‘मुद्दाको हिसावले हामी मधेश प्रदेशमा कमजोर भएका छैनौं’

अन्तर्वार्ता

भरत प्रसाद साह (गृह तथा सञ्चारमन्त्री, मधेश प्रदेश, पोलिट ब्युरो सदस्य, नेकपा माओवादी केन्द्र)

० तपाइँ मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्रीको रुपमा करिब डेढ वर्ष काम गर्नुभयो, कतिको सन्तोषजनक छ ?

— मैले मधेश प्रदेशको मन्त्रीको रुपमा गरेको कामबाट म एकदम सन्तुष्ट छु । प्रदेशका लागि मैले एकदमै महत्वपूर्ण कामहरु गरेको छु । मधेश आन्दोलन, जनयुद्धलगायत पहिचान र अधिकार प्राप्ति आन्दोलनका शहीद परिवारलाई राहत वितरण, शहीदहरुको सम्झनामा बलिदानी दिवस, जनयुद्ध दिवस लगायतका मनाएका छौं । घाइते अपाङ्गहरुलाई राहत दिने काम पनि गरेका छौं । त्यस्तै, विपद् व्यवस्थापन, विपद्बाट हुने क्षति न्यूनीकरणका पक्षका पनि उल्लेखनीय कामहरु गरेका छौं ।

० अहिले मधेशमा शीतलहर चलेको छ । जनजीवन एकदमै प्रभावित भएका छन् । यसका पूर्वतयारीहरु के–के गर्नुभएको छ ?

— हामी यसअघि नै विपद व्यवस्थापन समितिको बैठक बसेर विभिन्न सञ्चारमाध्यमहरुबाट सन्देशमूलक सचेतना कार्यक्रमहरु गरिरहेका छौं । शीतलहर जस्ता प्राकृतिक प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा हामीले जनचेतना गरिरहेका छौं । चिसोबाट बच्नका लागि हामीले वन मन्त्रालय र स्थानीय सरकारहरुसँग समन्वय गरेर गाउँ–गाउँ र चौक–चौकमा आगो ताप्नका लागि दाउराको व्यवस्था गर्ने, अति विपन्न वर्गहरुका लागि न्यानो कपडा वितरण गर्ने काम पनि गरिरहेका छौं ।

० मधेशका बढेको चिसो र शीतलहरबाट खासगरी अति विपन्न वर्ग नै पीडित भइरहेका छन्, कैयौं ज्यानसमेत गएको तथ्यांक छ नि ?

— प्राकृतिक विपद्लाई हामीले रोक्न सक्दैनौं, त्यसबाट हुने क्षतिलाई न्यूनीकरण मात्रै गर्न सक्छौं । वर्षेनी शीतलहर र चिसोबाट जनजीवन प्रभावित भइरहेका हुन् । विगतका वर्षहरुमा धेरै गरिब तथा विपन्नहरुको ज्यान जाने गर्दथ्यो । तर, अहिले मुलुकमा तीन तहको सरकार आइसकेपछि ती सबै सरकारहरुले शीतलहरबाट बच्न अत्यावश्यक कदमहरु चालेका छन् । विगतको वर्षको तुलना यस वर्ष हामी जीउज्यान जोगाउन सफल भइरहेका छौं । चिसो र शीतलहरबाट जोगाउनका लागि मधेश प्रदेश सरकार सतर्क र क्रियाशील छ ।

० मधेश प्रदेशमा कसको नेतृत्वमा सरकार बन्दैछ ?

— अहिले नयाँ बनेको गठबन्धन दलकै नेतृत्वमा मधेश प्रदेशमा पनि सरकार बन्छ । अब कसले नेतृत्व गर्ने भन्ने सन्दर्भमा हामी छलफल गरिरहेका छौं । आज शुक्रबार प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण हुँदैछ । शपथ ग्रहणपछि हामीले सरकार निर्माणका विषयमा निष्कर्षमा पुग्छौं ।

० मधेश प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी छ ?

— गठबन्धनका दलहरुले सरकारको नेतृत्वका लागि दाबी गर्नु स्वाभाविक नै हो । माओवादी केन्द्रले पनि मधेश प्रदेश सरकार नेतृत्वको दाबी गरेको छ । यस्तै, नेकपा एमाले, जसपा, जनमत पार्टीले पनि मधेश प्रदेश सरकारको नेतृत्वका लागि गरिरहेको छ । सरकारको नेतृत्वबारे गठबन्धनका शीर्ष नेताहरुले छलफल गरी टुंग्याउनु हुन्छ ।

० मधेश प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गर्ने आधार के छ त ?

— संघदेखि प्रदेशसम्म गठबन्धन दलबीच पावर सेयरिङ्गको कुराहरु छन् । त्यसअन्तर्गत एउटा महत्वपूर्ण पार्टी माओवादी केन्द्र पनि हो । जसले विभिन्न आन्दोलनहरुमा आफ्नो सक्रिय भूमिका निर्वाह गरेको छ । लामो समयदेखि जकडेर राखेको राजतन्त्रलाई फालेर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन महत्वपूर्ण भूमिका खेल्यो । त्यो हिसावले पनि हामी दाबी गरेका छौं ।

० तर, माओवादी केन्द्र त मधेश प्रदेशमा छैठौं नम्बरको पाटी हो नि ?

— सिट संख्यामा कम भएर दाबी गर्न मिल्दैन भन्ने कुरा छैन । संघमा पनि त माओवादी केन्द्र तेस्रो नम्बरको दलको हो तर अहिले सरकारको नेतृत्व गरिरहेको छ नि । संघमा जसरी आलोपालो छ, त्यसरी नै मधेश प्रदेशमा पनि आलोपालो हुनसक्छ । मधेश प्रदेशमा गठबन्धनभित्र प्रमुख चार दलहरु एमाले, माओवादी केन्द्र, जसपा र जनमत पार्टी छ । सबै नेतृत्वका लागि दाबी गर्नु स्वाभाविक हो । केन्द्रमा जुन किसिमको सहमति बन्छ, त्यहींअनुसार प्रदेशहरुमा पनि हुन्छ ।

० माओवादी केन्द्रले मधेश प्रदेशमा संसदीय दलको नेता कहिले चयन गर्छ ?

— विधिवत्रुपमा हामीले सांसदको पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेपछि त्यतातिर लाग्छौं । माओवादी केन्द्रले मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न अप्ठ्यारो छैन । सर्वसहमतिबाट नै हामी दलको चयन गर्छौं ।

० आमचुनावको पूर्वसन्ध्यामा प्रहरी प्रदेशको मातहत हुनुपर्छ भनेर तपाइँको नेतृत्वमा अनसन बस्नुभएको थियो नि ?

— तत्कालीन सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको थियो । सबैको ध्यान निर्वाचनतिर थियो । त्यो बेला आन्दोलन गर्दा उपयुक्त हुँदैन भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले आग्रह गर्नुभएको थियो । आमचुनावलाई मध्यनजर गर्दै संघीय सरकारको आग्रहमा हामीले आन्दोलन स्थगित गरेका थियौं । त्यतिबेलाको सरकारले निर्वाचन लगत्तै प्रहरी समायोजन गर्ने भनेर प्रतिबद्धता जनाएको थियो । अब नेपाल सरकारले प्रहरी समायोजन गर्छ, गरेन भने हामी फेरि आन्दोलन गर्छौं ।

० अहिले त तपाइँकै पार्टी अध्यक्षको नेतृत्वमा संघीय सरकार रहेको छ, अब प्रहरी समायोजन हुन्छ त ?

— हामी अपेक्षा गरौं । पहिलेको सरकारले दिएको आश्वासनअनुसार प्रहरी समायोजन हुनुपर्छ । त्यतिबेला पनि हाम्रो पार्टी संघीय सरकारको एउटा प्रमुख घटक थियो ।

० मधेश प्रदेशमा माओवादी केन्द्र आफ्नो पकड गुमाउँदै गएको छ नि ?

— मुद्दाको हिसावले हामी मधेश प्रदेशमा कमजोर भएका छैनौं । केही प्राविधिक कुराहरुले गर्दा हाम्रो सिट संख्यामा कमी आएको हो । नेतृत्वपक्तिले समयमै गर्नुपर्ने कामहरु गर्न नसकेकोले समस्या आएको हो । यो समस्या हामी छिट्टै समाधान गर्छौं । अहिले सरकार गठनको प्राक्रिया टुंगिएपछि हामी मधेश प्रदेशमा संगठनलाई विस्तार गर्दै सशक्त बनाउँदै जानेछौं । मधेश प्रदेशमा हामी नेतृत्वविहीन भएकोले पनि यस्तो अवस्था आयो ।

० केन्द्रीय तहमा जुन नयाँ समीकरण बन्यो, त्यसको प्रभाव मधेश प्रदेशमा कस्तो रह्यो ?

— नयाँ समीकरण बनेपछि त्यसको प्रभाव तलसम्म पर्ने स्वाभाविक पनि हो । नेपाली कांग्रेससहित गठबन्धन भत्किनुको मूल दोषी कांग्रेस नै हो । कांग्रेसले जुन जेन्टलम्यान एग्रीमेन्ट गरेको थियो, त्यसप्रति इमान्दार देखिएन । चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने र चुनावपछिको सरकारको नेतृत्व माओवादीले गर्ने भनेर भद्र सहमति भएको थियो । चुनावको परिणाम पनि कांग्रेस ठूलो दल बन्यो भनेर एउटा दम्भ देखाउन थाल्यो । कांग्रेसले ‘खोला त¥यो, लौरो बिस्र्यो’ जस्तै व्यवहार गर्न थाल्यो । कांग्रेसले माओवादीलाई धोका दियो भनेर कांग्रेसकै नेताहरुले भनिरहेका छन् ।

० तपाइँहरुले ओलीलाई प्रतिगमनकारी भन्नुहुन्थ्यो नि ?

— प्रतिगमनकारी र अग्रगमनकारी समयसापेक्षअनुसार हुँदोरहेछ । एउटा सधैंभरि प्रतिगमनकारी र अर्को अग्रगमनकारी हुँदैन । त्यो समयसापेक्षअनुसार हुने हो । अहिलेको गठबन्धन देशको समृद्धि, विकासका लागि निर्माण भएको हो । अहिले बनेको गठबन्धन देश र जनताका निम्ति अग्रगमनकारी नै हो ।

० संघीय सरकारको नेतृत्व आलोपालो भनिएको छ, आधा कार्यकालपछि प्रचण्डले नेतृत्व छोड्नुहुन्छ ?

— अरुले प्रचण्डलाई कस्तो चिनेको छ त्यो त थाहा भएन । तर मैले चिनेको प्रचण्ड भनेको उहाँले बोलेको कुरा गर्नुहुन्छ । साढे दुई वर्षपछि कसैले भन्नै पर्दैन, उहाँ आफैले सरकारको नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ