० स्वतन्त्र विद्यार्थी युनियनको चुनावी तयारी कस्तो चलिरहेको छ ?
— स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई समाजवादी विद्यार्थी युनियन नेपालले एउटा पर्वको रुपमा लिएको छ । किनभने त्रिवि र ठूला दलका विद्यार्थी संगठनका कारण १५ वर्षदेखि स्ववियु निर्वाचन हुन सकिरहेको थिएन । स्ववियु निर्वाचन नहुँदा विद्यार्थीहरु अन्योलमा हुन्छन् । यत्रो लामो समयदेखि निर्वाचन नहुँदा विद्यार्थीमा एक किसिमको निराशा छाएको थियो । स्ववियुमा पदाधिकारी नहुँदा समयमा परीक्षा नहुने, राम्ररी पढाइ नहुने, मनपरी गर्ने जस्ता समस्याहरु आइरहेका छन् । त्यसैले करिब डेढ दशकपछि हुन लागेको यो स्ववियु चुनावलाई एउटा ठूलो पर्वकै रुपमा लिएका छौं । स्ववियु निर्वाचनका लागि हाम्रो समाजवादी विद्यार्थी युनियन पूर्णरुपमा तयारी अवस्थामा छ । सबै जिल्ला र इकाई कमिटीलाई पनि तीव्रता दिएका छौं ।
० समाजवादी विद्यार्थी युनियनले देशभरि उम्मेद्वारी दिन्छ ?
— निश्चितरुपमा हाम्रो विद्यार्थी युनियन देशभरि नै विस्तार रहेको छ । त्यसैले हामी देशभरि नै आफ्ना उम्मेद्वार खडा गर्ने तयारीमा छौं । ७७ वटै जिल्लामा हामी स्ववियु निर्वाचन लड्छौं । अधिकांश ठाउँमा हामीले तयारी गरिसकेका छौं भने केही बाँकी रहेका ठाउँमा तीव्रताका साथ तयारी गरिरहेका छौं । अब हामी आफ्ना उम्मेद्वार तय गर्न लागिपरेका छौं । कतिपय पहाडका जिल्लामा हामी उम्मेद्वार चयनका लागि आन्तरिक तयारीमा छौं ।
० कति ठाउँमा जित्ने अपेक्षा छ ?
— देशभरिमा करिबाम २० वटा क्याम्पसमा जित्ने प्रवल सम्भावना छ ।
० तपाइँहरुको एजेण्डा के–के छन् ?
— आमविद्यार्थीका आधारभूत आवश्यकताहरु हाम्रो प्राथामिकतामा छन् । सबै विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा र स्वास्थ्य हुनुपर्ने हाम्रो धारणा छ । शिक्षा निःशुल्क नभएसम्म देशमा परिवर्तन हुन सक्दैन । हाम्रो देशका सबैले पैसा तिरेर पढ्ने अवस्था छैन । नेपालमा प्रतिभाहरु धेरै छन् तर आर्थिक अवस्था कमजोर भएको कारण अवसर पाइरहेका छन् । एउटा सक्षम र योग्य नागरिक बनाउनका लागि शिक्षा नै महत्वपूर्ण पाटो हो । नेपालमा शिक्षा निःशुल्क नहुँदा हाम्रा युवाहरु आफ्नो श्रम बेच्न विदेशिनुपर्ने बाध्यता छन् । यसैगरी, स्ववियु निर्वाचन समानुपातिक समावेशिताको आधारमा हुनुपर्ने पनि हाम्रो एजेण्डा छ । यसपटक पूर्ण समानुपातिक समावेशीअनुसार चुनाव हुन नसकेपनि हामी मिश्रित निर्वाचन प्रणालीलाई स्वीकार गरेर चुनावमा जान चाहन्छौं ।
० पटक–पटक मिति तोकिएर पनि स्ववियु चुनाव स्थगित हुँदै आयो । यसपटक तोकिएकै मितिमा हुने निश्चित छ त ?
— त्रिभुवन विश्वविद्यालय र तीन विद्यार्थी संगठनका कारण विगतमा स्ववियु चुनाव स्थगित हुँदै आयो । उहाँहरुको बदमासीका कारण विगतमा स्थगित भएका छन् । यसमा सबभन्दा बढी बदमासी त्रिविकै हो । तर, यसपटक विभिन्न दबाब कारण त्रिविले यसपटक तोकिएकै मितिमा हुने प्रतिबद्धता जनाएको छ । हामीले गत १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जो कुलपति पनि हुनुहुन्छ, उहाँलाई भेटेर ज्ञापनपत्र पनि बुझाएका छौं । प्रधानमन्त्रीज्यूलाई हामीले तोकिएकै चैत ५ गते नै स्ववियु निर्वाचन हुनुपर्छ भनेर ज्ञापनपत्र दिएका हौं । प्रधानमन्त्रीज्यूले पनि हामी आश्वासन दिनुभएको छ कि त्रिविलाई सोही मिति स्ववियु चुनाव गराउन लगाउँछौं ।
० चैत ५ गते स्ववियु चुनाव हुनेमा ढुक्क हुनुहुन्छ ?
— हामी ढुक्क छौं । प्रधानमन्त्रीज्यूले पनि हामीलाई आश्वासन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय पनि चुनाव गराउन सकारात्मक छ । यो चुनावमा हामी जित्छौं कि हार्छौं भन्ने ठूलो कुरा होइन । विद्यार्थीको हकहितका लागि स्ववियुको चुनाव हुनुपर्छ ।
० तपाइँहरुको चुनावी सहकार्य हुन्छ ?
— हामीसँग मुद्दा मिल्ने विद्यार्थी संगठनहरुसँग चुनावी सहकार्य वा गठबन्धन गरेर जान सक्छौं । लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघलगायत हामीसँग मुद्दा मिल्नेहरुसँग सहकार्य गरेर चुनाव लड्छौं । अहिलेसम्म सहकार्यका लागि पहल भएको छैन । यासको पहलकदमी हामी नै गर्छौं ।
० लोविसंघले तपाइँहरुलाई चुनावी सहकार्यका लागि आह्वान गरेको छ नि ?
— लोविसंघले चुनावी सहकार्यका लागि आह्वान गरेको कुरा औपचारिकरुपमा हाम्रो संगठनलाई जानकारी छैन । सहकार्य वा मोर्चाबन्दीका लागि म आफै पनि अब पहल गर्छु । सहकार्यका लागि हामी सकारात्मक नै छौं । मुद्दा मिल्ने संगठनहरुसँग मिलेर चुनावमा गयौं भने राम्रो परिणाम आउँछ ।
तपाईको प्रतिक्रिया