‘मधेशमा कसैको प्रष्ट बहुमत छैन, जसपाले पनि नेतृत्व गर्न सक्छ’

अन्तर्वार्ता

मनिष सुमन, प्रवक्ता, जनता समाजवादी पार्टी नेपाल

० मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको परिणाम जनता समाजवादी पार्टी नेपालका लागि कस्तो आयो ?

— जनता समाजवादी पार्टी नेपालले हालै सम्पन्न आमनिर्वाचनको समीक्षा गरिरहेको छ । पार्टी केन्द्रले जारी गरेको परिपत्रानुसार सबै निर्वाचन क्षेत्रहरुमा आमकार्यकर्ताहरुबीच समीक्षा गरिरहेका छौं । त्यसको प्रतिवेदन यही महिनाको अन्तिमसम्म केन्द्रमा आइपुग्ला । त्यसपछि पार्टी केन्द्रले पनि समीक्षा गर्ला नै । अहिलेको अवस्थामा भन्नुपर्दा जसपाले अपेक्षाभन्दा थोरै सिट पाएको छ । धेरै ठाउँमा हामी थोरै मतको अन्तरालमा पराजित हुनुपरेको अवस्था छ । कहीं–कहीं पुनः मतगणना गरियो भने हामी जित्न पनि सक्छौं ।

० मतगणनामा धाँधली भएको हो ?

— थुप्रै ठाउँमा मतगणनामा धाँधली भएकै हो । धेरै ठाउँमा फरक किसिमका मत खसेको पाइएको छ । समानुपातिकको मत प्रत्यक्षको बाकसमा, प्रत्यक्षको मत समानुपातिकको बाकसमा भेटिएको छ । त्यस्ता थुप्रै त्रुटिहरु छन् ।

० जसपा अध्यक्ष उपेन्द्र यादव तपाइँकै क्षेत्रमा दोब्बरभन्दा बढी मतले पराजित हुनुभयो । कसरी ?

— यो कुरा साँच्चिनै आश्चर्य लाग्दो हो । जुन क्षेत्रबाट म प्रदेशसभामा प्रतिनिधित्व गर्थे, त्यो क्षेत्र हाम्रो अध्यक्षजीकै प्रतिनिधिसभा क्षेत्र अन्तर्गत पर्दछ । अपेक्षाभन्दा धेरै नै फरक निर्वाचन परिणाम आयो । त्यहाँ ठूलो षड्यन्त्र भएको छ । काठमाडौंकेन्द्रित राज्यसत्ताको ठम्याइँ थियो कि उपेन्द्र यादव जितिरह्यो भने यो देशमा संघीयता सुरक्षित रहला, मधेशलाई धेरै अधिकार दिनुपर्ला । त्यसैले उपेन्द्र यादव प्रतिनिधिसभामा फेरि पुग्नु हुँदैन, हार्नुपर्छ भनेर राज्यसत्ता पनि लागेका थिए, थुप्रै पार्टीहरु पनि लागेका थिए ।

० तर, उपेन्द्र यादवलाई राज्यसत्ता वा अन्य पार्टीहरुले हराउनुभन्दा पनि त्यहाँका मतदाताले मत दिएन नि ?

— हैन, मतदाताले त हामीलाई रुचाएकै छन् । उपेन्द्र यादवलाई त्यहाँका मतदाताले नरुचाएको भए १८ हजारभन्दा बढी मत आउने थिएन । यो एउटा अन्तराल हो । पाँच वर्ष हेर्दाहेर्दै बित्छ । पूरै देशभरि आममतदाताले नयाँ तथा विकल्प भनेर खोजेका थिए । डा.सीके राउतजीको नाराहरुमा जनता आकर्षित भएका छन् । उहाँले १० लाख रोजगारी, किसानलाई मलखाद दिने, जनमत संग्रह गराउने लगायतका लोकप्रिय नाराहरु दिनुभएका छन् । हामीलाई उहाँलाई शुभकामना पनि दिइसकेका छौं । हेर्दै जाऔं, उहाँले आफ्नो प्रतिबद्धताहरु कतिको पूरा गर्नुहुन्छ ।

० मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारले आफ्नो पूरा कार्यकाल काम ग¥यो । तर जनअपेक्षित काम गर्न सकेन भनेर धेरै आलोचना पनि भयो । जसपा पराजयको यो पनि एउटा कारण हो कि ?

— हुनसक्छ, जसपा नेतृत्वको सरकारले जनअपेक्षाका सबै काम गर्न सकेन होला । तर, आममतदाताले नयाँ, फरक र विकल्प रोजेका हुन् । हामीले पहिला जितेकालाई नै फेरि त्यहीं ठाउँमा चुनावमा उम्मेद्वार बनायौं, तर आममतदाताले त फरक र नयाँ खोजेका थिए । मधेश प्रदेश सरकारसँग आमजनताको धेरै अपेक्षा थियो । ती अपेक्षाहरु हामीले पूरा गर्न नसकेको कारणले पनि निर्वाचनको परिणाम यस्तो आयो ।

० संघीय संसदमा उपेन्द्र यादवजीको जति आवश्यक थियो त्यतिनै डा.सीके राउतको पनि आवश्यकता छ । दुवै जना एकै क्षेत्रबाट किन भिड्नुभयो ?

— सप्तरी क्षेत्र नं. २ उपेन्द्र यादवजीको हो । पछिल्लो निर्वाचनमा उहाँ त्यहींको जनप्रतिनिधि हुनुहुन्थ्यो । नयाँ मान्छे त्यहाँ आएर डा.सीके राउत किन लड्नुभयो ? उहाँ उपेन्द्रजीसँग किन भिड्नुभयो, यो प्रश्न उहाँलाई नै सोध्नुस् ।

० डा.सीके राउतजीले त म यहाँको मान्छे, यही जन्मेको हुर्केको हुँ, बरु उपेन्द्र बाहिरबाट यहाँ आउनुभएको हो भनेर भन्नुहुन्छ ?

— यस्ता भ्रम नछरे हुन्छ । सबैलाई थाहा छ, उपेन्द्र यादवजीको जन्मथलो पनि सप्तरीको २ नं. क्षेत्र नै हो । उहाँ पनि त्यहींका स्थानीय हुन् । एक्लो सीके राउतजी त्यहाँको स्थानीय होइनन् ।

० जसपाका लागि यो निर्वाचनले के सन्देश दिएको हो त ?

— यो निर्वाचनले जसपालाई अझ संगठित भएर आउ भन्ने सन्देश दिएको छ । जसपालाई सम्मानजनक मत आयो, १६ सिटको पार्टी १२ सिटमा खुम्चिएको छ । राष्ट्रिय दल बन्ने हाम्रो लागि जहिले पनि सहज नै हुन्छ । हामी यो पाँच वर्षलाई एउटा अन्तरालको रुपमा लिएका छौं । यो अन्तरालमा पार्टी झन् सुसंगठित भएर, हामीले उठाउँदै आएको माग–मुद्दाहरुलाई झन् गम्भीरताका साथ उठाऊ भन्ने पाठको रुपमा हामी लिएका छौं । यो पाँच वर्षमा हामी त्यहीं काम गर्छौं ।

० जसपाको अनपेक्षित परिणाम आउनुको कारण एकाएक एमालेसम्म चुनावी सहकार्य पनि हो कि ?

— एमालेसँग हामीले कुनै गठबन्धन गरेका थिएनौं, निर्वाचन परियोजनका लागि तालमेल मात्र गरेका थियौं । अहिले पूरै दक्षिण एसियामा गठबन्धन, तालमेलको लहरै चलेको छ । यस्तो आलोकमा जसपा नेपाल पाँच दलीय गठबन्धनमा आबद्ध थियो । पाँच दलीय गठबन्धनमा कुरै मिलेन । पाँच दलको गठबन्धनमा यदि हामी रहेको भए हाम्रो अस्तित्व नै समाप्त हुन्थ्यो । लोसपा, नेकपा एस आज राष्ट्रिय दल नै भएन । हामीले त्यो बेला दूरदर्शिता नदेखाएको पनि त्यस्तै अवस्था आउँथ्यो । राज्यको चाहना थियो कि सबै मधेशी दललाई समाप्त गरिदिउँ । तसर्थ, हामी एक्लै चुनाव लड्नुभन्दा कोही न कोहीसँग तालमेल गर्नु थियो, अनि एमालेसँग तालमेल ग¥यौं । एमालेसँग हाम्रो वैचारिक वा सैद्धान्तिक सहमतिको आधारमा तालमेल गरेका थिएनौं । त्यो समयको आवश्यकता थियो ।

० तर जुन पार्टीलाई तपाइँहरु दिनरात गाली गर्दै हुनुहुन्थ्यो, त्यहीं दलसँग चुनावी तालमेल गर्दा मधेशी जनताले रुचाएन होला नि ?

— हामी प्रष्ट्याउन चाहन्छौं कि एमालेसँग कुनै विचारको आदान–प्रदान गरेनौं । मात्र निर्वाचन परियोजनका लागि सहकार्य गरेका थिएनौं ।

० निर्वाचनसँगै एमालेसँगको तालमेल सकिएको हो ?

— निर्वाचन परियोजनका लागि गरिएको तालमेल निर्वाचन सकिएसँगै सम्पन्न भएको हो ।

० तर, एमाले र जसपाबीच भएको सहमतिमा “यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।” भनेर दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गर्नुभएको छ नि ?

— अबको सहकार्य सत्ताका लागि हुन सक्दछ । निर्वाचन परियोजनवाला सहकार्य निर्वाचन सकेसँगै सकेको हो । हामीले भविष्यमा पनि सहकार्य गर्न सकिने भनेका थियौं । अब सहकार्यको निरन्तरका लागि हाम्रा शर्तहरु छन् । सरकार निर्माण गर्न पहल गर्ने जनादेश जसपाले पाएको छैन । प्रतिपक्षमा बस्ने जनादेश हामीले पाएका छौं । तर, अहिले यस्तो जनादेश आएको छ कि कुनै एउटा दलले सरकार बनाउने अवस्था नै छैन । खिचडी सरकार बन्ने अवस्था रहेको छ, त्यसमा जसपाको पनि भूमिका देखिन्छ । अहिले सरकार निर्माणका लागि पहल गर्ने जनादेश कांग्रेस र एमालेले पाएको छ । यदि एमालेले हाम्रो समर्थन चाहन्छ भने त्यो शर्तसहित हुनुपर्छ । त्यो शर्त भनेको किसानलाई तुरुन्त मलखाद उपलब्ध गराउने, संविधान संशोधन लगायतका छन् । हाम्रा यस्ता शर्तहरुप्रति जसले आफ्नो धारणा सार्वजनिक गर्छ, त्यो सत्ता सहकार्य गर्न सक्छौं । जनता समाजवादी पार्टी खुल्ला छ, यद्यपि हाम्रो जनादेश प्रतिपक्षमा बस्ने हो ।

० गत निर्वाचन जस्तै यो निर्वाचनमा मधेशी गठबन्धन किन हुन सकेन ?

— ठूला दलहरुले मधेश मुद्दा समाप्त गर्न विभिन्न जालझेल गर्छन् । त्यहीं जालभेल यो निर्वाचनको पूर्वसन्ध्यामा गरिँदै थियो । जसपा त्यसमा फँसेन, लोसपा गएर फँस्यो । मधेशी शक्तिहरुबीच गठबन्धन वा तालमेल हुनुपर्छ भन्ने कुराको साक्षी मधेशवाणी छ । हाम्रा अध्यक्ष उपेन्द्र यादवले पटक–पटक सार्वजनिक रुपमै मधेशवादी दलहरुलाई एक हुन आह्वान गर्नुभएको थियो । जनमत पार्टी त्यतिखेर अस्तित्वमा आइसकेको थिएन तर महन्थ ठाकुरजीको लोसपालाई नामै किटेर आउनुस् एक होऔं, नभए गठबन्धन गरौं, चुनावमा सँगै जाऔं भनेर सार्वजनिक रुपमा भनेका थियौं । तर उहाँहरु तयार हुनुभएन ।

० मधेश प्रदेशमा जसपाले पाँचै वर्ष आफ्नो नेतृत्वमा सरकार सञ्चालन ग¥योा, तर यसपटक त्यो अवस्थामा जसपा छैन । मधेश प्रदेशमा जसपाको कस्तो भूमिका रहनेछ ?

— मधेश प्रदेशमा पनि कसैले स्पष्ट बहुमत ल्याएको छैन । त्यसैले जसपाले मधेश प्रदेश सरकारको नेतृत्व नै गर्न पाउँदैन भन्ने छैन । हामीभन्दा कम सिट ल्याएका साना–साना दलहरुले मुख्यमन्त्रीको दाबी गर्दै हिंडेका छन् । त्यसैले, मधेश प्रदेशको अंकगणित हेर्दा जसपाले नेतृत्व पाउँदैन भनेर भन्न सकिन्नँ । सबै सम्भावनाहरु खुल्ला छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ