विनोद चौधरीप्रति आमजनता धेरै आशावादी छन्, प्रतिबद्धताहरू पूरा गर्नुहुन्छ

अन्तर्वार्ता

करम हुसेन अन्सारी, युवानेता, नेपाली कांग्रेस

० तपाइँको राजनीतिक पृष्ठभूमि संक्षिप्तमा बताइदिनुस् न ?

— म विद्यार्थीकालदेखि त्रिभुवन माध्यमिक विद्यालय बेलाडारीमा १० कक्षा पढ्दै गर्दा वि.सं. २०४६ सालमा लोकतन्त्रका लागि प्रयत्न भइरहेको थियो । त्यो बेला हामी केही विद्यार्थीहरु विद्यालयमा केही नाराहरु लेखेर राजतन्त्रको विरोध प्रदर्शन गर्ने गर्थे । त्यहीं बेलादेखि राजनीतिप्रति मेरो झुकाव बढ्दै गयो । त्यसपछि स्व.गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टी गठन गर्नुभयो । त्यो पार्टीका एकजना जिम्मेवार नेता हाम्रै गाउँका हृदयेश त्रिपाठीजी हुनुहुन्थ्यो । त्यसपछि पार्टीगतरुपमा मेरो राजनीतिको सुरुवात नेपाल सद्भावना पार्टीबाट भयो । त्यसपछि जब स्थानीय चुनाव भयो, अनि हामीबीच मतभेद भयो र म नेपाली कांग्रेसमा प्रवेश गरें । त्यतिबेला गाउँ विकास समितिमा कांग्रेसको पूरै टिमलाई जिताउन सफल भयौं । त्यतिबेला अहिलेका गृहमन्त्री बालकृष्ण खाणजी नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष बन्नुभएको थियो र म जिल्ला सदस्यको रुपमा काम गरेको थिएँ । स्व.गिरिजाबाबुसँग पनि नजिक भएर काम गर्न पाएको थिएँ ।

पछि वि.सं. २०५८ सालमा कांग्रेसकै केही स्थानीय साथीहरुसँग मनमुटावको कारण म हृदयेश त्रिपाठीजीको सम्पर्कमा आएँ । हामी सँगै मिलेर काम गर्ने एउटा सहमति पनि बन्यो । वि.सं. २०६२÷०६३ को आन्दोलनमा पनि गाउँबाट साइकल चढेर शहरतिर आन्दोलन गर्न जान्थें । त्यसपछि जब मधेश विद्रोह भयो त्यतिबेला पनि हामी साइकलमै सदरमुकाम परासीसम्म आन्दोलन गर्न पुग्थ्यौं । पछि तराई–मधेश लोकतान्त्रिक पार्टीको गठन भयो र एउटा बृहत् मधेश आन्दोलनको सुरुवात भयो । त्यो आन्दोलनको पनि मैले आफ्नो क्षेत्रबाट नेतृत्व गरें ।

मेरो योगदान र कार्यको मूल्यांकन गर्दै वि.सं. २०६४ सालको संविधानसभा चुनावमा फोरमका नवलपरासी जिल्ला अध्यक्ष कैलाश महतोले मलाई सभासदका लागि नवलपरासी क्षेत्र नं. ३ बाट टिकट दिन खोज्नुभयो तर म त्यो टिकट लिइनँ । संविधानसभाको चुनाव भनेको देशको संविधान निर्माण गर्नु हो । मभन्दा पनि बौद्धिक नेता हृदयेश त्रिपाठीजी संविधानसभामा पुग्दा राम्रो हुन्छ भनेर मैले त्याग गरेको थिएँ । फोरमका साथीहरु रिसाउनुभो । त्यो क्षेत्रबाट तमलोपाबाट हृदयेश त्रिपाठीजी चुनाव लड्नुभयो र थोरै मतान्तरणले जित्नुभयो । त्यो बेला यदि फोरमबाट चुनाव लडेको भए त्रिपाठीजीको जित्ने कुनै सम्भावना थिएन । त्यसपछि त्रिपाठीजीको सम्पर्कमा रहेर लगातार राजनीतिमा सक्रिय रहें ।

० तपाइँ हृदयेश त्रिपाठीजीसँग यत्रो लामो राजनीतिक यात्रा गर्नुभएकोा छ, तर हालै सम्पन्न आमचुनावको पूर्वसन्ध्यामा कांग्रेसमा किन प्रवेश गर्नुभयो त ?

— गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा म प्रतापपुर गाउँपालिका अध्यक्षका लागि म लड्छु भनेर उहाँलाई भनेको थिएँ र उहाँले मलाई टिकट दिनुहुन्छ भनेर पनि भन्नुभएको थियो । त्यो चुनावमा मनोनयन दर्ता गर्ने अन्तिम समयमा मलाई टिकट दिनुभयो । सुरुदेखि उहाँ केको अलमलमा हुनुहुन्थ्यो त्यो मलाई थाहा भएन । मैले त्यो चुनावमा उहाँलाई भनेको थिएँ कि हामी एमालेसँग सहकार्य गर्नुपर्छ अनि जीत सहज हुन्छ । किनभने २०७४ को आमचुनावमा उहाँ एमालेकै चुनावचिन्ह लिएर जित्नुभएको थियो, उताबाट पनि सहकार्य गरौं भनेर प्रस्ताव आइरहेको थियो । स्थानीय चुनावमा हामी मिलेर जाऔं भन्ने हाम्रो पनि चाहना थियो । तर, उहाँले एमालेसँग कुनै हालतमा सहकार्य गर्न सकिँदैन भनेर सहकार्य हुन सकेन । तैपनि म स्थानीय चुनावमा उपविजेता रहें । स्थानीय चुनावका लागि एमालेसँग सहकार्य गरौं भन्दा उहाँले मान्नुभएन तर संघीय चुनावमा उहाँ आफै लड्दा सहकार्य गर्नुभयो । उहाँ आफ्नो लागि जहाँ पनि र जोसँग पनि सहकार्य गर्न तयार हुनुहुन्छ । उहाँको यो दोहोरो चरित्र देखेर उहाँसँग सहकार्य जारी राख्ने वातावरण रहेन । कांग्रेस, राष्ट्रियता, लोकतन्त्र, समाजवादको नारालाई देखेर म नेपाली कांग्रेस प्रवेश गरें । देशको आवश्यकता कांग्रेस हो ।

० भनेपछि हृदयेश त्रिपाठी पनि व्यक्तिवादी नेता हुनुहुन्छ ?

— उहाँको चरित्रले त त्यहीं देखायो नि । मधेशवादीको नाममा राजनीति गर्ने दल र नेताहरुको व्यवहारबाट युवानेताहरु पलायन हुन थालेका छन् । दिनहुँ मधेशी युवानेताहरु ती पार्टीहरु छोडेर अन्य पार्टीहरुमा जाँदैछन् । कांग्रेस भनेको मधेश, पहाड, हिमाल सबैलाई समेटेर हिंड्ने पार्टी हो । वर्तमान समयमा हेर्ने हो भने रेशम चौधरीको रिहाइका लागि कांग्रेसकै सरकारले अध्यादेश ल्याएर प्रक्रिया अगाडि बढाएको छ । विगतमा रेशम चौधरी निर्दोश छन् भन्ने एमालेका नेताहरु पनि अहिले अध्यादेशको विरोध गरिरहेका छन् ।

० यो आमचुनावमा हृदयेश त्रिपाठीजी उद्योगपति विनोद चौधरीजीसँग पराजित हुनुभयो । विनोद चौधरीजी पैसाको बलमा जित्नुभएको भन्ने चर्चा छ नि ?

— विपक्षीहरुले त्यस्ता हल्ला फैलाएका थिए । वास्तविकता के छ भने जनतामा परिवर्तनको चाहना थियो । नवलपरासीबाट हृदयेश त्रिपाठीजी पाँच पटक चुनाव जित्नुभएको छ । हरेक पटक उहाँ सत्तासँग नजिक बस्ने प्रयास गर्नुभयो । तर आमजनताको जुन आकांक्षा थियो विकास र समृद्धि त्यो कुरा पूरा हुन सकेन । जनता विकल्पको खोजीमा थिए । विनोद चौधरीजी एउटा सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँले नेपाललाई विश्वस्तरमा चिनाउनुभएको छ । तब त्यो क्षेत्रमा विनोद चौधरीजी चुनाव लड्न आउनुभयो अनि जनतामा परिवर्तनको एउटा आशा देखिन थाल्यो । चुनावका दौरान विनोद चौधरीजी जुन भाषण गर्नुहुन्थ्यो, त्यसबाट जनता आकर्षित हुन्थे । हामीजस्ता तमाम युवा साथीहरु पनि उहाँप्रति आकर्षित भयौं । हामीले आशा गरेका छौं कि विनोद चौधरी जस्तो व्यक्ति हाम्रो क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ भने कायापलट हुनेछ । नवलपरासी जिल्लाको समग्र विकासका एजेण्डा र समस्याहरु समाधानका उपायहरुबारे जनतालाई उहाँले बताउनुभएको छ । आजसम्म त त्रिपाठीजीले पनि कुरा गर्नुभएको थियो तर भएन । एकचोटि चौधरीजीलाई पनि मौका दिउँ भनेर जनताले उहाँलाई जिताएका हुन् । विकास र समृद्धि गर्न सक्ने क्षमता छ उहाँसँग ।

० विनोद चौधरीजी त यसअघि पनि समानुपातिक प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो नि ?

— उहाँ एकचोटि एमाले र एकचोटि कांग्रेसबाट गरी दुईचोटि समानुपातिक सांसद हुनुभयो । मेरो विचारमा उहाँ त्यतिबेला व्यापारीहरुको नेतृत्व गरेर दुईचोटि मौका पाउनुभएको थियो । उहाँ जनताबाट अनुमोािदत भएर आउनुभएको थिएन । जनतासँग उहाँको सिधा सम्बन्ध थिएन । यो चुनावका बेला उहाँ जे–जे प्रतिबद्धता गर्नुभएको थियो, ती कुराहरु अहिलेदेखि नै पूरा गर्ने तयारी थालिसक्नुभएको छ । सुकुम्वासी समस्या समाधानका लागि उहाँले पहल थाल्नुभएको छ । सीमामा आम सर्वसाधारणले भोग्नुपरेको समस्या समाधानका लागि पनि पहल गर्नुभएको छ । उहाँले चुनावका दौरान अनावश्यक आश्वासन कहिल्यै पनि दिनुभएन ।

० अध्यादेशको विषयमा कांग्रेसमा पनि त मतभेद छ नि ?

— पार्टीभित्र मतभेद भए पनि कांग्रेसले अहिलेको आवश्यकतालाई बुझेको छ । कांग्रेस नेतृत्वले सबैलाई विश्वासमा लिएर अध्यादेश ल्याएको हो । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ । उहाँले इमान्दारिता देखाउनुभयो भने प्रमाणीकरण हुनेछ । अन्यायमा परेका थरुहट आन्दोलनका नेता कार्यकर्ताहरुले न्याय पाउनेछन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ