आफ्नो अन्तर्आत्माको आवाज सुनेर मतदाताले मतदान गर्नुपर्छ : ई.सत्यनारायण साह

अन्तर्वार्ता

ई.सत्यनारायण साह, स्वतन्त्र उम्मेद्वार, धनुषा ३

० तपाइँले यसअघि हामीसँगको अन्तर्वार्तामा भन्नुभएको थियो कि दलहरुको विकल्प स्वतन्त्र हुन सक्दैन । तर तपाइँ आफै स्वतन्त्रबाट उम्मेद्वारी दिनुभयो, किन ?

— हो, मैले भनेको थिएँ कि बहुदलीय व्यवस्थामा दलको विकल्प हुँदैन अर्थात् हामीले दललाई मिनिमाइज गर्न मिल्दैन । यो त एकदमै पक्का हो । किनकि हाम्रो देशमा व्यवस्था छ । तर, दलहरुले समाजप्रति जुन उत्तरदायित्व बहन गर्नुपर्ने हो, जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने हो, त्यो अनुसार भएन । जनतामा धेरै ठूलो वितृष्णा र विरक्ति जस्तो उत्पन्न भएको छ । यस्तो अवस्थामा दलहरुमा शुद्धिकरण ल्याउन जरुरी छ । दलहरुमा शुद्धिकरण ल्याएर मात्रै सुदृढीकरण हुन्छ । बहुदलीय व्यवस्थामा दलको महत्व कायम राख्न सुदृढीकरण आवश्यक छ । स्वतन्त्र भनेको निश्चितरुपमा इकाई हो र इकाई भनेको दलको विकल्प हुनसक्दैन । दलहरुमा शुद्धिकरण र सुदृढीकरणका लागि इकाईबाटै प्रस्थान गर्नुपर्छ । इकाईबाट दश, दशबाट सय, सयबाट हजार, हजारबाट लाख र लाखबाट करोड हुन्छ ।

० स्वतन्त्रहरु हावी हुन खोज्दा दलहरु सुध्रिन्छन् ?

— सुध्रिनुपर्ने हो भन्ने अपेक्षा राखौं । होइन भने स्थापित दल भन्नेहरुको विकल्प पनि त हुनसक्छ । म त जनतालाई एउटा विकल्प दिएको हो । म स्वतन्त्र उम्मेद्वारी दिएर जनतालाई एउटा विकल्प दिएको हुँ । कि त स्थापित दलहरु शुद्धिकरणतर्फ जानुप¥यो, होइन भने त्यसको विकल्प पनि हुन सक्छ नि । तर विकल्पको रुपमा दलकै रुपमा आउनुपर्छ भन्नेमा म प्रष्ट छु ।

० यदि दलहरु सुध्रेनन् भने भविष्यमा स्वतन्त्रहरु संगठित भएर दलको रुपमा आउँछ ?

— त्यो अवस्था कस्तो हुन्छ, त्यतिखेर हामी विचार गर्छौं । वर्तमानका दलहरु यदि शुद्धिकरणको नीति लिएर गयो, मेरो विचार र सिद्धान्तसँग मेल खायो भने त्यसमा पनि समाहित हुन सकिन्छ अथवा त्यसको विकल्पमा पनि जान सकिन्छ । आउने दिनमा अवस्था कस्तो हुन्छ, त्यसमा निर्भर पर्छ ।

० धनुषा ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अहिले अर्कै क्षेत्रमा जानुभएको छ । तर त्यहाँ महागठबन्धनहरु छन् । कतिको सहजा लाग्छ ?

— अहिले दुईटा गठबन्धन छन्, एउटा कांग्रेसहित र अर्को एमालेसहितको । तर, जुन किसिमका असन्तुष्टि, विरक्ति र वितृष्णा उत्पन्न भएका छन्, ती गठबन्धनहरु हुँदा ठूलै हलचल पैदा गर्छ वा जनताको मन जित्न सक्दैन ।

० गठबन्धनहरुबाट तपाइँलाई चुनौती महसुस भएको छैन ?

— निर्वाचन भनेको प्रतिस्पर्धा हो । निर्वाचनमा जतिपनि उम्मेद्वारहरु छन्, सबैलाई म सम्मान गर्छु । अब जनताले निर्णय गर्नुपर्ने हो र गर्छन् । जनताले सही निर्णय गर्छन् भन्नेमा म विश्वस्त छु । म आदरणीय मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु कि तपाइँहरु प्रलोभनमा नपर्नुस् । आफ्नो मत स्वच्छ मनले अन्तर्आत्माको आवाज सुनेर मत हाल्नुस् ।

० जनतामा वितृष्णा र विरक्ति रहेको भन्नुभयो, यसका उदाहरणहरु के–के छन् ?

— यसका केही उदाहरणहरु भन्न चाहन्छु । जनताको जनजीवनसँग सरोकार राख्ने सामान्यभन्दा सामान्य आकांक्षाहरु पनि पूरा हुनसकेको छैन । जस्तै, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारका क्षेत्रमा सरकारहरुले जुन किसिमले काम गर्न सक्नुपर्दथ्यो, त्यो देखिँदैन । नेपाललाई कृषि प्रधान देश भनिन्छ तर यहाँ किसानहरु मारमा छन् । कृषकले समयमा मलखाद पाउँदैन, सिंचाइ व्यवस्था छैन, आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । दिनप्रति दिन बेरोजगारी बढ्दै गएको छ । रोजगार सिर्जना हुने कलकारखाना खोलिएको छैन । युवाशक्ति बिनासीप विदेशिन बाध्य छन् ।

० तर, सरकारले धेरै काम गरेको दाबी गर्छन् नि ?

— सरकारले जनजीविकासँग जोडिएका विषयहरु प्रयास गरेको भन्ने कुरा भाषणमा मात्रै छन् । भाषण गर्दैमा नागरिकको जीवनमा परिवर्तन आउँदैन ।

० मधेश प्रदेशमै हेर्ने हो भने विश्वविद्यालयहरु निर्माण भइरहेका छन्, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएको छ नि ?

— नामले मात्रै केही संस्थाहरु स्थापना भएका छन् । मधेश स्वास्थ्य प्रतिष्ठानकै कुरा गर्ने हो भने त्यो संस्था होइन, मन्त्रालयकै एउटा शाखा हो । ती संस्थाहरु मन्त्रालयको शाखाको रुपमा आएका छन्, ती स्वायत्त संस्था होइन । यस्ता संस्थाहरु स्थापना गरेकोप्रति मेरो घोर विरोध छ । त्यस्ता संस्थाहरुबाट जनताको जीवनमा कुनै परिवर्तन ल्याउन सक्दैन ।

० धनुषा ३ का जनताले तपाइँलाई विकल्पको रुपमा लिनुपर्ने कारण के त ?

— म एउटा अभियानीको रुपमा पनि काम गरिरहेको छु । त्यो अभियान भनेको निर्वाचनको दौरान जुन विकृति र विसंगतिहरु देखिएका छन्, त्यसलाई हटाउनुपर्छ । मतदाता जागृत होस् भन्ने हिसावले मैले अभियान चलाइरहेको छु । मतदातालाई प्रलोभनमा पार्ने, भोजभतेर गर्ने, खरिद–बिक्री गर्ने, व्यापक पैसा खर्च गर्ने र आचारसंहिताविपरीत कामहरु भइरहेका छन् । निर्वाचनको दौरान हुने यस्ता विकृतिहरु भ्रष्टाचारको मुख्य उद्गमस्थल हो । त्यहींबाट भ्रष्टाचार सुरु हुन्छ । यो कुरा मतदाताहरुले प्रष्टसँग बुझ्नुपर्छ । भ्रष्टाचारको स्रोतलाई हामीले समाप्त गरेनौं भने देशमा भ्रष्टाचार बढ्यो भनेर कराएर हुँदैन ।

० तपाइँका चुनावी प्रतिबद्धताहरु के–के छन् ?

— मेरो पहिलो प्रतिबद्धता के छ भने म यदि निर्वाचित भएर प्रतिनिधिसभामा गएँ भने सबभन्दा पहिलो संसदीय कोषको नाउँमा जुन रकमको दुरुपयोग भइरहेको छ, त्यसलाई हटाउने मेरो पहिलो प्रस्ताव रहनेछ । हाम्रा जनता स्वास्थ्य सेवा नपाएर छट्पटिरहेका छन्, यहाँ गेट बनाउने, अनुत्पादक विषयहरुमा पैसा खर्च भइरहेका छन् । विद्यार्थीहरुका लागि राम्रो शैक्षिक संस्था छैन । संसदीय कोषको नाउँमा कार्यकर्तालाई पाल्ने, रकमको दुरुपयोग गर्ने हाम्रो नैतिकताले दिँदैन । बरु त्यो संसदीय कोषलाई एकत्रितरुपले प्रयोग गरौं । पञ्चवर्षीय योजना बनाएर प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना हुनुपर्छ । त्यहीं संसदीय कोषलाई प्रयोग गरेर प्रत्येक प्रदेशमा राम्रो शैक्षिक संस्थानको व्यवस्था गर्न सकिन्छ । हामी प्राथमिकता तोकौं । ट्रेड ट्रेनिङ्ग सेन्टर स्थापना गरेर युवाहरुलाई प्रशिक्षित गर्न सक्छौं । अर्को कुरा, कृषि उत्पादन बढाउन सिंचाइ, मलखादको व्यवस्था गर्न सकिन्छ । यस्ता कुराहरु मेरो प्राथमिकतामा हुनेछ । म घोषणापत्रको नाउँमा लामो निबन्ध लेख्ने पक्षमा म बिल्कुलै होइन ।

० भनेपछि तपाइँले चुनावी घोषणापत्र जारी नगर्ने ?

— अहिलेसम्म परम्परागत हिसावले जसरी घोषणापत्र जारी गर्दै आएका छन्, त्यो हिसावले म गर्दिनँ । त्यो निबन्ध लेखनबाट जनताले केही पनि पाउँदैन । जनतालाई हामीले बुँदागत हिसाबले भन्नुपर्छ । त्यसप्रति कर्तव्यनिष्ठ भएर त्यसलाई संसदमा लगेर, कानून बनाएर कार्यान्वयनमा जानुपर्छ ।

० तपाइँले चुनाव चिन्ह ‘महिला’ छाप पाउनुभएको छ, यसको केही विशेष महत्व छ ?

— यो मैले भाग्यवश पाएको हुँ । मेरो सामु अन्य विकल्पहरु पनि थिए । तर मैले ‘महिला’ चुनावचिन्ह नै रोजें । किनकि महिलाप्रति मेरो जुन सम्मान छ, म नमन् गर्छु उहाँहरुलाई । महिलाहरुको प्रतिनिधित्व गराउन, जागृत गराउन मैले महिला चुनाव चिन्ह रोजेकै हो ।

० अन्त्यमा तपाइँ के अपिल गर्न चाहनुहुन्छ ?

— धनुषा ३ मात्र नभई देशभरका सम्पूर्ण मतदाताहरुमा मेरो निवेदन के छ भने तपाइँहरु कुनै प्रलोभनमा नपर्नुस् । तपाइँको अन्तर्आत्मालाई सोध्नुस्, कसले देश र समाजका लागि हित गर्न सक्छ । विगतका कुराहरु पनि सम्झिनुस् । विगतमा तपाइँले के अपेक्षा राख्नुभएको थियो र निर्वाचित भएका नेताले तपाइँको अपेक्षालाई पूरा ग¥यो वा गरेन । यति मात्रै तपाइँहरुले चिन्तन गर्नुभयो र अन्तर्आत्माको आवाज सुन्नुभयो भने पक्कै पनि असल निर्णय गरेर मतदान गर्नुहुनेछ । मतदाताहरुमा मेरो करबद्ध प्रार्थना, बिन्ती छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ