उपेन्द्रजीसँग लोभी प्रवृत्तिका मान्छेहरूको जमात छ : जसपा लोकतान्त्रिक नेता अरगरिया

उमाशंकर अरगरिया, केन्द्रीय कार्यकारिणी समिति सदस्य, जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक)

अन्तर्वार्ता

० निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक)’ दर्ता गर्न अवस्था किन र कसरी सृजना भयो ?

— हामीले मधेशका सबै दलहरुलाई एकीकरण गरेर जसरी अगाडि बढ्न खोजेका थियौं, त्यो सफल हुन सकेन । हामीले पार्टीभित्रका हैकमवादी प्रवृत्ति विरुद्ध अन्तर्संघर्ष गर्दा पनि त्यसलाई नजरअन्दाज गर्दै उपेन्द्र यादवले पार्टी फुटाइदिनका लागि निर्वाचन आयोगमा निवेदन दिनुभयो । बहुमतको दम्भमा उपेन्द्रको हैकमवादी प्रवृत्ति सहन नसकेर हामी बाध्य भएर जसपा नेपाल (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता गराएका हौं । जसमा हामीले महन्थ ठाकुरजीलाई एकल अध्यक्ष बनायौं, अहिले तत्कालका लागि २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति निर्माण भएको छ । सबैलाई अटाउने गरी केन्द्रीय समिति पनि निर्माण हुन्छ । जसपा लोकतान्त्रिकमा पहाड, हिमाल र मधेश सबै ठाउँका जातजाति, धर्म, लिङ्ग, समुदाय अटाउने गरी समेटिने छौं । हाम्रो चुनावचिन्ह ‘साइकल’ रहेको छ ।

० उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपनि तपाइँहरु पनि त्यही पार्टीभित्रै हुनुहुन्थ्यो, नयाँ दल नै दर्ता गर्नुपर्ने किन ?

— मुख्य कुरा के हो भने, जसपाको निर्माण एकाएक मध्यरातमा भएको थियो । जसमा उपेन्द्रले आफ्ना खल्तीका मान्छेहरुलाई केन्द्रीय कार्यकारिणी समितिमा भर्ती गर्नुभयो । जसले उपेन्द्रको चम्चागिरी बढी गरेका छन्, आसेपासेहरु जुन छन्, त्यस्ताहरुलाई बढी प्राथमिकता दिनुभएको थियो । त्यसपछि उहाँले अल्पमत र बहुमतको खेल खेल्न थाल्नुभयो । यही प्रवृत्तिका कारण उहाँको पार्टी पटक–पटक फुटेको हो । सबै पार्टीमा अल्पमत र बहुमत हुन्छ । अल्पमतको कुरै सुन्न नचाहने, हैकमवादी प्रवृत्ति देखाउने उपेन्द्रको वानीका कारण यस्तो अवस्था आयो । हामीले आजसम्म पार्टी फुटाइदिनुस् भनेर निवेदन दिएका छैनौं ।

० तर, उपेन्द्र यादवले त पार्टीमा फर्किनुस्, आत्मालोचना गर्नुस् भनेर आह्वान गर्नुभएको हो नि ?

— हामीले कुन गल्ती गरेका थियौं, कि आत्मालोचना गर्ने ? हामीले २१८ जना आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता गरायौं । यो हाम्रो अपराध हो ? त्यसका लागि हामीले क्षमा माग्ने ? हामी १८ दिन मात्रै सरकारमा रहँदा उपेन्द्रजी १८ महिनासम्म गर्न नसकेका कामहरु गरेर देखायौं । त्यसका लागि क्षमा माग्ने ? हामी २० जना सांसद लिएर ओली सरकारमा गएका थियौं, जसमा हाम्रा ११ जना सांसद मन्त्री बन्नुभयो । उहाँ १८ महिना सरकारमा बस्दा के–के गर्नुभयो ? म आफै १८ दिनसम्म सरकारमा रहँदा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न समिति बनाएँ, पशुपति क्षेत्रभित्र राम मन्दिरको शिलान्यास गरें । यसैगरी, संविधान संशोधनका लागि कार्यदल गठन गरायौं, अध्यादेशबाट नागरिकता विधेयक ल्यायौं । त्यसैले हामीले कुनै गल्ती गरेका थिएनौं, जसका लागि आत्मालोचना गर्ने ।

० जेजति भएपनि तपाइँहरुले जसपा नेपाल विभाजन गर्नुभयो, जनताले विश्वास गर्लान् ?

— सबभन्दा पहिला हामीले पार्टी विभाजन गरेका होइनौं । उपेन्द्रजीले पटक–पटक पार्टीको साधारण सदस्यबाट निकालिदिएको सूचनासमेत निकाल्नुभयो । उहाँको यही प्रवृत्तिका विरुद्धमा उहाँकै विरुद्धमा केन्द्रीय समितिको बैठकमा नाराबाजी पनि भइरहेको छ । उहाँको सुरुदेखिको इतिहास छ, पटक–पटक पार्टी विभाजन हुँदै आएको छ । हाम्रो पार्टी एउटा सन्त नेता, मुद्दाप्रति अडिग नेताहरुको जमात छ । उपेन्द्रजीसँग लोभी प्रवृत्तिका मान्छेहरुको जमात छ । तर जनप्रिय नेतृत्वहरु हामीसँग छ । त्यसैले हामी नयाँ पार्टी गठन गरेर जाँदा जनताले हामीलाई विश्वास गर्नेछ ।

० तपाइँहरुसँग प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु कतिका छन् ?

— अहिले हामी निर्वाचन आयोगमा दल दर्ता गराएका छौं । कानूनअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो दल रोज्ने मौका पाएका छन् । जो हामीसँग आउन चाहनु हुन्छ, उहाँहरुलाई स्वागत छ । हाम्रा संगठनहरु त छँदैछ 

० जिल्ला–जिल्लाका संगठनहरु तपाइँहरुसँगै छन् त ?

— यही बीचमा हामी प्रत्येक जिल्लामा नेता कार्यकर्ता भेला सम्पन्न गरेका छौं । संगठन कोसँग छ भन्ने कुरा जनसमुदायले हेरिरहेकै छन् । हरेक जिल्लामा जाँदा हामी शीर्ष नेतृत्वहरुलाई भव्य स्वागत भएको छ । हामीले कार्यकर्ता भेला मात्रै आयोजना गर्दा नेता कार्यकर्तासहित जनताको पनि लहर देखिएको थियो । भनेपछि हामीसँग एजेण्डा छ, नेता र कार्यकर्ता छन् ।

० देउवा सरकारलाई तपाइँहरुले पनि विश्वासको मत दिनुभएको छ, यो सरकारमा तपाइँहरु जाने कि नजाने ?

— हामी सरकारमै जानैपर्छ भन्ने छैन । विश्वासको मत माग्ने दिन देउवाजीले हामीलाई औपचारिकरुपमा पत्र पनि पठाउनुभयो र छलफल पनि गर्नुभयो । रेशम चौधरी लगायतका राजबन्दी नेता कार्यकर्ताहरुलाई रिहा गर्ने, मधेशका माग पूरा गर्ने, संविधान संशोधनका लागि कार्यदल बनाउने लगायतका प्रतिबद्धता गर्नुभएको थियो । त्यसपछि हामीले उहाँलाई विश्वासको मत दियौं । अस्ति मंगलबार मात्रै हाम्रा अध्यक्ष महन्थ ठाकुरजीसँग प्रधानमन्त्री देउवासँग छलफल हुँदा सरकारमा आउन आग्रह गर्नुभयो । तर हाम्रा अध्यक्ष ठाकुरजीले उहाँलाई भन्नुभयो कि मन्त्री नै दिनु हुन्छ भने उपेन्द्र समूहलाई दिनुस् । हाम्रा लागि त मधेश मुद्दाको सम्बोधन, रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता समस्या समाधान नै प्राथमिकता हो ।

० प्रधानमन्त्री देउवाले तपाइँहरुलाई पनि सरकारमा बोलाउँदै हुनुहुन्छ ?

— उहाँले हामीलाई आग्रह गर्नुभएको थियो । तर पहिला हामीसँग जुन प्रतिबद्धता गर्नुभएको छ, त्यो पूरा गर्नुस् अनि सोच्छौं भनेका छौं । हाम्रा मागहरु पूरा भयो भने पछि सरकारमा जानुपर्ने अवस्था आयो भने जाउँला । त्यसैले सरकार हाम्रो प्राथमिकताको विषय होइन ।

० प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाइँहरुले कहिलेसम्म समर्थन गरिरहने ?

— अहिले त हाम्रो पार्टी निर्माण भएको छ । विभिन्न समितिहरु निर्माण गर्नुपर्नेछ, संगठन सुदृढीकरण गर्नुपर्नेछ । अर्कोतिर हाम्रा माग र मुद्दा सम्बोधनका लागि वार्ता पनि हुँदै गर्छ । जसरी यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा मागहरु सम्बोधन गर्दा सरकारमा गयौं, त्यसरी नै शेरबहादुर देउवाजीले पनि हाम्रा मागहरु सम्बोधन गर्न थाल्नुभयो भने आवश्यकताको आधारमा हामी निर्णय गर्न सक्छौं ।

० अब चुनाव पनि नजिकिँदै गएको छ । आगामी चुनावमा उपेन्द्र यादवको दलसँग सहकार्य वा गठबन्धन हुने सम्भावना कति रहन्छ ?

— राजनीतिमा के हुन्छ त्यो भन्न सकिँदैन, सम्भावनाको खेल हो । उहाँहरु वामपन्थी विचारधाराको हिसावले अगाडि बढिरहनुभएको छ, हामी लोकतान्त्रिक विचारधाराका हौं । नेपालको परिवेशमा पनि लोकतान्त्रिक र वामपन्थी विचारधाराहरु ध्रूवीकृत हुँदै गएको छ । त्यसैले आगामी चुनावमा कोसँग गठबन्धन वा सहकार्य हुन्छ अहिले नै भन्न सकिँदैन । जोसँग हाम्रो पार्टीको मुद्दा मिल्छ, उसैसँग गठबन्धन वा सहकार्य हुनसक्छ ।

० उपेन्द्र यादवको दलसँग फेरि एकता हुन्छ त ?

— उहाँ त पाँच वर्षमा एक पटक जनताको मत लिने, आफ्ना मान्छेहरुलाई टिकट दिने, सांसद बनाउने खेलमा मात्रै हुनुहुन्छ । तर हामी विचार र सिद्धान्तको राजनीति गर्दै आएका छौं । जसले गर्दा उहाँसँग अब भविष्यमा एकता हुने सम्भावना कम छ ।

० प्रदेश २ को सरकारमा तपाइँहरुको अवस्था कस्तो रहनेछ ?

— उपेन्द्रजी १८ महिनासम्म सरकारमा रहँदा मधेशको मुद्दा कमजोर नहोस् भनेर महन्थजीले प्रदेश २ को सरकारबाट फिर्ता आउने काम गर्नुभएन । तर हामी १८ दिनका लागि सरकारमा जाँदा हाम्रा सांसदहरुलाई मन्त्रीबाट हटाएर कांग्रेस र माओवादीलाई सरकारमा ल्याउनुभयो । अहिले प्रदेश २ को सरकारसँग दुई तिहाइभन्दा बढीको मत छ, कम्तीमा नामाकरण पनि गर्न सक्ने अवस्था छैन । प्रदेश सरकार अहिले भ्रष्टाचारमा लिप्त छ । त्यसकारणले भोली हाम्रो अवस्था परिवर्तन पनि हुन सक्छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ