० जसपा नेपाल विधिवतरुपमै विभाजन भएको छ, तपाइँ नि कता ?
— जहाँ जसपा नेपाल छ, म त्यहींँ छु । जहाँ मेरो निर्वाचन चिन्ह छाता छाप छ, म त्यहीँ छु । जसलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ, अदालतले पनि आधिकारिकता दिँदै आएको छ, जनताले आधिकारिकता दिएको छ, म त्यहीँ छु ।
० तर जसपाको एकता एक वर्षमै भत्कियो, किन ?
— यो दुर्भाग्यपूर्ण हो । हामीले यो देशकै ठूलो वैकल्पिक शक्ति बनाऔं भन्ने विचारका साथ सम्पूर्ण मधेशवादी र जनजाति शक्तिहरु मिलेर एउटा कल्पना गरेका थियौं । त्यो भनेको जनता समाजवादी पार्टी हो । पछिल्लो समय केही नेताहरुका व्यवहारका कारण हामीबीच मतभिन्नता देखिन थालियो । सिंगो मधेश र देश ओलीसँग घृणा गरिरहेको परिप्रेक्ष्यमा हाम्रा केही नेताहरु ओलीको प्रतिगमनकारी कदम सही छ, ओली जिन्दावाद जस्ता कुराहरु गर्न थाल्नुभयो । पार्टीको निर्णय एकातिर थियो, तर केही नेताहरु त्यसलाई अवमूल्यन गरेर ओलीतिर लसपस हुन थाले ।
० तपाइँ सुरुदेखि महन्थ–राजेन्द्र समूहमा हुनुहुन्थ्यो । तर आधिकारिकताको सवालमा उपेन्द्र समूहको बहुमत देखिएपछि तपाइँ अन्तिम समयमा समूह परिवर्तन गर्नुभयो नि ?
— म कुनै समूहमा बस्नुभन्दा सिंगो पार्टीमा बस्ने श्रेयष्कर ठाने । म जुन पार्टीको सदस्य थिएँ र छु त्यहींँ पार्टीमा निरन्तरता दिन चाहेको हुँ । म गजेन्द्रबाबुले स्थापना गरेको स्थापना गरेको सद्भावना पार्टीबाट राजनीति सुरु गरेको थिएँ । पछि राष्ट्रिय जनता पार्टी बन्यो, त्यसपछि जसपा बन्यो, म जहाँको त्यहींँ रहें । म कुनै पनि पार्टी फुटको साक्षी बसिन । नेताहरु राजेन्द्र महतोहरु पार्टी फोडेर गए तर मेरो पृष्ठभूमि हेर्दा त्यसैले म उहाँसँग गइनँ । म कित्ता परिवर्तन गरेको होइन, पार्टी छोडेर जानेहरुले कित्ता परिवर्तन गरे । पार्टी नफुटोस् भनेर अन्तिम समयसम्म म लडिरहेको थिएँ । महन्थ ठाकुरलगायत सबै शीर्ष नेताहरुलाई मैले आग्रह गरेको थिएँ कि फुट जोगाउनुस् । तर उहाँहरु मान्नुभएन ।
० तपाइँ उपेन्द्र यादवको प्रलोभनमा परेर कित्ता परिवर्तन गर्नुभयो भन्ने आरोप छ त ?
— यो महामिथ्या कुरो हो । पार्टीको आधिकारिकता, नीति, विचार, सिद्धान्त लगायत सबथोक उपेन्द्र यादवजीले अध्यक्षता गरिरहेकै पार्टीमा छ । यो पार्टीले नै भोलि वैकल्पिक शक्ति दिन सक्ने ल्याकत राख्दछ । महन्थ ठाकुर समूहसँग आधिकारिकता छैन । पार्टीको मूल त हामीसँग छ, पार्टीबाट कोही फुटेको छ ।
० तपाइँ मधेशवादका प्रणेता स्व.गजेन्द्रनारयण सिंहको स्कूलिङ्गबाट राजनीति सुरु गर्नुभएको छ । तर उपेन्द्र यादवले त मधेशवाद नै होइन भन्नुहुन्छ नि ?
— म गजेन्द्रबाबुको अनुयायी हुँ । मधेशको राजनीति गर्ने वा मधेशवादको वकालत गर्ने अधिकांश व्यक्तिहरु गजेन्द्रबाबुकै अनुयायी छन् । एउटै पार्टीमा पृथक–पृथक विचारहरु हुनु स्वाभाविक नै हो । तर मधेशवाद छ वा छैन भन्ने फरक विचारका कारण एउटै पार्टीमा बस्नै सकिँदैन भन्ने कुरा होइन ।
० उपेन्द्र यादव समूहले केपी ओलीलाई प्रतिगमनकारी भनिरहेको छ । अग्रगमन भनेर देउवालाई प्रधानमन्त्री बनाइयो । तर यो सरकारले के–के अग्रगमनकारी कामहरु ग¥यो ?
— कसैको मूल्यांकन ३०–३५ दिनमा गर्न सकिँदैन । प्रधानमन्त्री शेरबहादुर देउवा एउटा विशेष कालको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले साझा न्यूनतम् कार्यक्रममा अलि बढी नै लेख्नुभएको छ तर उहाँको प्राथमिकता हामी सबैले हेरेका छौं । प्रतिनिधिसभाको बाँकी अवधिभर नेपाली जनताले एउटा स्थिर सरकारको परिकल्पना गरेको छ । यसभन्दा अघिका सरकारभन्दा बढी आशा देउवा सरकारबाट गरिएको पनि छैन । ओलीजीले जसरी देशलाई अस्थिर बनाइदिनुभएको थियो, त्यो अस्थिरताबाट स्थिरतातर्फ लैजाने प्रयासस्वरुप सर्वोच्च अदालतको विशेष फैसलाबाट यो सरकार बनेको हो ।
० तर यो सरकारले त राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर झन् अस्थिरता निम्त्यायो नि ?
— यो अध्यादेश विशेष परिस्थितिको हो । ओलीलाई सत्ताच्यूत गर्ने काममा माधव नेपालजीको ठूलो भूमिका छ, उहाँलाई हामीले धन्यवाद दिनैपर्छ । माधव नेपालजीले पार्टीभन्दा माथि उठेर नसोचेको भए आज देश यो परिस्थितिमा हुने थिएन । निर्वाचनको नाममा लोकतन्त्रको हत्या भइसकेको थियो, जुन कहिले नहुने निर्वाचन थियो । माधव नेपालजीको राजनीति रक्षाका लागि हामीले यो विधेयक ल्याउन बाध्य नै भयौं ।
० यसबाट त तपाइँहरुको दल पनि विभाजन भयो नि ?
— माधव नेपालजी नयाँ दल खोलिरहँदा पूर्वसन्ध्यामा ओलीजीले दलबाट हटाइयो भन्नेसम्मका दुस्प्रयास गर्नुभएको थियो । तर हामीलाई थाहा थियो कि यही विधेयकको ठूलो लाभ महन्थजीलाई पनि हुँदैछ । यो कुरा थाहा हुँदाहुँदै पनि जसपा नेपालले कसैमाथि कारबाही गरेन । आफै छोडेर जानेहरु गए । हामीले कसैलाई निस्केर जाउ भनेका छैनौं । यो सदासयतालाई महन्थ ठाकुरजीले याद राख्नुहोला ।
० अब तपाइँहरुको जसपा देउवा सरकारमा कहिले जान्छ ?
— देउवाको सरकारमा हामी जाने भनेर पहिला नै निर्णय गरिसकेका छौं । अब छिट्टै नै हामी यो सरकारमा सहभागी हुन्छौं । कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुराको अधिकार हाम्रा शीर्ष नेताहरु उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र अशोक राईलाई दिइएको छ । उहाँहरुले नै निर्णय गर्नुहुन्छ कि कसको नेतृत्वमा सरकारमा जाने ।
० प्रदेश २ को सरकारसँग अहिले दुई तिहाइभन्दा बढी मत छ । प्रदेशको नामाकरण र राजधानी कहिले टुंगो लगाउने ?
— यो अवस्था भर्खर आएको हो । अहिले प्रदेश २ मा विपक्षीरहित सरकार छ । भोलीका दिनमा जसपा लोकतान्त्रिक र केपी ओलीको एमालेले हामी विपक्षी छौं भन्लान् । अहिले हाम्रो सरकारसँग सहजै दुई तिहाइभन्दा बढी मत छ । अब हामीले प्राथमिकताका साथ टुंग्याउने भनेको प्रदेशको नामाकरण र राजधानी हो । राजधानी त करिब–करिब टुंगिएकै अवस्था हो ।
० यस्तो गोल्डेन अपर्चुनिटी पाएको अवस्थामा पनि प्रक्रिया सुरु भएको छैन नि ?
— केही दिनपछि प्रदेशसभाको नयाँ अधिवेशन सुरु हुन्छ । आउँदो अधिवेशनको प्राथमिक कार्य नै नाम र राजधानी टुंगो लगाउने हो । विगतको दिनमा यो प्रयास प्रदेशसभाले गरेको थियो, तर अब त्यहाँको सरकारले नै प्रस्ताव दर्ता गराउनेछ । सो प्रस्ताव सहजै पारित हुनेछ ।
० प्रदेशको नामाकरण ‘मधेश’ नै हुन्छ ?
— हाम्रो प्राथमिकता त्यही नै हो, हामीले भन्दै आएका छौं । तर मिलिजुली सरकार छ । हामीले आफ्नै अडान राखिरहनु भनेको आफ्नै गठबन्धनभित्र अविश्वासको अवस्था सिर्जना गर्नु हो । तर जसपा नेपालको माग, अडान र सैद्धान्तिकरुपमा उठाएको बहस प्रदेशको नाम ‘मधेश’ हो ।
० जसपा र माओवादीको प्रस्ताव मधेश नै हो तर कांग्रेसले अहिलेसम्म यसमा सहयोग गर्ने देखिएको छैन नि ?
— कांग्रेस पनि मधेश प्रदेशमा सहमत हुन्छ । हामीबीच अनौपचारिक वार्तालापहरुमा उहाँहरु सहमत जस्तै देखिनुभएको छ । हिजोका दिनमा कांग्रेसले प्रस्ताव गरेको कुरा तुहिसक्यो । तसर्थ, अहिले पनि उहाँहरुको त्यहीं प्रस्ताव हो भन्न सकिँदैन । विगतमा कांग्रेसले प्रस्ताव गरेको नाम अवैज्ञानिक छ । छोटो, मीठो र ऐतिहासिकता बोकेको नाम भनेको मधेश नै हो । त्यसैले कांग्रेसले सहजरुपमा मधेशप्रति धारणा बनाउँछ । आउँदो दिनमा प्रदेश २ को नाम परिवर्तन भएर मधेश हुनेछ ।
० तर प्रदेशसभाको यही कार्यकालभित्र प्रदेश नामाकरण टुंगो लाग्छ भन्नेमा कतिपयले शंका व्यक्त गरिरहेका छन् नि ?
— निश्चितरुपमा प्रदेशसभाले यही कार्यकालभित्र आफ्नो नामाकरण टुंगो लगाउँछ । यो कार्यकालभन्दा पनि आउँदो अधिवेशनमै नामाकरण टुंगो लाग्छ ।
तपाईको प्रतिक्रिया