वर्तमान निर्वाचन प्रणाली नै मधेशको मूल शत्रु हो : संयोजक महतो

कैलाश महतो, संयोजक, स्वाधीन मधेश जनअभियान

अन्तर्वार्ता

० स्वाधीन मधेश जनअभियान के गर्दैछ ?

— मधेशको स्वाधिनताका लागि स्वाधीन मधेश जनअभियान विभिन्न कार्यक्रमहरू गर्दैछ । जसअन्तर्गत अन्तरक्रिया, गोष्ठी, जनजागरणको माध्यमले आफ्ना कुराहरू जनतालाई बुझाउने कार्यहरू हामी गर्दैछौं । 

० जनअभियानको उद्देश्य के हो ?

— कुनै पनि उद्देश्य प्राप्तिका लागि सबभन्दा पहिला त जनजागरण चाहियो । हामी स्वाधिन मधेश जनअभियानको माध्यमले मधेशको स्वतन्त्रता नै चाहन्छौं । तर हाम्रो स्वतन्त्रताको स्वरूप फरक छ । हिजो हामीले स्वतन्त्र मधेश गठबन्धनको माध्यमले मधेशलाई छुट्टै राष्ट्र बनाउने अभियानमा थियौं, त्यस्तो मधेश हामीले चाहेका छैनौं । 

० मधेशलाई छुट्टै राष्ट्र बनाउने अभियान होइन ?

— होइन । हामीले स्वतन्त्रतालाई तीन क्याटेगोरीमा बाँडेका छौं । पहिलो, देश टुक्र्याएर स्वतन्त्र हुने । दोस्रो, शासकलाई मधेशबाट भगाएर स्वतन्त्र हुने । तेस्रो, सबैलाई समेटेर आ–आफ्नो जनसंख्याको अनुपातमा पूर्ण आजादी यो देशभित्रै पाउनु पनि स्वन्त्रता हो । त्यो स्वतन्त्रताको हामी वकालत गर्दैछौं । 

० देशभित्रै पूर्ण आजादी भनेको हो ?

— स्वतन्त्र मधेश गठबन्धनले अलग देशकै कल्पना गरेको थियो । यो कल्पना मात्रै होइन, हाम्रो नारा पनि थियो ‘आजादी से एक इन्च भी कम नही, शर कट भी जाए तो कोई गम नही’ । मधेश नेपालको भाग होइन, यो अलग देश हो भन्दै थियौं । तर यो स्वाधीन मधेश जनअभियानले देशलाई भूमिको रूपमा नटुक्र्याएर जसरी नेल्सन मण्डेलाले आफ्नो देशमा बाहिरबाट शासन गरिरहेका १३% गोराहरू र ८७% कालाहरूलाई सबैको आआफ्नो जनसंख्याको अनुपातमा पूरा अधिकार दिएर त्यहाँ समानुपातिकताको आजादी लिए त्यहीं स्वतन्त्रता हामीले खोजेका छौं । यो कुरा मधेशीले मात्र होइन, नेपालका प्रत्येक बहिष्कृत समुदायलाई राज्यको मूलधारमा ल्याउने हाम्रो नारा हो ।

० अहिले निर्वाचन पनि नजिकिँदै गएको छ, यो चुनावको तयारी त होइन ?

— हामी लोकतन्त्रलाई मान्दछौं भने निर्वाचनलाई अस्वीकार गर्न सकिन्न । तर अहिलेको निर्वाचन प्रणाली भनेको निर्वाचनको लागि मात्र निर्वाचन हो । भ्रष्टाचार र अनियमितताका लागि मात्रै निर्वाचन हो । यसले देशलाई निकास दिने सम्भावना छैन । यो मिश्रित निर्वाचन प्रणाली देशको लागि अभिषाप हो । यो मिश्रित निर्वाचन प्रणाली पूर्णरूपमा परिवर्तन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गरियोस् ताकि स्वाधीन मधेश जनअभियानले पनि चुनावमा भाग लिन पाउन् ।

० आगामी निर्वाचनमा तपाइँहरू भाग लिने कि नलिने ?

— यही निर्वाचन प्रणालीमा हामी भाग लिँदैनौं, हामी विरोधमा जान्छौं । 

० तपाइँहरूले सडकबाटै पूर्ण समानुपातिक निर्वाचन प्रणाली कसरी लागू गराउन सक्नुहुन्छ ?

— दुनियाँको जुनसुकै राजनीतिक परिवर्तन वा आमूल परिवर्तन सदनबाट भएको छैन । नेपालमा पनि जुनसुकै परिवर्तन भएको छ, त्यो सडकबाटै भएको हो । सदनले त मात्र बजेट पारित गर्ने, सरकार बनाउने, विकासका परियोजनाहरू ल्याउने काम गर्छ । विकासका परियोजनाहरू पनि नेपालको जुन सदनले ल्याउँछ, त्यो समाजबाट बहिष्कृत छ, समाजको अहितमा छ । त्यसकारण, हामी सदनमा नहुँदैमा केही फरक पर्दैन । सदनमा गएर के गर्ने ? त्यहीं भ्रष्टाचार गर्ने, बजेट चलाउने, दुष्कर्म गर्ने । यसलाई हटाउनकै लागि सडक आन्दोलन चाहिन्छ र हामी सडक आन्दोलनकै पक्षमा छौं । 

० सडकबाट परिवर्तन त हुन्छ । तर जनताले तपाइँहरूलाई कसरी विश्वास गर्छ ?

— जनसागर उर्लिने भनेको विचारमा हो । हामीसँग विचार, मुद्दा र योजना छन् । हामीसँग नेता, कार्यकर्ता र टिम छ । कुनै पनि आन्दोलनमा पहिला जनता आउँदैन, नेता र विचार आउँछ । हामीले नै सुरू गरेको स्वतन्त्र मधेश गठबन्धनमा जब हामी अगाडि बढ्यौं, त्यसपछि जनताले पनि साथ दिन थाले । मधेशमा समस्या, पीडा, दोहन, शोषण छ । जब–जब शोषण हुन्छ, तब–तब विद्रोह हुन्छ । 

० भनेपछि मधेशमा फेरि विद्रोह हुन्छ ?

— विद्रोह अवश्य हुन्छ, हुनैपर्छ । विद्रोह मधेशमा मात्रै होइन, देशमै हुन्छ । जबसम्म यहाँ अन्याय, अत्याचार, कमिशनतन्त्र, घुसतन्त्र, लुटतन्त्र रहन्छ, तबसम्म जनताले विद्रोह गर्नुपर्छ । 

० अब हुने विद्रोहको नेतृत्व कसले गर्छ ?

— अब हुने विद्रोह नयाँ ढंगले अगाडि बढ्छ । यसमा नयाँ युवापीढि आउँछ, नयाँ ढंगले नेतृत्व आउँछ । मधेश विद्रोहबाट जसरी उपेन्द्र यादवलाई मसिहाको रूपमा भनियो । त्यतिबेला मधेशले उनीमाथि विश्वास र भरोसा ग¥यो । तर मधेशको आशा, विश्वास र भरोसामाथि उपेन्द्र यादव लगायत कुनै पनि नेता टिक्न सकेनन् । अहिले मधेशको मसिहा कोही पनि छैन । 

० अहिलेको संसदमा मधेशको प्रतिनिधित्व गर्दै दुईटा दल छन्, प्रदेशमा सरकार बनाएको छ, स्थानीय तहमा छन् । जनता फेरि किन विद्रोहमा आउँछन् ?

— मधेशको प्रतिनिधित्व सदनमा छ, शासनमा छैन । प्रदेश २ मै पनि मधेशी सत्तामा छ, शासनमा छैन । संसद होला, उसको सत्ता छैन । प्रदेश २ मात्रै होइन, सातवटै प्रदेशको कुनै औकात छैन । तिनीहरू सबैको नियन्त्रण संघीय तन्त्रमा छ । जब प्रदेशले आफ्नो आवश्यकताअनुसार आफ्नो अधिकार प्रयोग गर्न पाउँदैन भने त्यो कठपुतली सरकार हो । 

० मधेशमा वैकल्पिक शक्तिको आवश्यकता महसुस भइरहेको छ ?

— बिल्कुल आवश्यकता छ । वैकल्पिक शक्ति नआएसम्म मधेशले आफ्नो प्राप्त गर्न सक्दैन । 

० मधेशमा वैकल्पिक शक्तिको रूपमा झण्डा गाड्ने भनेर डा.सीके राउत नेतृत्वको पार्टीको दाबी छ नि ?

— सबभन्दा पहिला वैकल्पिक शक्ति भनेको के हो बुझ्नुपर्छ । सारा शक्तिहरूलाई हराउँदै आफ्नो मजबुत उपस्थिति देखाउनुलाई वैकल्पिक शक्ति भनिन्छ । त्यो वैकल्पिक शक्ति स्वतन्त्र मधेश गठबन्धन भन्ने संस्था थियो, अब छैन । जनमत पार्टी वैकल्पिक शक्ति हुने कुनै छाँटकाँट छैन । स्वतन्त्र मधेश गठबन्धनका बखत डा.सीके राउतप्रति जुन आकर्षण थियो, अहिले ह्रास हुँदै गएको छ । अहिले संघीय संसदमा २७५ सिट छ जसमा ११० समानुपातिक र १६५ प्रत्यक्ष छन् । त्यहीं चुनाव हो मधेशका लागि सबभन्दा ठूलो शत्रु । त्यसैलाई हामी परिवर्तन गर्न चाहन्छौं । पूर्ण समानुपातिक निर्वाचन प्रणाली देश र मधेशलाई चाहिन्छ । 

० तपाइँ डा.सीके राउतको जनमत पार्टीमा जाने तयारी गर्दै हुनुहुन्छ भन्ने चर्चा पनि छ नि ?

— म डा.सीके राउतको पार्टी मात्रै होइन, यदि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दाका लागि जोसँग पनि सहकार्य गर्न तयार छु । म सीके राउतको नियतलाई विरोध गरेको छु, व्यक्तित्वलाई विरोध गरेको छैन । उनी या त फेरि स्वतन्त्र मधेशको मुद्दा उठाउन्, म आज पनि स्वतन्त्रताका लागि जेल बस्न तयार छु । अथवा स्वाधिन मधेश जनअभियानले उठाएको पूर्ण समानुपातिक निर्वाचन प्रणाली मुद्दालाई उठाउन् हामी सहकार्य गर्न तयार छौं ।

० अहिलेको अवस्था सीके राउतसँग सहकार्य हुँदैन ?

— उनीसँग कुनै मुद्दा छैन । चुनाव लड्ने र जित्ने बाहेक अन्य कुनै मुद्दा छैन । 

० तर उहाँले जनता राज ल्याउने भन्नुहुन्छ ?

— जनता राज त सदनबाट हुन्छ । यदि मधेशभरिबाट पनि सबै सिट जिते पनि सीके राउतले कमा समेत परिवर्तन गर्न सक्दैन । जनता राज, १० लाख युवालाई रोजगारी, विकास समृद्धि, मधेश स्वराज हावादारी कुरा हो । सीके राउतको घरमा नियम कानून बन्छ ? यी कुराहरू त सदनले बनाउने हो नि । सदनमा बहुमत आएपछि न यी कुराहरू लागू गर्ने हो । अहिलेको निर्वाचन प्रणालीमा मधेशले जति पटक चुनाव लडेपनि ३०–३२ सिटभन्दा बढी ल्याउने सम्भावना छैन । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ