० तपाइँहरुको पार्टीले पुनः उपराष्ट्रपति पाएको छ । उहाँको व्यक्तित्वबारे तपाइँ के भन्नुहुन्छ ?
— उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव एउटा सरल स्वभाव, योग्य, सिद्धान्तवादी नेता हुनुहुन्छ । उहाँ मधेश आन्दोलनमा सुरुदेखि काम गर्दै आएको एक योद्धा हुनुहुन्छ । हाम्रो पार्टीका विभिन्न जिम्मेवारी हुँदै मन्त्रीसम्म बन्नुभएको उहाँ एउटा इमान्दार व्यक्तित्व हुनुहुन्छ । हामीलाई गर्व छ कि यस्ता एउटा कार्यकर्ता हाम्रो पार्टीको तर्फबाट उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुग्नुभएको हो ।
० तर, संविधानले उपराष्ट्रपतिलाई भूमिकाविहीन बनाएको जस्तो छ नि ?
— हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपतिको सक्रिय भूमिकाको परिकल्पना गरेको छैन । संविधानअनुसार हामीले उपराष्ट्रपतिलाई अझ जिम्मेवार बनाउन सक्थ्यौं । तर, उहाँको स्वभाव र योगदानलाई हेर्दा पार्टीको तर्फबाट त्यो ठाउँमा पठाउनु उपयुक्त पात्र नै हो ।
० रामसहाय प्रसाद यादव जसपाको संसदीय दलको नेता पनि हुनुहुन्थ्यो । अहिले रिक्त भएको छ । उपनिर्वाचनपछि दलको चुनिने हो कि यसअघि नै हुन्छ ?
— आसन्न उपनिर्वाचन र दलको नेताका विषयमा पार्टीभित्र छलफल भइरहेको छ । हाम्रा अध्यक्ष उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी २ बाट पराजित हुनुभयो । पार्टीभित्र उहाँमाािथ एउटा दबाब कि बारा २ मा रिक्त रहेको स्थानमा आउनुपर्छ । तर हाम्रो अध्यक्षको आफ्नो इच्छा छैन कि उपनिर्वाचनबाट संसदमा जाउँ भनेर । उहाँ चुनाव लड्ने चाहना राख्नुभएको छैन । तर पार्टीबाट उहामाथि धेरै दबाब रहेको छ ।
० पार्टीले उपेन्द्र यादवलाई किन संसदमा पठाउन चाहेको हो ?
— पार्टीले मात्रै होइन, मधेशका जो पनि कटिबद्ध कार्यकर्ताहरुलाई लागिरहेको छ कि उपेन्द्र यादवजस्तो राजनीतिज्ञ संसदमा गयो भने महत्वपूर्ण योगदान पु¥याउन सक्नुहुन्छ । त्यसैले उहाँजस्तो मान्छे निश्चितरुपमा सदनमा हुनुपर्छ । नेपालको राजनीतिलाई राम्रोसँग बुझेको, राजनीतिमा ठूलो कद भएको राष्ट्रिय÷अन्तर्राष्ट्रियरुपमा उहाँ एउटा नेता हुनुहुन्छ । यस्ता नेता सदनमा हुँदा मधेश, आदिवासी जनजाति वा पीडित वर्गका लागि कुनै पनि नीति निर्णय हुँदा एकपक्षीय हुँदन । त्यसैले त्यस्तो व्यक्तित्व सदनमा हुनैपर्छ भनेर हाम्रो पार्टीले जसरी पनि उहाँलाई सदनमा पु¥याउनुपर्छ । मधेशका जनताले पनि यहीं सोचिरहेका छन् कि उहाँलाई हराएर मधेश र देशका लागि राम्रो भएको छैन ।
० तर, जनताले त उहाँलाई पाँच वर्षसम्म सदन बाहिर बस्न मतादेश दिएको हो नि ?
— राजनीतिमा धेरै कुराहरु हुन्छन् । गत निर्वाचनमा उहाँको प्रतिस्पर्धी टेस्टेड व्यक्ति थिएन । गत कार्यकालमा उहाँसँग जुन किसिमको मधेशको अपेक्षा थियो, ती अपेक्षा सायद पूर्ति हुन सकेन । एकपटक पराजित हुँदैमा उहाँजस्तो राजनीतिक सुझबुझ भएका व्यक्ति अहिलेको अवस्थामा सदनबाहिर हुनु उपयुक्त हुँदैन । अहिलेको स्थितिमा मधेशका जनताले गम्भीरतापूर्वक सोचिरहेका छन् कि उहाँलाई संसदमा ल्याउनुपर्छ । त्यसैले कार्यकर्ताको दबाब पनि छ । अहिले निर्णय हुन बाँकी छ ।
० यदि उहाँ बारा २ मा चुनाव लड्न जानुभयो भने जित्नु नै हुन्छ भन्ने सुनिश्चितता छ ?
— उहाँ बारा २ मा पराजित हुनुहुन्छ भन्ने कुरा कसैले सोच्दै नसोच्नु । मधेशका जनता यति अराजनीतिक छैनन् कि उहाँ फेरि हराएर पठाउँछन् । त्यहाँ जनताले भनिरहेका छन् कि कुनै पनि हालतमा उहाँलाई जिताएर पठाउने ।
० उपेन्द्र यादव बारा २ मा चुनाव लड्ने वा नलड्ने निश्चित भइसकेको छैन । तर अहिलेदेखि नै उहाँको विरुद्धमा एक किसिमको मोर्चाबन्दी भइरहेको देखिन्छ नि ?
— देशमा नै उहाँ एउटा परिवर्तनका बाहक हुनुहुन्छ । संघीयताका विरुद्धमा अहिले पनि एउटा ठूलो तप्का लागेका छन् । संघीयता, समावेशिता, विकास, समृद्धिको विषयमा उहाँको विकल्प छैन । उहाँको थर यदि यादव नभएर उपाध्याय, दाहाल वा अन्य अरु केही भएको भए उहाँ पहिले नै प्रधानमन्त्री बनिसक्नु हुन्थ्यो । मधेशको बारेमा उहाँको जुन अवधारणा छ, त्यसका विरुद्धमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उहाँका विरोधीहरु छन् । उहाँका विरुद्धमा जति पनि मोर्चाबन्दी, घेराबन्दी गरिएपनि जनता उहाँको साथमा छन् । यदि हामी उहाँलाई बारा २ बाट चुनाव लडाउन सफल भयौं भने पक्कै पनि विजय भएर आउनुहुन्छ । जसको पछाडि जनता छन् भने अरु कसैले केही बिगार्न सक्दैनन् ।
० सप्तरी २ मा जोसँग उपेन्द्र यादव पराजित हुनुभएको थियो, त्यहीं पार्टी अहिले चुनौती दिइरहेको छ नि ?
— सप्तरी २ बाट जितेका डा.सीके राउत पनि टेस्टेड भइसक्नुभयो । उहाँले यो तीन–चार महिनामा मधेशलाई के दिनुभएको छ भन्ने कुरा जनताले मूल्यांकन गर्दैछन् । त्यसैले उहाँसँग हाम्रो कुनै प्रतिस्पर्धा नै छैन । उहाँलाई हामीले त्यति गम्भीरताका साथ हेर्नुपर्ने आवश्यक नै छैन ।
० १० दलीय गठबन्धनको साझा उम्मेद्वारको रुपमा उपेन्द्र यादव बारा २ मा चुनाव लड्न जानुहुन्छ ?
— निश्चितरुपमा गठबन्धनको साझा उम्मेद्वारको रुपमा जसपाले नै पाउँछ । किनभने यसअघि पनि हामीले नै त्यो ठाउँमा जितेका थियौं । त्यो सिट हाम्रो हो र गठबन्धन पनि हाम्रै पक्षमा निर्णय गर्छ ।
० गठबन्धनले यदि जसपालाई बारा २ मा दिएन भने ?
— त्यस्तो सोच्न आवश्यक नै छैन । गठबन्धन निश्चितरुपमा जसपालाई दिन्छ । किनभने त्यो हाम्रो सिट हो नि ।
० उपराष्ट्रपति चुनावमा पनि गठबन्धनको दुईटा उम्मेद्वार देखियो नि ?
— त्यसले गठबन्धनमा कुनै फरक आएन । तर, सीके राउतमा फरक आयो । उहाँले आफ्नो उम्मेद्वार खडा गरेर देखाउने काम मात्र भयो, फाइदा केही भएन ।
० जसपा अब संघीय सरकारमा कहिले जाँदैछ ?
— यो १० दलीय गठबन्धनको जसपा एउटा प्रमुख घटक दल हो । निश्चितरुपमा अब हामी सरकारमा जान्छौं । अहिले सरकार विस्तारबारे गठबन्धनभित्र छलफल भइरहेको छ । हामीले कुनै अडान राखेका छैनौं । तर, सम्मानजनक स्थितिमा हामी सरकारमा जान्छौं भन्ने निर्णय गरेका छौं । यदि सम्मानजनक स्थिति भएन भने हामी बाहिरबाट पनि सरकारलाई समर्थन गर्न सक्छौं ।
० तपाइँहरु अहिले सत्ताकै भावण्डामा अल्झिनुभएको छ । तपाइँहरुले उठाउँदै आएका नागरिकता लगायतका मुद्दाहरु सम्बोधनका लागि कहिलेदेखि प्रक्रिया सुरु हुन्छ ?
— अहिले सरकारलाई पूर्णता दिने प्रमुख कार्यभार हो । मन्त्रिपरिषद् विस्तारबारे प्रक्रिया अहिले अगाडि बढिरहेको छ । त्यो पूरा भइसकेपछि लगत्तै हामी आफ्नो एजेण्डाहरु सम्बोधनतर्फ लाग्छौं ।
० तत्कालीन सात दलीय गठबन्धनअनुसार प्रदेशहरुमा सरकार बनेको थियो । नयाँ गठबन्धन बनेसँगै प्रदेशका सरकारहरु परिवर्तन भइरहेका छन् । मधेश प्रदेशमा जसपाले नेतृत्व गरिरहेको छ । त्यहाँ परिवर्तनको कति सम्भावना छ ?
— मधेश प्रदेशको सरकार पूर्णरुपमा सुरक्षित छ । मधेशमा हाम्रो सरकार चलिरहन्छ । त्यसमा कुनै पनि बदलाव आउनेवाला छैन ।
० जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीप्रति विभिन्न आरोपहरु लगाइरहनुभएको छ नि ?
— बाहिर विभिन्न आरोपहरु लगाउनु र बैठकमा कुरा उठाउनु फरक कुरा हो । यदि उहाँका पार्टीका मन्त्रीहरुले काम गर्न सकिरहेको छैन भने गठबन्धनको बैठकमा उहाँले राख्नुपर्छ । गठबन्धनको बैठकमा उहाँले अहिलेसम्म कुनै पनि सवाल खडा गर्नुभएको छैन । राजनीतिमा लोकप्रियताका लागि विभिन्न किसिमका व्यक्तव्य दिने कुराहरु भइरहन्छ ।
० जसपाले उपराष्ट्रपति पाउँछ भने जनमतले मधेश प्रदेश सरकारको पाँचै वर्ष नेतृत्व गर्न पाउनुपर्छ भन्ने माग छ नि ?
— डा.सीके राउत अहिले नवसिखुवा राजनीतिज्ञ जस्तो व्यवहार प्रदर्शन गर्दै हुनुहुन्छ । उहाँ अहिले गठबन्धनमा पनि हुनुहुन्छ तर गठबन्धनकै निर्णय मानिरहनु भएको छैन । हरेक चीजमा उहाँ बार्गेनिङ्ग गर्दै हुनुहुन्छ । जब गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने निर्णय भइसकेको थियो भने कि यो पदन देउ कि यो पद देउ भन्दै बच्चाजस्तो खेल गर्दै हुनुहुन्छ । यसरी राजनीति चल्दैन । उहाँ अहिले नयाँ–नयाँ राजनीतिमा आउनुभएको छ, धेरै कुरा सिक्न बाँकी छ । उहाँ धैर्य राख्नुपर्छ ।
तपाईको प्रतिक्रिया