‘देशमा राजनीतिक निकासका लागि महन्थ ठाकुर राष्ट्रपतिका लागि अत्यन्त उपयुक्त व्यक्तित्व’

अन्तर्वार्ता

राजीव झा, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताको पूर्वसन्ध्यामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्षको नाम पनि चर्चा बढी देखिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुर राष्ट्रपतिका उम्मेद्वार हुनुहुन्छ ?

— राष्ट्रपति निर्वाचनलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय जगत्मा एउटा चिन्ता र चासोको विषय बनेको छ । राष्ट्रपति निर्वाचनमा महन्थ ठाकुरको चर्चा हुनु स्वाभाविक नभई राष्ट्रकै आवश्यकता हो । राष्ट्रपति भनेको देशको अभिभावकका साथै संविधानका संरक्षण गर्ने गरिमामय पद हो । राष्ट्रपतिका लागि महन्थ ठाकुर सबभन्दा उपयुक्त र सबैको राष्ट्रिय सहमतिको साझा पात्रको रुपमा हुनुहुन्छ । राष्ट्रपतिका लागि महन्थ ठाकुर नै उपयुक्त पात्र हुनुहुन्छ । वर्तमान अवस्थामा राष्ट्रपतिभन्दा उपयुक्त पात्र महन्थ ठाकुर नै हुन् । उहाँभन्दा उपयुक्त पात्र अरु कोही छैनन् । उहाँको जीवन संघर्ष, त्याग, नेपाली राजनीतिमा जुन किसिमको योगदान रहेको त्यसलाई मध्यनजर गर्दै सबै दलको साझा उम्मेद्वारको रुपमा उहाँलाई नै प्रस्ताव गर्नुपर्नेा हो ।

० महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुपर्छ भनेर लोसपाका नेताहरु अहिले सबै प्रमुख दलका शीर्ष नेताहरुसँग भेटेका छन् । ठूला दलहरुबाट कस्तो प्रतिक्रियाहरु आएका छन् ?

— सबै दलका शीर्ष नेताहरु महन्थ ठाकुरलाई अस्वीकार गरेको स्थिति छैन । सबै उहाँको नामप्रति सकारात्मक प्रतिक्रिया नै दिनुभएका छन् । लोसपाले सबभन्दा पहिला माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु औपचारिकरुपमा यो प्रस्ताव गरेको थियो । किनभने राष्ट्रपतिमा राष्ट्रिय सहमतिका साझा उम्मेद्वारको उहाँले नै ल्याउनुभएको छ । जुन राष्ट्रिय सहमतिको साझा पात्रको कुरा प्रधानमन्त्रीले गर्नुभएको छ, त्यसका लागि उपयुक्त पात्र महन्थ ठाकुर हुनुहुन्छ भनेर प्रस्ताव गरेका हौं । प्रधानमन्त्री प्रचण्डले महन्थ ठाकुर उपयुक्त पात्र रहेकोमा कसैले दुईमत नरहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी र अन्य दलहरुसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने प्रतिक्रिया दिनुभयो । साथै उहाँले अन्य ठूला दलहरुसँग पनि भेट्नुस् भनेर भन्नुभयो ।

० एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल भयो, उहाँको के जवाफ थियो ?

— केपी शर्मा ओलीले पनि महन्थ ठाकुरबारेमा सकारात्मक रुपमै जवाफ दिनुभएको छ । उहाँले महन्थ ठाकुरलाई नकार्ने अवस्था नरहेको भन्नुभयो । अहिलेको सत्ता गठबन्धनको मुख्य नेता भएकोले केपी ओलीले सत्ता गठबन्धन निर्माणका बेला भएका सहमतिअनुसार राष्ट्रिय सहमतिको कुरा नरहेको बताउनुभयो । सबै दल मिलेर यदि राष्ट्रिय सहमति गर्ने अवस्था आयो भने महन्थ ठाकुर उपयुक्त पात्र हुनुहुन्छ भन्ने कुरा गर्नुभएको छ । त्यसमा उहाँले सहयोग गर्ने भन्नुभएको हो ।

० कांग्रेसका सभापति शेरबहादुर देउवाले के भन्नुभयो त ?

— शेरबहादुर देउवाले आफूहरुले अहिलेसम्म कुनै पनि औपचारिक निर्णय नगरिसकेको बताउनुभयो । उहाँले कांग्रेस पनि राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताउनुभयो । यो विषयमा कांग्रेसभित्र छलफल गरेर केही निष्कर्षमा पुग्ने भनेर आश्वासन दिनुभयो ।

० महन्थ ठाकुर नै उपयुक्त पात्र किन ?

— महन्थ ठाकुरको सादगीपन, व्यक्तित्व, निर्विवाद र निर्दागी व्यक्तित्व हुनुहुन्छ । उहाँप्रति आमनेपाली जनताको आशा र भरोसा पनि छ । यसमा कसैको दुईमत हुनै सक्दैन । लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अहिलेको परिस्थितिमा जसरी राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डबाट सहमतिको कुरा आएको छ, त्यसमा हाम्रा अध्यक्ष महन्थ ठाकुर उपयुक्त पात्र हुनुहुन्छ भनेर निष्कर्ष निकाल्दै सबै प्रमुख दलका शीर्ष नेताहरु समक्ष प्रस्ताव गरेको हो । अहिले राष्ट्रपतिका लागि चर्चामा रहेकाहरुमध्ये अत्यन्त उपयुक्त पात्र महन्थ ठाकुर नै हुनुहुन्छ भन्ने हाम्रो ठहर हो । राजनीतिकरूपमा गरेको महन्थ ठाकुरको त्याग प्रशंसनीय र गौरवको विषय हो । उहाँ कहिल्यै राजनीतिक लाभको पदमा जानुभएन । आफ्नो हातमा हुँदा पनि त्याग गर्नुभयो । फेरि उहाँ विषयविज्ञ नेता पनि हुनुहुन्छ, प्राप्त उपलब्धिहरूमा पनि उहाँको ठूलो योगदान छ ।

० यसपटकको राष्ट्रपति निर्वाचनमा यति धेरै चासो र हलचल मचिनुको कारण के देख्नुहुन्छ ?

— अहिलेको अवस्थामा राष्ट्रपतिको आवश्यकता र औचित्यताको बारेमा जति व्यापक छलफल भयो, त्यसको अनुभवले पनि अहिले राष्ट्रपति निर्वाचनले हलचल मच्चिएको अवस्था हो जस्तो मलाई लाग्छ । हाम्रो संविधानले राष्ट्रपति पदलाई एउटा सेरोमोनियलको रुापमा व्याख्या गरेको छ । तर विगत केही समयदेखि जुन प्रकारको सक्रियता देखियो जसले गर्दा अहिले यति धेरै रडाको मच्चिएको हो । राष्ट्रपतिलाई संविधानले कार्यकारी अधिकार दिएको छैन । तर विगतका गतिविधिले राष्ट्रपति नै सबभन्दा शक्तिशाली र कार्यकारी पद रहेको प्रमाणित गरेको छ । मुद्दागत हिसावले हेर्ने हो भने राष्ट्रपतिको कदमबाट सबभन्दा बढी हामी पीडित भएका छौं । दुई–दुई पटक नागरिकता विधेयक संसदबाट पारित हुँदा पनि वर्तमान राष्ट्रपतिले फर्काउनुभयो । भनेपछि धेरै कुराहरु जुन हिसावले भयो, त्यसले गर्दा त्यो संस्थामाथि प्रश्नचिन्ह उठेकोले त्यो संस्थामा यस्तो व्यक्ति पुग्नुपर्छ जो कसैका लागि आश वा कसैका लागि त्रास नहोस् ।

० ठूला दलहरुले महन्थ ठाकुरलाई स्वीकार गर्ने अवस्था छ त ?

— आमनिर्वाचनपछि बहुमत र अल्पमतको प्रक्रियाबाट राष्ट्रपति चयन हुने हाम्रो संवैधानिक व्यवस्था छ र अहिले त्यहीं हिसावले नै हुँदै आएको छ । अब पनि हुने अल्पमत र बहुमत प्रक्रियाबाट नै नयाँ राष्ट्रपति चयन हुने हो । तर, हामीसँगा त्यो किसिमको संख्या नरहेकोले हामीले दाबी गर्ने अवस्था थिएन । अहिलेको विषम् परिस्थिति छ र यस्तो परिस्थितिमा राष्ट्रिय सहमतिको साझा व्यक्तित्व खोजी भइरहँदा ठूला दलहरुबीच सहमति नजुट्ने सम्भावना रहेकोले महन्थ ठाकुरलाई साझा उम्मेद्वार बनाइनुपर्छ भन्ने हाम्रो मान्यतो हो । उहाँको नामबाट कसैको विरोध पनि छैन । तसर्थ, अन्य दलहरुले राजनीतिक निकासका लागि हाम्रो प्रस्तावलाई स्वीकार गर्दा वेश होला । अर्को कुरा विगत दिनमा हामीले सबै ठूला दलहरुलाई सहयोग र सहकार्य गर्दै आएका छौं । अब उहाँहरुले निकासका लागि यो प्रस्तावलाई स्वीकार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ