जनमत पार्टीले पाएको मन्त्रालयबाट जनता निराश हुने छैन

अन्तर्वार्ता

चन्दन सिंह, मधेश प्रदेशका प्रदेशसभा सदस्य एवं जनमत पार्टीका महासचिव

० छिमेकी मित्रराष्ट्र भारतले ७४औं गणतन्त्र दिवस मनाएको छ । यस अवसरमा जनमत पार्टीको धारणा के छ ?

— छिमेकी मित्रराष्ट्र भारतमा गणतन्त्र आएको ७४औं वर्ष भएको छ । भारत एउटा गणतन्त्रात्मक मुलुक हो । भारतले हरेक वर्ष जनवरी २६ मा उत्साहका साथ गणतन्त्र दिवस मनाउँदै आएको छ । यस वर्ष पनि भारतले आफ्नो गणतन्त्र दिवस मनाएको हो । यस अवसरमा जनमत पार्टीको तर्फबाट सम्पूर्ण भारतीय नागरिकहरुमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।

० नेपाल–भारतको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

— नेपाल–भारतबीचको सम्बन्ध धेरै राम्रो स्थितिमा छ । दुई देशबीचको सम्बन्ध राम्रो रहनु पनि पर्छ । भारत हाम्रो छिमेकी मात्र होइन, अत्यन्तै नजिकको मित्रराष्ट्र पनि हो । दुई देशबीच बेटीरोटीको सम्बन्ध पनि भनिन्छ । जसले गर्दा दुई देशबीचको सम्बन्ध प्रगाढ छ र रहिरहन्छ ।

० तर बेलाबखतमा केही विवादका विषयहरु पनि आउँछन्, यसले दुई देशबीचको सम्बन्धमा चिसोपनाको महसुस गर्नुहुन्छ ?

— भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ । सानातिना विवादहरु आउँदा चिसोपनाको अनुभव गर्नुपर्ने आवश्यकता छैन । एउटै घरमा बाउ–छोरा, छोरा–छोरीबीच त सामान्य विवाद हुन्छ । एक छिमेकीको अर्को छिमेकीसँग पनि सामान्य विवाद हुनु स्वभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन । साना–तिना कुराले सम्बन्ध नै खराब हुन्छ भन्ने होइन । त्यसैले नेपाल र भारतबीच त्यस्तो कुनै किसिमका समस्या छैन ।

० तर सरकार परिवर्तन हुँदा विभिन्न किसिमका कुराहरु आउँछन् नि ?

— कुटनीतिक वा राजनीतिक रुपमा केही विवादका कुराहरु आउने गरेका छन् । खुला सिमानाका कारण केही व्यक्तिहरुले त्यस्ता कुराहरु ल्याउँछन् । सानातिना कुरालाई ठूलो मुद्दा बनाएर अगाडि बढ्नु हुँदैन । यदि केही समस्या छ भने वार्ता र सम्वादमार्फत् सरकारले समाधान गर्नुपर्छ ।

० कम्युनिष्टको सरकार बन्दा विवादका कुराहरु अलि बढी हुन्छ नि ?

— सरकार जुनसुकै आएपनि नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न सक्दैन । नेपालको सीमासँग भारत र चीन जोडिएको हुनाले केही समूहले उचाल्ने गरेका छन् । छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रसँग नेपालले राम्रो सम्बन्ध बनाएर जानुपर्छ । सरकार जुनसुकै पार्टी वा विचारधाराको होस्, सबै मित्रराष्ट्रहरुसँग सन्तुलित सम्बन्ध बनाएर जाँदा मात्र नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्छ । नेपाल र भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै रहँदै आएको छ । त्यसैले, यस विषयमा धेरै टिकाटिप्पणी गर्नु आवश्यक छैन ।

० अब जनमत पार्टीको कुरा गरौं । जनमत पार्टी अहिले सबै तहको सरकारमा छ । तपाइँहरुले जनतासँग गरेका प्रतिबद्धताहरु कतिको पूरा हुन्छ ?

— निश्चितरुपमा हामी जनताका बीचमा प्रतिबद्धताहरु गरेका छौं । हामीले गरेका प्रतिबद्धताहरु क्रमिकरुपमा पूरा हुने चीज हो । सरकारमा हाम्रो उपस्थिति छ । चुनावका बेला हाम्रो बारेमा विभिन्न किसिमका नकारात्मक प्रचारहरु पनि भएको थियो । तर जनताले हामीमाथि विश्वास ग¥यो । केन्द्र, प्रदेशदेखि हरेक ठाउँमा हाम्रो उपस्थिति छ । हाम्रो घोषणापत्रअनुसार जनतालाई जुन बाचा गरेका छौं, ती सबैलाई उजागर गरेर समाधानतर्फ हामी लाग्छौं । हामी देशमा एउटा नयाँ क्रान्ति ल्याउन सक्छौं र त्यसको सुरुवात मधेशबाट नै हुन्छ । त्यसको नेतृत्व जनमत पार्टीले गर्छ ।

० संघीय सरकारमा जनमत पार्टीले उद्योग मन्त्रालयमा दाबी गरेको थियो, तर खानेपानी मन्त्रालय पाएको छ । तपाइँहरु सन्तुष्ट हुनुहुन्छ ?

— सन्तुष्ट हुने वा नहुने कुरा आफ्नो ठाउँमा छ । तर सरकारले वाचा गरेको थियो कि जनमतलाई उद्योग मन्त्रालय दिने भनेर । केही कारणवश वा प्रधानमन्त्रीलाई गाह्रो भएको हुनाले हामीले उद्योग मन्त्रालय पाएनौं । प्रधानमन्त्रीले हामीलाई सरकारमा बस्नुस्, जनमत पार्टी सरकार बसेन भने अप्ठ्यारो हुन्छ भन्ने कुरा आग्रह गर्नुभयो । प्रधानमन्त्रीको आग्रहपछि हामीले खानेपानी मन्त्रालय नै स्वीकार्यौं । पछि परिवर्तन गर्दै जाने भनेर उहाँको सोच छ । हेरौं आगामी दिनमा के हुन्छ ।

० उद्योग मन्त्रालय नपाएको आक्रोशमा तपाइँका पार्टी अध्यक्ष डा.सीके राउतले सरकारको चर्को आलोचना गर्दै हिंड्नुभएको थियो । तर अन्ततः त्यहीं मन्त्रालयमा जानुपर्ने बाध्यता प¥यो नि ?

— हामी सरकारमा जाँदै–जाँदैनौं भनेर हामी कहीं पनि भनेका छैनौं । हाम्रो अध्यक्षजीले पनि त्यो किसिमको अभिव्यक्ति दिनुभएको छैन । तपाइँहरुलाई त्यस्तो लागेको होला । पार्टीको कुनै त्यस्तो आधिकारिक धारणा आएको थिएन । हामीसँग एक किसिमको सहमति भएको थियो, त्यसतर्फ हामी लागेका थियौं ।

० तर, डा.राउतले त हामीसँग भएको सहमति पालना गरिएन भने मन्त्री फिर्ता बोलाउँछौं भन्नुभएको थियो त ?

— हैन, उहाँले फिर्ता बोलाउन सकिन्छ भन्ने कुरा गर्नुभएको थियो । फिर्ता नै बोलाउँछौं भन्नुभएको छैन । जुनसुकै मन्त्रालयमा बसेर पनि जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो । प्रधानमन्त्रीले जुन आश्वासन दिइरहनुभएको छ, त्यो हिसावले हामी अगाडि बढिरहेका छौं ।

० तपाइँको पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई खानेपानीको जिम्मेवारी दिँदा केही दिनसम्म मन्त्रालयमा किन पठाउनुभएन ?

— त्यो हाम्रो आन्तरिक कुरा थियो । हाम्रो कार्यकारिणी समितिको बैठक बसेको थिएन, समीक्षा भएको थिएन । कार्यकारिणी समितिको बैठक बस्यो, समीक्षा भयो र सरकारप्रति पार्टीले एउटा धारणा निर्धारण ग¥यो । त्यसपछि कार्यभार सम्हाल्न मन्त्रीलाई हामी पठायौं । यसमा कुनै ठूलो कुरा होइन नि ।

० प्रधानमन्त्रीबाट जनमत पार्टीले फेरि केही आश्वासन पाएको छ ?

— यस विषयमा हामी पार्टीमा बसेर कुरा गरौंला । प्रधानमन्त्रीसँग हाम्रो अध्यक्षजीको कुरा भएको थियो । प्रधानमन्त्रीले कुरा राखिसक्नुभएको छ, त्यो हिसावले हामीले अगाडि बढ्छौं ।

० प्रधानमन्त्रीसँग के कुरा भएको छ ?

— अध्यक्षजीको कुरा भएको छ । हाम्रो कार्यकारिणी समितिको बैठक बसेर त्यसबारे अध्यक्षले हामीसँग कुरा राख्नुहुन्छ । अहिले हाम्रो बैठक हुन्छ, त्यसपछि केही भन्न सक्छौं ।

० भनेपछि जनमत पार्टीले अर्को पनि मन्त्रालय पाउने आश्वासन पाएको हो ?

— हेरौं । हामी प्रयासमा छौं ।

० तपाइँहरुले रोजगारी सिर्जना गर्ने, किसानका समस्या समाधान गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका आश्वासनहरु दिनुभएको थियो । खानेपानी मन्त्रालयसँग कतिको मेल खान्छ त ?

— कुनै पनि मन्त्रालय आफैमा खराब हुँदैन । देश चलाउने एउटा टुल्स हो मन्त्रालय । हामीले पाएको खानेपानीमै राम्रो काम गर्न सक्छौं । काम गर्न चाह्यो भने जुनसुकै मन्त्रालयमा बसेर गर्न सकिन्छ । हामीले गरेका प्रतिबद्धताहरुलाई पनि पछि निरन्तरता दिन्छौं ।

० मधेश प्रदेशमा जनमतले सामाजिक विकास मन्त्रालय पाउने चर्चा थियो तर त्यो मन्त्रालय त पाउनुभएन नि ?

— यस विषयमा हामी कुरा गरौंला, समीक्षा गरौंला । मैले भने नि हाम्रो बैठकमा यसबारे समीक्षा हुन्छ ।

० मधेश प्रदेशमा जनमतले कृषि मन्त्रालय पाएको छ । तपाइँहरुले उठाउँदै आएको किसानका समस्याहरु समाधान हुन्छन् ?

— किसानका समस्याहरु त समाधान गर्नैपर्छ । कृषिका समस्याहरु समाधान गर्ने वातावरण बन्छ भने गर्छौं । हामी सरकारमा जानुको अर्थ नै काम गर्ने हो । नेपाल कृषि प्रधान देश हो, कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौं । जनमत पार्टीले नेतृत्व गरेको मन्त्रालयबाट जनतालाई हामी निराश हुन दिने छेनौं । जुन आधारमा जनमत पार्टीलाई मतादेश पाएको छ, त्यो हिसावले हामी अगाडि बढ्छौं ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ