‘मधेशको सम्मानका लागि जनमत पार्टी एक्लै उभिएको छ’

अन्तर्वार्ता

अब्दुल खान, राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी

० तपाइँले बाँकेमा टिकट बेचेको आरोप छ नि ?

— हाम्रोतिर एउटा कथन छ, ‘खिसियानी बिल्ली खम्बा नोचे’ । यस्तै नै हामीमाथि निराधार कसैले आरोप लगाउँछन्, के–के भन्छन् । यो एकदम निराधार कुरो हो, यसमा कुनै सत्यता छैन । कसैले टिकट नपाएपछि आफ्नो रिस पोख्न यो एउटा बहाना मात्र हो ।

० तपाइँकै पार्टीका नेता इरफान अहमत शेषले कुटपिट गराएको, जसपाको नेतासँग साँठगाँठ गरी आर्थिक लेनदेन गरेर टिकट बेचेको आरोप लगाउनुभएको छ नि ?

— अन्य पार्टीका कुनै नेतासँग मेरो कुनै सम्बन्ध छैन । जनताविरोधी कार्य गर्ने जसपा, कांग्रेस लगायतका नेताहरुको सैद्धान्तिकरुपमा म विरोध गर्दै आएको छु । तर, व्यक्तिगतरुपमा कसैको विरोध गरेको छैन । हाम्रो लडाइँ भनेको व्यक्तिगत होइन, हाम्रो लडाइँ भनेको विचार, सिद्धान्तको हो ।

० तपाइँले त इरफानमाथि आक्रमण पनि गराउनुभयो त ?

— इरफानमाथि आक्रमण भएको छैन । जनमत पार्टीले जसलाई उम्मेद्वार बनाएको छ, उमाथि इरफानले आक्रमण गराएको हो । हाम्रा नेताहरुमाथि इरफान शेषलगायतका टोलीले आक्रमण गरेको हो । त्यो आक्रमणलाई रोक्न प्रहरी प्रशासनले लाठीचार्ज गरेको हो । प्रहरी प्रशासनको लाठीचार्जबाट इरफानलगायत उनका केही साथीहरु घाइते भएका हुन् । त्यसका प्रमाणहरु छन्, प्रहरी प्रशासन आफै त्यहाँ उपस्थित थियो । हाम्रा नेताहरुको गाडीमाथि तोडफोड भएको छ । उनी नौटंकीबाज मान्छे हो ।

० इरफान शेष स्वतन्त्र मधेश गठबन्धन हुँदा जनमत पार्टीको संस्थापक सदस्यसमेत हुनुहुन्छ, उहाँलाई टिकट दिने आश्वासन दिइएको थियो । उहाँलाई टिकट नदिनुको कारण हो ?

— इरफान शेषलाई स्वतन्त्र मधेश गठबन्धनमा मैले ल्याएको हुँ । पटक–पटक म जेल गएको छु र उहाँ पनि जानुभएको छ । त्यसकारण हामी सँगै काम गरेका छौं । उहाँको सबै कुरा मलाई थाहा छ । जहाँसम्म टिकटको कुरा छ, पार्टीले सधैं एउटै व्यक्ति, एउटै परिवारलाई दिन मिल्दैन । स्थानीय चुनावलाई उहाँलाई टिकट दिइयो । स्थानीय निर्वाचनमा उहाँको दाइले जम्मा ४२० मत ल्याउनुभएको छ, अब कुन आधारले उहाँलाई टिकट दिने ? अर्को कुरा, जनमत पार्टीको केन्द्रीय समितिले निर्णय गरेको हो कि अन्तिम समयसम्म पनि टिकट दिन सक्छ । त्योअनुसार हामीले अन्तिम समयसम्म पाएको बलियो उम्मेद्वारलाई टिकट दिएका छौं । जनाधार भएको जित्न सक्ने उम्मेद्वारका लागि हामीले खुल्ला आह्वान नै गरेका थियौं । अर्को कुरा इरफानजीले जनमत पार्टीको संगठनमा नोक्सानी पु¥याउनुभएको छ । बाँकेमा जनमत पार्टीसँग जोड्न चाहने नेता कार्यकर्ताहरुमाथि प्रतिबन्ध जस्तै लगाउने काम उहाँले गर्नुभएको हो ।

० जनमत पार्टीमा सुरुदेखि लागेका, योगदान गरेका नेताहरुभन्दा बाहिरिया वा नवआगन्तुकहरुलाई बढी प्राथमिकता किन ?

— जनमत पार्टीले सबैको योगदानको कदर गर्छ । जित्ने खालका पार्टीभित्र वा बाहिरका साथीहरुलाई टिकट दिने निर्णय गरेको कुरा सही हो । हाम्रा नेता कार्यकर्ताहरुको भविष्य सुनिश्चित गर्न हाम्रो पार्टी बलियो हुनुपर्छ । संसदमा हाम्रो बलियो उपस्थिति भएपछि मात्रै हामीले आफ्ना एजेण्डाहरु लागू गराउन सक्छौं । त्यसैले, पहिला हामी बलियो हुनु जरुरी छ । हाम्रा नेता कार्यकर्ताहरु संरक्षणका लागि नै यस्तो निर्णय गरेका हौं । हामी विजय हासिल ग¥यौं भने मात्र सबैलाई आवश्यकताअनुसारको व्यवस्थापन गर्न सकिन्छ ।

० जनमत पार्टी पनि परिवारवादबाट अछुतो देखिएन नि ?

— अन्य पार्टीभन्दा हामी नितान्त फरक छौं । अन्य पार्टीहरुले मधेशविरोधीहरुसँग साँठगाँठ गरिरहेका छन् । मधेशविरोधी पार्टीहरुसँग ती पार्टीहरुले गठबन्धन गरिरहेका छन् । मधेशी जनतालाई भ्रममा पारिरहेका छन् । जनमत पार्टी मधेश र मधेशीको सम्मानका लागि एक्लै उभिएको छ । अर्को कुरा, जनमत पार्टीभित्र परिवारवाद हावी भन्ने आरोप पनि निराधार हो । जसले पार्टीमा योगदान पु¥याएका छन्, सक्षम छन्, जसले देश र समाजमा योगदान पु¥याउन सक्छन्, त्यस्तालाई टिकट दिँदा परिवार हावी भयो भन्न मिल्दैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ