० किसान आन्दोलनको नाममा जनमत पार्टीले हिंसा भड्काउन खोजेको आरोप लागेको छ नि ?
— अहिलेसम्म हाम्रो आन्दोलनका कार्यक्रम शान्तिपूर्ण नै रहेको छ । हिंसा भड्काउने काम त सत्तापक्ष र प्रहरी प्रशासनले गरिरहेको छ ।
० तर, तपाइँहरुले गौर घटनाको पुनरावृत्ति गराउन खोज्नुभयो भन्ने आरोप छ ?
— माघ ५ गते बुधबार सत्तारुढ जनता समाजवादी पार्टीले सुनियोजित तरिकाले रौतहटमा गौर घटना गराउने भनेर नै कार्यक्रमको आयोजना गरेको थियो । यसको हामीसँग प्रमाणहरु छन् । जसपाले युवा संघको नाममा किसानहरुमाथि लाठीभठ्ठा चलाउने र हिंसा मच्चाउने उद्देश्यले कार्यक्रम गरेको थियो । कार्यक्रम स्थलको व्यवस्था हेर्दा स्टेजमुनि लाठीभाठ्ठा राखेर त्यो कार्यक्रम गरिएको थियो । ती लाठीभाठ्ठा राजदेवी नगरपालिका–१ पथरा भन्ने ठाउँबाट ल्याइएको थियो । किसान आन्दोलित छन्, संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्छ भन्ने थाहा हुँदाहुँदै पनि मन्त्री रेणु यादव आउनुभएको थियो । मन्त्री आउँछन् भनेर सयौं किसानहरु जम्मा भएका थिए, कालो झण्डा देखाउनका लागि किसानहरु बसेका थिए तर मन्त्री यादवले प्रहरी प्रशासनलाई दमन गर्न निर्देशन दिनुभएको थियो । सोहीअनुसार किसानहरुमाथि लाठीचार्ज भयो, दर्जनौं किसानहरु घाइते भए । पाँच जना किसानहरु गिरफ्तार भए । त्यो पाँच जनामा एक ७५ वर्षीय वयोवृद्धलाई पनि मन्त्री यादवले गिरफ्तार गर्न लगाउनुभएको छ । तर पनि किसानहरु पछि हटेनन्, पछि चोरबाटोबाट मन्त्री यादव कार्यक्रमस्थल पुग्नुभयो । किसान आन्दोलनको प्रतिकार गर्ने त्यो कार्यक्रममा लाठीभाठ्ठा चलाउने युवाहरु नै थिएनन् । त्यो कार्यक्रममा मन्त्री यादवले खाना र पैसा दिएर गाउँ–गाउँबाट स्कारपियोमा मान्छेहरु जम्मा गर्नुभएको थियो । उहाँको आफ्नो कार्यकर्ता ४०–५० भन्दा बढी थिएनन् । मन्त्री यादवले गौर नरसंहार दोहो¥याउने उद्देश्यले नै आउनुभएको थियो तर उहाँसँग मान्छे नभएर सक्नुभएन । त्यो कुरा उहाँको वक्तव्यबाट प्रष्ट हुन्छ ।
० गौर नरसंहार दोहो¥याउने उद्देश्य थियो त ?
— जसपाले त्यसरी नै योजना बनाएको थियो । आखिर गौर नरसंहार उहाँहरुले नै गरेको भन्ने कुरा स्वीकार नै गरिसक्नुभयो । त्यसैलाई पुनरावृत्ति गर्ने भनेर जसपाले योजना बनाएको थियो । किसानमाथि दमन गर्ने, हत्या गराउने र आन्दोलन निस्तेज होस् भन्ने योजनाका साथ गौरमा कार्यक्रम गरिएको थियो । जुन असफल भयो । हामी त किसानका समस्याहरु समाधान होस्, संघीय मन्त्रीहरुको कानमा आवाज पुगोस् भनेर मात्रै विरोध प्रदर्शन गर्न गएका थियौं ।
० तपाइँहरुको पनि त अराजक शैली देखिन्छ नि । कसैलाई कार्यक्रम नै गर्न नदिने, विथोल्ने, निषेधको राजनीति गर्न थाल्नुभयो नि ?
— हामीले कसैलाई कार्यक्रम गर्न दिँदैनौं भनेका छैनौं । संघीय मन्त्रीहरुको कार्यक्रमलाई मात्र विरोध गर्ने भनेका छौं । संघीय सरकारबाट नै किसानको माग सम्बोधन गर्न सक्छ, मलखाद्य, बीउबिजनको व्यवस्थापन गर्न सक्छ । त्यसैले हामी संघीय सरकारको ध्यानाकर्षण होस् भन्ने उद्देश्यका साथ संघीय मन्त्रीहरुको कार्यक्रममा अवरोध गर्ने भनेका हौं । यसबाहेक कोही कसैसँग हाम्रो कुनै वैरभाव छैन । गौरमा जसपाको मात्रै कुनै कार्यक्रम भएको भए हामी कुनै किसिमको चासो देखाउने थिएनौं । हामी त संघीय मन्त्रीको विरोध गर्ने हिसावले किसानहरुले अवरोध गर्न खोजेको थियो ।
० मन्त्री रेणु यादवले हिम्मत छ भने सिंहदरबार घेर्न जानुस् भनेर तपाइँहरुलाई चुनौति दिनुभएको छ नि ?
— सिंहदरबारमा त उहाँ आफै अहिले बसिरहनुभएको छ । किसानहरु आफ्नो ठाउँमा विरोध गरिरहेका छन् । उहाँसँग पैसा, पावर छ, किसानसँग छैन नि । हाम्रो दिन आउँदैछ, सिंहदरबार पनि घेर्ने नै हो । विचारा किसानसँग खाने, लाउने समस्या छ, अनि सिंहदरबार घेर्न जा भन्न सुहाउँछ एउटा मन्त्रीले ? किसानकै ठाउँमा आएर मन्त्रीले दादागिरी देखाउन खोजिरहेका छन् ।
० मधेशमा अहिले जसपा र जनमतबीच भिडन्तको अवस्था देखिएको हो, किन ?
— हाम्रो संघर्ष कुनै पार्टीविरुद्ध होइन, भ्रष्टाचारी र अनियमितता गर्नेहरुको विरोधमा हो । भ्रष्टाचार जुनसुकै पार्टीले गर्छ, हामी त्यसको विरोध गर्छौं र गर्दै पनि आएका छौं । जुनसुकै पार्टीको भएपनि संघीय मन्त्री मधेशमा आएपछि हाम्रो विरोध प्रदर्शन हुन्छ नै ।
० किसान आन्दोलनको महिना पुग्न लागिसक्यो तर संघीय सरकारको ध्यानाकर्षण भएको देखिँदैन । कहिलेसम्म आन्दोलन गर्ने ?
— यो बडो दुःखद कुरा हो । किसान आन्दोलनको बेवास्ता भइरहेको छ । आफ्ना जायज मागहरु राखेर आन्दोलन गरिरहेका किसान आन्दोलनका मागहरु सम्बोधन गराउनुको साटो गौर नरसंहार जस्तो जघन्य अपराधिक घटना गराउने भन्ने वक्तव्यहरु आइरहेका छन् । किसानको मागलाई उहाँहरु कहिल्यै पनि समाधान गर्न चाहनुभएको छैन । गौरमा मन्त्री रेणु यादवजीले भन्नुभयो कि अब मलखाद्यको फैक्ट्री सीके राउतले लगाउँछ । उहाँहरु मन्त्री पदमा बस्ने, सत्ताभत्तामा रमाउने, सुरक्षा घेराभित्र बस्ने, कमिशन र पैसा खाने तर काम अरुले गरिदिने हो । उहाँहरु किसानको समस्या समाधान होस् भन्ने चाहेकै होइन । त्यसैले, किसानका मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ । हामीले विभिन्न ११ बुँदे माग सार्वजनिक गरेकै छौं । किसानका समस्याहरु समाधानका लागि एउटा उच्चस्तरीय कार्यदल बनाओस् भनेर पनि भनेका छौं । सरकारले कार्यदल बनाएर समस्या समाधान गर्न चाह्यो भने यो आन्दोलन रोकिन सक्छ ।
० अब चुनावको मिति पनि तोक्न छलफल भइरहेको छ, चुनावअगावै किसानका मागहरु पूरा होलान् ?
— किसानका सबै मागहरु पूरा हुन अलिकति समय लाग्न सक्छ तर कमसेकम एउटा उच्चस्तरीय कार्यदल बनाउन समय लाग्दैन । सरकारले एउटा उच्चस्तरीय कार्यदल बनाएर यसरी किसानको समस्या समाधान हुन्छ भन्ने रोडम्याप बनाउनुपर्छ । त्यो गरेपछि किसानलाई पनि लाग्छ कि अब यो प्रक्रिया सुरु भयो, समस्या समाधान हुन्छ भन्ने आशा पलाउँछ । तर किसानको समस्या नै सुन्न चाहिरहेका छैनन् ।
० भनेपछि आन्दोलन रोकिने सम्भावना देखिएन ?
— जनताले आफ्नो माग पूरा गराउन आन्दोलन गर्नु बाहेक अन्य कुनै विकल्प छैन । जनताले आवाज उठाउने भनेको सडकबाट हो । त्यसैले किसानको आन्दोलन त जारी नै रहन्छ । किसानको आन्दोलन पनि भइरहन्छ र हामी चुनावको तयारी गर्दै जान्छौं । आखिर यी भ्रष्टाचारीहरुलाई जनताले त बुझिसकेका छन् । यिनीहरु चुनावबाट पनि डराइरहेका छन् । चुनावमा भोट माग्न गयो भने जनताले लखेट्छन् भन्ने डर पनि ती भ्रष्टाचारीहरुलाई भइरहेको छ ।
० प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम घोषणा भयो । यसलाई जनमत पार्टीले कसरी लिएको छ?
— यो पनि एउटा ठूलो प्रपञ्च हो । मधेश भनेको आठ जिल्ला मात्रै होइन, झापादेखि कञ्चनपुरसम्मको २२ जिल्ला हो । २२ जिल्लाको मधेश प्रदेश हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले आठ जिल्लालाई मात्रै मधेश बनाउनु भनेको षड्यन्त्र हो । मधेशी शहीदहरुप्रति ठूलो अन्याय हो । त्यसैले हामीलाई यो नामांकन मान्य छैन । अहिले प्रदेशको सीमांकन नै गलत हो, यसलाई सच्याएर मात्रै नामांकन होस् भन्ने हाम्रो चाहना थियो ।
० आठ वटा जिल्लाकै भएपनि पहिचानको आधारमा मधेश प्रदेश हुनु स्वागतयोग्य होइन र ?
— यो एउटा षड्यन्त्र मात्र हो । अहिले प्रदेश १ को नामाकरण बाँकी छ, के त्यसको नाम नेपाल प्रदेश राख्ने त ? त्यो त मिल्दैन । त्यसैले मधेशको आठ जिल्लालाई मात्रै मधेश प्रदेश नामाकरण भन्न मिल्दैन ।
० आगामी चुनावमा मधेश प्रदेशमा जनमतले क्लिनस्वीप गर्न सक्छ ?
— जनताको अहिले आशा र भरोसाको केन्द्र जनमत पार्टी नै हो । अहिलेको आन्दोलनबाट पनि त्यो कुरा देखाइरहेको छ । त्यसैले हामी आशावादी छौं, जनताले हामीलाई साथ दिनेछ र मधेश प्रदेशमा क्लिनस्वीप गर्नेछौं ।
तपाईको प्रतिक्रिया