संसद विघटन गरी देउवा पनि ‘अर्लि इलेक्सन’मा जानेछन् : सञ्जीव कुमार सुरज झा

सञ्जीव कुमार सुरज झा, केन्द्रीय उपाध्यक्ष, राष्ट्रिय युवा संघ

अन्तर्वार्ता

० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब दुई तिहाइ बहुमतको सरकारबाट अहिले प्रतिपक्षमा बस्न बाध्य हुनु परेको छ, पार्टीभित्र पनि विवाद छ । यी समग्र प्रक्रियालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

— विगतका निर्वाचनहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा सबभन्दा ठूलो दलको रुपमा हामी आएको थियौं । मरनासन्न अवस्थामा रहेको माओवादीलाई पनि हामीले पुनर्जीवन दियौं । तर प्रचण्डको अस्थिर राजनीतिक चरित्रका कारण भाँडभैलो मच्चियो । कुनै पनि सरकारलाई स्थिर बस्न नदिने चरित्र नै प्रचण्डको हो । यस्तै, हाम्रै पार्टीका लाल गद्दारको संज्ञा पाएका माधव नेपालभित्र ठूलो कुण्ठा थियो । किनकि माधव नेपालले एमालेको नेतृत्व गरिरहँदा सिद्धिने अवस्थामा पुगिसकेको थियो । तर जब नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित हुनुभयो, एमालेले नयाँ गति र मोड लियो । ऐतिहासिकरुपले देशको सबभन्दा ठूलो पार्टी बन्यो । तर अहिले कुण्ठै कुण्ठाले भरिएका केही पात्रहरुका कारण यस्तो अवस्थामा आइपुग्यो । सूर्य चिन्हबाटै जितेका केही मान्छेहरु अहिले विपरीत पार्टीलाई साथ दिइरहेका छन् । दलीय व्यवस्थाको सबभन्दा कुरुप अवस्था सिर्जना गर्ने माधव नेपाल र प्रचण्डले वामपन्थी आन्दोलनलाई पनि सिध्याउने प्रयत्न गर्दैछन् ।

० एमालेका वरिष्ठ नेता माधव नेपाल अहिले सत्तापक्ष हुनुहुन्छ नि ?

— माधव नेपाल एमालेको वरिष्ठ नेता होइन । किनभने वरिष्ठ नेता भनेको नेता कार्यकर्ताले सहृदयले मानिदिने पद हो । उहाँले आज वामपन्थी आन्दोलनलाई विसर्जन गरेर साम्राज्यवादी र पुँजीवादीको टाङ्गमुनि छिर्नुभएको छ । उहाँ अब वामपन्थी नै रहनुभएन । उहाँ मेकहेल गोर्वाचेभको नेपाली भेरियन्ट हो । वामपन्थी विचारधारामाथि विश्वास गर्ने जनताप्रति गद्दारी गर्ने लाल गद्दार हुन् माधव नेपाल । त्यसैले, एमालेका लाल गद्दार माधव नेपालका कारण अहिले यस्तो अवस्था भएको हो । उहाँ जस्ता लालगद्दारका कारण हामीलाई अहिले प्राविधिकरुपमा अप्ठ्यारो भएकै हो ।

० आफ्नै पार्टीका नेतालाई लालगद्दार भन्न मिल्छ त ? उहाँ एमाले होइन ?

— उहाँलाई अलिकति पनि लाज छ भने एमालेभित्र फर्किनु हुन्न । किनभने उहाँ एमाले नै होइन । सूर्य छापबाट जनताको मत लिएर कांग्रेसलाई बुझाउनुभयो । जबकि राजनीतिकरुपमा कांग्रेस जहिले पनि हाम्रो वर्गशत्रु हो । कांग्रेस जहिले पनि पुँजीवादीहरुको पक्षमा हुन्छ, हामी वर्गीय गरीब, मजदूर, किसानहरुको पक्षमा हुन्छौं । माधव नेपालको अवस्था अहिले निर्लज्जताको पराकाष्ठा हो ।

० माधव नेपाल आफ्नै पार्टीको सरकारविरुद्ध लाग्नुका केही कारण त होला नि ?

— केपी ओलीको लोकप्रियता, इमान्दारिता र विकास निर्माणको काममा जसरी फड्को मार्नुभो, देशलाई अन्तर्राष्टिय जगत्मा एउटा स्वाभिमानीको रुपमा उभ्याउनुभयो । त्यो कुण्ठाबाट माधव नेपाल ग्रस्त छन् । नेपालको इतिहासमा नक्सा परिवर्तन गर्ने जंगबहादुर र पृथ्वीनारायण शाह पछिका प्रधानमन्त्री केपी शर्मा ओली हो । केपी ओलीको लोकप्रियता यति उचाइ लियो कि माधव नेपाललाई पचेन । माधव नेपाल व्यक्तिगत कुण्ठा, इष्र्या, सत्तालोलुप्ता, भागवण्डाका कारण सम्पूर्ण वामपन्थी नेता कार्यकर्ताहरुको विश्वासमाथि कुठाराघात गर्ने लालगद्दार हुन् ।

० तर, केपी ओलीले त पटक–पटक संसद विघटन गर्नुभयो, प्रतिगमन र संविधान विरोधी कार्यहरु गर्नुभयो नि ?

— चुनावमा जानु प्रतिगमन हुन्छ त ? अब प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि विधेयक पास गर्न सकेन भने फेरि संसद विघटन गरेर चुनावमै जानुपर्ने हुन्छ ।

० प्रधानमन्त्री देउवासँग अहिले प्रचण्ड बहुमत छ, उहाँले किन संसद विघटन गर्ने ?

— उहाँसँग प्रचण्ड बहुमत छ भने बिलहरु ल्याएर विधेयकहरु पास गर्नुप¥यो नि त । उहाँ प्रधानमन्त्री भएको महिना दिन बित्न लागिसक्यो तर संसदमा विजनस छैन । एमसीसी सम्झौता गर्ने त्यही प्रचण्ड र देउवा हुन्, किन संसदमा ल्याउन सकिरहेको छैन ? किनभने उहाँलाई थाहा छ कि उहाँसँग कृत्रिम बहुमत छ । निकट भविष्यमै सबै सुन्छन् कि यही प्रचण्डका कारण यो सरकार पनि अल्पमतमा जान्छ र संसद विघटन गरेर चुनावमा जाने बाहेक कुनै विकल्प छैन ।

० भनेपछि, यो संसदको बाँकी अवधि जुन छ त्यो पूर्णकाल चल्दैन ?

— प्रचण्डका अस्थिर राजनीतिक मानसिकताका कारण शेरबहादुर देउवालाई गाह्रो हुनेछ । केपी ओलीलाई हटाउन यिनीहरु एकजुट भएका थिए, यिनीहरुको कुण्ठा मिलेको थियो । प्रचण्डलाई धेरै समयसम्म देउवाले झेल्नै सक्दैन । किनभने देउवा यतिकै कमजोर प्रधानमन्त्री हुन् । देउवामाथि बाह्य शक्तिको दबाब त छँदैछ, यही अवस्था प्रचण्ड र माधव नेपालको धेरै दबाब थेग्ने अवस्था छैन । अन्ततः देउवाले यो संसद विघटन गरेर अर्लि इलेक्सनमा जानेबाहेक कुनै पनि विकल्प छैन । देउवालाई आफ्नै पार्टीका नेताले असफल व्यक्तिको तक्मा भिराइसक्यो, भनेपछि विघटनको अवस्था त सुरु भइसक्यो ।

० एमसीसीको विषयमा एमालेभित्र पहिला पनि विवाद थियो, कांग्रेसले पास गर्न चाहन्थ्यो । अहिले देउवा सरकारले एमसीसी संसदमा ल्यायो भने एमालेले के गर्छ ?

— एमालेको कार्यदल, बुद्धिजीबी र आमजनताले सल्लाह दिएअनुसार संशोधन नभइकन एमसीसीलाई समर्थन गर्दैन भनेर हाम्रा अध्यक्ष केपी ओलीले भनिसक्नुभएको छ । ती सबै चासोका विषयहरु संशोधन भएर आउँछ भने सोच्न सकिन्छ । तर जस्ताको तस्तै एमसीसी पास गराउने विषयमा एमाले विरोध गर्छ र आवश्यक प¥यो भने राष्ट्रिय युवा संघले सडक पनि तताउँछ ।

० जसपाका महन्थ ठाकुर पक्ष केपी ओलीलाई साथ दिँदा उहाँ अहिले पार्टीविहीन अवस्थामा पुग्नुभएको छ नि ?

— महन्थ ठाकुरलाई कृष्णप्रसाद भट्टराई पछिको एउटा सन्त नेताको रुपमा चिनिन्छ । उहाँ व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेका व्यक्तित्व हुनुहुन्छ । उपेन्द्र यादवको पार्टी जब फुटिरहेको थियो, त्यतिबेला महन्थ ठाकुरले जोगाइदिनु नै सबभन्दा ठूलो गल्ती थियो । उपेन्द्र यादवजस्ता कुपात्र नेपाली राजनीतिबाट जति छिटो बहिर्गमन हुन्छ, त्यति चाँडो नेपाली राजनीति स्वच्छ र सफा हुन्छ । अबको प्रतिनिधिसभा चुनाव यो विषयमा धेरै केन्द्रित हुन्छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र जस्ता मान्छेहरुका कारण नेपाली राजनीति कहिल्यै पनि स्थिर रहन सक्दैन । प्राविधिकरुपमा महन्थ ठाकुरलाई उपेन्द्र यादवले अध्यक्षबाट हटाएको होला तर महन्थ ठाकुरको नाममा मधेशमा धेरै ठूलो जनमत छ । अर्को चुनावमा महन्थ ठाकुरलाई जनताले फेरि विश्वास गर्छन् । एउटा सन्त नेताको पिठ्यँुमा छुरा प्रहारको कुरा सबै जनताले बुझेका छन् ।

० अहिले सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनावसम्मै निरन्तरता दिइने भनिएको छ, यसलाई कसरी लिनुभएको छ ?

— यो पाँच दलीय गठबन्धन नै होइन । माधव नेपाल कुन दलको हो ? उहाँको कुनै दल नै होइन । यो एउटा अप्राकृतिक गठबन्धन हो र सत्ता साझेदारसम्म मात्रै हो । चुनावभन्दा पहिला नै यिनीबीच फुट सुरु हुन्छ ।

० गत चुनावमा माओवादीसँग गठबन्धन गरेर एमाले चुनावमा गएको थियो, फेरि माओवादीसँग गठबन्धनको सम्भावना छ ?

— हामी प्रचण्डमुक्त देश चाहेका छौं र लालगद्दारहरुलाई नेपाली राजनीतिबाट विस्थापित गर्न खोजेका हौं । त्यो विस्थापित पनि हुन्छ । हाम्रो चुनावी सहकार्य वा एकता महन्थ ठाकुर समूहसँग सम्भावना छ । किनभने वैचारिक, क्रान्तिकारी र देश विकास लगायतका कुरामा हामी नजिक भएका छौं । त्यसैले महन्थ ठाकुरसँग गठबन्धन हुन सक्छ ।

० विगतमा मधेशमा एमाले र केपी ओलीलाई मधेशविरोधीको संज्ञा दिइएको थियो, आगामी चुनावमा कस्तो सम्भावना छ ?

— उपेन्द्र यादवहरुले एमाले र केपी ओलीविरुद्ध छरेको भ्रम चिरिसकेको छ । जनताले राम्ररी बुझिसकेका छन् । जनता अहिले केपी ओलीको पक्षमा उत्साहका साथ लागेको देखिन्छ । हामी प्रदेश २ मा स्थानीय, प्रदेश र प्रतिनिधिसभामा ठूलो दलको रुपमा आउँछौं । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ