‘हामी रहरले नयाँ पार्टी खोलेका होइनौं, देशको आवश्यकता हो’

इश्वर दयाल मिश्र, नेता, जनता प्रगतिशील पार्टी, नेपाल

अन्तर्वार्ता

० स्वतन्त्र राजनीतिक समूह छँदै थियो, यसलाई ‘जनता प्रगतिशील पार्टी’ मा किन रूपान्तरित गर्नुभयो ?

— हामीले स्वतन्त्र राजनीतिक समूहलाई नै एउटा राजनीतिक दलको रूपमा रूपान्तरित गरेका छौं । हामीले राजनीतिक समूह गठन गर्दाकै बखत यसलाई एउटा दलको रूपमा परिणत गर्ने भनेका थियौं । त्यसका लागि विभिन्न तयारीहरूको आवश्यकता थियो । हामीले स्वतन्त्र राजनीतिक समूह मार्फत् एउटा राजनीतिक दल बनाउनका लागि लामो समयसम्म बहस र छलफल ग¥यौं र अहिले ठिक समयमा हामीले दलको रूपमा घोषणा गरेका छौं । हामीले यसलाई दलको रूपमा गठन गर्ने पहिला नै तयारी पूरा गरिसकेका थियौं तर समय परिस्थिति अनुकूल थिएन । 

० अन्य दलभन्दा यो जनता प्रगतिशील पार्टी कसरी फरक छ ?

— देशमा राजनीतिक दलको अभाव भएर यो हाम्रो जनता प्रगतिशील पार्टी गठन भएको होइन । अहिलेको अवस्थामा वैचारिक बहस प्रायः शून्य भएको तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रवावहीन तथा गतिहीन रहेको अवस्थामा हाम्रा नेता हृदयेश त्रिपाठीको नेतृत्व जनताले महसुस गरेपछि यसको गठन भएको हो । देश र जनता अहिले वैकल्पिक शक्तिको खोजी गरिरहेको अवस्थामा छ । हामी अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने, अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो कुनै रूचि रहने छैन । तसर्थ, अन्य दलप्रति हाम्रो आत्मीय सम्मान रहनेछ ।

० तपाइँहरूसँग भएका धेरै नेताहरूले अन्य दलहरूमा प्रवेश गरिसकेका छन् नि ?

— हामीले राजनीतिक समूह गठन गर्दा त्यो कुनै दलको रूपमा थिएन । हामीले त्यो समूह गठन गरी तत्कालीन नेकपा एमालेसँग सम्झौता गरेर चुनावी सहकार्य गरेका थियौं । त्यतिबेला पनि हामी एमालेमा प्रवेश गरेका थिएनौं । हामीले पार्टी घोषणा गर्नुपर्छ भनेर देशभरिबाट शुभेच्छुकहरूले भन्दै आउनुभएको थियो । समूहमा त्यतिबेला देखिएका नेताहरू मात्रै होइन, धेरै जना छन् । यो समूहलाई दलको रूपमा घोषणा गरिसकेपछि धेरै जना हामीसँग जुड्न चाहिरहेका छन् । 

० तर, तपाइँहरूका सांसद वृजेश गुप्ता दलको घोषणाका बखत देखिनुभएको छैन । अहिलेसम्म उहाँको कुनै प्रतिक्रिया पनि आएको छैन ?

— हामीले जानकारी पाएअनुसार अहिले उहाँ आफ्नो व्यक्तिगत प्रयोजनका लागि भारतमा हुनुहुन्छ । उहाँ हाम्रो पार्टीमा होइन भनेर भन्नुभएको पनि छैन । हामी यहाँ कुनै व्यक्तिविशेषको कुरा नगरौं । पार्टी भनेको वैचारिक संस्था हो । हाम्रो विचार, सिद्धान्त र एजेन्डा राम्रो छ भने जनताले साथ दिन्छन् । जनता प्रगतिशील पार्टी नेपाल नवीन विचार, व्यवहार र कार्यशैलीका साथ आफ्नो गतिविधिहरू सञ्चालन गर्नेछ । यो अगाडि बढिसक्यो । यो पार्टी अन्यभन्दा फरक हुन्छ । हामीले रहरले पार्टी खोलेका होइनौं । देशमा सयौं राजनीतिक दलहरू छन् । हामीले एक थान पार्टी गठन ग¥यौं भन्ने होइन । 

० तपाइँहरूले हतारमा जनता प्रगतिशील पार्टी घोषणा गर्नुभएको हो नि । पार्टीका पदाधिकारीहरू पनि छैन ?

— हामीले जनता प्रगतिशील पार्टी घोषणाका लागि करिब दुई वर्षदेखि तयारी गरिरहेका थियौं । हामीले विगतमा तत्कालीन स्वतन्त्र राजनीतिक समूहको बैठकहरू पनि गरिरहेका थियौं र पार्टीको संरचना, एजेण्डाबारे गहन छलफल गरिरहेका थियौं । हामीले हतारमा यो पार्टी घोषणा गरेका छैनौं । अहिले पनि हामीले यसका आन्तरिक तयारीमा नै छौं । एउटा दल घोषणा गरेर मात्रै हुँदैन । आफ्नो एजेन्डालाई कसरी स्थापित गराउने, जनताका समस्याहरूको सम्बोधन कसरी हुने, अन्य दलभन्दा कसरी फरक हो भन्ने कुराको वास्तविक अनुभूति दिलाउनका लागि यो दलको गठन भएको हो । हामी चरणबद्धरूपमा काम गर्दै जान्छौं र जनताले त्यसको महसुस पनि गर्नेछ । अब निर्वाचन आयोगमा दर्ता प्रक्रिया अगाडि बढ्छ । पदाधिकारीहरू ठूलो कुरा होइन । नीति, विचार र सिद्धान्त ठूलो कुरा हो । पदाधिकारीको पनि छिट्टै टुंगो लाग्छ ।

० अहिले चुनावहरू नजिकिएको छ, तपाइँहरूको झण्डा र चुनाव चिन्ह पनि अहिलेसम्म छैन त ?

— हामीले पार्टी घोषणा गरिसकेपछि अहिले फास्टट्रयाकमा काम गरिरहेका छौं । चुनाव चिन्ह वा झण्डा प्रमुख कुरा होइन, एजेण्डा प्रमुख हो । अहिले मुलुकको वर्तमान परिदृष्यमा दलहरूबीच न्यूनतम् साझा विषयहरूमा राष्ट्रिय सहमतिको नितान्त आवश्यकता छ । यसले नै लिक बाहिर पुगेका राजनीतिलाई पुनः सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ । त्यसैका लागि यो पार्टी गठन भएको हो । नभए हामी पनि कुनै दलमा प्रवेश गरिहाल्थ्यौं । देश र जनताको आवश्यकता एउटा निडर, साहसी र मुलुकको नेतृत्व गर्न सक्ने राजनेताको छ । त्यो भनेको दूरदर्शी नेता हृदयेश त्रिपाठीजी हुनुहुन्छ । हामीले चुनावमा मात्रै भाग लिनका लागि झण्डा वा चुनाव चिन्ह सार्वजनिक गर्दैनौं । देशको निकासका लागि अहम भूमिका निर्वाह गर्न यो दल खोलिएको हो । हामी आफ्नो योजनाअनुसार अगाडि बढिरहेका छौं । 

० जनता प्रगतिशील पार्टीले देशको राजनीतिलाई लिकमा ल्याउन सक्ने क्षमता राख्छ त ?

— हामीले अन्य दललाई गाली गरेर वा आलोचना गरेर आफूलाई असल देखाउन खोज्दैनौं । अन्य दलप्रति हाम्रो आत्मीय सम्मान हुन्छ । मधेश मात्र होइन पूरा देशले हृदयेश त्रिपाठी जस्तो एउटा सक्षम र सुझबुझ भएका नेतृत्वको प्रतिक्षामा थियो । किनभने उहाँ टुट्नु हुन्छ तर झुक्नु हुन्न । उहाँ कहिल्यै पनि मुद्दासँग सम्झौता गर्नुभएन । नेपाली राज्य, समाज, राजनीतिक दलले देशभक्तिपूर्ण भावनालाई निरन्तर विकास गर्नुपर्ने नेताको आवश्यकता छ, जुन हाम्रो हृदयेश त्रिपाठीजी हुनुहुन्छ । त्यसकारणले पहाड, हिमाल र तराई–मधेशका जनताले त्रिपाठीजीलाई एउटा आशाको रूपमा देखेका छन् । हामीले जनता प्रगतिशील पार्टी घोषणा गरेदेखि देशभरिबाट शुभकामनाहरू आइरहेका छन् । हाम्रो पार्टीसँग जुड्नका लागि आमजनता आतुर छन् । हाम्रो पार्टी दर्ता भइसकेपछि हामीले आफ्ना कार्यक्रम लिएर जनताका बीच जान्छौं । त्यसपछि देशभरि हाम्रा एजेन्डा जनताले नै लिएर बढ्नेछन् । हामीले बोलेर होइन, गरेर देखाउँछौं । 

० अरूभन्दा तपाइँहरूको एजेन्डा कसरी फरक छ त ?

— अहिलेसम्म हाम्रा अन्नदाता किसानको नाममा हरेक राजनीतिक दलहरूले भ्रातृ संगठन बनाएका छन्, तर हाम्रो लागि किसान भ्रातृ संगठन नभई मातृ संगठन हो । हाम्रो पार्टीले किसानको हक हितलाई मुख्य वर्गी आधारको रूपमा स्वीकार गर्दै खास किसान र कृषि विशेषज्ञ सम्मिलित उच्चस्तरीय कृषि उपज मूल्य निर्धारण आयोग गठन गर्नेछ । अहिले किसान मल पाइरहेका छैनन् । कृषि माथिको लगानीलाई क्रमशः किसानको उत्पादकत्व र आम्दानी वृद्धि गर्न केन्द्रित गर्नुपर्छ । किसानलाई दिने अनुदान प्रणाली प्रभावहीन र भ्रष्टाचारयुक्त रहेको प्रत्यक्ष किसानको खातामा पुग्ने प्रणाली विकसित गर्नुपर्छ । हामीले किसानलाई मूल वर्गको रूपमा पहिचान गरेका छौं । त्यसैले अन्य दलभन्दा हाम्रो पार्टी फरक हो ।

० तपाइँहरूको पूर्वपार्टी तत्कालीन राजपालाई प्रदेश २ मा सीमित भनेर अलग्गिनुभयो, तपाइँको नवगठित पार्टी पनि त पश्चिमका केही जिल्लामा मात्रै सीमित देखिन्छ नि ?

— यो कुरा तत्कालका लागि कसैकसैलाई लागेको हुनसक्छ । अब हामी भनेर होइन, गरेर देखाउँछौं । हामीले अरूको आलोचना गरेर समय खेर फाल्नुभन्दा अब केही गरेर हामी देखाउँछौं । हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गराइसकेपछि नेपालको प्रत्येक जिल्ला–जिल्लामा जान्छौं । केही दिन भित्रै तपाइँहरूले थाहा पाउनु हुनेछ कि हाम्रो जनता प्रगतिशील पार्टी पश्चिममा मात्रै सीमित छ वा देशभरि । हामीले अरूभन्दा फरक हो भनिरहेका छौं र गरेर पनि देखाउँछौं । केही दिनभित्रै जनताले त्यसको अनुभूति गर्न पाउनेछन् । यो दलमा सबै अटाउने गरी संरचना निर्माण गरिन्छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ