अब कांग्रेसको नेतृत्व मधेशीले गर्नुपर्छ : सांसद चौधरी

तेजुलाल चौधरी, प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस

अन्तर्वार्ता

० पटक पटक मिति सार्दै नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिरमा गर्ने भनिएको छ, महाधिवेशन हुन्छ नै भन्ने सम्भावना कति छ ?

—नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुन्छ, अब मितिमा कुनै किसिमको फेरबदल हुँदैन । वडाहरुको अधिवेशन भदौ २३ गतेसम्म सम्पन्न गर्ने लक्ष्य  छ । कुनै–कुनै ठाउँमा क्रियाशील सदस्यताको विवाद देखिएको छ । ती विवादहरु मिलाउने प्रयास अझै भइरहेको छ । सबै विवादहरु समाधान भएर तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुन्छ ।

० अहिले पनि विभिन्न जिल्लाहरुमा क्रियाशील सदस्यता विवाद कायमै छ, महाधिवेशन समयमै सम्पन्न हुने कसरी विश्वास गर्न सकिन्छ ?

— पक्कै पनि २१ वटा जिल्लाहरुमा क्रियाशील सदस्यताको समस्या समाधान भएको छैन । तर, हामीलाई विश्वास छ कि एक दुई दिनमा यी समस्या समाधान हुन्छ । निर्णय भइसकेको छ, त्यो कार्यान्वयन गर्न केही समस्या आएको हो । तर कार्यान्वयनको प्रक्रियामा अगाडि बढिरहेको छ । 

० यसभन्दा अघि पनि कैयौं पटक महाधिवेशनको मिति तोकिएको थियो नि । यसपटकको मिति सर्दैन भन्ने कसरी विश्वास गर्ने ?

— महाधिवेशन तयारीका धेरै कामहरु अगाडि बढिसकेका छन् । विगतमा धेरै समस्याहरु थिए । विभिन्न कारणहरु पनि थिए । कोरोनाले पनि केही हदसम्म महाधिवेशन प्रभावित भयो । तर अहिले महाधिवेशनको प्रक्रिया धेरै अगाडि बढिसकेको हो । त्यसैले फेरि पनि तोकिएको मितिमा महाधिवेशन हुँदैन वा समयावधि थपिन्छ भन्ने कुनै सवाल छैन । 

० यो महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउने सम्भावना छ त?

— महाधिवेशनमा सभापतिलगायत विभिन्न पदाधिकारीमा धेरैको दाबेदारी देखिएको छ । एक त नेपाली कांग्रेसको विधान यसपालि समावेशी पनि छ । प्रदेशहरुमा पहिलोपटक चुनाव हुँदैछ । त्यसकारणले उम्मेद्वारहरु बढीभन्दा बढी देखिनु स्वाभाविक पनि हो । प्रजातान्त्रिक र लोकतान्त्रिक पार्टीमा बढी उम्मेद्वारी हुन्छ नै । यो महाधिवेशनबाट युवा नेता, कार्यकर्ता र जनताको चाहना नयाँ नेतृत्व आउनुपर्छ भन्ने नै हो । नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मान्यता छ । उम्मेद्वारहरु कोशिस गरिरहनुभएका छन् । युवाहरुको जोस जाँगरले कांग्रेसलाई हाँक्न सक्छ भन्ने हाम्रो विश्वास छ । कांग्रेसमा अहिले युवाहरुको पलरा भारी छ । 

० कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने तपाइँहरुको पनि चाहना हो ?

— निश्चितरुपमा समयको मागअनुसार नयाँ नेतृत्व आउनुपर्छ, युवा नेतृत्व आउनुपर्छ भन्ने हाम्रो पनि चाहना हो । समय र परिस्थितिअनुसार नेतृत्व परिवर्तन हुनुपर्छ । 

० पार्टी सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ फेरि पनि सभापतिका लागि उम्मेद्वार बन्ने चाहना राख्नु भएको छ नि ।

— उहाँ अहिले सभापति हुनुहुन्छ, प्रधानमन्त्री पनि हुनुहुन्छ । नेपाली कांग्रेसको विधान, प्रक्रिया र ऐन कानूनअनुसार महाधिवेशन हुने हो । त्यसकारणले उहाँले महाधिवेशनलाई प्रभावित गर्नुहुन्न । अब कांग्रेसको नेतृत्वमा कसलाई पु¥याउने त्यो त नेता कार्यकर्ताको इच्छा र चाहनाको कुरा हो । 

० कांग्रेसको आसन्न महाधिवेशनबाट मधेशले के अपेक्षा गर्न सक्छ त ?

— पक्कै पनि नेपाली कांग्रेसको जग नै मधेश हो । जब–जब कांग्रेसलाई मधेशले समर्थन गरेको छ, तब–तब कांग्रेस ठूलो पार्टी बन्छ, सत्ता सञ्चालन गर्छ । नेपाली कांग्रेसभित्र पनि मधेशको भूमिका अहम् छ । 

० मधेशी मूलबाट पहिलोपटक कांग्रेसको सभापतिका लागि उम्मेद्वारी घोषणा भएको छ । विमलेन्द्र निधिको सम्भावना कति छ ?

— विमलेन्द्र निधिजी कांग्रेसको उपसभापति हुनुहुन्छ । कांग्रेसमा उहाँको व्यक्तिगतरुपमा पनि निकै नै लगानी छ । कांग्रेसमा उहाँ निकै नै संघर्ष गरेको व्यक्ति हो । उहाँले सभापतिका लागि आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । वास्तवमा मधेशी मूलबाट पहिलोपटक सभापतिका लागि उम्मेदवारी घोषणा भएको हो । हामी सबैलाई आग्रह पनि गर्न चाहन्छौं कि यसपटक तराई–मधेशका नेता कांग्रेसको सभापति बनोस्, निर्विरोध होस् । अब कांग्रेसको प्रतिनिधित्व मधेशले गर्नुपर्छ भन्ने हाम्रो आशा छ । यसमा कांग्रेसका सम्पूर्ण नेताहरुले विचार पु¥याउनु पर्छ । कांग्रेसको जग भनेको तराई–मधेश हो, त्यहाँबाट उम्मेद्वार घोषणा भएको छ । तराई–मधेशको मतबाट मात्रै उहाँ जित्न सक्नुहुन्न, पहाड र हिमालका साथीहरुले पनि यसबारे ध्यान दिनुपर्छ ।

० सभापति शेरबहादुर देउवा गुटबाट विद्रोह गरेर निधिले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँलाई जित्न कतिको चुनौती छ ?

— कुनै पनि कुरामा चुनौती हुन्छ । कुनै उपलब्धि प्राप्त गर्न संघर्ष गर्नैपर्छ । उहाँको अगाडि चुनौती छ भने अवसर पनि छ । चुनौतीहरुको सामना गर्दै उहाँ अगाडि बढ्नुपर्छ । कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सहयोग गर्न म आग्रह पनि गर्न चाहन्छु । उहाँलाई तराई–मधेशबाट राम्रै मत आउँछ । 

० गठबन्धनको सरकार गठन भएको डेढ महिना भइसक्यो तर मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अप्ठ्याराहरु के–के छन् ?

— नेपाली कांग्रेसको नेतृत्वमा अहिले गठबन्धनको सरकार छ । सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । यसका धेरै अप्ठ्याराहरु छन् । मुख्यतः प्राविधिक समस्याकै कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । माधव नेपाल र उपेन्द्र यादवजीको तर्फबाट आउनुपर्ने नामावली अहिलेसम्म आएको छैन । तर भदौ २२ गतेपछि गठबन्धनका अन्य दलहरु पनि सरकारमा आउने सम्भावना देखिएको छ । गठबन्धनको सरकार रहेकोले प्रधानमन्त्री एक्लै केही गर्न सक्ने अवस्था छैन । 

० माधव नेपाल र उपेन्द्र यादवकै सरकारले पूर्णता पाउन सकेको छैन ?

— उहाँहरुले आफ्ना मन्त्रीहरुको नाम दिन सक्नुभएको छैन । उहाँहरुले २२ गतेपछि मात्रै नाम दिन सक्ने भन्नुभएको हो । 

० मन्त्रालय बाँडफाँडमा पनि कुरा नमिलेको हो कि ?

— मन्त्रालय बाँडफाँडमा त्यत्रो ठूलो समस्या छैन । गठबन्धनको बैठक बसेर मन्त्रालयको टुंगो लगाउन सकिन्छ । सबैले चाहन्छन् कि राम्रा–राम्रा मन्त्रालय मिलोस् । तर, त्यो सहज छैन । मन्त्रालय बाँडफाँडकै कारण अड्किएको होइन, प्राविधिक कारणहरु रहेका छन् । 

० यो सरकारले साझा न्यूनतम् कार्यक्रम तय गरेको थियो, त्यसमा कुनै प्रगति देखिएको छैन नि ?

— निश्चितरुपमा गठबन्धनको सरकारले आफ्नो न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरेको छ, जुन कार्यान्वयन हुन्छ नै । सरकारले अहिलेसम्म पूर्णता नपाएकोले कार्यान्वयनको दिशामा नगएको हो । सरकारले पूर्णता पाएलगत्तै साझा न्यूनतम् कार्यक्रममा गरिएका प्रतिबद्धताहरु पूरा हुन्छ । सरकारले गरेका प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । आफ्ना प्रतिबद्धताहरु यदि सरकारले पूरा गर्दैन भने त्यसको कुनै औचित्य नै रहँदैन । 

० सत्तारुढ गठबन्धनबीच नै मन्त्रालयहरुबारे कुरा मिलिरहेको छैन, यो सरकार पनि अर्लि इलेक्सनमै जाने त होइन ?

— यो सरकारले आफ्नो बाँकी कार्यकाल पूरा गर्छ । अर्लि इलेक्सनमा जाने कुरै छैन । तर, कांग्रेस चुनावबाट डराउने पार्टी होइन । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ