‘कांग्रेसमा विमलेन्द्र निधिले जित्ने न आधार छ न त धरातल नै’

पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक 

अन्तर्वार्ता

० नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई कसरी हेर्दै हुनुहुन्छ ?

— नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनलाई सबैले उत्साहपूर्वक हेरिरहेका छन् । यसपटक झण्डै पाँच लाखदेखि १० लाख क्रियाशील सदस्य सहभागी हुँदै छन् । कांग्रेसमा युवाहरू प्रवेश पाएका छन् । कांग्रेसभित्र केही नयाँ प्रयोगहरू हुने सम्भावना बढेर गएको छ । यो महाधिवेशनबाट कांग्रेसलाई परम्परागत शैलीबाट पृथक शैलीमा नेतृत्व चयनका प्रक्रियाहरू पनि अगाडि आएका छन् । सभापतिमा शेखर कोइराला जस्तो मान्छेले दाबी गरिरहेका छन् । रामचन्द्र पौडेल र शेरबहादुर देउवाले पहिला पनि सभापतिका लागि गर्नुभएको थियो । तर केही युवाहरू समूहगतरूपमै अगाडि आएका छन् । यसले गर्दा कांग्रेसमा पुनर्जागरण आउने संकेत देखिएको छ । अर्कोतिर यो धेरै व्यवस्थित छैन । यसमा मान्छेको चयन गर्ने मात्रै स्थिति छ । यसले राष्ट्रका जल्दाबल्दा समस्याहरूलाई ठिक ढंगले सम्बोधन गर्न बहस छलफल भइरहेको छैन । महाधिवेशनमा नीति र कार्यक्रम केहीमा छलफल नगर्ने भनिरहेको छ । निर्वाचन गर्ने कुरा मात्रै चलिरहेका छन् । पार्टी भनेको विचारबाट चल्नुप¥यो । ती सब कुराहरूमा केन्द्रीय समिति, सभापति र उहाँको टिमले उचित किसिमले अगाडि बढाउन सकेको छैन । 

० अहिलेसम्म रूझान कतातिर बढी देख्नुहुन्छ ?

— अहिलेसम्म हेर्दा खासै प्रतिस्पर्धा वा कसले जित्छ भन्न सक्ने स्थिति छैन । किनभने अहिलेसम्म महाधिवेशन प्रतिनिधिहरू आउँदैछन् । प्रदेश नं. २ को अझ पनि मतगणना भइरहेको छ । त्यसको महाधिवेशन प्रतिनिधिको संख्या आउने क्रम जारी नै छ । तर पनि हामीले गरेको सर्वेअनुसार प्रारम्भिक अनुमान गर्दा प्रतिस्पर्धा शेखर कोइराला र शेरबहादुर देउवाबीच नै हुने देखिन्छ । जित्नका लागि यिनी आफै पर्याप्त छैनन् । शेखर कोइरालालाई पनि केही–केही लिडरहरूको सहयोग चाहिन्छ । यता, शेरबहादुर देउवालाई पनि सहयोग र एलायन्स गर्नुपर्ने हुन्छ । अहिले धेरै आकांक्षीहरू देखिएका छन् । त्यसमा विमलेन्द्र निधिजी बलियो उम्मेद्वार हुनुहुन्छ । प्रदेश नं. २ मा उहाम्को वर्चश्व पनि छ । त्यस्तै, प्रकाशमान सिंहजी हुनुहुन्छ, काठमाडौं उपत्यकामा उहाँको वर्चश्व छ । यी सबै फ्याक्टरहरूले भोलिका दिनमा दिशा निर्धारण गर्छ । राष्ट्रियस्तरमा हेर्दा शेरबहादुर देउवा र शेखर कोइरालाका बीच तीव्र प्रतिस्पर्धा छ । यसमा युवाहरूको पनि ठूलो भूमिका हुन्छ । युवाहरूको समूहले एकमुष्ट गर्ने सहयोगले एउटा परिणाम दिन सक्छ । युवाहरूको समूहलाई कसले मोटिभेट गर्न सक्छ, उनीहरू कसको नेतृत्वलाई स्वीकार गर्छ, कोसँग एलायन्स गर्छन् अहिले भन्न सकिने अवस्था छैन । केही रिजन फ्याक्टर छ, केही लोकल फ्याक्टर छ, केही उमेरको फ्याक्टर छ । त्यसमा जसले ठिक ढंगले एलायन्स गर्न सक्यो त्यसले बाजी मार्न सक्छ । त्यसैले अहिले ठ्याक्कै आँकलन गर्न चाह्रो छ ।

० शेरबहादुर देउवाका सबभन्दा प्रमुख सहयोगी विमलेन्द्र निधिले पनि दाबेदारी गर्दा देउवालाई कति असर गर्छ ?

— विमलेन्द्र निधिको उम्मेद्वारीले शेरबहादुर देउवालाई पक्कै पनि असर गर्छ । त्यसैले अहिले देउवाले कृष्णप्रसाद सिटौलालाई आफ्नोतिर ल्याउँदै हुनुहुन्छ । त्यसैगरी, देउवाले विजय गच्छदारलाई पनि आफ्नोतिर तान्न खोज्दै हुनुहुन्छ ।

० शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई आफ्नो पक्षमा पार्न सक्ने अवस्था देख्नुहुन्छ ?

— त्यो सम्भवै छैन । विमलेन्द्र निधि न त देउवालाई समर्थन गर्न सक्छन्् न त ब्याक हुन सक्छन् । विमलेन्द्र निधिजीलाई स्वाभाविकरूपमा शेरबहादुर देउवाले सहयोग गर्नुपर्ने हो । किनभने १३औं महाधिवेशनमा त्यहीं सर्तमा एक अर्काबीच सहमति भएको थियो । शेरबहादुर देउवाले सहयोग नगर्दा विमलेन्द्र निधि आफै उठ्न बाध्य हुनुभएको हो । अब अहिले आएर विमलेन्द्र निधिले देउवालाई सहयोग गर्नुहुन्छ भन्ने कुरा पत्याउनै गाह्रो छ । त्यसैले विमलेन्द्र निधि फिर्ता हुने अवस्था छैन । अब ढिलो भयो ।

० विमलेन्द्र निधिको अवस्था देखिन्छ ?

— विमलेन्द्र निधि जित्ने स्थिति छ जस्तो लाग्दैन । उहाँ जित्दा राम्रो हो । तर म कांग्रेसलाई जति बुझेको छु, त्यसले गर्दा उहाँ जित्नुहुन्छ जस्तो मलाई लाग्दैन । तर, उहाँले सम्मानजनक मत ल्याउनुहुन्छ । 

० विमलेन्द्र निधि जित्न नसक्ने कारणहरू के–के छन् ?

— विमलेन्द्र निधि जित्न नसक्ने मुख्य कारण उहाँले शेरबहादुर देउवालाई आफ्नो साथमा लिन सक्नुभएन । उहाँले लामो समय शेरबहादुरलाई सहयोग गर्नुभो । शेरबहादुर देउवालाई सभापति बनाउने, प्रधानमन्त्री बनाउने, राइट ह्याण्ड भएर बस्नुभयो तर शेरबहादुरले त्यो कुरा बुझ्नुभएन । उहाँले शेरबहादुरको सहयोगमा १४औं महाधिवेशनमा सभापति हुन्छु भन्नुभएको थियो, त्यो सम्भव भएन । अन्य फ्याक्टरहरू पनि छन् । निधिलाई नेपालको जुन फरक–फरक सांस्कृतिक समूहहरू छन्, त्यहाँ उहाँलाई स्वीकार्न सक्ने ठूलो छाती भएको पात्रहरू छन् जस्तो लाग्दैन । 

० यो महाधिवेशनबाट कांग्रेसमा कस्तो ऊर्जा आउँछ ?

— महाधिवेशनबाट पार्टी परिचालित हुन्छ । पार्टी संगठभित्र जीत र हार पनि भएको छ । एकातिर पार्टी परिचालित भएर कांग्रेसभित्र ऊर्जा थपिन्छ । सडक, गल्ली, चौकमा यही चर्चा छन् भने अर्कोतिर जीत र हारले पक्ष र विपक्षमा कांग्रेस बाँडिएको छ । त्यसले गर्दा भोलिको राष्ट्रिय निर्वाचनमा नेताहरूले अलिकति बुद्धि पु¥याएन् भने यो जुन तिक्तता छ, त्यसले असर गर्न सक्छ कि भन्ने खतरा रहन सक्छ । अब समय पनि धेरै छैन । स्थानीय निर्वाचनहरू आइसकेको छ । जीत र हारको प्रतिशोधले कांग्रेसलाई ड्यामेज गर्छ कि भन्ने डर छ । तर नेताहरूले बुद्धिमतापूर्वक कांग्रेसलाई अगाडि बढाए भने फेरि ऊर्जाले कांग्रेसभित्र पुनर्जागरण आउन सक्छ ।

० यो महाधिवेशनबाट कांग्रेसले पुनर्जीवन पाउँछ त ?

— १४औं महाधिवेशनबाट कांग्रेसले पुनर्जीवन पाउने सम्भावना पर्याप्त छ । त्यसका लागि नेतृत्वले त्यहीं किसिमको कौशलता, कला र क्षमता देखाउनुपर्ने हुन्छ । नेतृत्व तहमा भोलि कस्ता मान्छे आउँछन्, कसरी मार्गदिशा तय गर्छन् त्यो कुराले महत्व राख्छ ।

० अहिलेको अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन आवश्यक छ त ?

— केन्द्रीय नेतृत्वको परिवर्तन अत्यन्त आवश्यक छ । शेरबहादुरबाट देश र पार्टी चल्दैन । प्रतिपक्षी नेता हुँदा त्यो किसिमको क्षमता देखाउन सक्नुभएन ।  नयाँ पुस्ताले नेतृत्व परिवर्तनका लागि जोडबल गरिरहेका छन् । कांग्रेसभित्र परिवर्तनको हावाहुरी छन् ।

० आगामी महाधिवेशनबाट यदि फेरि देउवा नै सभापतिको रूपमा निर्वाचित हुनुभयो भने कस्तो अवस्था हुन्छ ?

— यदि यो महाधिवेशनबाट फेरि पनि देउवा नै सभापति हुनुभयो भने ऊर्जा थपिँदैन, निराशा आउँछ । किनभने कांग्रेसका कार्यकर्ताले मात्रै राष्ट्रिय निर्वाचन जित्न सकिँदैन । कांग्रेसभन्दा बाहिरका मतदाता जसले कांग्रेसभित्र नेतृत्व परिवर्तन भएको हेर्न चाहन्छन्, नयाँ अनुहार हेर्न चाहिररहेका छन् ।  त्यो आएन भने कांग्रेसका कार्यकर्ताका लागि ठूलो कुरा हुँदैन होला तर आम जनताको विश्वास कायम रहन सक्दैन र आगामी निर्वाचनमा कांग्रेसले हार व्यहोर्नुपर्ने हुन्छ । देउवासँग अहिले सत्ता पनि छ, शक्ति पनि छ, पैसा पनि छ । अहिले सत्ता र शक्तिको दुरूपयोग देउवाबाट पर्याप्त भइरहेको छ । 

० आगामी निर्वाचनमा कांग्रेसले गठबन्धनमा जाँदा राम्रो कि एक्लै प्रतिस्पर्धा गर्दा राम्रो ?

— आगामी निर्वाचनमा कांग्रेस गठबन्धनमा जान सक्दैन । हुन त पाँच दलीय गठबन्धनसँगै चुनावमा भाग लिने भनिएको छ । तर त्यो गठबन्धन चुनावसम्म कायम रहन्छ भन्ने विश्वास गर्ने आधार छैन । केही नेताहरूको व्यवस्थापन हुन्छ होला तर चुनावी गठबन्धन कायम रहादैन । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ