जब अधिकार खोसिन्छ त्यसपछि विरोधको कुनै सीमा नै रहँदैन

रेखा कुमारी झा, प्रतिनिधिसभा सदस्य, नेकपा (एमाले)

अन्तर्वार्ता

० सभामुखलाई माइकले हान्न खोज्नुभयो भने तपाइँको चर्चा छ । के हो वास्तविकता ?

— यस विषयमा मैले आफ्ना कुर प्रष्ट पारिसकेको छु । विरोधका लागि एउटा त्यो परिवेश थियो । अहिले पनि हामी संसदमा सबभन्दा ठूलो दलको हैसियतमा छौं । संसद सचिवालय सञ्चालनको एउटा पद्धति र नियमावली छ । संसदमा आफ्ना कुरा उठाइरहँदा सभामुखले हाम्रो कुरालाई नजरअन्दाज गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षीलाई पेलेर संसद चलाउन खोज्नुभयो । जब सदनमा विरोध भइरहेको छ भने बैठक रोकेर असन्तुष्टहरुको अभिव्यक्ति राख्न दिनुपर्दथ्यो । तर उहाँले सदनको विधि, पद्धति र नियमावली तोडेर सभामुखको गरिमालाई लात हानेर हैकमवादी प्रवृत्ति देखाउनुभयो । त्यसको हामीले विरोध गरेका थियौं । 

० तर तपाइँले सभामुखलाई माइकले नै हान्न खोज्नुभयो नि ?

— सभामुखले अघिल्लो दिन अर्थमन्त्रीलाई बोलाउँदा भागेर रोष्टममा पुग्नुभयो । तर अर्कोचोटि उहाँ रोष्टममा कसरी जानुभयो त्यो कुरा कसैलाई थाहा छैन । त्यहाँनिर हाम्रो आपत्ति छ । सभामुखले बोलाउनुभन्दा अगाडि नै त्यहाँ लुकेर बस्नुभएको थियो । अर्थमन्त्री सभामुखको पछाडि लुकेर बस्नु कुन नैतिकता हो ? त्यसैले मैले आवाज उठाएँ कि यो ठिक भएन । उहाँ सदनको रोबाट जानुपर्दथ्यो । यदि हामी सक्थ्यौं भने रोक्थ्यौं । तर हामी रोक्न पाएनौं । मैले विरोध गर्दा सत्तापक्षका केही माननीयज्यूहरुले प्रतिवाद गर्न लाग्नुभयो । जबकि त्यो नियम कानूनमा छैन । प्रतिपक्षले विरोध गर्छ तर सत्तापक्षमा संयमता र धैर्यता हुनुपर्छ । मैले विरोध गर्दा सत्तापक्ष र मार्सलले घेरेपछि मैले माइक खोसें । मैले यहींबाट सभामुखलाई हान्छु भने । संसदभित्रको दमन बन्द गर्नुपर्छ । जब मान्छेको अधिकार खोसिन्छ त्यसपछि विरोधको कुनै सीमा हुँदैन । 

० तपाइँहरु प्रतिपक्षमा बस्नुपर्दाको पीडा पोखिरहनुभएको छ ?

— यो त सामान्य कुरा हो । लोकतन्त्रमा यस्ता प्रक्रिया चलिरहन्छ, कहिले हामी सत्तामा हुन्छौं भने कहिले प्रतिपक्षमा । हामीले त्यो कुराको रीस पोखेकै होइन । हाम्रो पार्टीले अनुशासन उल्लंघन गर्ने १४ जना सांसदहरुलाई कारबाही ग¥यो, तर त्यो कुरालाई सभामुखले बेवास्ता गर्नुभएको छ । यसअघि सरिता गिरीलाई कारबाही गरेको केही घण्टामै सूचना निकालियो । त्यस्तै, माओवादीका सांसदहरुको हकमा पनि त्यस्तै सूचना आयो । तर सभामुख माओवादीको एउटा कार्यकर्ताको भूमिका निर्वाह गर्नुभयो । एमालेले गरेको कारबाहीलाई नमान्ने तर अन्य दलहरुले गरेको कारबाहीलाई केही घण्टामै स्वीकृत गर्ने ? यो कस्तो पद्धतिको विकास गरिँदैछ । उहाँ कुनै पार्टीको सभामुख होइन, पूरै संसदको अभिभावकको भूमिका निर्वाह गर्नुपर्दथ्यो । 

० यो मुद्दा त अदालतमा पनि विचाराधीन छ नि । सभामुखले कसरी सूचना निकाल्न सक्नुहुन्छ ?

— अदालत र सभामुखको कार्यक्षेत्र फरक–फरक छ नि । जब कुनै दलले आफ्ना सांसदलाई कारबाही गर्छ भने सभामुखले त्यसका लागि अदालतको मुख ताकेर बस्नुपर्दैन । दलीय व्यवस्थामा राजनीतिक दलको आफ्नो विधि, विधान र कानून हुन्छ । दलको अनुशासनविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने अधिकार दललाई नै हुन्छ । कुनै दलले आफ्नो सांसदलाई कारबाही गरेपछि सभामुखले त्यसको सूचना निकाल्ने हो, अदालतले के फैसला गर्छ वा गर्दैन त्यो हेरेर बस्ने होइन । सदनभित्रको छुट्टै कानून छ । अदालतको आफ्नो दायरा छ । 

० भनेपछि यो सभामुख रहेसम्म एमालेले संसद चल्न दिँदैन ?

— यथास्थितिमा संसद चल्न दिन्नौं । सभामुखले जुन अराजक विधि र पद्धतिको विकास गर्न खोज्नुभएको छ, त्यसको हामी विरोध गरेका छौं । सभामुख सच्चिनुपर्छ । सदनमा दमन, शक्ति प्रदर्शन लगायतका अराजक गतिविधि चल्दैन । उहाँले विधिको शासनलाई अवलम्बन गर्नुपर्छ, पदको गरिमा बुझ्नुपर्छ । 

० तर, एमालेले त छलफलमै आउन मान्दैन । कसरी निकास निस्किन्छ त ?

— सभामुखको नियतमा खोट छ । उहाँ त कुनै पार्टी र व्यक्तिको झोले हो । त्यसैले, उहाँसँग सर्वदलीय बैठक बसाउने हैसियत नै छैन । उहाँको भूमिकामाथि आशंका छ, उहाँले बोलाएको बैठकमा कसरी जाने ? असोज ४ गतेको लागि संसदको बैठक बोलाइएको छ, हामी अवरोध गर्छौं । भोलिका दिनमा उहाँ सच्चिएर, नियम कानूनमा टेकेर संसद सञ्चालन गर्नुभयो भने हाम्रो कुनै अवरोध हुँदैन । नियमावली र देशको कानूनभन्दा माथि कोही पनि छैन । 

० दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने एमालेले आफ्नो कुरालाई सही ठह¥याउन यस्तो गतिविधि गरिरहेको छ भन्ने आरोप छ नि ?

— यो गलत कुरा हो । त्यतिबेला प्रतिनिधिसभा विघटन गर्नुको परिवेश बेग्लै थियो । जब कुनै विकल्प हुँदैन, अनि देशलाई बन्धक बनाइराख्नुभन्दा जनताको बीचमा जानु लोकतान्त्रिक अभ्यास हो । जनताले पाँच वर्षका लागि हामीलाई बहुमत दिएर पठायो तर केही मान्छेहरुले अनिर्णयको बन्दी बनाउन खोज्दा ताजा जनादेशको लागि जनताको बीचमा जानु अन्याय होइन । देशलाई अस्थिरतामा धकेल्न विभिन्न देशी–विदेशी शक्तिहरुले षड्यन्त्र रचिरहेका थिए । 

० सत्तारुढ गठबन्धनसँग एमाले एक्लै भिड्न सक्छ ?

— जति बेला सबै दल एक ठाउँमा थिए, एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा जाउँ भन्नुभएको थियो । तर गठबन्धनमा भनिएका दलहरु चुनावमा जान डराएका थिए । हामी जनताको बीचमा जान कहिल्यै पनि डराउँदैनौं । जनतालाई थाहा छ, कोसँग विकास र समृद्धिको एजेण्डा छ, जनताले हामीलाई फेरि पनि बहुमत दिएर सदनमा पठाउँछ । अरुहरुले जतिसुकै गठबन्धन बनाए पनि उनीहरुको चरित्र हेरिसकेका छन् । सत्ता स्वार्थका लागि मात्रै यो गठबन्धन बनाइएको हो । परमादेशी सरकार गठन भएको दुई महिना भइसक्यो, तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन । जनतालाई बन्धक बनाएर राखिएको छ । एमसीसी संसदमा ल्याए भने गठबन्धन पनि भत्ताभुङ्ग हुन्छ र यो सरकार पनि ढल्छ । यो सरकारसँग हिम्मत छ भने एमसीसी टेबुल गरेर देखाओस् । प्रधानमन्त्री देउवाले पनि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्छ ।

० तपाइँ पहिलोचोटि संघीय संसदमा आउनुभयो, मधेशका महिलाहरुलाई राजनीतिमा कतिको अप्ठ्याराहरु छन् ?

— राजनीतिमा लाग्नका लागि विशेष अध्ययन हुनुपर्छ । हिजोको भन्दा अहिले विशेष परिस्थिति छ । तैपनि मधेशका महिलाका लागि राजनीतिमा लाग्न र टिक्न धेरै चुनौतिहरु छन् । पितृसत्तात्मक सोचले जकडिएको हाम्रो समाज हो । त्यसबाट उन्मुक्तिका लागि समय लाग्छ । हाम्रा समाजमा विभिन्न कुप्रथाहरु छन्, त्यसलाई हटाउनुपर्ने छ । विभिन्न अप्ठ्याराहरु छन् ।

० तपाइँ राजनीतिमा कसरी लाग्नुभयो ?

— म एसएलसी पास गर्ने आफ्नो गाउँमा एक्लो महिला थिएँ । आफ्नो घरबाट तीन किलोमिटर बाटो हिंडेर विद्यालय जान्थे । त्यतिबेला मैले धेरै समस्या भोग्नुपरेको थियो । सुरुदेखि नै मेरो लक्ष्य पढेर समाजमा परिवर्तन गरौं भन्ने थियो । म लोकसेवामा दुई–तीन थरिमा नाम निकाले । त्यसपछि शिक्षण पेसा रोजें । मैले शिक्षण पेसा यसकारण पनि रोजें कि समाजमा परिवर्तन ल्याउनुछ भने सबभन्दा पहिला शिक्षाको आवश्यकता हुन्छ । मैले शिक्षामा छोरीहरुको पनि सहज पहुँचका लागि घरदैलो कार्यक्रम, अभिभावक भेला गथ्र्यौं । त्यसमा समाजमा राम्रो सन्देश जान थाल्यो । त्यतिबेला शिक्षक युनियन थियो, त्यसको केन्द्रीय सदस्य भएँ । त्यसपछि जिल्लाको सचिव, उपाध्यक्ष हुँदै राजनीतिमा सक्रिय भएँ । मैले आफ्नो आवाज उठाउनका लागि शिक्षण पेसा त्यागेर राजनीतिमा सक्रिय भएँ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ