपा नेपालको केन्द्रीय सदस्य नै थिएँ । जसपाको विवाद हेर्दा महन्थ ठाकुरजीले उपेन्द्र यादवजीसँग पार्टी एकता गरेर एकदमै ठूलो गल्ती गर्नु भयो । हामी युवाहरुले उपेन्द्र यादवलाई टाउकोमा नचढाउनुस् भन्दाभन्दै पनि ठाकुरजीले गल्ती गर्नुभयो । सोही कारण अहिले जसपा नेपाल विघटन हुने अवस्थामा छ । अब दुवै आदरणीय अध्यक्षहरुले पनि राजपा नेपाल गठन गराउनुभएको छ । उहाँहरु हाम्रो राजपा नेपाल आउनुभयो भने स्वागत गर्छौं ।
० तर, महन्थ ठाकुरकै इशारामा तपाइँले राजपा नेपाल गठन गराउनुभएको छ नि ?
— यो एकदम गलत र अफवाह हो । उहाँसँग मेरो नाम जोड्नु स्वाभाविक हो । म पूर्वतमलोपाका विद्यार्थी नेता थिएँ, राजपा नेपालमा पनि थिएँ र जसपामा पनि थिएँ । अर्को कुरा म ठाकुरजीको नजिक रहेर काम गरेको छु र निर्वाचन क्षेत्र पनि एउटै हो । त्यसैले ठाकुरजीसँग मेरो नाम जोड्नु नौलो होइन । तर त्यसमा सत्यता छैन । उहाँले जसपाको केन्द्रीय कार्यकारिणी समिति विस्तार गर्दा पनि मलाई कुनै स्थान दिनुभएन । त्यो असन्तुष्टि पनि मेरो छ । त्यसैले मैले अब युवाले नै मधेश र देशलाई निकास दिनुपर्छ भन्ने उद्देश्यका साथ राजपा नेपाल गठन गरेको हुँ । हरेक आन्दोलनमा युवाहरु नै अगाडि हुन्छन् तर कहिल्यै पनि उचित स्थान पाउँदैन, राजनीतिक दलको नेतृत्व गर्ने अवसर पाउँदैन । त्यसैले एउटा युवा नेतृत्व भएको राजनीतिक दल जसले साँच्चिकै परिवर्तन गर्न सक्छ, त्यो परिकल्पनाका साथ राजपा नेपाल दर्ता गराएको हुँ । हामीले हाम्रा अग्रज नेतृत्वहरुलाई अवहेलना गर्दैनौं, उहाँहरुलाई सम्मानित स्थान दिएर संरक्षक र दिशानिर्देशकको भूमिका राख्न चाहन्छौं ।
० जसपाको आधिकारिकताको विवाद चर्केपछि राजपा नेपाल ब्युँताउन खोज्नु भनेको त तपाइँ कतै न कतैबाट निर्देशित हुनुहुन्छ नि ?
— त्यस्तो केही पनि छैन । हामीले विगतदेखि नै युवाले नेतृत्व पाए मात्रै यो देशको कायापलट हुनेछ भन्ने सोचका अगाडि बढिरहेका छौं । हामी बाध्यतावश अहिलेसम्म जसपाको ट्याग लगाएर घुमिरेहका थियौं । राजपा नेपाल अर्थात् राष्ट्रिय जनता पार्टी नेपालले मधेशको मात्रै होइन समग्र नेपालीको भावनालाई समेटेर अगाडि बढ्छ । हामी कहीं, कतै वा कसैबाट निर्देशित होइन, नेपालको माटोबाट शतप्रतिशत स्वदेशी दलको परिकल्पना गरेका छौं । हामी कसैको दबाब, प्रभाव वा आग्रह–पूर्वाग्रहमा चल्नेवाला छैनौं । हामी सदैव उत्पीडित, उपेक्षित, शोषितहरुको आवाजलाई उठाउनेछौं । विगतमा हामीले अवसर पाएका थिएनौं । अब आफै नेतृत्वका लागि अग्रसर हुनुपर्छ ।
० अहिले जसपाको आधिकारिता कसैले पाएन भने महन्थ ठाकुर वा उपेन्द्र यादवले राजपा नेपालको नेतृत्व लिन खोज्नुभयो भने के गर्नुहुन्छ ?
— अब राजपा नेपालको नेतृत्व हामी युवाले नै गर्ने हो । ठाकुरजी र यादवजी लगायत हाम्रा आदरणीय नेताहरु हुनुहुन्छ । उहाँहरुलाई हामीले नेता मानेकै थियौं । उहाँहरुले जे जति गर्नुभयो, त्यसको सराहना नै गर्छौं तर अब पार्टी र राष्ट्रको बागडोर युवाले सम्हाल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । उहाँहरु हाम्रा श्रद्धेय, आदरणीय र अनुभवी नेताहरु हुनुहुन्छ, उहाँहरुलाई सम्मान नै गर्छौं । अब नेतृत्व गर्न हामी युवालाई दिनै पर्छ । उहाँहरुलाई हाम्रो राजपा नेपालमा स्वागत गर्छौं तर नेतृत्व युवाले नै गर्नुपर्छ । किनभने उहाँहरुले अहिले जनतालाई निराशा बनाइसक्नुभएको छ । जनताले अब विकल्प खोजिरहेका छन्, युवा नेतृत्वको पर्खाइमा छन् ।
० भनेपछि राजपा नेपालको नेतृत्व अब युवाले नै गर्छन् ?
— एकदम । अब हामी कसैको नेतृत्वमा जान सक्दैनौं । यदि परिवर्तन गर्नुछ भने अब युवाहरु पिछलग्गु भएर बस्नु हुँदैन । हामी आफ्ना नेताहरुलाई स्वागत गर्छौं, सम्मान गर्छौं तर राजनीतिक नेतृत्वको बागडोर हामीले नै अगाडि बढाउनुपर्छ भन्ने मान्यता हो । हामीलाई युवालाई कमसेकम एकपटक मौका दिनुस् । हरेक आन्दोलन वा परिवर्तन युवाहरु सदैव अग्रणी भूमिकामा रहँदै आएका छौं । पार्टी वा देशको नेतृत्व किन गर्न सक्दैनौं ।
तपाईको प्रतिक्रिया