० चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौं महाधिवेशनले देश र जनतालाई के सन्देश दियो ?
— यो दशौं महाधिवेशनले ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार पार्न एमालेबाहेक अन्य कुनै विकल्प छैन भन्ने सन्देश दिएको छ । यस्तै समग्र कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरूले गर्न सक्दैन । किनकि एमालेसँग नेपाली जनताको भावना जोडिएको छ, जसको दृष्टान्त महाधिवेशन उद्घाटनसत्रमा ओर्लिएको जनसागरबाट देखिएको छ । नेपालको इतिहासमा यतिको जनसमुदायको उपस्थिति आजसम्म भएको थिएन । यसले प्रष्ट देखिएको छ कि यो देश समृद्धि, सामाजिक सद्भाव, विकास र परराष्ट्र नीतिको नेतृत्व एमालेले मात्र गर्न सक्छ । एमालेकै नीति आज देशको नीति बन्दै गएको छ । त्यसैले सम्पूर्ण देशभक्त, न्यायप्रेमी जनसमुदाय एकताबद्ध भएर देश निर्माणमा लाग्न यो महाधिवेशनले आह्वान गरेको छ । जसलाई नेपाली जनसमुदायले आत्मसात गरेको छ ।
० यो महाधिवेशनबाट एमालेमा फेरि नयाँ गुटको जन्म भयो भन्ने पनि देखियो नि ?
— यो महाधिवेशनबाट सम्पूर्ण गुटउपगुटको अन्त्य भएको छ । हाम्रो महाधिवेशनले प्रजातान्त्रिक अभ्यास गरेको छ । हामीले चाहेको भए हलबाटै निर्णय भइसकेको कुरा कार्यान्वयन हुन्थ्यो । नेपाली जनसमुदाय र विश्व जगत्ले पनि हेरेको छ कि एमाले कतिको प्रजातान्त्रिक पार्टी रहेको छ । त्यसैले एमालेभित्र कुनै गुट छैन । श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब एकताबद्ध भएर कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ ।
० हलले पदाधिकारी चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो तर डा.भीम रावलले मान्नुभएन नि ?
— डा.भीम रावललाई जित्दिँन भन्ने थाहा हुँदाहुँदै पनि अध्यक्ष पदमा उम्मेदवारी दिनुभयो । उहाँको भावनालाई पार्टीले आत्मसात ग¥यो । हलले उहाँले उपाध्यक्षमा राखेकै थियो । तर उहाँ किन मान्नुभएन, उहाँको मनमा के थियो, त्यो त उहाँसँग नै सोध्नुपर्छ । आजको दिनमा एमाले मात्रै होइन, देशकै लागि केपी ओलीको विकल्प छैन । देश र जनताको आवश्यकता केपी ओली नै भएकोले उहाँ मानेको भए कम्युनिष्ट आन्दोलनका राम्रो सन्देश जाने थियो । केपी ओलीलाई निर्विरोध अध्यक्ष हुन नदिने चाहना त भीम रावलको पूरा भयो तर उहाँले कति मत ल्याउनुभयो सबैलाई थाहै छ ।
० यो महाधिवेशन ऐतिहासिकरूपमा सम्पन्न भइसकेपछि एमालेको आगामी कार्यदिशा के हो ?
— एमालेको १०औं राष्ट्रिय महाधिवेशन भव्यतापूर्वक सम्पन्न भइसकेपछि हाम्रो अब एउटै कार्यदिशा र लक्ष्य हो आगामी चुनाव । हामीले दुई÷तीनवटा कुरामा विशेष जोड दिन्छौं । अब एकजुट हुनका लागि सबै वामपन्थी कम्युनिष्टहरूलाई समेट्ने, देशव्यापीरूपमा पार्टी प्रवेश कार्यक्रम चलाउने कार्यदिशा रहेको छ । यसका साथै, आगामी स्थानीय, प्रदेश र संघीय चुनावको तयारी पनि अब हाम्रो सुरू हुनेछ ।
० माधव नेपालको एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पनि एकताको प्रयास हुन्छ ?
— एमालेबाट चोइटिएर गएका माधव नेपालको एकीकृत समाजवादी र माओवादी केन्द्रको बाटो अलि–अलि फरक छ । माधव नेपालको पार्टीसँग अहिले कुनै पनि प्रकारको गठबन्धन वा सहकार्य हुँदैन । उहाँहरू आत्मालोचना गरेर पार्टीभित्र फर्किनुभयो भने फेरि हामी स्वागत गर्न सक्छौं । आज उहाँहरूकै कारणले कम्युनिष्ट आन्दोलन बदनाम भएको छ । संसारमा नेपालमा मात्र एउटा देश थियो जहाँ कम्युनिष्ट पार्टीले चुनावको माध्यमले करिब दुई तिहाइको बहुमत प्राप्त गरेको थियो । तर माधव नेपालहरूको क्रियाकलापले कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लागेको छ । त्यो कुरालाई कम्युनिष्ट आन्दोलनको इतिहासले बिर्सिने छैन । त्यसकारणले माधव नेपालको पाटीसँग गठबन्धन वा सहकार्य हुने कुनै सम्भावना अहिले देखिएको छ । यदि माओवादी केन्द्र पनि इमान्दार भएर आउँछ भने आगामी दिन सहकार्य हुनै सक्दैन भन्न सकिँदैन ।
० अब एमाले सम्पूर्णरूपमा चुनावी तयारीमा लाग्ने अध्यक्ष केपी ओलीले भनिसक्नुभएको छ । एमालेको लागि कतिको चुनौतिपूर्ण छ आगामी चुनाव ?
— एमालेको लागि आमचुनाव २०७४ र अहिलेको अवस्थामा फरक छ । त्यतिबेला एमालेप्रति नेपाली जनता त्यति विश्वस्त भइसकेका थिएनन् । किनकि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू एमालेको विरूद्धमा त्यो बेला पनि लागेको थियो र आज पनि लागेको छ । तर कमरेड केपी ओलीको नेतृत्वमा गत साढे तीन वर्षमा देशले विकासमा कतिको फड्को मारेको छ, राष्ट्रिय एकता बलियो बनाउन कसरी कार्यहरू गर्नुभएको छ, यी सबै कुराहरूलाई नेपाली जनताले हेरिसकेका छन् । त्यसकारणले हिजोजस्तो चुनौति आज एमालेका लागि छैन । हामीलाई विश्वास छ, नेपाली जनताले एमालेलाई आउने निर्वाचनमा पुनः बहुमतको सरकार बनाउने अवस्थामा पु¥याउने छ ।
० पाँच दलीय गठबन्धनले एमालेलाई फरक पार्दैन ?
— त्यो पाँच दलीय गठबन्धनले हामीलाई केही फरक पार्न सक्दैन । किनकि त्यो गठबन्धन अपवित्र गठबन्धन हो । त्यो गठबन्धन धेरै लामो समयसम्म टिक्नै सक्दैन । यिनीहरूको एजेन्डा र विचार नै मिलिरहेको छैन । गठबन्धनभित्र देशलाई पश्चगमनतर्फ लैजाने, सामाजिक सद्भाव बिगार्ने शक्तिहरू छन् । यो गठबन्धनलाई नेपाली जनताले विश्वास गर्दैन । जनताको मतादेशभन्दा पनि अदालतको परमादेशबाट बनेको सरकारमा पाँच दलीय गठबन्धन रहेको छ । यसले जनता र देशको हितमा अहिलेसम्म कुनै पनि काम गरेको देखिँदैन ।
० एमालेको यो महाधिवेशन मधेशको दृष्टिकोणबाट कस्तो रह्यो ?
— एमालेप्रति मधेशमा राम्रै सन्देश गएको छ । गत निर्वाचनमा पनि स्थानीय चुनावमा एमाले मधेशको सबभन्दा ठूलो दलको रूपमा आएको थियो । हामीले धेरै मेयरहरू जित्न सकेनौं तर सबभन्दा बढी जनप्रतिनिधि एमालेले नै जितेको थियो । अहिले पनि केही नगण्य मान्छेहरू माधव नेपालको पार्टीमा गए । तर मधेशमा हामी कुनै पनि पार्टीभन्दा कमजोर छैनौं । अब त मधेशका जनताले बुद्धिसकेका छन् कि मधेशको विकास र समृद्धि एमालेबाहेक अर्को पार्टीले गर्न सक्दैन । केपी ओलीको कार्यकालमा मधेशमा उल्लेखनीय विकास निर्माणका कामहरू भएका छन् । त्यसैले मधेशका जनता हिजोभन्दा आज बढी एमालेप्रति विश्वस्त भएका छन् ।
० तर यो महाधिवेशनबाट पनि एमालेको पदाधिकारीमा मधेशी अनुहार सांकेतिकरूपमा मात्रै देखिन्छ नि ?
— पदाधिकारी भनेको पार्टीको कोर टिम हो । त्यसमा मधेशीको उपस्थिति अझ बढी हुनुपर्ने थियो । त्यसका धेरै कारणहरू छन् । मधेशका कतिपय नेताहरू उमेरका कारण सक्रिय देखिनु हुन्न । कतिपय नेताहरूको चाहना थियो होला । तर पार्टी राजनीतिमा पदाधिकारीको चयन कार्यकर्ताहरूले गर्ने हो । तर पनि महाधिवेशनबाट यसपटक सबै समुदायलाई समेट्ने गरी प्रतिनिधित्व भएको छ । यसलाई हामीले सकारात्मकरूपमा लिएका छौं ।
० मधेशमा एमालेप्रति जुन आक्रोश वा मधेशविरोधी एमाले भन्ने कुरालाई यो महाधिवेशनले चिर्न सक्यो त ?
— निश्चितरूपमा मधेशका जनताले बुझिसकेका छन् कि एमाले मधेश विरोधी होइन भनेर । केही देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले एमालेका विरूद्धमा भ्रम फैलाएका थिए कि एमाले मधेशविरोधी हो । तर जनताले आज हेरिसकेका छन्, समग्र राष्ट्रिय एकता, मधेशीको विकास र समृद्धिको मुद्दा एमालेले नै पूरा गर्न सक्छ । मधेशका जनताले पनि बुझिसकेका छन् कि यो देशलाई नै केपी ओलीको आवश्यकता हो । मधेशका जनताले पनि यो देशको विकल्प केपी ओलीबाहेक अरू कोही होइन भन्ने बुझिसकेका छन् । एमाले र केपीप्रति मधेशका जनताले ठूलो आशा र विश्वास गरेको छ
० आगामी चुनावी प्रतिस्पर्धामा मधेशमा एमालेलाई थुप्रै चुनौतिहरू छन् नि ?
— जतिबेला एमालेलाई मधेश विरोधी भनेर प्रचारबाजी गरी भ्रम फैलाइएको थियो त्यतिबेला पनि एमाले कुनै दलभन्दा कमजोर थिएन । बरू अन्य दलभन्दा बढी नै मत ल्याएको थियो । अहिले झन् मधेशका जनताले एमालेलाई विश्वास गर्न थालेका छन् । मधेशमा जसले जतिसुकै गठबन्धन वा सहकार्य गरे पनि एमालेलाई नै मधेशका जनताले जिताएर पठाउँछन् ।
तपाईको प्रतिक्रिया