० स्वतन्त्र मधेश गठबन्धन विघटन भएदेखि तपाइँ राजनीतिबाट किन टाढिनुभएको छ ?
— म जहिले पनि मधेशको हकहितका लागि काम गर्दै आएको छु । स्वतन्त्र मधेश गठबन्धन मधेशलाई आत्मनिर्भर, समृद्ध, रोजगारी सिर्जना गर्ने अभियान हो । त्यो लोभमा परेरमा हामीजस्ता युवाहरू डा.सीके राउतसँग लागेका थियौं । तर जब उहाँले मधेशी जनतालाई धोका दिनुभयो त्यसपछि हाम्रो भ्रम टुट्यो र हामीलाई लाग्यो कि त्यो अभियान मधेशका लागि नभई आफ्नो स्वार्थका लागि मात्रै हो । त्यसैले म राजनीतिबाट टाढा भएको हुँ । म कृषि क्रान्ति अभियानमा लागेको छु, जसमा कसैले पनि मलाई सहयोग गरेको छैन । यो दुई÷तीन वर्ष बाहिरबाट सबै राजनीतिक दलहरूलाई हेरिरहेको थिएँ र समीक्षा गरे । यी सबै दलहरूमा मलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नै उपयुक्त लाग्यो र त्यहींबाट राजनीतिक यात्रा सुरू गरेको हुँ ।
० डा.सीके राउतले गठन गर्नुभएको जनमत पार्टीको मूल उद्देश्य मधेशको समृद्धि र विकास नै हो, उहाँको पार्टीलाई किन रोज्नुभएन त ?
— सीके राउतको त्यो पार्टी होइन, उहाँले आफ्नो इज्जत बचाउनका लागि एउटा समूह बनाउनुभएको छ । त्यो कुनै पार्टी वा दल होइन, सीके समूह हो । उहाँले आफूलाई देवत्वकरण गर्न खोजिरहेको छ । उहाँ आफूलाई महाराज शैलीमा प्रस्तुत गर्दै हुनुहुन्छ र उनका समर्थकहरू जिन्दावाद भन्दै हिंडेका छन् । उहाँमा राजनीतिक चेतना कहिल्यै भएन । त्यो समूहमा राजनीति बुझ्ने एउटा पनि मान्छे छैन । कोही विदेशबाट काम गरेर आएका छन्, कोही कताबाट आएका छन् । त्यसैले जब राजनीति नै गर्नुछ भने त्यो सीके समूहमा किन जाने ? राम्रो एजेन्डा र मधेशमा स्थापित भएको पार्टीमा जाने नि ।
० सीके राउतको पार्टीलाई तपाइँ पार्टी मान्नु हुन्न ?
— त्यसलाई पार्टी कसरी मान्ने ? स्वतन्त्र मधेश गठबन्धनले एउटा ठूलो एजेन्डा बोकेको थियो । तर त्यो एजेन्डाअनुरूप काम गर्न सकिएन । त्यसलाई विघटन गरेर एउटा समूह बनाइएको हो । उहाँलाई थाहा छ कि कतैबाट जित्न सकिन्न । अहिले पनि यदि उहाँ आफ्नो इज्जत बचाउनु छ भने चुनावी राजनीति छोडेर अभियानमात्रै चलाओस् ।
० तर, सीके राउतजीको पार्टी त जनतामा लोकप्रिय देखिएको छ नि ?
— सीके राउतको पार्टी जनतामा लोकप्रिय होइन, उहाँको कार्यकर्तामा लोकप्रियता देखिएको हो । जनकारबाहीको नाउँमा कसलाई कारबाही गरिएको हो ? कुन भ्रष्टाचारीलाई जेल पु¥याइएको हो ? कस्तो भ्रष्टाचारीलाई भ्रष्टाचारी भन्ने ? कसैको घरको अगाडि बाटो नबनाउँदा त्यो भ्रष्टाचारी हुन्छ ? भ्रष्टाचारीलाई त उहाँहरूले छुन पनि सक्ने हैसियत छैन । व्यक्तिगत झगडा वा रिसइबीका कारण मात्रै त्यस्तो गरिएको हो । म सीके राउतलाई चुनौति दिन्छु कि मधेशमा पाँच दिन पनि आन्दोलन गरेर देखाओस् न, कतिको सफल हुन्छ । कम्तीमा पाँच वटा मात्रै पसल बन्द गराएर देखाओस् न ? त्यो कुनै पार्टी नै होइन ।
० जनमत पार्टीले त अहिले मधेश कब्जा गर्ने अभियान चलाइरहेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
— मधेश कब्जा गर्ने अभियान चलाइएको छ, यसका लागि बधाई छ । तर उहाँको एजेन्डा के हो, जनतामा सार्वजनिक गर्नुप¥यो । अहिलेसम्म उहाँहरूले मधेशलाई के दिनुभएको छ ? विदेशमा श्रम गरिरहेकाले चन्दा दिइरहेको छ । पहिला उनीहरूको हिसाबकिताब देओस् न । भ्रष्टाचारीलाई कारबाहीको कुरो गर्नुहुन्छ, तर उहाँकै पार्टीका एक जना कार्यकारिणी समिति सदस्य भ्रष्टाचारको मुद्दामा जेल बसेर आएका छन् । उनी अवकाश पाएको तीन वर्ष भइसक्यो तर अहिले पनि सरकारी क्वाटर खाली गरेको छैन । त्यो भ्रष्टाचार भएन ? उहाँका पार्टीका इन्जिनियरहरू नेपालमा भ्रष्टाचार गर्न पाएका छैनन् तर विदेशमा कार्यरत् हुँदा चलिरहेकै ट्रक बेचिदिएका थिए । त्यो भ्रष्टाचार भएन ? त्यस्ताले भ्रष्टाचार उन्मूलन गर्न सक्छ ? रोजगारीको कुरा गर्नुभएको छ तर अहिलेसम्म एक जनालाई पनि रोजगारको सिर्जना गरेका छन् ? महात्मा गान्धीले आफ्नो कार्यकर्ता पाल्नका लागि चर्खा आन्दोलन चलाउनुभयो, कमसेस जीवनयापनका लागि रोजगारी त दिनुभयो । पहिला रोजगारी सिर्जना गर्नुप¥यो नि ।
० तपाइँ प्रवेश गर्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी अन्य दलभन्दा किन फरक देख्नुभयो ?
— सबभन्दा प्रमुख कुरो त लोसपाका श्रद्धेय अध्यक्ष महन्थ ठाकुरजीको जुन योगदान, त्याग र सिद्धान्त छ, त्यो अन्य कसैमा पनि देखिएन । उहाँ जहिले पनि मधेश र देशको लागि एउटा चिन्तित रहनुभएको मैले देखें । उहाँले मुद्दालाई थाँती राखेर राजनीति गर्नुभन्दा सम्बोधन गराउन जहिले पनि प्रयासरत् हुनुहुन्छ । यसको प्रत्यक्ष उदाहरणले हामीले केपी ओलीको सरकार हुँदा आफ्नो माग र मुद्दा सम्बोधनका लागि गरिएको प्रयास हो । उहाँको अडान र मुद्दा प्रष्ट छ । उहाँ कहिल्यै पनि मुद्दासँग सम्झौता गर्नुभएन । त्यसैले मधेशप्रति समर्पित पार्टी लोसपा नै हो । भविष्यमा लोसलाले नै मधेशको मागहरू सम्बोधन गराउन सक्छ ।
० तर लोसपामाथि प्रतिगमनकारीको मतियार भनेर आरोपहरू लगाइएको छ नि ?
—महन्थ ठाकुर र राजेन्द्र महतोलाई प्रतिगमनकारीको मतियार भन्नेहरू आफू कतिको चोखो छन् त्यो त सबैले बुझेकै छन् । त्यही केपी ओलीको सरकारमा उपेन्द्र यादवजी १८ महिनासम्म बस्नुभयो, त्यतिबेला प्रतिगमन उहाँले देख्नुभएन । त्यो अवधिमा मधेशका एउटा पनि माग सम्बोधन गराउन पहलसमेत गर्नुभएन । जब केपी ओलीले सरकारबाट निकाले त्यसपछि प्रतिगमन भयो त ? महन्थ ठाकुरजीको नेतृत्वमा जब पार्टी केपी ओलीको सरकारमा गयो त्यो भन्दा पहिला मधेशका कतिपय मागहरू सम्बोधन गराउन लगाउनुभयो र संविधान संशोधनका लागि कार्यदल पनि बनाइयो । सत्ता र भत्ताका लागि मात्रै त्यतिबेला सरकारमा सहभागी भएको थिएन । अहिले पनि उपेन्द्र यादवजी सरकारमै हुनुहुन्छ, कतिवटा माग पूरा गराउनुभयो त ? जसको विरूद्धमा मधेशमा आन्दोलन भएको थियो र त्यसको बलमा उपेन्द्रजी स्थापित हुनुभयो, आज उहाँको पार्टी तिनीहरूले कब्जा गर्दैछन् । भोलिको दिनमा जसपाको महाधिवेशन भयो भने गैरमधेशीले पार्टी कब्जा गर्नेछ । तर लोसपा पूर्णरूपले मधेशीको हक अधिकार दिलाउने उद्देश्य राखेको छ ।
० अहिले चुनावमय भएको छ मधेश । चुनावलाई लक्षित गरेर तपाइँ लोसपामा प्रवेश गर्नुभएको हो त ?
— मैले चुनावमा उम्मेद्वारी दिन्छु भनेर लोसपामा प्रवेश गरेको होइन । चुनाव पनि आइरहेको छ, म स्थानीय, प्रदेश वा संघीय संसदका लागि आफ्ना दाबेदारी गरेको छैन । पार्टीले जे निर्णय गर्छ, त्यो मेरो लागि सर्वोपरि हुन्छ । मेरो आफ्नो अभियान कृषि क्रान्ति छँदैछ । यसमा मलाई पार्टीले सहयोग गर्छ भन्ने अपेक्षा लिएको छु । म लोसपामा प्रवेश गर्नुअघि विभिन्न चरणमा शीर्ष नेताहरूसँग मेरो वार्ता र सम्वाद भएको छ । अध्यक्ष ठाकुरजीले मेरो कृषि क्रान्ति अभियानमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
० पार्टी नेतृत्वले तपाइँसँग के–के प्रतिबद्धता गरेको छ ?
— मेरा केही मुद्दाहरू छन्, जस्तै समृद्ध मधेश, युवालाई आफ्नै देशमा रोजगार, युवालाई विदेश पलायनबाट रोक्न, कृषि क्रान्ति लगायतका छन् । मधेशलाई आत्म निर्भर बनाउनका लागि कृषि मात्र एक आधार हो । मैले त्यहीं कृषि क्रान्ति अभियानलाई अगाडि बढाइरहेको छु । यसमा मेरो पार्टीले भरपूर सहयोग गर्छ भन्ने प्रतिबद्धता र आशवासन पाएको छु ।
तपाईको प्रतिक्रिया