राष्ट्रपतिका लागि महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको साझा उम्मेद्वार बनाइनुपर्छ

अन्तर्वार्ता

डा.सुरेन्द्र झा, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० राष्ट्रपति चुनावमा लोसपाको भूमिका कस्तो हुनेछ ?

— संविधानतः राष्ट्रपति निर्वाचन एउटा नियमित प्रक्रियाभित्र पर्छ । अहिलेसम्मको अवस्था हेर्दा सत्ता गठबन्धनसँग गणितीय संख्या छ । इमान्दारिता देखायो भने वर्तमान सत्ता गठबन्धनबाट जो राष्ट्रपतिका उम्मेद्वार हुन्छन्, त्यो जित्ने अवस्था छ । तर प्रधानमन्त्रीले नै राष्ट्रपतिको उम्मेद्वार साझा व्यक्तित्व राष्ट्रिय सहमतिको आधारमा हुनुपर्छ भन्दै आउनुभएको छ । निर्णायक ठाउँमा नेकपा (माओवादी केन्द्र)को गणितीय संख्या देखिन्छ । उहाँले एउटा त्यस्तो पात्रको खोजी गरौं जसले संविधान कार्यान्वयनदेखि लिएर तटस्थ व्यक्ति राष्ट्रपति पदमा पुगोस् भन्ने चाहना राख्नुभएको छ । उहाँले राष्ट्रपतिको सन्दर्भमा कसैसँग सहमति नगरेको पनि बताउँदै आउनुभएको छ । त्यसैले सत्ता गठबन्धनभन्दा बाहिर प्रतिपक्षमा रहेको नेपाली कांग्रेस वा लोसपाको भूमिका हुनसक्छ । सत्ता गठबन्धनभन्दा बाहिरका व्यक्तिहरुको पनि खोजी भइरहेको छ ।

० लोसपाका अध्यक्ष महन्थ ठाकुरजीको पनि राष्ट्रपतिमा चर्चा भइरहेको छ नि ?

— यो देशको राजनीतिक परिदृष्यमा समकालीन नेताहरुमा सबैभन्दा सर्वमान्य, इमान्दारिता, संघर्षको प्रतिमूर्ति माननीय महन्थ ठाकुरजी हाम्रो पार्टीका अध्यक्ष हुनुहुन्छ । अहिलेका परिवर्तन एजेण्डाहरुको निष्ठाका साथ अगुवाई गर्ने व्यक्तित्व उहाँ हुनुहुन्छ । उहाँको गणतन्त्रवादी छवि रहँदै आएको छ । समकालीन नेताहरुमध्ये अहिलेसम्म जति पनि प्रधानमन्त्री हुनुभएको छ, सबैलाई उहाँले सहयोग र समर्थन गर्दै आउनुभयो । हामीले राष्ट्रिय सहमतिको साझा व्यक्तित्व खोज्दै गर्दा माननीय महन्थ ठाकुर पनि त्यो पात्र बन्न सक्नुहुन्छ, बनाइनुपर्छ । यो व्यवस्थाप्रतिको निष्ठा भएको व्यक्तिको रुपमा महन्थ ठाकुरजीलाई सबै दल मिलेर साझा सहमतिको रुपमा उम्मेद्वार बनाइनुपर्छ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

० अस्ति संसद बैठकपश्चात् एमाले अध्यक्ष केपी शर्मा ओलीको गाडीमा बसेर महन्थ ठाकुर बालकोट पुग्नुभएको थियो । महन्थ ठाकुर र ओलीबीच के कुरा भयो त ?

— उहाँहरु दौत्तरी साथी, एकै उमेरका नेता, लामो समयदेखि उहाँहरु राष्ट्रिय राजनीतिमा सँगै हुनुहुन्छ । उहाँहरुबीच मित्रता छ, ओलीजीले सँगै जाउँ, एक कप चिया खाउँ भनेर भन्नुभएको छ । महन्थ ठाकुरजीले सहजरुपमा स्वीकार गर्नुभयो । एमालेको पार्टी कार्यालय हुँदै बालकोटसम्म पुग्नुभो र चिया खानुभयो ।

० चिया गफ मात्रै भयो त ?

— दुई जना भेट्रान्स पोलिटिसियन हुनुहुन्छ । केपी ओलीजीले राष्ट्रपति चुनावमा मलाई सघाउनुस् भनेर भन्नुभो । हाम्रो अध्यक्षजीले संख्यात्मक हिसावले धेरै ठूलो नरहेको भन्ने कुरा राख्नुभो । प्रदेशदेखि संघ सरकारसम्मलाई लोसपाले विश्वासको मत दियो तर उहाँहरुले भनेजस्तो शक्ति बाँडफाँड नभएको कुरा पनि सुनाउनुभो । उहाँहरुको बीचमा सम्बन्ध राम्रो छ ।

० प्रधानमन्त्री प्रचण्डले महन्थ ठाकुरलाई साझा राष्ट्रिय सहमतिको व्यक्तित्वको रुपमा हेर्नुभएको हो ?

— माओवादी जनयुद्धका बेला जब दिल्लीमा १२बुँदे सम्झौता भयो त्यतिबेला त्यो वातावरण बनाउन करिब–करिब ६ महिना लाग्यो । त्यो बेला कांग्रेसको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै लामो समयसम्म महन्थ ठाकुरजी दिल्लीमै बस्नुभयो । १२बुँदे सहमति गराउनमा कांग्रेसको तर्फबाट उहाँको अत्यन्तै सकारात्मक, सराहनीय र नेतृत्वदायी भूमिका उहाँले निर्वाह गर्नुभएको छ । तत्पश्चात् पनि परिवर्तनका एजेण्डाहरुमा कमरेड प्रचण्डजीसँग पनि महन्थ ठाकुरजीको सम्बन्ध धेरै राम्रो रह्यो । संविधान निर्माणका बेला ३३ दलीय संघीय गठबन्धन निर्माण भयो, त्यसको नेृत्व प्रचण्डजीले गर्नुभएको थियो । त्यसको दोस्रो उच्च नेताको रुपमा महन्थ ठाकुरजी हुनुहुन्थ्यो । जब त्यो गठबन्धन छोडेर प्रचण्डजी जानुभो, त्यसपछि त्यो गठबन्धनको नेतृत्व महन्थ ठाकुरजीले गर्नुभो । त्यसैले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताको सवालमा महन्थ ठाकुरजीले लिएको अडान र गर्नुभएको सहकार्यले सधैं उहाँ आफूलाई परिवर्तनको कित्तामा उभ्याउनुभो । त्यस हिसावलो पनि प्रचण्डजीसँग पनि उहाँको एकदमै हार्दिकतापूर्ण सम्बन्ध छ । जगजाहेरै छ कि तत्कालीन अवस्थामा प्रचण्डले महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव पनि गर्नुभएको थियो ।

कांग्रेस पार्टी निर्माणमा लामो समयसम्म महन्थ ठाकुरजीको भूमिका रहेको हुनाले कसैसँग पनि उहाँको तिक्ततापूर्ण व्यवहार वा सम्बन्ध रहेको छैन । केपी शर्मा ओलीसँग भएको भेटघाटलाई पनि हामीले एकदमै हार्दिकतापूर्ण रुपमा लिएका छौं । एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड सबै मिलेर महन्थ ठाकुरलाई एउटा साझा उम्मेद्वारको रुपमा अगाडि सानुपर्छ । त्यो अपेक्षा हामीले राखेका छौं ।

० भनेपछि, प्रमुख दलहरुले महन्थ ठाकुरलाई साझा राष्ट्रिय सहमतिको रुपमा राष्ट्रपतिमा अगाडि ल्याउने सम्भावना प्रवल छ ?

— प्रमुख राजनीतिक शक्तिहरुबीच यस्तो सहमति हुनसक्छ । साझा उम्मेद्वारको रुपमा हरेक किसिमले महन्थ ठाकुरजी राष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्छ । यो विषय थुप्रै पार्टीहरुमा उठेको हो । बारम्बार नेपाली जनताले महन्थ ठाकुरजीलाई नेतृत्वको ठाउँमा हेर्न चाहेका छन् । राष्ट्रपति भनेको गरिमामय सम्मानार्थ पद हो । त्यसैले एउटा त्यस्तो नेता जसले आठ वर्षभन्दा बढी जेलनेलको इतिहास, त्यो बेलामा डबल मास्टर्स एलएलबी गरेको एउटा बौद्धिक व्यक्तित्व, अनुशासित जीवनशैली बाँचेको पात्र खोज्नुप¥यो भने उहाँजस्तो उपयुक्त पात्र त देखिँदैन । साझा पात्र खोज्नुप¥यो भने मधेश, पहाड, हिमाल सबैको मन छुने, एउटा इमान्दार व्यक्तिको रुपमा उहाँको भूमिका हुनसक्छ । उहाँले त्यो अभिभावकत्व सफलताका साथ निर्वाह गर्न सक्नुहुन्छ । यसले राष्ट्रिय/अन्तर्राष्ट्रिय जगत्मा पनि राम्रो सन्देश जान्छ । छिमेकी तथा अन्य मित्रराष्ट्रहरुसँग पनि उहाँको बडो सन्तुलित सम्बन्ध छ । त्यसैले, सबै दलहरु मिलेर उहाँलाई साझा पात्रको रुपमा अगाडि बढाइनुपर्छ ।

० अस्ति भर्खरै छिमेकी मित्रराष्ट्र भारतका विदेश सचिव नेपाल भ्रमणमा आउँदा महन्थ ठाकुरजीसँग पनि भेटवार्ता भएको थियो । के–के कुरामा छलफल भयो ?

— विभिन्न देशबाट उच्च पदस्थ भ्रमणहरु हुनु नेपाल र नेपालीका लागि राम्रो पक्ष हो । अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको महत्व बढ्दैछ । विदेश नीतिको सवालमा नेपालको सबै राजनीतिक दलहरुको विदेश नीति साझा र एउटै हुनुपर्छ भन्ने लोसपाको मान्यता हो । हाम्रो अध्यक्षजीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग भेट हुँदा दुई देशीय हित सम्बद्र्धन र नेपालमा देखिएको आर्थिक संकटबाट जोगाउन छलफल भएको थियो । आर्थिक संकटबाट निस्कन हामीले भारत सरकारकोा विशेष सहयोगको अपेक्षा गरेका छौं । नेपाललाई आर्थिक संकटबाट बचाउन सबैभन्दा पहिले र सबैभन्दा आवश्यक मित्रराष्ट्र भारत हुनुपर्छ । नेपालको विकास, सांस्कृतिक, सामाजिक रुपान्तरण र अहिले आर्थिक संकटबाट निस्किनका लागि हाम्रो अध्यक्षजीले भारतका विदेश सचिव क्वात्रासँग विशेषरुपमा उठाउनुभएको छ । भारतले हामीलाई आर्थिक संकटबाट बचाउन विशेष सहयोग गरोस् भन्ने कुरा थियो ।

० भनेपछि त्यो भेटमा नेपालमा निम्तिँदै गरेको आर्थिक संकटबाट बच्न भारतको विशेष सहयोग होस् भन्नेमा महन्थ ठाकुरको जोड थियो ?

— बिल्कुल । नेपालको अर्थ व्यवस्था निकै कमजोर भएको छ, निजी क्षेत्रले राम्रो गर्न सकिरहेको छैन, बैंकहरुले लोन प्रवाह गर्न सकिरहेको छैन । इतिहासमै सबैभन्दा कम राजस्व कम उठेको यो वर्ष नै हो । यी सबै कुरोले नेपालको अर्थतन्त्रमा चुनौती थपेको छ । भारतले आफूलाई आर्थिकरुपमा सवल बनाउन सफल भएको छ । हाम्रो निकटतम् छिमेकी र विशिष्ट मित्र भारत भएकोले नेपालको आर्थिक अवस्था मजबुत बनाउने काम भारत सरकारले गर्नुपर्छ । भारतले हामीलाई विशेष सहयोग गर्नुपर्छ भन्ने चाहना राखेका छौं । त्यहीं कुरो हाम्रो अध्यक्ष महन्थ ठाकुरजी विशेष महत्वका साथ उठाउनुभएको छ । समग्रमा भन्नुपर्दा, उहाँहरुबीचको भेटमा द्विपक्षीय हितका कुराहरु भएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ