‘हामी जनता राज ल्याउँछौं’

अन्तर्वार्ता

महेश प्रसाद यादव (संसदीय दलको नेता, मधेश प्रदेश, जनमत पार्टी)

० मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा तपाइँलाई जनमत पार्टीले अघि सारेको छ । कहिले सरकार गठन हुँदैछ ?

— सरकार गठनका लागि अब प्रदेश प्रमुखज्यूले दाबी पेश गनृ आह्वान गर्नुहुन्छ । सम्भवतः यो महिनाको अन्तिमसम्म मधेश प्रदेशमा सरकार गठन भइसक्छ । हाम्रो गठबन्धन दलहरुबीच पनि छलफल भइरहेको छ । जनमत पार्टीलाई जनताले जसरी हामीलाई आकर्षक मत दिएका छन्, त्यो हिसावले नेतृत्व हामीले पाउनुपर्छ भन्ने हाम्रो दाबी छ । सोहीअनुसार गठबन्धनभित्र हामीले पनि कुरा राखेका छौं, छलफल भइरहेको छ । सरकारको नेतृत्वका लागि गठबन्धनभित्रका अन्य दलहरुको दाबी छन् ।

० मधेश प्रदेशमा जनमत र जसपाले आलोपालो गर्ने चर्चा छ नि ?

— गठबन्धनभित्र अहिले कसले नेतृत्व गर्ने भन्ने कुराको निर्णय भइसकेको छैन । आन्तरिकरुपमा छलफलहरु भइरहेका छन् । मधेश प्रदेशमा जसरी हामीले समानुपातिक मत पाएका छौं, त्यो हिसावले जनताले यसपालि जनमत पार्टीको नेतृत्वमा सरकार हुनुपर्छ भन्ने मतादेश हामीलाई दिएको छ । त्योअनुसार हाम्रो दाबी पनि हो ।

० तपाइँ भावी मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ, तपाइँका योजनाहरु के–के छन् ?

— सबभन्दा पहिला त मधेश प्रदेशका आधारभूत आवश्यकताका अनुसार नीति तथा कार्यक्रम ल्याउनुपर्ने, ऐन कानूनहरु बनाउनुपर्ने, विधेयकहरु ल्याउनुपर्ने हो । धेरै कामहरु ऐन कानून नहुँदा अड्किएको छ । मधेश प्रदेशलाई व्यवस्थित तरिकाले चलाउनेपर्ने छ । अर्को कुरा, जनताको भावनासँग सरकार जोडिनुपर्छ । यसका लागि जनताको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायतका विषयहरु हाम्रो प्राथमिकतामा छन् । शिक्षामा सरकारको करोडौं लगानी हुन्छ, तर सामुदायिक विद्यालयप्रति आकर्षण छैन । त्यस्तै, स्वास्थ्य क्षेत्रको जर्जर अवस्था छ । सरकारी स्वास्थ्य चौकी व्यवस्थित छैन । पैसा हुनेले जहाँ पनि गएर स्वास्थ्य चेकजाँच गर्छन् तर, विपन्नहरुले राम्रो उपचार पाइरहेका छैनन् । यसैगरी किसानहरु पनि धेरै पीडित छन् । मलखाद, बीउ, सिंचाइ लगायतका कृषि सामग्रीहरु किसानले समयमा पाउन सकिरहेको छैन । जसले गर्दा दिनप्रति दिन हाम्रो उत्पादन घटिरहेका छन् । किसानका समस्याहरु समाधान गर्न पनि हाम्रो विशेष जोड रहन्छ ।

० जनमत पार्टीले विगतमा मधेश प्रदेश सरकारको विरुद्धमा धेरै आन्दोलनहरु ग¥यो, अहिले तपाइँहरु नै नेतृत्वमा आउनुभएको छ । कतिको चुनौती देख्नुहुन्छ ?

— चुनौती त निश्चित रुपमा नै छ । तर, चुनौतीलाई सामना गर्दै समाधानतर्फ जाने हामीले आँट गरेका छौं । हामी राष्ट्रसेवक कर्मचारीहरुको सहयोगमा प्रदेशमा सुधार ल्याउँछौं । सबै कर्मचारी बेइमान छैनन् । अधिकांश कर्मचारीहरु काम गर्न चाहिरहेका छन् । कर्मचारी पनि जनताको सेवक, हामी पनि जनताको सेवक नै हौं । हाम्रो भूमिका फरक होला । हामीबीच राम्ररी सहकार्य गर्न सक्यौं भने जनतालाई सेवा सुविधा प्रदान गर्न सक्छौं । काम गर्न चाह्यो भने हामी प्रदेशलाई नमूना प्रदेश बनाउन सक्छौं । तर हामीमा केही गर्नुपर्छ भन्ने चाहना हुनुपर्छ ।

० तपाइँका पार्टी अध्यक्ष डा.सीके राउतले आफ्नो क्षेत्रमा जनताका समस्याहरु बुझ्नका लागि उजुरी पेटिका राख्नुभएको छ र ती समस्याहरु समाधान गर्ने भन्नुभएको छ । कति समस्याहरु समाधान भए ?

— हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्नका लागि एउटा जनसम्पर्क कार्यालय पनि स्थापना गरेका छौं । यस्तै, के–के समस्याहरु छन् भन्ने बुझ्नका लागि हामी उजुरी पेटिका पनि राखेका छौं । जुन प्रकारका जनगुनासाहरु आएका छन्, त्यसमा हाम्रा अध्यक्ष स्वयम्ले पहल गरिरहनु भएको छ । धेरै समस्याहरु उहाँले समाधान पनि गर्नुभएको छ ।

० के–कस्ता समस्याहरु देख्नुभयो ?

— मुख्यतः उजुरी पेटिकामा आएका समस्याहरु सरकारी कार्यालयहरुसँग सम्बन्धित नै छन् । कृषि ज्ञान केन्द्र स्थापना भएको छ तर त्यसले किसानका लागि के–के ल्याएको छ, यसबारे जनतालाई थाहा नै हुँदैन । महिला हिंसाका कुराहरु छन् । वडाहरुमा रहेका स्वास्थ्य चौकीको सेवा सुविधाबारे पनि गुनासाहरु आएका छन् । सरकारले निःशुल्क दिने औषधिहरुको विवरण पनि देखिएन । विभिन्न गुनासाहरु छन् । ती गुनासाहरु सम्बोधन गर्नेतिर हामी प्रतिबद्ध छौं ।

० अध्यक्ष डा.राउतले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको थियो कि उजुरी पेटिकामा हिंसामा परेकी एक महिलाको उजुरी प्रहरीले लिन मानेन । त्यसका लागि डा.राउतले गृहमन्त्रीलाई फोन गर्नुभयो भन्ने कुरा आएको छ । ती पीडित महिलाको उजुरी प्रहरीले लियो कि लिएन ?

— डा.साबले गृहमन्त्रीलाई फोन गरेपछि प्रहरीमा उजुरी पनि दर्ता भयो । आरोपित पीडकहरु पनि समातिएका छन् । पीडकलाई कारबाहीको प्रक्रिया पनि अगाडि बढिसकेको छ ।

० जनमत पार्टीप्रति जनताले धेरै आशा गरेका छन् । तपाइँहरुले धेरै सपना पनि बाँड्नुभएको छ । ती सपनाहरु पूरा गराउन सक्नुहुन्छ ?

— हाम्रो नेतृत्वमा सरकार बन्यो भने चुनौतीहरु भएपनि जनताका समस्याहरु समाधान गर्छौं । जनताका जनजीविकासँग जोडिएका कुराहरु शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायतका कुराहरु त राज्यले सुनिश्चित गरिसकेको छ । हामीले कुनै नयाँ कुरा भनेका छैनौं । राज्यले नै जब सुनिश्चित गरिसकेको छ भने ती कुराहरु पूर्ति गर्न कहाँ बाधा अवरोध छन्, ती बाधालाई मात्रै फुकाउने हो । बाधा अवरोध फुकाउन हामी एकदम प्रयत्नशील छौं । त्यो सम्भव पनि छ । हामीले सामुदायिका विद्यालयमा बार्डिङ्गभन्दा बढी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउँदैछौं ।

० तपाइँहरुले जनता राज ल्याउने पनि भन्नुभएको छ ?

— जनताले हामीलाई निर्वाचित गरेर संसदमा पठाउँछन्, एउटा प्रतिनिधि र सेवकको रुपमा । कतिपय नेताहरु जितेर गइसकेपछि आफूलाई शासक, शोषक र मालिक नै ठान्दछन् । हरेक क्षेत्रमा जनताको सहभागिता र प्रत्यक्ष निगरानीमा हामी काम गर्छौं । जनताले सुशासनको वातावरण महसुस गर्न सकोस् भनेर हामीले जनता राज ल्याउन नितान्त आवश्यकता छ । त्यसका लागि हामी लागिपरेका छौं ।

० जनमत पार्टीको नेतृत्वमा सरकार बन्यो भने जनता राजको महसुस हुन्छ ?

— निश्चितरुपमा हामी जनता राज महसुस गराउँछौं । जनताको राज र जनताको सरकार हो भन्ने कुरा हामी महसुस गराउँछौं ।

० तपाइँ मधेश प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा हुनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ ?

— गठबन्धनले यदि हाम्रो पार्टीलाई मधेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी दियो भने हामीले गरेका प्रतिबद्धताहरु, जुन जनताको प्रत्यक्ष सरोकारका विषयहरु छन्, त्यसप्रति हामी प्रतिबद्ध भएर अगाडि बढ्छौं । मधेश प्रदेशमा प्रतिनिधित्व गरिरहेका जति पनि दलहरु छन्, ती सबैसँग सहकार्य गरेर अगाडि बढ्छौं । प्रदेशभरिका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायहरु लगायत सबै पक्षसँग सहकार्य हुन्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ