० नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन यसपटक तोकिएकै मितिमा सम्पन्न होला ?
— निश्चितरूपमा यसपटकको मितिमा महाधिवेशन सम्पन्न हुन्छ । लगभग धेरै जिल्लाहरूमा अधिवेशन सम्पन्न भइसकेका छन् र अधिकांश जिल्लाहरूमा मतदाता नामावलीसमेत तयार भइसकेको छ । प्रदेश २ का जिल्लाहरूमा पनि प्रक्रिया अगाडि बढिसकेको छ । प्रदेश अधिवेशनको पनि मिति तय भएर अगाडि बढिसकेको अवस्थामा केन्द्रीय अधिवेशन लगभग निश्चित नै भइसकेको छ ।
० कतिपय वडा तथा जिल्लाहरूमा विवाद देखिएको छ, निर्वाचन अधिकृत कुटाइ खानुपरेको वा राजीनामा दिनुपरेको अवस्था छ । सर्लाही जिल्लामा त गोली नै चल्यो नि ?
— सबै ठाउँमा नेपाली कांग्रेसको सिद्धान्त र आचारसंहिता नै लागू हुने किसिमका नेता कार्यकर्ताहरू हुन्छन् भन्ने अवस्था हुँदैन । केही ठाउँहरूमा उच्छुङ्खलता पनि हुन्छ । त्यसमा सर्लाहीको घटना देखिएको हो । विगतका अधिवेशनहरूलाई पनि हेर्ने हो भने ५÷७ वटा जिल्लाहरूमा समयमा अधिवेशन हुन नसके पनि केन्द्रीय अधिवेशन भएको अवस्था छ । अहिलेको परिस्थिति हेर्दा एउटा सर्लाही मात्रै त्यस किसिमको दुर्घटना भएको अवस्था छ । त्यसकारण अन्य जिल्लाहरूमा अधिवेशन सम्पन्न भयो भने एउटा जिल्लाले गर्दा अधिवेशन रोकिने अवस्था आउँदैन ।
० सर्लाहीमा अधिवेशन गर्न अवस्था सामान्य भएन भने के गर्ने ?
— एउटा जिल्लाले गर्दा समग्र महाधिवेशनलाई प्रभावित गर्ने अवस्था छैन ।
० भनेपछि मंसिरभित्रै केन्द्रीय अधिवेशन सम्पन्न हुन्छ ?
— एक दुई दिन तलमाथि भएर पनि मंसिर भित्रै केन्द्रीय अधिवेशन सम्पन्न हुनेछ ।
० अहिलेसम्मको अवस्था हेर्दा सभापतिमा कसको पल्ला भारी देख्नुहुन्छ ?
— महाधिवेशन प्रतिनिधिले केन्द्रमा नेतृत्व चयन गर्ने चयन हो । विगत महाधिवेशनमा कसको बाहुल्यता र को कम–बढी भन्ने कुरा महाधिवेशन प्रतिनिधिमा फरक पार्ने हो । महाधिवेशन प्रतिनिधि व्यक्तिको अवस्थामा फरक पार्दछ । अहिलेसम्मको अधिवेशनको परिणाम हेर्ने हो भने सभापति शेरबहादुर देउवाको पक्षमा स्पष्टरूपमा बहुमत देखिन्छ । व्यवस्थापन सबैभन्दा ठूलो जटिल विषय हो । महाधिवेशनमा व्यवस्थापन गर्न सकिएन त्यसले समीकरण परिवर्तन गर्ने अवस्था पनि देखिन्छ । उपभापति, महामन्त्री र सहमहामन्त्रीमा व्यवस्थापन गर्न सकियो भने शेरबहादुरजी सशक्तरूपले अगाडि आउनुहुन्छ । अर्कोतिर मोर्चा बनाउने वा सहकार्य गरेर जाने देखिएको छ तर एउटा सभापतिको उम्मेद्वार तय गर्न सक्नुभएको छैन । त्यसैले यो महाधिवेशनको बढीभन्दा बढी फाइदा शेरबहादुरजीलाई हुने देखिन्छ ।
० भनेपछि फेरि पनि शेरबहादुर देउवा नै सभापति हुने प्रवल सम्भावना छ ?
— अहिलेसम्म सिनारियो, महाधिवेशन प्रतिनिधिको अवस्था र रूझान हेर्दा उहाँकै पक्षमा परिणाम आउने देखिएको छ ।
० तर सभापति शेरबहादुर देउवाका सबभन्दा नजिकका र सहयोगी रहँदै आउनुभएका उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ । निधि देउवाबाट अलग्गिँदा कतिको असर पर्न सक्छ ?
— शेरबहादुरजीको सहयोगीको रूपमा हेर्दा अहिलेसम्म विमल दाइले नै सहयोग गर्दै आउनुभएको छ । यो कुरामा कुनै दुईमत छैन । यो कुरालाई उहाँले व्यवस्थापन गर्नुपर्छ । तराईको प्रभावशाली प्रतिनिधि विमल दाइ भएकोले शेरबहादुरजीले सकभर व्यवस्थापन गर्नुपर्छ । समग्रमा हेर्दा प्रदेश २ को आठवटा जिल्लामध्ये एउटा जिल्ला प्रभावित भएको अवस्था छ । विमल दाई शेरबहादुरजीको सबैभन्दा अन्तरंग सहयोगीको रूपमा भएको नाताले पनि उहाँ छुट्टिदा नैतिकरूपमा शेरबहादुरजी कमजोर हुनुहोला ।
० तपाइँहरूको चाहना के हो ?
— शेरबहादुरजीले नै मलाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेपछि उहाँप्रति आफ्नो नैतिक दायित्व पूरा गर्नु हो । यसका साथसाथै मेरो अर्को दायित्व भनेको मधेशको नेताको रूपमा स्थापित विमलेन्द्र निधिजीलाई पनि शेरबहादुरजीले व्यवस्थापन गर्नुपर्छ ।
० विमलेन्द्र निधिलाई एक पटक किन नेतृत्व दिन सकिँदैन ?
— पार्टीको नेतृत्व गरिसकेपछि उहाँको पछाडिका साथीहरूको एउटा दबाब छ कि तपाइँ नै सबैलाई समेटेर अगाडि बढ्नुस् र विमल दाईलाई पनि नछोड्नुस् भन्ने कुराहरू उठेका छन् । त्यसले गर्दा अन्तिम समयसम्म विमल दाईले आफूलाई सभापतिको रूपमा प्रस्तावित गर्नुहोला जस्तो मलाई लाग्दैन ।
० तर, विमलेन्द्र निधि ब्याक नहुने र आफ्नो योजना तथा कार्यक्रमसमेत सार्वजनिक गरिसक्नुभएको छ नि ?
— विमल दाइको अहिलेको राजनीतिक परिस्थितिलाई हेर्दा उहाँले सभापतिका लागि उम्मेद्वारी नै दिनु हुन्न भन्ने कुरा लाग्दैन । उहाँले उम्मेद्वारी दिनुहुन्छ । यदि निर्वाचनको पहिलो चरण प्रवेश ग¥यो भने पुनः उहाँले शेरबहादुरजीलाई नै सहयोग गर्नुहुन्छ । दोस्रो चरणको अवस्थामा विमल दाइले सभापति शेरबहादुरजीलाई सहयोग गर्ने देखिन्छ ।
० भनेपछि, नेपाली कांग्रेसमा नयाँ पुस्ताले नेतृत्वका लागि हस्तक्षेप गर्ने अवस्था आएको छैन ?
— अहिलेसम्म हामीले हेरिसक्यौं महाधिवेशन प्रतिनिधिको संख्या, महाधिवेशनको अवस्था । स्थानीयदेखि जिल्लास्तरसम्मको निर्वाचन प्रक्रिया र निर्वाचित प्रतिनिधिको रूझान हेर्ने हो भने सामाजिक सञ्जालमा युवाहरूले नै नेतृत्व गर्नुपर्छ भन्ने जुन अवस्था देखिएको थियो अहिले त्यो अवस्था छैन । नेतृत्ववर्गले जे भन्यो त्यो नै लागू हुनुपर्छ । यो नेपालको मात्रै होइन, दक्षिण एसियाको जहाँ पनि हेर्नुहुन्छ भने स्थापित नेतृत्वले नै विकल्प दिन्छन् । दोस्रो पुस्ताको हातमा नेतृत्व आउनुपर्छ भन्दै गर्दा हामी आठ भाइ वा १२ भाईबीच नै नेतृत्वका लागि सहमति जुटेको देखिएन । त्यसैले तत्कालै सभापतिमा अहिलेकै युवाहरू पुग्नुहोला भन्ने अवस्था देखिँदैन । अहिले सुरूवात हो, भोलिका दिनमा यसले सकारात्मक परिणाम ल्याउन सक्छ ।
० सभापति शेरबहादुर देउवाका प्रतिद्वन्द्वीहरूले विभिन्न किसिमका आरोपहरू लगाएका छन् नि ?
— सफलता र असफलताका मापनहरू जनता र पार्टीका कार्यकर्ताले निर्धारण गर्ने हो । प्रतिपक्षीले जहिले पनि असफल भन्छन् । उहाँलाई एक पक्षले असफल भन्छन् भने अर्को पक्षले सफल भन्छन् । यसको मूल्यांकन गर्ने प्रक्रिया र पद्धति भनेको आमनिर्वाचनमा जनताले र पार्टीको निर्वाचनमा नेता कार्यकर्ताले हो । त्यसैले व्यक्तिगतरूपमा तल्लोस्तरसम्म झरेर कोही पनि जानु हुँदैन । जो नेतृत्वमा आएपनि हामीले स्वीकार्नैपर्छ । जुनसुकै कुरामा सामूहिक निर्णयअनुसार हुँदै आएका छन् । त्यसैले त्यसको नराम्रा र राम्रा पक्षका दोषी सबै हुन् । त्यसैले हामी स्वस्थ किसिमको प्रतिस्पर्धा गर्नुपर्छ । कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएको नाताले त्यस किसिमको संस्कार पालना गर्दै आएको हो ।
० सभापति देउवाकै कारण समयमा महाधिवेशन हुन सकेन, उहाँकै नेतृत्वमा पार्टीले ठूलो क्षति व्यहोर्नुप¥यो, उहाँको नेतृत्व असफल भइसक्यो भन्ने आरोपहरू छन् ?
— अहिलेसम्म कांग्रेसको जति पटक पनि महाधिवेशन सरेको छ, त्यसमा सामूहिक निर्णयकै आधारमा भएको हो । कांग्रेसको महाधिवेशन सर्दा अन्य पार्टीहरूको पनि अधिवेशन गरेको हो । यसका धेरै कारणहरू छन् । कोभिडको प्रभाव थियो, निर्वाचन गर्ने अवस्था थिएन । अर्को कुरा निर्वाचनमा जुन क्षति व्यहो¥यो त्यसको दोषी सभापति मात्रै होइन । किनभने टिकट वितरणमा सभापतिको मात्रै संलग्नता थिएन, सबैको संलग्नता थियो ।
० गत निर्वाचनमा कांग्रेस जुन क्षति व्यहो¥यो, त्यसको क्षतिपूर्ति गर्न आगामी निर्वाचन सहज छ ?
— एकदम सहज वातावरण छ । किनभने हामी अहिले एउटा गठबन्धन बनाएका छौं । गत निर्वाचनमा कम्युनिष्ट पार्टी र मधेशकेन्द्रित पार्टीहरूको छुट्टाछुट्टै गठबन्धन हुँदा पनि करिब ४३ सिटमा हाम्रा उम्मेद्वारहरू एक हजार दुई हजार मतले पराजित भएका थिए । ती सबै सिटहरू कांग्रेसले फिर्ता लिनसक्ने र समानुपातिक समावेशितामा पनि कांग्रेसको सिट संख्या बढ्छ । हाम्रो अहिलेसम्मको रणनीति हेर्ने हो भने हामी एकल सरकार बनाउन सक्ने अवस्थामा पुग्न सक्छौं ।
० अहिले पाँच दलीय गठबन्धनमा कांग्रेस रहेको छ । चुनावमा कांग्रेसका लागि गठबन्धन सहज होला ?
— अहिलेको अवस्थामा माओवादी केन्द्र, माधव नेपालको पार्टी र जसपाले जसरी कांग्रेसलाई सहयोग ग¥यो, त्यसरी नै हामीले ती साथीहरूलाई छोड्दैनौं । यो गठबन्धनलाई कायम गरेर अगाडि बढ्नुपर्छ । यो गठबन्धनले राजनीतिक धर्म निर्वाह गर्छ । असहज परिस्थितिमा यदि कसैले हामीलाई साथ दिन्छन् भने त्यो साथीलाई हामीले सहज परिस्थितिमा पनि साथ दिनुपर्छ । खोलो त¥यो, लौरो बिर्सियो भन्नेझैं राजनीतिक संस्कार विकास गरियो भने भोलिका दिनमा राजनीतिक नैतिकता, इमान्दारिता र संस्कारमाथि प्रश्न उठ्छ । केही ठाउँमा सिट छोड्दैमा केही बिग्रिदैन । किनभने भोलिका दिनमा हाम्रो सरकार भयो भने सुशासन, विकास र समृद्धि जनतालाई दिन सक्छौं ।
तपाईको प्रतिक्रिया