‘मधेशका जनताको विश्वासको केन्द्र एमाले बन्दै गएको हो’

अन्तर्वार्ता

सञ्जीव कुमार झा सुरज (केन्द्रीय सदस्य, नेकपा एमाले, सह–इन्चार्ज, राष्ट्रिय युवा संघ)

० एमाले र माओवादी केन्द्र एकाएक फेरि एक ठाउँमा आउने सम्भव कसरी भयो ?

— पछिल्लो निर्वाचनहरुको मतादेश हेर्ने हो भने वाममतदाता, वामसुभेच्छुक, वामआन्दोलनप्रति आस्था राख्नेहरुको सन्देश पनि थियो कि वामशक्तिहरु एक ठाउँमा आउनुपर्छ । कांग्रेसहितसहित वामशक्तिहरुको गठबन्धन प्राकृतिक थिएन । कांग्रेसले कम्युनिष्ट पार्टीहरुलाई मत दिएन भन्ने गुनासो पनि थियो । जसले गर्दा वामशक्तिहरु कांग्रेसको भूमिकाप्रति चिन्तित र सशंकित नै थिए । वामशक्तिहरु छिन्नभिन्न हुँदा वाममतदाताहरु वैकल्पिक शक्तिहरुको खोजीमा लागे । यो एउटा चिन्ताको विषय पनि बन्यो । हाम्रा शीर्ष नेताहरु यसबारे चिन्तन, मनन् गर्दै अहिले मुलुकले आज वाम नेतृत्वको सरकार पाएको अवस्था हो ।

० ३२ सिट भएको माओवादीलाई ७८ सिट भएको एमालेले सरकारको नेतृत्व दिनुपर्ने बाध्यता थियो ?

— सिट संख्याभन्दा पनि वाममतदाताको इच्छा र भावनालाई कदर गर्नुपर्ने प्रमुख दायित्व हो । हामीले वामआन्दोलनलाई पनि बचाउनुपर्ने आवश्यकता थियो । समानुपातिक सिटमा सबभन्दा ठूलो दल एमाले नै हो । एमालेमाथि मुख्य दुईटा जिम्मेवारी रहेको छ । पहिलो मुलुकमा एउटा स्थायी सरकार दिनुपर्ने र दोस्रो भनेको वाम आन्दोलनलाई संरक्षण गर्नुपर्ने दुवै जिम्मवारी स्वाभाविकरुपमा एमालेकै काँधमा थियो । त्यहीं जिम्मेवारी निर्वाह गर्दै एमालेले माओवादी केन्द्रलाई सरकारको नेतृत्वलाई दिएको हो । प्रधानमन्त्री पदभन्दा पनि देशलाई स्थिरतातर्फ लग्नु ठूलो कुरा हो । मुलुकमा स्थिर सरकार दिनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले जुन कदम चाल्नुभयो, त्यसले गर्दा वामहरु एक ठाउँमा उभ्ने प्लेटफर्म बनेको छ ।

० अहिलेको सत्ता गठबन्धनभित्र रहेका दलहरु विभिन्न विचारधाराका छन्, यसले स्थायी सरकार दिन्छ ?

— सबै राजनीतिक दलहरुको आआफ्नो फरक–फरक विचारधारा, नीति र सिद्धान्त हुन्छ । तर मुलुकलाई स्थायित्व दिनका लागि एउटा साझा न्यूनतम् कार्यक्रम हुन्छ । हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व यो गठबन्धन सरकारको साझा न्यूनतम् कार्यक्रम बनाउने समिति निर्माण भएको छ । यो समितिले सत्तारुढ गठबन्धन दलहरुको साझा एजेण्डा बनाउँछ र सोहीअनुसार यो सरकारले काम गर्छ । सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ ।

० सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने भद्र सहमति भएको सुनिन्छ । अढाई वर्षपछि केपी ओलीजी प्रधानमन्त्री बन्नुहुन्छ ?

— अब जसरी जनताको मतादेश आएको छ, समानुपातिकमा सबभन्दा बढी मत आएको छ, ती सबै कुरालाई मध्यनजर गर्ने हो भने जनताले एमालेको नेतृत्व खोजेकै हो । केपी शर्मा ओलीलाई जनताले प्रधानमन्त्रीको रुपमा हेर्न खोजेकै हो । यो कुरा सत्य नै हो । परिस्थितिअनुसार अहिले उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन । तर जुन हिसावले देशभरिबाट एमालेलाई मत आएको छ, त्यसअनुसार एमालेकै नेतृत्व देशले खोजेको हो ।

० तर अढाई वर्षपछि प्रचण्डजी नेतृत्व छोड्नु भएन भने ?

— यस मामिलामा प्रचण्ड एकदम इमान्दार हुनुहुन्छ । वाम एकता टुटेपछि समस्या र भोगाइ उहाँले पनि भोग्नुभएको छ, सबै वामनेताहरुले भोगेका छन् । त्यसैले अब नयाँ शिराबाट सबै वामशक्तिहरु अगाडि अठोट लिएका छन्, त्यसमा कुनै समस्या हुँदैन । सहमतिअनुसार प्रचण्डले पहिला पनि शेरबहादुर देउवालाई नेतृत्व छोड्नुभएकै हो । त्यसैले, प्रचण्डजी इमान्दार हुनुहुन्छ, भद्र सहमति कार्यान्वयन हुन्छ ।

० एमाले अहिले दोस्रो ठूलो दलको रुपमा रहेको छ, अब ठूलो दल बन्दैछ भन्ने चर्चा छ नि ?

— समानुपातिक मत हेर्दा स्वाभाविकरुपले एमाले सबैभन्दा ठूलो दल रहेको छ । माधवकुमार नेपालले जसरी पार्टी फुटाएर जानुभयो र एमालेकै सरकार ढाल्नुभएको थियो । उहाँसँग हाम्रो सैद्धान्तिक वा वैचारिक मतभेद छैन । यो चुनावमा उहाँलाई एमालेमै फर्किनुास् भनेर म्यान्डेड दिएको छ । उहाँको पार्टीलाई जनताले राष्ट्रिय पार्टीको रुपमा स्वीकार गरेनन् । एमाले यदि नफुटेको भए सबभन्दा ठूलो दल हुनेथियो । कैयौं ठाउँमा हाम्रा मत विभाजित भएका छन्, केही झिनो मतले हाम्रा उम्मेद्वार पराजित भएका छन् । हामी एक भएको भए आज संसदको अंकगणित फरक हुन्थ्योा र प्रदेशहरुमा बहुमत हुन्थ्यो । यो कुरालाई उहाँहरुले पनि मनन् गर्नुभएको छ ।

० माधव कुमार नेपालसहित टिम एमालेमा फर्किदै हुनुहुन्छ ?

— माधव कुमार नेपालसहित नेताहरुलाई एमालेमा फर्काउन अहिले हाम्रा शीर्ष नेताहरु वार्ता र सम्वाद गर्दै हुनुहुन्छ । एमालेमा फर्किने बारेमा उहाँ एकदम सकारात्मक हुनुहुन्छ । उहाँसँगको एक–दुईटा वार्तामा म पनि सहभागी थिएँ । देश र वामआन्दोलनको विषयमा उहाँ चिन्तित हुनुहुन्छ । एमाले बनाउन उहाँको ठूलो योगदान रहेको छ । १५ वर्षसम्म त उहाँले एमालेको नेतृत्व नै गर्नुभएको हो । त्यसैले आफ्नै पार्टीमा फर्किन उहाँलाई कुनै पनि गाह्रो छैन । अर्को कुरा, हामीबीच वैचारिक वा सैद्धान्तिक कुनै मतभेद नै छैन । हामी एक हुने प्रक्रियामा छौं । चाँडै एमालेले आफ्ना सबै नेताहरुलाई समेट्दै संसदको पहिलो दल बन्नेछ ।

० मधेश प्रदेशमा एमाले सबभन्दा ठूलो दल बनेको छ, स्थानीय चुनावमा पनि राम्रो स्थान ल्यायो । विगतमा मधेश विरोधी भनेर भनिएको थियो । मधेशमा एमाले मजबुत हुँदै जानुको कारण के देख्नुहुन्छ ?

— विगतमा एमाले नेतृत्वको सरकारले मधेशको विकास, समृद्धिका लागि जसरी काम ग¥यो, त्यसबाट जनताको झुकाव पुनः एमालेप्रति बढ्न थालेको छ । केपी शर्मा ओलीको नेतृत्वमा दुई पटक सरकार बन्दा मधेशमा धेरै योजना, परियोजना र विकास निर्माणका कामहरु अगाडि बढेको थियो । त्यहीं सब देखेर मधेशका जनताको विश्वासको केन्द्र एमाले बन्दै गएको हो । विगत केही वर्षमा एमालेलाई मधेश विरोधी भनेर भ्रमात्मक प्रचार गािरएको थियो । तर अब ती भ्रमहरु हट्दै गएको छ । एमाले कहिल्यै पनि मधेश विरोधी काम गरेको छैन । मधेशको विकास, समृद्धि र अधिकारका कुरालाई एमालेले जहिले पनि प्राथमिकतामा राख्दै आएको छ । त्यसैले, आगामी निर्वाचनहरुमा मधेशमा एमालेले लगभग दुई तिहाइको सिट ल्याउँछ र प्रदेशमा पनि एकल सरकार बनाउने हैसियत बनाउँछ ।

० मधेश प्रदेशको सबभन्दा ठूलो दलको हैसियत सरकारले मतादेश दिएको देखिन्छ । एमालेले मधेश प्रदेशको सरकार अन्य दललाई दिन लागेको हो नि ?

— सत्ता साझेदारी गर्दा कतिपय कुराहरु त्याग गर्नुपर्ने अवस्था आउनसक्छ । राजनीतिमा यो स्वाभाविक प्रक्रिया हो । सातवटा प्रदेशमध्ये पाँच वटा प्रदेशमा हामी त सबैभन्दा ठूलो दल नै भएका छौं । केपी ओलीकै नेतृत्व र पहलमा अहिलेको सत्ता गठबन्धन बनेको अवस्था हो । सत्ता गठबन्धनको आफैले नेतृत्व गरिरहेको अवस्थामा यदि आफैले कतै–कतै त्याग गर्नुपर्ने अवस्था आउँछ भने, गठबन्धन बचाउनका लागि पनि हामी पछाडि हट्नुपर्ने हुन्छ । त्यसैले, मधेश प्रदेशमा हाम्रो नेतृत्वमा सरकार नबनेपनि त्यो सत्ता गठबन्धनकै सरकार हुन्छ । गठबन्धनको सरकार साझा न्यूनतम कार्यक्रमअनुसार चल्ने कुरा हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ