जसपा विभाजनको कारण व्यक्तिवादी प्रवृत्ति हो : राजकुमार लेखी

राजकुमार लेखी, केन्द्रीय कार्यकारिणी समिति सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल

अन्तर्वार्ता

० लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । लोसपा वैकल्पिक शक्ति बन्छ ?

— नेपालका राजनीतिक दलहरु टुटफुटबाट अगाडि बढेको हामी सामु छर्लङ्गै छ । ठूला भनाउँदा एमाले, कांग्रेस, माओवादी लगायतका दलहरुले आफूलाई जनताकै बीचमा, जनताकै पार्टी र समाजवादकै कुरा गरिरहेका छन् । सबैले जनजीविका, सुशासन र रोजगारीकै कुरा गरिरहेका छन् । यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी नेपाल भर्खरै जन्मेको एउटा पार्टी हो । भन्न त सबैले आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा दाबी गरिरहेका छन् । सबैले आफूलाई वैकल्पिक शक्तिकै दाबी गरिरहँदा पनि ती सबै कुरा नारामा मात्रै सीमित देखिएको छ । त्यो वैकल्पिक शक्ति व्यवहारमै देखिनुपर्छ । त्यसकारण लोसपाको वैकल्पिक शक्ति नारामा मात्रै सीमित रहँदैन । आगामी दिनमा हाम्रो पार्टीको नीति, विचार र व्यवहारमा कस्तो हुन्छ, त्यस कुरालाई नै विश्वास गरेर जनताले आफ्नो जनमत दिने हो । हामी व्यवहारमा देखाउन सक्यौं भने जनताका बीचमा स्थापित हुन्छौं ।

० तर जसपालाई वैकल्पिक शक्ति बनाउने भनेर लाग्नुभयो, किन विभाजन गर्नुभयो ?

— जसपा विभाजनका कारण सबैका अगाडि छर्लङ्गै छ । एकले अर्कालाई दोषारोपण गर्ने, आरोप लगाउने कामहरु भइरह्यो । सरकारमा आफू गयो भने अग्रगमनकारी हुने, अरु व्यक्तिको नेतृत्वमा सरकारमा गयो भने प्रतिगमनकारी हुने । १९ महिनासम्म उपेन्द्र यादवजी दुई तीन वटा मन्त्री लिएर केपी ओलीको सरकारमा सहभागी हुँदा एउटा पनि माग र मुद्दा सम्बोधन गराउन नसक्दा त्यो अग्रगमन भयो । तर महन्थ ठाकुरजीको अगुवाईमा एक दर्जन मन्त्रालय, दर्जनौं झुठा मुद्दा खारेजी, थुप्रै साथीहरुको रिहाई र थुप्रै माग मुद्दा सम्बोधनार्थ प्रक्रियामा जाँदा त्यसलाई प्रतिगमन देख्ने आरोप–प्रत्यारोपका कारण यो अवस्थामा आएको हो । त्यसकारण दोषी त हामी सबै छौं ।

० तर जसपा निर्माण भएको एक वर्षमै विभाजनको संघारमा पुग्यो, मत–मतान्तरका बारे पार्टीभित्र किन छलफल र बहस भएन ?

— जसपाभित्र रहेका केही मुख्य नेतृत्वहरुमा आत्मकेन्द्रित प्रवृत्ति बढी देखिन्छन् । टीम वर्क र सामूहिक भावनाको अभाव देखिन्छ । जसपा नेपाल आजभन्दा एक वर्ष वा छ महिना अगाडिको अवस्थामा हुँदा त्यहाँ समाजवाद, सुशासन, प्रदेश २ को सरकारको कुरा गर्दा केही नेतृत्वले नजरअन्दाज गरेका थिए । जुन आन्दोलनको बलमा प्रदेश २ को सरकार निर्माण भएको छ, त्यही सरकार सुशासन, पारदर्शिता र समाजवादको बारेमा अनुभूति हुने खालका कुनै काम गर्न सकेन । बरु भ्रष्टाचारमा लिप्त, व्यक्तिवादी प्रवृत्ति, प्रदेश सरकार केवल आफ्नो निर्वाचन क्षेत्र मात्रै केन्द्रित रहेर समाजवादको कुरा गर्न सुहाउँदैन । त्यसकारणले यी सब कुराहरु नै प्रमुख कारण हो जसपा विभाजन हुनुमा । व्यक्तिवादी प्रवृत्तिका कारण जसपा विभाजन भएको हो ।

० तपाइँहरुसँग त २० प्रतिशत मात्रै छ, उपेन्द्र यादवसँग ८० प्रतिशत नेता कार्यकर्ताहरु छन् नि ?

— संख्याको कुरा गर्ने हो भने आजभन्दा केही दिन पहिला त त्यो संख्या हामीसँगै थियो । जति बेला हामी सरकारमा गइरहेका थियौं, त्यतिबेला त्यो संख्या हामीसँग थियो । अहिले उपेन्द्रजीहरुको सरकारमा जाने चर्चा चलेपछि त्यो संख्या उहाँसँग देखिएको छ । त्यसकारण, अवसरवादीहरुको ओहोर–दोहोर गर्ने प्रवृत्ति छ, यसले खासै महत्व राख्दैन । आज जुन संख्या उपेन्द्रजीसँग छ, त्यो संख्या भोलि महन्थ ठाकुर नेतृत्वको पार्टीसँग पनि हुनसक्छ ।

० अवसरवादीहरुलाई नै पार्टीभित्र बढी स्थान दिइने गरिन्छ नि ?

— व्यक्तिवादी प्रवृत्ति हावी छ, त्यसकारण नेतृत्व दोषी छन् । यो आचरण र प्रवृत्तिलाई हामीले सच्याउनुपर्छ । अब नयाँ पार्टीको रुपमा हामी अगाडि बढ्दै जाँदा त्यो प्रवृत्ति र आचरणलाई त्याग्न सकेनौं भने जनताले जो कोहीलाई विश्वास गर्दैन । त्यसकारण, हाम्रा अगाडि ठूलो चुनौती पनि छ र अवसर पनि छ । त्यसैले हामी अब सच्चिनुपर्छ, गलत र नकारात्मक प्रवृत्तिलाई त्याग्नुपर्छ ।

० लोसपाको सनाखतका बेला सांसद रेशम चौधरीले पनि सनाखत गर्नुभएको थियो, अहिले उहाँ जसपामै छु भन्नुएको छ भन्ने कुरा आइरहेको छ त ?

— सांसद रेशम चौधरीले सनाखतका लागि पठाएको पत्र हामीले निर्वाचन आयोगमा बुझायौं । त्यसपछि उहाँले के भन्नुभएको छ, हिजोबाट उहाँको धारणा के छ, त्यो हामीले बुझ्न सकेका छैनौं । हामीले दल दर्ता गराउने बेलामा, सनाखतका बेला आफू महन्थ ठाकुरकै पक्षमा सनाखत पठाउनुभएको थियो । उहाँले लिखितरुपमै महन्थ ठाकुर समूहमै छु भनेर भन्नुभएको थियो ।

० टीकापुर घटनाको आरोपित भनेर रेशम चौधरी जेल जीवन बिताइरहेका छन्, लोसपाले अब के गर्छ ?

— रेशम चौधरीजी तत्कालीन राजपाबाट आधिकारिकरुपमा उम्मेद्वारी दिनुभएको थियो, त्यहाँका जनताले उहाँलाई अत्याधिक मतले निर्वाचित गरे । उहाँले अहिलेसम्म एमाले, माओवादी, कांग्रेस वा अन्य दलमा आबद्ध हुनुभएको छैन । स्वाभाविकरुपमा जुन पार्टीमा उहाँ आबद्ध हुनुहुन्छ, त्यो पार्टीले उहाँको रिहाइका लागि पहल गरिरहेकै छ । तर त्यो पर्याप्त छैन । थरुहट आन्दोलनकारीहरुले पनि उहाँको रिहाइका लागि सडक संघर्ष गरिरहेकै छन् । त्यसैले रेशमजी आबद्ध भएको पार्टी र थरुहट आन्दोलनकारी शक्तिहरुले आफ्नो तर्फबाट पहल गरिरहेकै छन् । तर त्यसको खासै सुनुवाइ भएको हामीले पाउँदैनौं ।

० देउवा सरकारले आफ्नो साझा न्यूनतम् कार्यक्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेश–थरुहटको माग मुद्दा सम्बोधन गर्ने लगायतका प्रतिबद्धताहरु गरेको छ । यसबीचमा तपाइँका पार्टी अध्यक्षसँग पनि प्रधानमन्त्रीको छलफल भएको छ । के–के विषयमा छलफल भएको हो ?

— प्रधानमन्त्री शेरबहादुर देउवासँग हाम्रा पार्टी अध्यक्ष महन्थ ठाकुरको सम्वाद भएको थियो । त्यो क्रममा मधेश–थरुहट, जनजाति आन्दोलनका बारेमा प्रधानमन्त्री देउवासँग छलफल भएको हो । सरकारमा आउनका निम्ति पनि छलफल र सम्वाद गर्छु भन्नुभएको छ । तर अहिले प्रमुख रुपमा प्रधानमन्त्रीसँग माग र मुद्दाकै सवालमा छलफल भएको थियो ।

० देउवा सरकारमा जाने शर्तहरु के–के छन् ?

— हामीले जुन माग र मुद्दा अगाडि बढाएका थियौं, तिनै विषयमा देउवा सरकारसँग छलफल गरेका छौं । अहिले सरकारमा जाने वा कति वटा मन्त्रालय पाउनेबारे कुनै कुरा भएको छैन । हाम्रो प्रमुख कुरा अहिले माग र मुद्दा नै हो । यदि हाम्रो माग र मुद्दाबारे सकारात्मक प्रक्रियाहरु अगाडि बढ्यो भने विचार गर्न सकिन्छ । तत्काल हाम्रो पार्टीका निम्ति प्राथमिकताको विषय माग र मुद्दा नै हो । तर सम्वादमा सकारात्मक कुराहरु आयो भने, माग र मुद्दाप्रति सरकार गम्भीर भयो भने सरकारको बारेमा पनि सोच्न सकिन्छ ।

० लोसपाले विगतका के–कस्ता कमी कमजोरीहरु सच्याउनुपर्ने हुन्छ ?

— नेपालको समकालीन परिवेशमा सबै दलभित्र एकै खालका गलत प्रवृत्ति हावी भएको देखिन्छ । सबै दलका मुख्य नेतृत्वहरु दलाल पुँजीपतिको चंगुलमा छन् । माफियाहरु सबै पार्टीमा हावी भएको हामी देख्छौं । सबभन्दा पहिला हाम्रो नेतृत्वको ध्यान त्यतातिर जान आवश्यक छ । अन्य दलहरुले जतिसुकै समाजवाद र जनवादको कुरा गरे पनि जनताको सबभन्दा चासो र प्राथमिकताको विषय शिक्षा र स्वास्थ्य हो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको तर्फबाट कमसेकम २५ प्रतिशत रकम छुट्याएर पनि जनताको बीचमा काम गर्न सक्यौं भने नेतृत्व र दलहरुप्रति जनताको विश्वास बढ्न सक्छ ।

० पार्टीभित्र नीतिगत सुधार गर्नुपर्ने कुराहरु के–के छन् ?

— नेतृत्व जसरी जनताप्रति जवाफदेही हुनुपर्ने हो, त्यसलाई आत्मसात गर्नुपर्छ । जनताको बीचमा पार्टीको नीति र कार्यक्रम जानुपर्ने हो । हामी आफ्नो घोषणापत्रमा जनताका कुराहरु लेख्छौं, आकर्षक र चर्का भाषण गर्छौं तर व्यवहारमा ती कुराहरु देखिँदैन । त्यसको मुख्य जिम्मेवार प्रमुख नेतृत्व नै हुन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ