क्रान्तिकारी स्वराजीहरुलाई संगठित गर्दै ‘राष्ट्रिय स्वराज पार्टी’ घोषणा गर्दैछौं

अन्तर्वार्ता

इरफान अहमद शेख, स्वराज आन्दोलनका संस्थापक नेता

० मधेश विद्रोहमा सहादत प्राप्त गरेका मधेशी शहीदहरुको सम्मानमा मधेश बलिदानी दिवस मनाइएको छ । तपाइँहरु कसरी मनाउभयो ?

— हामीले मधेश आन्दोलनका शहीदहरुलाई जहिले पनि सम्मान गर्ने गरेका छौं । १६औं मधेश बलिदानी दिवसको अवसरमा सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छौं । हाम्रो स्वराजीहरुले मधेश सबै जिल्लामा मैनबत्ती बालेर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मधेश आन्दोलनका शहीदहरुले देखेका सपना र देखाएको बाटोलाई हामी सम्मान गर्दछौं । शहीदहरुको सपना पूरा गर्ने जिम्मेवारी हामी पूरा गर्छौं । मधेशवादी भनाउँदा दलहरुले मधेश आन्दोलनका शहीदलाई सम्मान गर्न सकेन ।

० तपाइँ स्वतन्त्र मधेश गठबन्धन हुँदै जनमत पार्टीमा पनि हुनुहुन्थ्यो, तर गत निर्वाचनमा पार्टी छोडेर स्वतन्त्ररुपमा प्रतिनिधिसभामा चुनाव लड्नुभएको थियो । अब आफ्नो राजनीतिक यात्रा कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

— हामी स्वतन्त्र मधेश गठबन्धनमा हुँदा सरकारसँग सीके राउतले सम्झौता गर्नुभो । हामीलाई विभिन्न आश्वासन दिँदै सीके राउतले हामीलाई गुमराह राख्नुभयो । हामीले मुद्दा छोडेका छैनौं भनेर उहाँले भन्नुभयो र हामी उहाँको कुरामा विश्वास ग¥यौं र जनमत पार्टीमा पनि बस्यौं । त्यो सम्झौताप्रति मलगायत धेरै स्वराजी साथीहरुको विमती थियो । विमती राख्ने नेताहरुलाई सुरुदेखि नै योजनाबद्ध तरिकाले पाखा लगाउँदै आउनुभयो । क्रान्तिकारी स्वराजी नेताहरुलाई उहाँले पाखा लगाउँदै जानुभयो । त्यसको निरन्तरताअनुसार जनमत पार्टीबाट मेरो पनि बिदाई भयो । बाध्यात्मक परिस्थितिले मैले पार्टी छोड्न विवश भएँ । मैले स्वतन्त्ररुपमा प्रतिनिधिसभाको चुनावमा लडें । अहिले पनि हाम्रो स्वराजीहरु संगठित भइरहेका छौं ।

० तपाइँहरु फेरि नयाँ पार्टी खोल्ने योजना छ ?

— हाम्रा स्वराजी साथीहरुबीच गहन छलफल र बहस भइरहेका छन् । चुनावका बेला पनि मैले स्वराजी साथहिरुसँग प्रतिबद्धता गरेको थिएँ कि पछि हामी पार्टी गठन गर्छौं । त्यो प्रतिबद्धता पूरा गर्नका लागि अहिले हामी नयाँ पार्टी गठनको प्रक्रियामा छौं । अब हामी क्रान्तिकारी स्वराजीहरुलाई संगठित गरेर नयाँ पार्टीको घोषणा गर्दैछौं । हाम्रो परिषद् बैठकबाट ‘राष्ट्रिय स्वराज पार्टी’ घोषणा गर्ने निर्णय भएको छ ।

० भनेपछि मधेशमा अब नयाँ पार्टीको जन्म हुँदैछ ?

— मधेश मात्रै होइन, यो देशमा अब एउटा नयाँ पार्टीको जन्म हुँदैछ । सम्भवतः मेरै नेतृत्वमा नयाँ पार्टी निर्माण हुँदैछ । हामीले आउँदो माघ ११ गते बुधबारका दिन लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको भैरहवामा ‘राष्ट्रिय स्वराज पार्टी’ घोषणा गर्ने तयारीमा लागेका छौं । विगतमा डा.सीके राउतजीको आश्वासनमा मधेशको मुद्दा अगाडि बढाउने भनेर हामी स्वतन्त्र मधेश गठबन्धनमा लागेका थियौं । जन्म पार्टीको जन्मदातामध्ये पनि एक हुँ । तर पछि उहाँले पार्टीका एजेण्डाहरु नै छोड्दै जानुभयो । उहाँले छोडेको स्वराज र मधेश मुद्दालाई आत्मसात गर्दै अगाडि बढ्छौं ।

० तपाइँहरुको एजेण्डा स्वतन्त्र मधेश नै रहनेछ ?

— स्वतन्त्र मधेश होइन, हामी मधेशको मुद्दालाई अगाडि बढाउँछौं । राष्ट्रमै स्वराजको परिकल्पना हामी गरिसकेका छौं । राष्ट्रमै स्वराज स्थापना हुनुपर्छ भनेर नै हामी राष्ट्रिाय स्वराज पार्टी घोषणा गर्न लागेका हौं । मधेशमा नयाँ दलको आवश्यकता छ । जब हामी जनमत पार्टी गठन ग¥यौं, त्यो बेला डा.राउतले मधेशमा अब कुनै मधेशवादी पार्टी छैन, सबैले मुद्दा छोडिसक्यो भनेर भन्नुहुन्थ्यो । तर, अहिले उहाँ पूरानै पार्टीको बाटोमा हिड्दै हुनुहुन्छ । यसले प्रष्ट गरिसकेको छ कि जनमत पार्टी पनि मधेशवादी पार्टी होइन । मधेशमा मधेशवादी पार्टीको आवश्यकता रहेकोले हामी मधेशवादी पार्टी गठन गर्दैछौं ।

० संघीय संसदमा माघ ५ गते डा.सीके राउतजीको जुन किसिमको प्रस्तुती थियो, त्यसलाई हेर्नुभयो त ?

— प्रतिनिधिसभाको बैठकमा डा.राउतको प्रस्तुती पब्लिसिटी स्टन्ट मात्रै हो । तैपनि हामीले सकारात्मकरुपमा लिएका छौं । उहाँले एउटा ऐतिहासिक काम गर्नुभयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु । तर, प्रधानमन्त्री स्वयम्ले उहाँको सो कार्यलाई बेवास्ता गारेको देखियो । डा.राउतले पनि अहिलेको प्रधानमन्त्रीलाईा समर्थन गर्नुभएको छ, विश्वासको मत दिनुभएको छ, उहाँको पार्टी सरकारमा पनि सहभागी छन् । उहाँले मधेश आन्दोलनका शहीदहरुको सम्मानमा मौन धारण गर्दा प्रधानमन्त्रीले अपमान गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले मधेशका शहीदलाई राष्ट्रकै शहीद हो भनेर मान्यता दिनुभएन ।

० प्रधानमन्त्री प्रचण्डले मधेशका शहीदहरुको अपमान गर्नुभयो ?

— निश्चितरुपमा प्रधानमन्त्री प्रचण्डाले मधेशका शहीदहरुको अपमान गर्नुभएको छ । यसबारे प्रधानमन्त्रीले माफी माग्नुपर्छ, क्षमायाचना गर्नुपर्छ । किनभने जब राष्ट्रले नै मधेश आन्दोलनका शहीदलाई शहीद घोषणा गरिसकेको छ । मधेशको मत चाहियो, कर चाहियो तर संसदमा मधेशीलाई सम्मान दिन मिल्दैन भने यस किसिमको राजनीति अब चल्दैन । अर्को, कुरा डा.राउतको स्वतन्त्र मधेशको मुद्दा जस्तै यो पनि एउटा स्टन्टबाजी मात्रै हो । मधेशमा जसरी उहाँको पकड गुम्दैछ, त्यसलाईा रोक्नका लागि फेरि युवाहरुलाई उक्साहटमा लैजाने रणनीति हो ।

० जनमत पार्टी अहिले सरकारमा छ, तर मन्त्रालयको कार्यभार सम्हाल्न गएको छ, यो के हो ?

— मालदार मन्त्रालय नपाएपछि मात्रै संसदमा त्यो किसिमको डा.राउतको आक्रोश थियो । अरु केही होइन । जनमत पाएको खानेपानी मन्त्रालय नै लिनुपर्छ । यदि उहाँमा नैतिक छ, मधेशी जनतासँग प्रेम छ भने तत्काल मन्त्रीलाई फिर्ता बोलाएर राजीनामा गराउनुपर्छ । सरकारमै बसेर सरकारको विरोध गर्न सुहाउँदैन । जुन दिन जनमतका अब्दुल खानले नियुक्ति पाउनुभयो, त्यहीं दिन उद्योग मन्त्रालय दिन दिइएन ? त्यसैले यो एउटा स्टन्टबाजी मात्रै हो । राम्रो मन्त्रालय नपाएपछि मधेशको अपमान हो भनेर भन्न मिल्छ ? यदि मधेशकै अपमान हो भने सरकारमा बस्नुको औचित्य छैन । उपेन्द्र यादवजीको पार्टी यो सरकारलाईा समर्थन गरेपनि अहिलेसम्म मन्त्री पठाउनुभएको छैन । त्यहींअनुसार यदि नैतिकता छ भने सरकारको साझा न्यूनतम् कार्यक्रमलाई समर्थन गरोस् र सरकार बाहिर बसोस् । डा.राउत त आफै प्रचण्डको चरणमा जानुभएकोा छ । राम्रो मन्त्रालय नपाएपछि डा.राउत आफू सरकारमा नगएर बिचारा अब्दुल खानलाई बलीको बोको बनाइएको छ ।

० तपाइँले घोषणा गर्न लाग्नुभएको “राष्ट्रिय स्वराज पार्टी”का एजेण्डाहरु के–के छन् ?

— हाम्रो पहिलो एजेण्डा भनेको पूर्वदेखि पश्चिमसम्मको मधेशको भूभागलाई एकीकरण गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, राज्य पुनर्संरचना, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तय हुनुपर्ने, राज्यको सबै निकायहरुमा मधेशी युवाहरुको सामूहिक प्रवेश हुनुपर्ने लगायतका थुप्रै एजेण्डाहरु छन् । यी एजेण्डाहरु अन्य दलहरुको पनि रहेका छन् । तर तिनीहरुको भनाइ र गराइमा तालमेल छैन । हामी संघर्षको माध्यमबाट यी एजेण्डाहरु सुनिश्चित गराउँछौं ।

० तपाइँहरु नयाँ दल खोले पनि जनताले विश्वास गरिहाल्नुपर्ने आधारहरु के–के छन् त ?

— हामी सस्तो लोकप्रियताका लागि नयाँ दल खोल्न लागेको होइन । हामी स्वराजीहरु सस्तो लोकप्रियताभन्दा काममा विश्वास गर्छौं । एक दशकभन्दा बढी समयदेखि हामी संघर्ष गर्दै आएका छौं । जेलनेल पनि भोग्दै हामी यहाँसम्म आएका छौं । त्यसैले हामीमाथि विश्वास गर्ने धेरै आधारहरु छन् । मधेशका जनताले हामीलाई अवश्य नै विश्वास गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ