० हाम्रो छिमेकी मित्रराष्ट्र भारतले आफ्नो ७४औं गणतन्त्र दिवस मनाएको छ, यसमा तपाइँ के भन्नुहुन्छ ?
— निश्चितरुपमा हाम्रो छिमेकी भारतका लागि यो दिन निकै नै सुखद र महत्वपूर्ण दिन रहेको छ । भारतको गणतन्त्र दिवसलाई हामीले पनि सम्झन चाहन्छौं । भारत स्वतन्त्र भएपछि गणतन्त्र स्थापना भएको थियो । सो स्वतन्त्रताका लागि भारतका कयौं महापुरुषहरुले आफ्नो योगदान दिनुभएको थियो । जब भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको थियो, त्यो बेलामा तराई–मधेशका महापुरुषहरुले पनि आफ्नो योगदान दिएको हामीले इतिहासको पानामा पढ्ने गरेका छौं । नेपाल पनि लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भएकोले भारतको गणतन्त्र दिवसलाई हामीले सुखद मानेका छौं । भारतसँग हाम्रो विशिष्ट र बहुआयामिक सम्बन्धसमेत रहेको छ । त्यसैले, सम्पूर्ण भारतवासीलाई यस अवसरमा हाम्रो पार्टी लोसपा, हाम्रो देश नेपाल र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
० भारत ७४औं गणतन्त्र दिवस मनाइरहँदा नेपाल र भारतबीचको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?
— नेपाल र भारत अलग–अलग मुलुक भएपनि हाम्रो बेटीरोटीको सम्बन्ध छ । दुई देशबीच खुल्ला सिमाना भएको सायद विश्वमै पहिलो होला । हाम्रा अन्य छिमेकी मुलुकहरु पनि छन् तर नेपाल र भारतजस्तो अन्य देशको सम्बन्ध छ । हाम्रो छिमेकी मुलुक चीन पनि छ । भारतसँग हाम्रो जुन प्रकारको सम्बन्ध छ, त्यो सम्बन्ध चीनसँग छैन । चीनसँग हाम्रो सीमामात्रै जोडिएको छ तर खुला सीमा छैन । चीनसँग हाम्रो केही पनि समानता छैन । नेपाल र भारतबीच नङ र मासुजस्तै सम्बन्ध छ । यो सम्बन्धलाई हामीले चाहेर पनि छुटाउन सक्दैनौं । किनकि भारतसँग हाम्रो सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक सम्बन्ध छ । यो सम्बन्धको एउटा छुट्टै आफ्नो इतिहास छ । त्यसैले यो सम्बन्ध दिनप्रति दिन झन् मजबुत हुँदै गएको छ ।
० भारतसँग नेपालको बहुआयामिक सम्बन्ध हुँदाहुँदै पनि बेलाबखतमा विभिन्न विवादका कुराहरु पनि आउँछन् नि ?
— नेपाल र भारतबीच राजनीतिक र कुटनीतिकरुपमा कहिलेकाहिँ केही चिसोपना अवश्य देखिएको छ तर दुवै देशका जनताबीचको सम्बन्धमा कहिल्यै पनि कुनै किसिमको चिसोपना आएको छैन । सत्ता सञ्चालन गर्ने दलका केही नेताहरुका कारण त्यस्ता विवादका कुराहरु ल्याउँछन् । यदि कुनै विवाद वा समस्या छ भने सत्ता सञ्चालकले कुटनीतिकरुपमा वार्ता र सम्वादको माध्यमले समाधानतर्फ लाग्नुपर्छ । हाम्रो एउटै परिवारमा त कहिलेकाहिाँ विवाद आउँछन् भने हाम्रा छिमेकी मुलुकसँग सामान्य विवाद हुनु स्वाभाविक हो । जोसँग हामी बढी नजिक हुन्छौं उहीसँग कहिलेकाहिँ मनमुटाव हुनुलाई अन्यथा लिनु हुँदैन । त्यस्ता विवादहरुले गर्दा दुई देशबीचको सम्बन्धमा कुनै असर गरेको छैन । केही उग्रराष्ट्रवादीहरुले आफ्नो स्वार्थका लागि त्यस्ता विवादहरु खडा गर्ने गर्छन् ।
० अब फरक प्रसंग, अहिले नेपालमा आत्महत्या गर्ने घटनाहरु बढिरहेका छन् । ज्वलन्त उदाहरणको रुपमा अस्ति काठमाडौंमै एक युवकले आत्मदाहको प्रयास गरे र उपचारको क्रममा उहाँको निधन भयो । यस्तै, सप्तरीमा एक किसानले आत्महत्या गरे, विराटनगरमा एव व्यवसायीले आत्महत्या गरे । यस्ता घटनाहरुलाई हेर्नुभएको छ ?
— वास्तवमा नेपालमा आत्महत्याका घटनाहरु डरलाग्दो किसिमले बढ्दै गएको छ । यस विषयमा सरकार गम्भीर हुनुपर्दथ्यो । दिनप्रति आत्महत्याका घटनाहरु बढिरहेका छन् तर सरकारको ध्यान पुग्न सकेको छैन । आत्महत्याका विभिन्न कारणहरु छन्, त्यसबारे सरकारले सोच्नुपर्ने हो । अझ पनि समय छ, सरकारले बेलैमा गम्भीर हुन आवश्यक छ । नेपालमा जति पनि सरकारहरु आउँछन् सबै सस्तो लोकप्रियता र भाषणबाजी मात्रै गरेको देखिन्छ । हाम्रा सरकारहरु जनताप्रति उत्तरदायी भएको देखिँदैन । सत्ताको बागडोर सम्हाल्ने दलहरु सत्ताकै खिचातानीमा लागेका छन् । जनताले दिनहुँ भोगिरहेका समस्याप्रति सरकारको ध्यानै पुग्न सकेको छैन । जनतालाई सरकारले जन्तु ठानेको जस्तो लाग्छ ।
० खासगरी स्वदेशमै केहरु गरौं भन्ने युवा उद्यमी र किसानहरुको मनोवल कमजोर हुँदै गएको हो ?
— सरकार भनेको सम्पूर्ण नागरिकका अभिभावक हो, त्यो भूमिका निर्वाह गरेको देखिँदैन । स्वदेशी उत्पादन र व्यवसायको मनोवल बढाउनका लागि राज्यको कुनै नीति नै देखिएको छैन । भाषण र नाराहरु ठूला–ठूला लगाउँछन् तर परिणामतः जनताले केही पनि पाउँदैन । समग्रमा भन्नुपर्दा राज्य आफ्ना नागरिकप्रति गैरजिम्मेवार भएर प्रस्तुत भएको छ । विभिन्न समस्याहरु छन् तर त्यसका समाधान पनि छन् । निराश बन्दै गएको नागरिकमा एक प्रकारको आशा जगाउने कार्य राज्यले अविलम्ब गर्नुपर्छ । आमनागरिकले यो राज्य हाम्रो अभिभावक हो भन्ने अनुभूति गराउनुपर्छ । नेपालमा धेरै सम्भावनाहरु हुँदाहुँदै पनि युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था छ, देशमा केही गरौं सोच राख्नेहरुले राज्यबाट कुनै किसिमको प्रोत्साहन पाउँदैन । तसर्थ, राज्यले यसतर्फ बेलैमा ध्यान पु¥यायोस् भन्ने म आग्रह गर्न चाहन्छु ।
० लोसपा राष्ट्रिय राजनीतिबाट पाखा लागेको अवस्था हो ?
— लोसपा अंकगणितअनुसार कम अवश्य छ । संघीय संसदमा लोसपाका चार मात्रै सांसद छन् । तथापि हामीसँग रहनुभएका नेता र कार्यकर्ताहरु आफैमा परिपक्क हुनुहुन्छ । भलेही हामीसँग संख्या कम छ, तर हामीसँग सोच, इमान्दारिता, मुद्दाप्रति दृढता छ । हामी निष्ठावान तरिकाले अगाडि बढिरहेका छौं । संख्याको हिसावले हामी कम भएकोले हाम्रो क्रियाशीलता अलि कम देखिएको हुनसक्छ । तर हामी आफ्ना माग र मुद्दाका लागि जहिले पनि सक्रिय र सशक्तरुपले आवाज उठाउँदै आएका छौं ।
० लोसपाले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा किन ?
— लोसपा लोकतान्त्रिक गठबन्धन छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यो सरकारलाई विश्वासको मत दिएपछि लोसपाले पनि दिएको हो । लोसपा निर्णायक शक्ति नभएकोले आफ्नो माग र मुद्दा सरकारबाट सम्बोधन गराउनुपर्छ । आफ्नो माग र मुद्दा सम्बोधनका लागि लोसपाले विश्वासको मत दिएको हो । अहिलेका प्रधानमन्त्री पनि हिजोका दिनमा लोकतान्त्रिक गठबन्धनमै हुनुहुन्थ्यो । प्रधानमन्त्री हाम्रो माग र मुद्दाप्रति सकारात्मक रहेकोले पनि लोसपाले विश्वासको मत दिएको हो ।
० जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले तराई–मधेशका दलहरुलाई यो सरकारले भित्तामा पु¥याइदिएको भनेर आक्रोश पोख्नुभयो नि ?
— डा.सीके राउतको राजनीतिक धार नै अहिलेसम्म स्पष्ट देखिएको छैन । प्रधानमन्त्रीका लागि प्रचण्डलाई प्रस्ताव गरिरहँदा जनमतले उद्योग मन्त्रालय पाउने भनेर सहमति भएको कुरा सबैतिर फैलाइयो । तर जब खानेपानी मन्त्रालय दिइयो त्यसपछि उहाँको आक्रोश देखिन थाल्यो । उहाँले आफ्नो पार्टीका मन्त्रीलाई कार्यभार सम्हाल्न पठाउनुभएन, सरकारबाट फिर्ता बोलाउने वक्तव्यबाजी गर्नुभएको थियो तर अहिले फेरि त्यहीं मन्त्रालय सम्हाल्न जानुभएको छ । त्यसैले उहाँको भूमिका प्रष्ट छैन । उहाँको बारेमा धेरै चर्चा नगरौं ।
० राष्ट्रपति चुनावमा लोसपाको भूमिका कस्तो रहनेछ ?
— राष्ट्रपति चुनावका लागि अहिले नेकपा माओवादी केन्द्र निर्णायक छ । लोसपा त लोकतान्त्रिक गठबन्धन छ । अर्कोकुरा यो चुनावमा मधेशकेन्द्रित दलहरु यदि एकजुट भएर अगाडि बढ्यो भने एक किसिमको वातावरण निर्माण हुन सक्छ । राष्ट्रपति चुनावमा लोसपा कतातिर लाग्ने भनेर अहिले निर्णय गरिसकेको अवस्था छैन । लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रपति होस् भन्ने पक्षमा लोसपा रहेको छ ।
० राष्ट्रपतिमा कांग्रेसको पनि दाबी छ । कांग्रेसले राष्ट्रपतिको रुपमा लोसपा अध्यक्ष महन्थ ठाकुरलाई अगाडि सार्छ ?
— राष्ट्रपति चुनावमा ५१ प्रतिशत बहुमत आवश्यक पर्छ । यसमा कांग्रेस र हामी मात्र पुग्दैन । यसका लागि मधेशका सबै दलहरु र माओवादी एक ठाउँमा आउनुपर्छ । यदि त्यो किसिमको वातावरण बन्यो भने राष्ट्रपतिका लागि महन्थ ठाकुर सबैभन्दा उत्कृष्ट उम्मेद्वार हुनुहुन्छ । यसमा कांग्रेसलाई पनि आपत्ति हुँदैन । किनभने लामो समयमा महन्थ ठाकुरले कांग्रेसमा राजनीतिक गर्नुभएको हो । कांग्रेसमा उहाँको धेरै योगदान छ ।
तपाईको प्रतिक्रिया