‘जसपाको दलको नेता महिला हुनुपर्छ’

अन्तर्वार्ता

किरण कुमारी साह (प्रदेशसभा सदस्य, मधेश प्रदेश, जनता समाजवादी पार्टी नेपाल)

० प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा तपाइँको पहिरनलाई लिएर निकै चर्चित हुनुभयो । तपाइँको प्रतिक्रिया के छ ?

— सबभन्दा पहिला त कसैको पहिरनमाथि प्रश्नचिन्ह उठाउनु नै हुँदैन । यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । लोकतान्त्रिक मुलुकमा पहिरनको विषयलाई लिएर विवाद खडा गर्नु न्यायसंगत होइन । प्रदेशसभा सचिवालयबाट हामीले पत्र पाएका थियौं कि शपथ ग्रहण कार्यक्रममा आफ्नो संस्कृति झल्किने गरी पोसाक लगाएर आउनु । सोही कुरालाई मध्यनजर गर्दै म मिथिला संस्कृति झल्किने पहिरन लगाएर शपथ ग्रहणमा पुगेको थिएँ ।

० तर, तपाइँ त दुलही जस्तो सज्जिएर शपथ ग्रहण कार्यक्रममा पुग्नुभएको थियो नि ?

— म अहिले उमेरले बुढी पनि भइसकेको छैन । त्यसैले, अलि साजसज्जा गर्दा दुलहीजस्तै म देखिन्छु । म मधेशको छोरी र बुहारी हुँ । मिथिला संस्कृतिमा कुनै पनि शुभकार्य गर्दा महिला यस्तै पहिरनमा सज्जिन्छन् । मिथिलाको मौलिकता झल्किने, मिथिलानी नारीले लगाउने पहिरनमा शपथ लिएर सम्पूर्ण मिथिलाको नारीको प्रतिनिधित्व गरेको छु । मैले आफ्नो पहिरनबाट मिथिलावासीलाई मात्रै होइन, सम्पूर्ण देशवासीको सम्मान गरेको छु ।

० मिथिलाको संस्कृतिलाई जगेर्ना गर्ने पनि तपाइँको अभियान हो ?

— मेरो राजनीतिक यात्रा तत्कालीन मधेशी जनअधिकार फोरमबाट नै सुरु भएको हो । फोरमको सुरुदेखि नै मूल एजेण्डा थियो कि पहिचानसहितको संघीयता । पहिचान भनेको भेषभूषा, भाषा, संस्कृति, रहनसहन, खानपान लगायत हो । सोहीअनुसार हाम्रो प्रदेशको नामाकरण ‘मधेश प्रदेश’ भएको छ ।

० भनेपछि अब तपाइँ संसदको बैठक सधैं सोही पहिरन लगाएर उपस्थित हुनुहुन्छ ?

— प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण मेरो लागि जीवनको एउटा ऐतिहासिक दिन थियो । सो कार्यक्रम सबैले आआफ्नो मौलिकता र संस्कृति झल्किने गरी पोसाक लगाएर आउनु भनेर संसद सचिवालयले निर्देशन नै दिएको थियो । त्यसैले शपथ ग्रहण दिन आफ्नो संस्कृति झल्किने पहिरन लगाएको थिएँ । जहिले पनि एउटै खालको पहिरन लगाउनुपर्छ भन्ने पनि होइन । मौसम र आफ्नो अनुकूलताअनुसार अब पहिरन लगाउनुपर्ने हुन्छ । तर मैले जहिले पनि महिलाको सम्मान, संस्कृति र संस्कार झल्किने पोसाक लगाएर संसद बैठकमा उपस्थित हुनेछु ।

० तपाइँले दुलहीजस्तो पहिरन लगाएर सबैको ध्यान आफूतिर आकर्षित गर्न, चर्चामा मात्र गर्नुभएको थियो भन्ने टिप्पणीहरु पनि आएका छन् नि ?

— विपक्षीहरु यस्तो टिप्पणी गर्नु स्वाभाविक हो । समाजमा हरेक किसिमका मान्छेहरु हुन्छन् । कोही–कोही नकारात्मक सोच र दृष्टिकोण भएका मान्छेहरु पनि हुन्छन् । मेरो पहिरन मात्रै मिथिला संस्कृति झल्काउने थिएन, मैले शपथ ग्रहण पनि मैथिली भाषामै लिएको हुँ । मेरो व्यवहार पनि सभ्य नै थियो । मैले तडक–भडक गरेकै होइन । म एउटा मिथिलानी भएर पहिरन लगाएको थिएँ ।

० मधेश प्रदेशका कतिपय सांसदहरुले “मधेशी भाषा” भनेर शपथ ग्रहण गरेका छन्, तपाइँ के भन्नुहुन्छ ?

— संसारमै कहीं नभएको भाषालाई यहाँ मधेशी भाषा भनेर व्याख्या गरिएको छ । जुन भाषा हाम्रो संविधानमा पनि छैन, त्यो भाषामा शपथ ग्रहण गर्न दिनु संसद सचिवालयको त्रुटि देखिन्छ । सस्तो लोकप्रियताका लागि केही सांसदहरुले आफैले उत्पति गरेर मधेशी भाषा नामाकरण गर्नुभएको छ । यो निन्दनीय कार्य हो र संविधानको विपरीत पनि हो ।

० प्रदेशसभाभित्र तपाइँका एजेण्डाहरु के रहनेछन् ?

— मधेश प्रदेशको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि लगायत मेरो प्रमुख एजेण्डाहरु छन् । विकासका हरेक सूचकांकमा मधेश प्रदेश पछाडि परेको छ । इम्प्लामेन्ट, एजुकेशन एण्ड हेल्थमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसमा पनि महिलाको सशक्तिकरण, आर्थिक सवलीकरण कसरी हुन्छ भन्नेमा विशेष जोड रहनेछ । महिला सशक्तिकरण र सवलीकरणका लागि नीति तथा कार्यक्रमहरु धेरै आयो त प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । त्यसैले महिला सशक्तिकरण र आर्थिक सवलीकरणका लागि नीतिगतरुपमा कार्यान्वयन गराउन मेरो कदम अगाडि बढ्छ । यस विषयमा सदन पनि म जोडदाररुपमा आवाज उठाउँछु ।

० मधेश प्रदेश सरकारको नेतृत्वका लागि जसपाको पनि दाबी छ ?

— निश्चितरुपमा जसपा मधेश प्रदेशको एउटा निर्णायक शक्ति हो । गत कार्यकालभन्दा यसपटक सिटसंख्या अलि कम भएपनि निर्णायक अवस्थामा जसपा रहेको छ । सोही हिसावले मधेश प्रदेश सरकारको नेतृत्व गर्न दाबी हुनु स्वाभाविक नै हो । अहिले केन्द्रमा जुन प्रकारको गठबन्धन निर्माण भएको छ, त्यसमा सहमतिअनुसार जसपाले नेतृत्व पााउन पनि सक्छ ।

० मधेश प्रदेशमा जसपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

— मधेश प्रदेशमा हाम्रो दलको नेताका लागि छलफल भइरहेको छ । अब छिट्टै नै दलको नेता चयन हुनेछ । सकेसम्म सर्वसहमतिबाट नै दलको चयन हुनेछ । हाम्रो पार्टीले मधेश प्रदेशमा पाँच वर्षसम्म नै सरकार चलायो तर एक जना पनि क्याबिनेट मिनिष्टर महिलालाई दिएको छैन । त्यो त्रुटिपूर्ण निर्णय थियो । उत्पीडित, शोषित, पीडितहरुका लागि आवाज उठाउने जसपा नै हो । आगामी दिनमा जसपाले योग्य, शिक्षित महिलालाई अवसर दिनुपर्छ । जहाँ पनि महिलाले नेतृत्व गरेका छन्, त्यहाँ सुन्दर तरिकाले काम भएको छ । गत क्याबिनेटमा यदि महिलाले नेतृत्व गर्न पाएको भए अझ बढी उपलब्धिमूलक कामहरु हुन्थ्यो । आगामी दिनमा महिलालाई उचित स्थान दिनुपर्छ भन्ने मेरो माग रहेको छ ।

० भनेपछि, मधेश प्रदेशको संसदीय दलको नेतामा जसपाले महिलालाई चयन गर्नुपर्छ ?

— संसदीय दलको नेता महिलालाई नै दिनुपर्छ भन्ने त छैन तर महिलालाई पनि दिँदा राम्रो हुन्छ । किनभने जसपाबाट मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै महिला योग्य, कर्मशील, जुझारु र आन्दोलनकारी नै हुनुहुन्छ । हरेक आन्दोलनमा महिलाको उच्च योगदान रहेको छ । हाम्रो माग पनि रहेको छ कि महिलालाई अवसर दिनुपर्छ । त्यसैले, मधेश प्रदेशमा जसपाको संसदीय दलको नेतामा महिला हुनुपर्छ ।

० जसपाले विभेदका विरुद्ध र समावेशिताका लागि संघर्ष गर्दै आएको छ तर आफैभित्र त्यो कुरा लागू गर्दैन नि ?

— समानुपातिक समावेशिता आउनु जसपाकै देन हो । जसपा अध्यक्ष उपेन्द्र यादव संघीयताका प्रणेतासमेत हुनुहुन्छ । उहाँले समानुपातिक समावेशिताको वकालत गर्दै आउनुभएकोा छ र त्यसैका लागि हामी लडिरहेका छौं । जसपाजस्तो समानुपातिक समावेशिता कुनै पनि दलमा छैन ।

० तर मधेश प्रदेश सरकारको नेतृत्व पाँच वर्षसम्मै जसपाले ग¥यो, एक जना पनि महिलालाई क्याबिनेट मिनिस्टर बनाएन नि ?

— काम गर्दै जाँदा त्रुटिहरु हुन्छन् । निश्चितरुपमा मधेश प्रदेश सरकारको नेतृत्व जसपाले ग¥यो, जसमा एक जना पनि महिला क्याबिनेट मिनिस्टर भएन, यो कमी कमजोरी हो । यसबारे हामीले पार्टीभित्र बहस र छलफल चलाएका छौं । आगामी दिनमा त्रुटिहरु सच्याएर हामी अगाडि बढ्छौं भनेर समीक्षा पनि भएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ