० किसानको नाममा तपाइँहरू कहिलेसम्म आन्दोलन गरिरहने हो ?
— किसानका मागहरू पूरा नभएसम्म आन्दोलन जारी नै रहन्छ । राज्य कतिसम्म कठोर छ, सबैले हेरिरहेका छन् । किसानप्रति राज्य अलिकति पनि संवेदनशील छैन । महिनौंदेखि किसान आन्दोलित छन् तर राज्यका सम्बन्धित निकायहरू अलिकति पनि संवेदनशील देखिएन ।
० तर तपाइँहरू किसान आन्दोलनको नाममा आफ्नो राजनीतिक रोटी सेक्दै हुनुहुन्छ नि?
— यो गलत र निराधार कुरा हो । किसानका समस्याहरू हाम्रो राजनीतिक दस्तावेजमा छ । हामीले सुरूदेखि नै भन्दै आएका छौं कि वैज्ञानिक कृषि हुनुपर्छ अनि मात्रै मधेश र देशमा समृद्धि आउँछ । किसान अहिले राष्ट्रव्यापीरूपमा उठेका छन् । यसको नेतृत्वमात्रै जनमत पार्टीले गरेको हो ।
० आन्दोलनको नाममा तपाइँहरू अराजक गतिविधि गर्दै हिंड्नुभएको भन्ने आरोप पनि छ ?
— हामीले हिंसात्मक वा अराजक शैली अपनाएका छैनौं, यो राज्यले हिंसात्मक बनाउन खोजेको हो । प्रदेश र संघीय सरकारले किसानको आन्दोलनलाई दबाउन बल प्रयोग गरिरहेको छ । किसानको शान्तिपूर्ण आन्दोलनमा अश्रुग्यास, फायरिङ्ग, लाठीचार्ज लगायतकाकार्यहरू भइरहेको छ । किसानहरूले शान्तिपूर्ण आन्दोलन गर्दा दमन गर्न खोज्ने यो कस्तो नीति हो ? बीउ, बिजन, मलखाद्य र सिंचाइ किसानका आधारभूतआवश्यकता हो । किसान त हामी सबैको मूल हो, आधार स्तम्भ हो । भन्नकालागि कृषिप्रधान देश छ तर हामीले हरेक खाद्यान्नआयातगर्नुपर्छ । कृषिमा आत्मनिर्भर बन्नका लागि किसान अब क्रान्ति गर्छ ।
० तपाइँहरूले उठाउनुभएको किसानका समस्याहरू आजको होइन, वर्षौंदेखिको समस्या हो । तपाइँहरू भन्ने बित्तिकै कसरी समाधान हुनसक्छ ?
— किसानका समस्या दीर्घकालीन समाधानका लागि नै हामीले भन्दै आइरहेका छौं कि वैज्ञानिक कृषिकरण गरौं । कृषि पर्यटनको रूपमा विकास गरौं भन्ने हाम्रो एजेण्डा हो । त्यसका लागि पहिला आधार स्तम्भ तयार गर्नुप¥यो । जहिले पनि सत्ता परिवर्तनको खेल मात्रै हुन्छ । त्यसमा मधेशका नाममा मत लिएर आउने, हत्या हिंसाको राजनीतिलाई बढावा दिने र काठमाडौंमा आएर कांग्रेस, एमाले र माओवादीको सरकारमा पालै पालो बस्ने काम भइरहेको छ । तर किसानको समस्याबारे कहिल्यै पनि बहस भइरहेको छैन । आफ्नो घोषणापत्रअनुसार कुनै पनि पार्टीले काम गर्न सकेको छैन । त्यसैले हामीले मधेशमा वैज्ञानिक कृषिकरण गरौं भन्ने माग उठाएका छौं ।
० माघ १२ गते राष्ट्रियसभाको चुनाव बिथोल्ने प्रयास किन गर्नुभयो ?
— त्यो दिन हामीले सबै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दियौं । तर मधेश प्रदेशका मुख्यमन्त्री किसानको समस्या नै सुन्न नचाहने, भाग्याभायै गरेका थिए । राष्ट्रियसभाको चुनाव महत्वपूर्ण होइन, किसानको समस्या मुख्य कुरा हो । मधेशमा जहिले पनि राज्य दमनकारी नीति अपनाउँदै आएको छ । हामीले त्यो चुनाव विथोल्न होइन, मुख्यमन्त्रीलाई खोज्न गएका हौं । मधेशमा अहिले किसानमाथि दमन, हत्या हिंसा र बलात्कारलाई बढावा दिने मूलनीति राज्यको रहेको छ ।
० जनमतका कार्यकर्ताहरूले त प्रदेशसभा सदस्यको हात भाँचिदियो, एउडा चिकित्सकको मुख फुटाइदियो, गाडीहरूमा तोडफोड पनि गरे नि?
— यसको सबै जिम्मेवारी राज्यले लिनुपर्ने हो । सत्तामा बसेकै दलहरूबाट हाम्रो आन्दोलनमा घुसपैठ गरायो होला । हाम्रा कार्यकर्ताहरूले आफ्नो मागका लागि मात्रै प्रदर्शन गरिरहेको छ । राज्यले नै मधेशमा उदण्डता मचाइरहेको छ । शान्तिपूर्ण प्रदर्शन हेर्ने बित्तिकै प्रहरी प्रशासनले लाठीचार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, दमन गर्न खोज्ने जस्ता कार्यहरू गरिरहेका छन् । मधेश प्रदेशमा भ्रष्टाचार चरम सीमामा छ, जनताको करबाट मौज गर्ने बाहेक जनप्रतिनिधिहरू केही पनि गरेको छैन ।
० स्थानीय वा प्रदेशसभाका प्रतिनिधिहरूले कहाँबाट मलखाद्यको व्यवस्था गर्न सक्छ त ?
— लगभग पाँचवर्षसम्म सरकार के हेरेर बस्यो त ? किसानको पक्षमा कुनै पनि नीति बनाउन सक्ने सरकारमा किन बस्नुप¥यो । मलखाद्य दिन सक्दैन भने कमसेकम किसान कार्ड त बनाउन सक्छ । सरकार आफूले व्यवस्थागर्न सक्दैन भने छिमेकी राष्ट्रबाट किसान आफै ल्याउँछ भने त्यसमा किन अवरोध गर्नुप¥यो । बाहिरबाट मलखाद्य वा कृषिऔजार ल्याउन पनि नदिने र आफूले पनि नदिने भनेपछि सरकारको यो कस्तो नीति हो ?
० जनमत पार्टीको आन्दोलन जसपाका विरूद्धमा किन देखिएको छ ?
— हामी कुनै पार्टीका विरूद्धमा आन्दोलन गरिरहेका छैनौं, जो सत्तामा बसेको छ, जसले सरकार चलाइरहेको छ, उससँग हामी जवाफ मागिरहेका छौं । हाम्रा अन्नदाता किसानहरूको समस्या समाधान होस् भनेर ध्यानाकर्षण गराइरहेका छौं । त्यसैले जनमत पार्टीको आन्दोलन कुनै पार्टीका विरूद्धमा नभई सरकारको ध्यानाकर्षणका लागि भइरहेको छ । ४० महिनादेखि सरकार छ, तर किसानकालागि एउटा पनिकाम गरेको छैन । समय आउँदैछ, उनीहरूलाई जनताले एउटा पनि भोट दिँदैन । मधेशको नाममा उनीहरूलाई पटक–पटक जनताले सत्तामा पु¥याए तर मधेशलाई जहिले पनि उपेक्षा गरियो । उनीहरू मधेशलाई आफ्नो पेवा ठानिरहेका छन् । यस्तै अवस्था फ्रान्समा हुँदा त्यहाँ क्रान्ति भएको थियो । यस्तै अवस्था रहिरह्यो भने यो देशमा पनि फ्रेन्सेली क्रान्ति हुन्छ । यस्तो अवस्था रह्यो भने मधेशमा चुनावको पनि वातावरण बन्दैन ।
० तपाइँहरूको माग पूरा नभएसम्म मधेशमा चुनाव पनि हुन नदिने ?
— चुनाव हुनु पर्छ तर किसानका समस्याहरू सम्बोधन पहिलो प्राथमिकता हो । अन्य पार्टीका नेताजीहरूले संविधान संशोधन, पुनर्लेखनका नाउँमा आन्दोलन गराउनुभयो तर खोई ? हामीले यी कुराहरू उठाउँदा उल्टै आरोप लगाउने ? उहाँहरू कोर्ष करेक्सन गर्नुभएन भने भोलि मधेशमा छिर्न दिँदैन । जनताले तिरेको करबाट नयाँ–नयाँ गाडी, महललगायत सम्पत्ति जोड्नेहरूले अब हिसाव दिनुपर्छ । जनताले आगामी चुनावमा उनीहरूलाई राम्रोसँग पाठ सिकाउँछ । अब जनमत पार्टी आउँछ, देश र मधेशको नेतृत्व गर्छ । डा.सीके राउतको पार्टीले वैज्ञानिक कृषिक्रान्ति गरेर देशलाई समृद्धिको बाटोमा लग्छ । हामी बोलेर मात्रै होइन, गरेर पनि देखाउँछौं ।
० जनताले तपाइँहरूलाई पत्याउने आधार के छ ?अहिलेसम्म के गर्नुभएको छ ?
— अहिलेसम्म हामीले मौका नै पाएका छैनौं । एकपटक जनताले हामीलाई मौका दिनुपर्छ र हामी गरेर देखाउँछौं । अब जनताले पत्याउने भनेको जनमत पार्टी नै हो । सबैलाई जनताले हेरिसकेका छन् । जनताको माग अब जनअभिमतबाट निर्धारण हुन्छ । जनताले हामीलाई विश्वास गर्ने आधार भनेको हाम्रो मूल एजेण्डा नै जनताको सम्प्रभूता जनतामा निहित हुनुपर्छ । जनताले जुनअधिकार हामीलाई दिन्छ, त्योअनुसार हामीले गरेर देखाउँछौं । हामीसँग युवा छ, दूरगामी सोच भएका नेताहरू छन्, अहोरात्र खट्ने इन्जिनियर छन् । मधेशमा ठूलो युवाको जमात छ जसले मधेशलाई विकास र समृद्धिको बाटो लिएर जाने सुनिश्चितता दिन्छ । हामी विकास र समृद्धिको झुठो वाचा गर्दैनौं ।
० तपाइँहरूले त १० लाखयुवालाई रोजगारीको कुरा गर्नुभएको थियो, त्यो कहाँ गयो ?
— हामीले १०लाख युवालाई रोजगारी दिने नै हो । जसले जस्तो सिप सिकेका छन्, त्यहींअनुसार उसको आफ्नै ठाउँमा काम दिन्छौं । त्यसकालागि जनताले एक पटक हामीलाई मतदान गर्नुपर्ने हुन्छ । हरेक गाउँमा सयौंको संख्यामा रोजगारी सिर्जना गर्ने हामीसँग रोडम्याप तयार छ ।
० जनमत पार्टीले एमालेका लागि काम गरिरहेको छ भन्ने आरोप पनि छ नि?
— यो सरासर निराधार कुरा हो । हामीमूलधारको राजनीतिमा आएदेखि नै विभिन्न किसिमका आरोपहरू लगाइयो तर कुनै पनि प्रमाणित हुन सकेको छैन । हाम्रो यो आन्दोलनमा विभिन्न मानवअधिकारवादी, बुद्धिजीबी, मिडियाकर्मी, विभिन्न दलका शीर्ष नेताहरूले समर्थन जनाउनुभएको छ । त्यसैले हामी एमालेका लागि काम गरिरहेका छौं भन्ने बेतुकको कुरा हो । यसमा कुनै आधार छैन । किसान आन्दोलनलाई दबाउन र तुहाउनका लागि विभिन्न किसिमका प्रपञ्चहरू भइरहेका छन् ।
तपाईको प्रतिक्रिया