० निर्वाचन आयोगमा दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई नवगठित भन्ने कि पुनर्गठित ?
— कानूनी हिसावले हेर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त नवगठित नै हो । तर यो वास्तवमा न नवगठित पार्टी होइ न पुनर्गठित पार्टी नै हो । मधेश आन्दोलनले उठाएको मुद्दाहरुको नेतृत्व गर्न विभिन्न राजनीतिक दल, विभिन्न विचारधाराका नेतृत्वपंक्तिहरु एक ठाउँमा उपस्थित भएका थिए । एउटा बृहत् राजनीतिक शक्तिको निर्माण गर्ने आवश्यकता महसुस भयो । मुद्दा र एजेण्डा एउटै छ भने एक ठाउँमा उभेर अगाडि बढ्नुपर्छ भन्ने मधेशका आन्दोलनकारीहरुको धारणा थियो । सोही क्रममा विगतमा राजपा बन्यो, उता समाजवादी पार्टीको निर्माण भयो, त्यसपछि जनता समाजवादी पार्टी नेपाल बनेको थियो । तर जसपा निर्माण हुने बित्तिकै त्यहाँ वैचारिक द्वन्द्व पनि देखाप¥यो । लोकतान्त्रिक र वामपन्थी विचारधाराका नेतृत्वबीच तालमेलको स्थिति देखा परेन र मतभेद हुन थाल्यो । त्यो मतभेद बढ्दा–बढ्दै जसपा विभाजन भयो । वैचारिक आधारको कारणले जसपा विभाजन भएको हो । यसले के देखा परिरहेको छ भने लोकतन्त्रवादीहरु एकातिर र वामपन्थीहरु अर्कोतिर । अब मधेशमा दुईटा राजनीतिक शक्तिहरु छन्, एउटा लोकतान्त्रिक समाजवादी पार्टी र अर्को वामपन्थी विचारधारामा विश्वास गर्ने जनता समाजवादी पार्टी ।
० जसपाभित्र लोकतान्त्रिक र वामपन्थी विचारधाराबीचको मतभिन्नताका कारण लोसपाको गठन भएको हो ?
— निश्चितरुपमा । हामीले यसलाई यही दृष्टिकोणले हेर्नुपर्छ र यो नै वास्तविकता हो । यहाँ व्यक्तिगत आक्षेपको कुनै अर्थ छैन । वैचारिक आधारमा नै हामी छुट्टिएका हौं । दुई विचारधाराका राजनीतिक नेतृत्वपंक्ति एक ठाउँमा रहन सकेनन् । अर्को कुरा, वामपन्थी पार्टीमा आपसी कलह हुँदा तरंगित हुन्छन् । विगतमा नेकपामा जुन अवस्था सिर्जना भयो, त्यो कारणले जसपाका वामपन्थी साथीहरु पनि तरंगित हुनुभयो । उहाँहरु मधेश–थरुहट, आदिवासी जनजाति आन्दोलनका एजेण्डाहरु बिर्सिनुभयो ।
० उपेन्द्र यादव, डा.बाबुराम भट्टराईहरु वामपन्थी विचारधाराका हुन् भन्ने कुरा तपाइँहरुलाई थाहा थियो नि । तैपनि किन एकता गर्नुभयो त ?
— यो कुरा त्यतिखेर पनि छलफलमा उठेको थियो । हाम्रो पृष्ठभूमि लोकतन्त्रवादी हो, जबकी उपेन्द्र बाबुरामहरुको वामपन्थी हो । यी दुईटाबीच एकीकरण भयो भने यसले लामो यात्रा तय गर्न सकिँदैन भन्ने थाहा थियो । हामी सहकार्य वा गठबन्धनको संस्कृतिबाट अगाडि बढौं भन्ने कुरा उठेको थियो । उहाँहरु कम्युनिष्ट पार्टी परित्याग गरेर आएको भनेर भन्नुभयो । त्यतिखेर यो कुरालाई गम्भीरतापूर्वक बुझ्न सकिएन र यो परिस्थिति आयो ।
० भनेपछि, तत्कालीन राजपा र समाजवादीबीचको एकता अप्राकृतिक थियो ?
— कसलाई अप्राकृतिक भन्ने ? यहाँ लोकतन्त्रको स्थापनापछि घोर कट्टरपन्थी पञ्चहरुसँग पनि लोकतन्त्रवादीहरुले सरकार बनाएकै छन्, वामपन्थीहरुले पनि सरकार बनाएकै छन् । महन्थ ठाकुरले प्रतिगमनकारीलाई समर्थन गर्नुभो भन्ने आरोप लगाउँछन् । तर यो आरोप उसले लगाएका छन्, जो पहिले नै केपी ओलीको सरकारमा बसेर आएका हुन् । त्यसकारणले प्राकृतिक, अप्राकृतिक केही पनि होइन । नेपालको राजनीतिमा वैचारिक आधार, सोचलाई त्यति महत्व दिइँदैन, यहाँ सत्ताको राजनीति भइरहेको छ । अहिलेकै गठबन्धनलाई के भन्ने ? तर मूल कुरा के हो भने अब जसपामा वामपन्थी विचारधाराका नेताहरु छन् । यता, लोसपामा वामपन्थी विचारधाराका नेताहरु लगभग छैनन् । लोसपाका सबै नेतृत्वपंक्ति लोकतन्त्रमा विश्वास गर्छन्, लोक कल्याणकारी राज्यमा विश्वास गर्छन् । समानता, समावेशिता, स्वशासनमा विश्वास गर्छन् । संघीयतालाई संस्थागत गर्ने कुरामा विश्वास गर्छन् ।
० लोसपा र जसपामा सैद्धान्तिक वा एजेण्डागत कुरामा कतिको भिन्नता छ ?
— मधेश–थरुहट, सीमान्तीकरणमा परेका जनताको एजेण्डा स्पष्ट छ, जसले समानता, समावेशिता, राज्यको हरेक अंगमा हिस्सेदारी खोजिरहेका छन् । त्यसैले विभेदबाट मुक्ति नै हाम्रो एजेण्डा हो । फरक के छ भने लोकतन्त्रवादीहरु लोकतान्त्रिक पद्धतिबाट सबै एजेण्डाको सम्बोधन चाहन्छ । तर वामपन्थीले त लोकतन्त्रमा विश्वासै गर्दैन । उनीहरु लोकतन्त्रलाई एउटा हतियारको रुपमा मात्र प्रयोग गर्छन् । त्यो कुरा नेताहरुको विभिन्न बेलामा भाषणहरु सुनेर नै थाहा हुन्छ । वामपन्थीहरुले राजनीतिक कारणले लोकतन्त्रको कुरा गरिरहेका हुन्छन् । आउने दिनमा अझै स्पष्ट भएर आउँछ ।
० आगामी दिनमा लोसपा र जसपाबीच एकता हुने सम्भावना रहन्छ कि नाई ?
— यो राजनीति हो । त्यसमा पनि नेपालको राजनीतिक संस्कृतिमा त झन् कुनै कुरा असम्भव छैन । तर मेरो नजरमा त्यसरी हुनु नै हुन्न । किनभने राजनीतिक दल भनेको वैचारिक आधारमा खडा हुनुपर्छ । एउटा साझा स्वार्थ, माग, एजेण्डाका निम्ति राजनीतिक दलहरु बन्छन् । त्यसकारणले आगामी दिनमा त्यस्तो होला जस्तो मलाई लाग्दैन । भोलिका दिनमा पनि यदि मधेश–थरुहट, आदिवासी जनजातिको एजेण्डाका निम्ति कुनै शक्ति प्रतिबद्ध छन् भने ती शक्तिहरु आफूमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ । कुरो अर्को पनि छ, एजेण्डाको सम्बोधन लोकतान्त्रिक परिपाटीमा गर्ने कि वामपन्थी शैलीबाट । वामपन्थी शैलीबाट पुख्ता लोकतन्त्रको अभ्यास हुन सक्दैन । हामीले विधिको शासनलाई अगाडि बढाउनुपर्छ, विधिको मर्म र भावनालाई पनि बुझ्नुपर्छ ।
० जसपासहितको गठबन्धनको प्रदेश र संघमा सरकार छ । यो गठबन्धन चुनावसम्म हुने भनिएको छ । लोसपा आगामी निर्वाचनमा कसरी प्रस्तुत हुन्छ ?
— हाम्रो रणनीति र एजेण्डालाई अगाडि बढाएर यदि हाम्रो पार्टी जान सक्यो भने जनताको समर्थन प्राप्त गर्न सक्छ । अहिले गठबन्धनको स्थिति के हुन्छ भन्ने कुरा स्पष्ट नै छैन । प्रदेशहरु र संघमा गठबन्धनको सरकार त छ तर संघमा सरकार नै विस्तार हुन सकेको छैन । गठबन्धनको सरकारको अवस्था त सबैले हेरिरहेकै छन् । वैचारिक वा कार्यक्रमको आधारमा यो गठबन्धन त बनेकै होइन । केन्द्रमै त्यो गठबन्धनको अवस्था त्यस्तो छ भने भोलि प्रदेशमा गठबन्धनको अवस्था कस्तो होला भन्न सकिँदैन । कांग्रेस, माओवादी, माधव नेपालको पार्टीहरु त विगतमा मधेश विरोधीकै रुपमा रहँदै आएका छन् । आगामी दिनमा यो स्पष्ट हुँदै जान्छ । आउने दिनमा यी कुराहरु स्पष्ट भएपछि स्थिति प्रष्ट हुन्छ । त्यतिबेला हामी कुन रणनीतिमा अगाडि बढ्ने भन्ने कुरा हुन्छ । यो देशका निम्ति लोकतान्त्रिक मोर्चा यतातिर हुनुपर्छ र वामपन्थी मोर्चा अर्कोतिर हुनुपर्छ । लोकतान्त्रिक समाजवादी पार्टी आफ्नो एजेण्डा र नीतिलाई अगाडि बढायो भने महत्वपूर्ण योगदान हुन सक्दछ ।
० राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको एमसीसीबारे लोसपाको स्पष्ट धारणा देखिएन नि ?
— एमसीसीबारे अहिले लोसपामा छलफल नै भएको छैन । किनभने सरकार नै अहिले प्रष्ट छैन । अहिले गठबन्धनको सरकार छ । कांग्रेसको एउटा धारणा देखिन्छ र माओवादी केन्द्रको फरक–फरक धारणा देखिन्छ । माधव नेपालजीहरुको धारणा आइसकेको छैन । उपेन्द्र यादव र बाबुराम भट्टराईजीहरुको पनि धारणा आइसकेको छैन । त्यसैले पनि त गठबन्धन स्पष्ट हुनुप¥यो, त्यसपछि हामी छलफलमा जान्छौं । तर मेरो व्यक्तिगत दृष्टिकोण जुन सम्झौता देशको हितमा र पूर्वाधार खडा गर्ने पक्षमा छ भने त्यसको विरोध गर्ने कुनै तुक छैन । यो देशलाई भूमरी र द्वन्द्वमा फँसाउनेहरुको षड्यन्त्र हो । अब जनताले विस्तारै बुझ्दै गएका छन् । एमसीसी त अनुदानको कार्यक्रम हो । अमेरिकाले त प्रष्ट गरिसकेको छ कि यो कुनै सैन्य संगठनको अंग होइन । त्यसकारणले पहिले गठबन्धनको प्रष्ट धारणा आओस्, त्यसपछि हाम्रो पार्टीले छलफल गरेर यसबारे निर्णय पनि गर्छ ।
तपाईको प्रतिक्रिया